शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

ढल निर्माणका क्रममा वनस्थली क्षेत्रमा नयाँ ठूला खानेपानी पाइपलाइनमा क्षति

शुक्रबार, २२ पुस २०७९, १७ : १०
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको खानेपानी वितरणका लागि विच्छ्याइएका प्रणालीका नयाँ ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका साना पाइपलाइनमा क्षति पुग्ने गरी कुनै पनि काम नगर्न÷नगराउन आग्रह गरेको छ ।  बिहीबार काठमाडौं चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत वनस्थली क्षेत्रमा ढल निर्माणको कार्य भइरहँदा निर्देशनालयबाट बिच्छ्याइएका नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको जनाइएको छ ।

 चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीका ठूला पाइपहरु रहेको चेम्बर देखिएको जानकारी गराएलगत्तै निर्देशनालयका आयोजना प्रवन्धक सहितको टोली र सडक विभागको टोलीले हिजै ढल निर्माण कार्यको निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिएर टोलीहरु फर्के लगत्तै निर्माण व्यवसायीका कामदारहरुले काम गर्ने क्रममा खानेपानी पाइपलाइनमा क्षति पुगेको पाइएको प्रवक्ता चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए । पाइप फुटेर निस्किएको मेलम्चीको खानेपानी ढलबाट प्रवाह गराइएका कारण वनस्थली क्षेत्रको सडकमा पानी जम्न नपाएको स्थलगत अवलोकनबाट देखिएको उनको भनाइ छ ।

पाइपलाइनमा क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको छ । क्षतिको प्राविधिक मूल्याङ्कन गरी क्षतिपूर्ति रकम तय भएपछि काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाबाट सोधभर्ना लिन आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप