बच्चाको सिकाइ : चिउराको रुख कत्रो हुन्छ ममी ?
अहिलेका नानीहरूको साह्रै उदेकलाग्दो हविगत छ अर्थात् उनीहरूको कायिक, मानसिक र बुद्धिको क्षमता नाजुक अवस्थामा छ । उनीहरूको मेधालाई केले क्षयीकरण गर्दैछ ? खोजतलास गर्न मन छ ।
आरीमा आँटा छ । मटियामा पानी छ । अँगेनामा आगो छ । हर्पेमा घिउ छ । चुलोमा तावा छ । बेलना–चौकी छ । रोटी बनाएर खा नानी ! भन्यो, रोटी बनाएर सेकाएर खान सक्तैनन् ।
मैले यहाँ सानो शिशुको कुरा गरिरहेको छैन, पूर्वाबाल्यावस्थाको नानीको पनि कुरा गरिरहेको छैन । बाह्र पन्ध्र हिँड्दै गरेका र त्यो उमेर काटेका किशोर–किशोरीको हालत यस्तो छ ।
हाम्रा शिक्षालयको सिकाइमा सन्देह छ, प्रश्न छ । हाम्रा घरपरिवारमा अभिभावकबाट नानीहरूलाई गराइने सिकाइमा प्रश्न जन्मिन थालेका छन् । हामी बच्चाको निम्ति घर पहिलो पाठशाला हो भन्छौँ । घरका अभिभावकलाई पहिलो गुरु मान्छौँ ।
हामी हाम्रा पालामा किशोरावस्था टेक्दा नटेक्दै भात पकाउन जानिसकेका थियौँ । काइदाले दाल, तरकारी बनाउन जानिसकेका थियौँ । गाई दुहुन, दूध तताउन, मोही पार्न, घाँस काट्न, दाउरा चिर्न, डोरी बाँट्न, कुचो लाउन, भाँडा मस्काउन, रोटी बनाउन, चटनी पिस्न सबका सब घरायसी काममा पारङ्गत बनिसकेका थियौँ ।
अहिले नानीलाई गाग्रीको पानी राम्रोसित आम्खोरामा सार्न आउँदैन । बारीको साग टिपेर काट्न आउँदैन । बाख्रो बाँध्न आउँदैन । कुखुरो थुन्न आउँदैन । डोको बोक्न आउँदैन । भात पकाउन आउँदैन । दाल झान्न आउँदैन । चटनी पिस्न आउँदैन ।
एउटा सानो उदाहरण प्रस्तुत गर्न मन छ यहाँ । यो कुनै घरको वास्तविक कथा हो; त्यो मेरो घरको हुन सक्छ । तपाईंकै घरको हुन सक्छ । छिमेकी घरको हुन सक्छ । टाढा विरन्तरीको घरको हुन सक्छ । अर्थात् नानीहरूको कारण सिर्जित यो सबैको साझा समस्या हो र साझा कथा हो ।
भात खाने बेलामा सलाद काट्नलाई कुनै बाउले किशोर–वयकी पढालेखा छोरीलाई अह्राए–‘बारीमा गएर राम्रो ठुलो मुला लिएर आऊ छोरी !’
पन्ध्र मिनेटपछि छोरीले साह्रै राम्ररी सप्रेको ठुलो मुला लिएर आइन् । बाउ मक्ख परे । आमा मक्ख परिन् । किनभने कहिल्यै मुलाबारी नपसेकी छोरीलाई यति राम्रो ठुलो मुला छानेर ल्याउन सकी । मुलाका चाना काटेर सलाद बनाए । मीठोसित खाना खाए ।
दिउँसो काम विशेषले बाउ तरकारी बारीमा पसे । मुलाबारी नमज्जासित सोत्तर पारिएको थियो । उसलाई भाउन्न छुटेर आयो । अर्थात् बारीका सबै मुला उखेलिएका थिए । घर आएर छोरीलाई सोध्यो– “सबै मुला कसले उखेल्यो हँ ?”
छोरीले जवाफ दिई– “मैले उखलेकी हुँ बाबा । हजुरले राम्रो ठुलो मुला लिएर आइज भन्नु भो । छान्दा छान्दै निकै उखेलेपछि मात्र भने जस्तो मुला फेला पर्यो ।”
छोरीको जवाफले बाउ भुइँमा थुचुक्क बस्यो । सानी छ भनूँ भने अंग्रेजी माध्यमको कुनै निजी स्कुलमा कक्षा–नौ मा पढ्छे । ठूली भई भनूँ भने बुद्धि यस्तो छ । यत्रो नौ वर्ष भन्दा बढी नै समय स्कुल पढिसकी, स्कुलले के सिकायो ? घरमा हामी बाउआमाले के सिकाएछौँ ? आफैँ पुर्पुरोमा हात राखेर सोच्न थाल्यो ।
गतिलो मुला उखेल्नका लागि बारीका सबै मुला सोत्तर बनाइदिई । के सही हो, के गलत हो ? त्यसको छ्यान विचार गर्न नसक्ने शिक्षा के शिक्षा ? शिक्षाले बच्चाका विवेक–चक्षु खोल्न सकेन भने त्यो शिक्षाको कामै के छ र ?
यो एक प्रतिनिधि घटना मात्र हो । पढेलेखेका अहिलेका अनाडी पुस्ताले गर्ने विमाखका अनेकौँ उदाहरण पस्किन सकिन्छ । यस्ता घटनामा नानीहरूलाई दोष दिएर उनीहरूको आलोचना गरेर मात्र हामी चोखो हुन सक्तैनौँ । गल्ती हाम्रो पनि छ । कमजोरी हामी शिक्षक, अभिभावक र पारिवारिक सदस्यको पनि छ ।
मलाई आफ्नो किशोरकालको कुरा याद छ । त्यो बेला बाह्र चौधको उमेर पुग्दा नपुग्दै अनेकाँै काम गर्न हामी माहिर बनिसकेका थियाँै । घरमा साह्रो गाह्रो परेको बेला बाउ–दाजु घरमा नभएको बखत गाई दुहुन, तताउन, दही जमाउन, मोही पार्न आउँथ्यो । दही मथेर नौनी झिक्न खारेर हर्पेमा जमाउन आउँथ्यो । दालभात तरकारी पकाउन, हलो जोत्न, आली ताछ्न, ढिकी कुट्न, हतेउरी बाट्न, भैँसी पगार्न, गोबर सोहोर्न, मल बोक्न, सोत्तर काट्न, कुचो बाट्न, दाम्लो बाट्न, डोरी बाट्न आउँथ्यो ।
भर्खरको ताजा घटना हो । केही दिन अघि काम विशेषले छिमेकी गाउँमा गएको थिएँ । आमाले अँगेनामा दूध बसाएर सानो छोरोलाई भनिन्– “दूध हेर्दै गर है नानी !! उम्लिन सक्छ । म पानी लिएर आउँछु ।”
यति भनेर गाग्री च्यापेर धारामा गइन् । यता दूध उम्ल्यो । कुँडेको बिटसम्म आयो । दूध उम्लेको देखेर केटो आत्तियो । कुद्दै आमा भेट्न धारामा पुग्यो ।
“दूध उम्लिसक्यो ! लौ न, छिटो हिँड्नु !” छोराको कुराले आमालाई रिस पनि उठ्यो । झ्वाँक पनि चल्यो ।
“थुक्क भाते ! दूध उम्लियो भनेर यता कुद्छन् कि चलाउनु पर्छ । अँगेनाको आगो ओझ्याउनु पर्छ । तेरीमा लाटा, तैँले पढेको त खोलैमा गयो ।”
छोरालाई हकार्दै हतार हतार घरमा कुदेर आइन् । माना तिनेक दूध उम्लेर आगामा हाम फालिसकेछ । उनले आफूलाई पनि धिक्कारिन्, छोरालाई पनि धिक्कारिन् । आफूलाई यसर्थ धिक्कारिन् कि उनले पनि कहिल्यै छोरालाई दूध तताउने विधि सिकाएकी थिइनन् । दूध उम्लिँदा यसरी चलाउनु पर्छ, यसरी सास मार्नुपर्छ भन्ने सिकाएकी भए छोरो दूध उम्लिने बित्तिकै डराएर भाग्ने थिएन । दूध उम्लिँदा डराएर भाग्ने छोरा बढ्दै छन् समाजमा । यो अत्यन्त दुःखदायी कुरा हो ।
शिक्षा त हाम्रो किताबी ज्ञानमा सीमित शिक्षा छ । पाठशालामा पनि जीवनको लागि आवश्यक व्यवहारिक ज्ञान कमै सिकाइन्छ । सैद्धान्तिक कुरा बढी सिकाइन्छ । यो शिक्षा परीक्षामा पास हुन र सर्टिफिकेट लिन दिइन्छ । एउटा प्रमाणपत्ररुपी कागजी खोस्टो हात लागी भएपछि एउटा कर्मकाण्ड पूरा हुन्छ ।
पाठशालामा पढेको कुरा कतै व्यवहारमा जोडिँदैन । किताबबाट लिएको ज्ञानले जीवनका कठिनतम दैनदिनीका समस्या हल गर्दैन । न कामसँग जोडिएको शिक्षा छ, न सीप र इलमसित जोडिएको शिक्षा छ । न उद्यम र इमानदारीसित गाँसिएको शिक्षा छ । न सीप र व्यावसायिकतासित सम्बन्धित शिक्षा छ ।
मान्छे पढेलेखेको छ त नि तर व्यवहारमा ऊ यति काँचो छ, घरसारमा एउटा तमसुक लेख्न सक्तैन । भान्सामा ढिँडो ओडाल्न आउँदैन । एउटा दाम्लाको गाँठो कस्न आउँदैन ।
हामी किशोर हुँदाको बखत छोरी मान्छेलाई त बाह्र तेह्र नपुग्दै नाङ्लो केलाउन सिकाइन्थ्यो । अन्य थुप्रै घरायसी काम र सीपमा चेलीहरू निष्णात बनिसकेका हुन्थे । गाउँका किशोरीहरू चौध/पन्ध्र नटेक्तै दुना टपरी गाँस्थे । सिन्का चिर्थे । ढिकी कुट्थे । जाँतो पिन्थे । केलाउने, छिन्कने, निफन्ने सबै काम गर्थे । बत्ती कात्थे । भान्साको सारा परिकार तुल्याउन बनाउन सिपालु भइसक्थे । गुन्द्रुक हाल्ने, तितौरा मस्यौरा बनाउने, सेलरोटी पकाउने, मालपुवा, चाम्रे, ढकने, खिर बनाउने कुरामा सिपालु भइसक्थे । जाँतै पिन्दा पनि अलग अलग लयमा पिन्न जान्नु पथ्र्यो । कोदो पिन्दाको लय, दाल पिन्दाको लय, मकै पिन्दाको लय पृथक बान्कीमा सम्पन्न गर्नुपर्थ्यो र ओइरो हलाइको बान्कीमा पृथक पृथक सीपको प्रयोग गर्नुपर्ने हुन्छ । त्यो सबै कलामा किशोरीहरू निपुण बनिसकेका हुन्थे ।
खोले पकाउने सीपको कुरा गरुँ न; बिमारी मान्छेलाई खानको लागि पकाउने खोले एउटा तरिका हुन सक्छ । भैँसीलाई खोले अर्कै तरिकाले पकाइन्छ । बाख्राको खोले अर्कै किसिमले पकाउनु पर्छ । एउटै कामका पनि मसिना मसिना भेद उपभेदहरूमा हामी सिपालु बनेका थियौँ ।
हाम्रो जमानामा घर घुर्यान पनि एउटा पाठशाला थियो । खेतबारी पनि पाठशाला थियो । गोठ र वनपाखा पनि पाठशाला थियो । त्यस पाठशालाका गुरुहरू मातापिता थिए । दाइ, दिदी र अग्रजहरूले कामको बाटो देखाउँथे, विधि बताउँथे । काम बिगारे वा विराम गरेमा त्यसलाई सिकाउने सुधार्ने काम उनीहरुले गर्थे । त्यो एक व्यवहारिक ज्ञान आर्जनको गुरुकुल थियो । तर, त्यो गुरुकुल आज भत्किँदै छ ।
समयको लहरसितै उहिलेका कुरा खुइलेको मनोदशामा पुगिसक्यो । तर पुराना कुरा भन्ने बित्तिकै सबै नराम्रा र अहितकारी हुँदैनन् । नयाँ र आधुनिक कुरामा पनि नराम्रा चिजहरू रहेका हुन्छन् । जुन चिज अहिलेको युगमा पनि आवश्यक छ, उपयोगी छ, त्यो चिजका मूल्यहरू तीव्रतर रुपमा विघटित हुँदैछन् ।
त्यसैले त अहिले प्रविधि पछ्याउने नाममा किशोर पुस्ता घोप्टे युगमा प्रवेश गरिसक्यो । अहिले हरेकका हात हातमा महँगो सेलफोन छ, ट्याब छ । किशोर त्यसमा एकोहोरो घोप्टिन जान्यो । विकृत कुरा पस्किन जान्यो । निरर्थक चिजमा ध्यान केन्द्रित गरेर समय र ऊर्जा नष्ट गर्न जान्यो । तर, सार्थक जीवन उपयोगी चिज के हो ? त्यसको हात लागी गर्न जानेन । समस्या नै यहीँबाट पैदा भएको छ ।
एकोहोरो मोबाइलमा घोप्टेर मूल नशा नै बिगारी सक्यो । टाउको सिधा बनाएर जीवनका समस्याका विषयमा सोच्नुपर्ने हो । सार्थक र उपयोगी काम गर्नुपर्ने हो, त्यो सबै बिस्र्याे । ज्ञानका आँखा खुलाउने विधि जानेन । विवेक चक्षु तिखार्ने तरिका सिकेन ।
सुनेको छु, सहरका कतिपय बच्चालाई दूध केले दिन्छ नानी ? भन्दा डेरीले दिन्छ भन्छन् अरे । अनि दूध, चिउरा खाँदा खाँदैको बच्चाले आमालाई सोध्छ अरे– चिउराको रुख कत्रो हुन्छ ममी ? यस खालका प्रश्न गर्ने बच्चाले भोलि किशोर वयमा पुगिसकेपछि नेपाल भनेको कहाँ पर्छ बुवा ? भनी सोधेमा कुनै आश्चर्य मान्नु पर्दैन ।
अहिलेका बच्चाको सिकाइले सोचनीय अवस्थाको सिर्जना गर्दो छ । सबैलाई चेतना भया ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’
-
निता ढुंगानाले निर्माण गरेको फिल्मले अहिलेसम्म कति कमायो ?