नेपाल–चीन सम्बन्धका अग्रदूत अरनिको : नखुलेका अध्याय
नेपालका राष्ट्रिय विभूति हुन् कलाकार अरनिको । आजभन्दा करिब ७७७ वर्ष पहिले काठमाडौँ उपत्यका वरपर जन्मिएका भनिएका अरनिकोबारे प्रमाणिक अभिलेख नेपालमा अझै भेटिएको छैैन ।
नेपालको कलाकृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी नेपाल र नेपालीको गौरव बढाएको भनेर विसं २०२४ मा उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । राष्ट्रिय विभूतिका रूपमा मान्यता पाउने उनी एक मात्र कालिगढ हुन् ।
राष्ट्रिय विभूति घोषणा भएपछि नेपाल सरकारले २०२९ वैशाख १ गते उनको चित्रअङ्कित हुलाक टिकट प्रकाशित गरेको थियो । उक्त हुलाक टिकटमा अरनिकोले चीनमा निर्माण गरेको विशाल श्वैत स्तूप पृष्ठभूमिमा राखिएको छ ।
यति मात्र होइन, चीन र नेपाललाई जोड्ने राजमार्गलाई पनि उनको नामबाट अरनिको राजमार्ग नामकरण गरिएको छ । अरनिको चीन जाँदा यही मार्ग भएर गएका थिए । चीनमा गएर नेपाललाई चिनाउने महत्त्वपूर्ण कार्य गरेकाले उनको सम्मानमा यो राजमार्गको नामकरण गरिएको हो ।
अरनिकोका बारेमा गहन अध्ययन अनुसन्धान गरी पुस्तक नै प्रकाशन गर्ने कार्य सबैभन्दा पहिले इतिहासविद् सत्यमोहन जोशीले गरेका हुन् । उनले ‘कलाकार अरनिको’ पुस्तकमार्फत् चीनमा अरनिकोले गरेका कार्य प्रस्तुत गरेका छन् । जोशी नेपाल भाषा एकेडेमी चान्सलर हुँदा अरनिकोको ग्यालरी नै स्थापना गरी परिसरमा अरनिकोको पूर्ण कदको प्रतिमासमेत बनाउन लगाएका छन् ।
ललितपुर महानगरपालिकाले कार्यालय परिसरमा अरनिकोको पूर्ण कदको सालिक २०७५ सालमा निर्माण गरेको छ ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिल भवनको दोस्रो तलामा अरनिकोले बनाएको कुब्ला खाँ र उनकी धर्मपत्नीको चित्र राखिएको छ । तर यी सबै पछिल्लो समय स्थापना गरिएका सामग्री मात्र हुन् । अरनिकोको बारेमा नेपालमा अहिलेसम्म कुनै ऐतिहासिक अभिलेख भने प्राप्त भएको देखिँदैन ।
चीनको इतिहासका पुस्तकहरूमा अरनिकोलाई पलपाउ, पराबाबु, पल्पो वा वल्पो, बलबाहु, अरनिको, आनिक लगायत धेरै नाम विद्वानहरूले उल्लेख गरेका छन् । तर नेपाली नाम के थियो भन्ने अझै विवाद नै रहेको छ ।
यसर्थ अरनिकोको बारेमा चीनको इतिहासमा मात्र यत्रतत्र खुलेको पाइन्छ । अरनिकोको बारेमा चिनियाँ इतिहासको पुस्तक चिनियाँ युआन राजवंशको इतिहास खण्ड २०३ मा चर्चा गरिएको सुविज्ञसुन्दर श्रेष्ठले ‘अरनिको’ भिडियो डकुमेन्ट्रीमा समेटेका छन् ।
उनको जन्म सन् १२४५ मा काठमाडौँ उपत्यकामा राजा अभय मल्लका पालामा भएको थियो । उक्त इतिहासमा अरनिकोको बुबाको नाम लाकेना (अर्थात् लक्ष्मण) र आमाको नाम सुमा केताई भन्ने उल्लेख छ । उनका बुबा लाकेना स्थापित मूर्तिकला र डिजाइन चिनिने कारिगरी जातिबाट आएको देखिन्छ भने हजुरबा र हजुरआमाको नाम मितिरा (मित्र) र कुनदला (कुन्दलक्ष्मी) भनेर दिइएको छ ।
अरनिकोको नाम अझै अस्पष्ट
अरनिको नेपालमै जन्मिएर १७ वर्षको उमेरमा चीनको तिब्बत गएको कुरा चीनकै इतिहास हेरेर धेरैले भन्ने गरेका छन् ।
चीनको इतिहासका पुस्तकहरूमा अरनिकोलाई पलपाउ, पराबाबु, पल्पो वा वल्पो, बलबाहु, अरनिको, आनिक लगायत धेरै नाम विद्वानहरूले उल्लेख गरेका छन् । तर नेपाली नाम के थियो भन्ने अझै विवाद नै रहेको छ ।
‘कलाकार अरनिको’ पुस्तकमा सत्यमोहन जोशीले उल्लेख गरेका छन्– “कलाकार अरनिकोको खास नेपाली नाम के हो, यसको आजसम्म कुनै पत्तो लगाउन सकिएको छैन । अरनिको भन्ने त चिनियाँ नाम हो । एक त चिनियाँ भाषामा विदेशीलाई अरनिको भन्ने भाव आउँछ ।”
यसरी अरनिकोको नामका सम्बन्धमा धेरै विद्वानहरूले फरक फरक नामकरण गरे पनि नेपाल आउने चिनियाँ एक भिक्षुले अरनिकोको खास नाम ‘पराबाबु’ हो भनेका छन् भने कसैले उनलाई पलपाउ पनि भनेका छन् । तर, यही पलपाउ शब्दका आधारमा चीनका भित्री मङ्गालियाका निवासीहरूले आफ्नो अद्वितीय कलाकारलाई ‘पालवा’ भन्ने चलन रहेको जोशीले उल्लेख गरेका छन् ।
प्राडा माधवप्रसाद पोखरेल पनि अरनिको वास्तविक नामबारे अझै थाहा नभएको बताउँछन् । उनी केही समय पहिले चाइना रेडियो इन्टरनेसनलमा नेपाली भाषा विशेषज्ञ भएर गएको बेला अरनिकोले बनाएको श्वैत चैत्य भ्रमण गरेका थिए । त्यहाँ नजिकै अरनिकोको सङ्ग्रहालयभित्र उनको वंशावली पनि पोखरेलले अवलोकन गरेका थिए ।
आनिक भोट–चीनमा पल्पोको नामले परिचित थिए । पल्पो वा बल्वो भनेको नेपाली अर्थात् नेपालको मान्छे भनेको हो भन्छन् उनी । त्यसलाई अनुसरण गरी उनलाई बलबाहु भन्ने नामकरण पनि गरिएिको थियो ।
“हामी जसलाई अरनिको भन्छौँ, चिनियाँ भाषामा त्यसको उच्चारण आनिक हुँदो रहेछ ।” पोखरेल भन्छन्, “आनिक भनेको चिनियाँ अर्थ चाहिँ आ– हाम्रो; नि– नेपाल; क– दाजु भन्ने हुँदो रहेछ ।” यसरी आनिक भनेको हाम्रो नेपाली दाजु भन्ने हुँदो रहेछ । तर, अरनिकोको नाम चाहिँ के हो भन्ने खुल्दैन ।
अरनिकोका बारेमा इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको माध्यमिक कालको इतिहास’ पुस्तकमा केही जानकारी दिएका छन् । त्यसमा उनले आनिक भनेर अरनिकोको नाम र उनको योगदानका बारेमा चर्चा गरेका छन् ।
ज्ञानमणिले चीनको युवान वृत्तान्त र उनै (आनिको) को चिहानका अभिलेख र श्वेतचैत्यको मूर्तिकला शिल्पले उनीबारे केही जान्ने अवसर पाएको कुरा उल्लेख गरेका छन् । चीनको इतिहास अध्ययन गरी आनिकोलाई नेपालको इतिहासमा प्रकाशमा ल्याइदिने काम सिल्भाँ लेबीले गरेका थिए भन्छन् उनी ।
आनिक भोट–चीनमा पल्पोको नामले परिचित थिए । पल्पो वा बल्वो भनेको नेपाली अर्थात् नेपालको मान्छे भनेको हो भन्छन् उनी । त्यसलाई अनुसरण गरी उनलाई बलबाहु भन्ने नामकरण पनि गरिएिको थियो । “त्यो अशुद्ध थियो । उनको खास नाम आनिको पाइएकाले कसैले अनङ्गबाट आएको माने,” उनी भन्छन् । अनेकबाट अनेकौँ हुँदा आनिक भन्ने नामकरण नै उचित देखिनेमा विश्वस्त छन् ज्ञानमणि नेपाल ।
चीन जानुअघि आनिकोले नेपालमै विवाह गरेका थिए । चीन गएर पनि उनले धेरैवटा विवाह गरेका थिए । उनका आठ पत्नीमध्ये प्रथम पत्नी नेपाली थिइन् । उनको अभिलेखमा तिनको नाम च य त लक्मी, बाबुबाजेको नाम ल क ओ न, मि ति हे देखिएकाले यी नाम संस्कृत मूलकै चिनियाँ उच्चारण हुँदा यिनलाई जयत लक्ष्मी लक्ष्मण मैत्रेयबाट बनेको भनेर व्युत्पत्ति गर्न सकिन्छ भन्छन् ज्ञानमणि ।
अरनिकोको चीन आगमन
नेपाल र चीनको सम्बन्ध स्वयम्भू पुराणमा नै भेटिन्छ । मञ्जुश्रीको नेपाल आगमनले नेपाल–चीन सम्बन्ध प्राचीन हो भन्ने आधार भेटिन्छ । नेपालकी छोरी भृकुटीको बिहे भोटका राजा स्रोनचोङ गम्पोसँग भएको इतिहास पनि छ । तिनै भृकुटी र शीलमञ्जुको सतत प्रयत्नमा बुद्ध धर्मले भोटमा राज्यबाट संरक्षण पनि पाएकाले नेपालबाट गएको धर्म, कला र संस्कृतिले पूर्ण अधिकार जमाइसकेको थियो ।
तत्कालीन तिब्बत सरकारको निम्तो र नेपाली राजाको स्वीकृतिमा कलाकार लिएर सन् १२६० मा कोदारीको बाटो हुँदै महिनौँ दिन लगाएर अरनिको तिब्बत पुगेका थिए ।
सन् १२६० मा चीनका बादशाह कुब्ला खाँका गुरु भोटका शाक्य मठका महन्त पाहसपा थिए । कुब्ला खाँले आफ्ना धर्मगुरु पाहसपालाई तिब्बतमा सुनौलो स्तूप बनाउन आग्रह गरेका थिए । धर्मगुरु पाहसपा नेपाली कलात्मक कालिगढबारे परिचित थिए र उनले नेपालका राजा भीम मल्ललाई १०० जना कलाकार चीन पठाइदिन आग्रह गरेका थिए ।
“राजा अभय मल्लकै पालामा भोटले एक विशाल स्तूप बनाउनका लागि १०० जना नेपाली कलाकार मागी पठायो,” जोशी लेख्छन्, “यसमा ७० जना नेपाली भोटमा जान मञ्जुर भए ।” ७० जना कलाकारलाई नेतृत्व गर्ने टोली नेताको आवश्यक थियो । त्यसमध्ये सबैभन्दा सिपालु र तीक्ष्ण बुद्धि भएका १७ वर्षका जवान आनिक थिए । उनकै नेतृत्वमा टोली भोट गएको थियो ।
अरनिकोको कला
तत्कालीन तिब्बत सरकारको निम्तो र नेपाली राजाको स्वीकृतिमा कलाकार लिएर सन् १२६० मा कोदारीको बाटो हुँदै महिनौँ दिन लगाएर अरनिको तिब्बत पुगेका थिए ।
सहासी र तीक्ष्ण बुद्धिका कलाकार अरनिको चीनका बादशाहका दरबारमा गई आफ्नो कालिगढी कौसल देखाए । उनले एक वर्षमै सुनौलो स्तूप तयार गरे । “उनले शाक्य विहारमा बनाएको सुवर्ण चैत्यको सौन्दर्य अनुपम सिद्ध भयो,” जोशी लेख्छन्, “सबले एक मुखले अरनिकोको कलागुण र दक्षताको प्रसंशा गरेका थिए ।”
अरनिकोले पाहसपा मातहत रहेर तीनवटा चैत्य, नौवटा ठूला मन्दिर, दुईवटा पुर्खाको पूजा गर्ने भवन र एउटा सत्तल र अनेकौँ तस्बिरहरू बनाएका थिए । उनले चीनमा रहँदा धेरै भवनहरू डिजाइन पनि गरे ।
अरनिकोले धर्मगुरु पाहसपालाई एक वर्षमै (सन् १२६१ मा) प्रभावित गरे । पाहसपाले अरनिको असाधारण कलात्मक सीप भएको व्यक्तित्व भन्ने चाल पाई प्रशासनिक क्षमताको कदर गर्दै निर्माणको सुपरिवेक्षण गर्ने जिम्मा दिए । उनले शाक्य मठको मुख्य हलभित्र स्तुपा निर्माण गर्ने जिम्मा दिएका थिए, त्यो पनि दुई वर्षमा पूरा गरे । अनि नेपाल फर्किन अनुरोध गर्दा पाहसपाले चीनमै बस्ने व्यवस्था गरिदिए ।
सन् १२६० मा निपार (नेपाल) का कलाकारहरूले तिब्बत आई बौद्ध चैत्य बनाउने काममा मद्दत गरे, त्यसमध्ये आनिक पनि भएको कुरा युआन वंशको इतिहासमा उल्लेख छ ।
“युआन वंशका राजगुरु पाहसपासँगै आनिक पेकिङ आइपुगे, युआन वंशमा ३० वर्ष भन्दा बढी काम गरे,” जोशीले उल्लेख गरेका छन्, “त्यहाँ आनिक निर्माण कार्य, चित्रकला र मूर्तिकलाको विषयमा सिपालु थिए ।”
अरनिकोले पाहसपा मातहत रहेर तीनवटा चैत्य, नौवटा ठूला मन्दिर, दुईवटा पुर्खाको पूजा गर्ने भवन र एउटा सत्तल र अनेकौँ तस्बिरहरू बनाएका थिए । उनले चीनमा रहँदा धेरै भवनहरू डिजाइन पनि गरे । अरनिकोले चीनमा सुनको जलप भएका अनेकौँ रङ्गले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काम कुशलतापूर्वक सम्पन्न गरेका थिए ।
बेइजिङको मियायेयिङको सेतो स्तूप बनाउन अरनिकोलाई १० वर्ष लागेको थियो । यो श्वेत चैत्य चीनमा महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा हेरिन्छ । यो चैत्यलाई अझै पनि नेपाल र चीन बीचको पवित्र मित्रताको प्रतीकका रूपमा लिइन्छ ।
त्यो समयमा अरनिकोले हजारौँ चिनियाँ युवालाई तालिमसमेत दिएका थिए । ४५ वर्ष चीनमा रहँदा उनले सर्वोच्च शाही पद र धेरै सम्मान कमाएका थिए । चीनमा उनलाई ‘क्वान्ह्यु नाइफ’ र ‘नासथु’ जस्ता उपाधि दिइएको थियो । चीनमा बादशाहले उनलाई ‘साङ्नुु (काजी ?) दर्जा’ पनि दिएका थिए ।
अरनिकोको निधन
सन् ११ मार्च १३०६ मा अरनिकोको निधन भयो । उनको देहान्तमा चीनका सम्राटले आफ्ना हजुरबा कुब्ला खाँको चीनलाई बौद्ध राज्यमा बदल्न मद्दत गर्ने नेपाली कालिगढको सम्मानका रूपमा श्रद्धाञ्जली गरे । सम्राटले दरबारलाई परिवारको हेरचाह, संरक्षणका लागि आदेश र परिवारलाई २५ हजार चाँदीका सिक्का प्रदान गर्न आदेश दिएका थिए ।
अरनिकोले निर्माण गरेका चीनका स्तूपाहरूमा रञ्जना लिपिमा लेखिएका छन्, यो उनको प्रभाव थियो । अरनिको सन् १२४५ मा जन्मिएको, १२६० मा तिब्बत गएको र १३०६ मा ६३ वर्षको उमेरमा बेइजिङमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका जेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता