‘माओवादी पार्टी धरमराएको प्रचण्डले नै स्वीकारेका छन्’
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादव हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा धनुषा–१ बाट पराजित भए । पाँच दलीय गठबन्धनका उम्मेदवार यादवलाई एमाले–जसपा गठबन्धनका उम्मेदवार दीपक कार्कीले हराएका हुन् । यादवको हारमा पार्टीबाटै अन्तरघात भएको, पार्टीका कतिपय शीर्ष नेताहरूले खुलेर सहयोग नगरेको टिप्पणी बाहिर आयो । यथार्थ के हो त ? प्रस्तुत छ, रातोपाटीका लागि एसके यादवले चुनावी समीक्षा, पार्टीभित्रको समस्या, सरकार गठनलगायतको समसामयिक विषयमा मातृका यादवसँग गरेको कुराकानीको सम्पादित अंशः
माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको छ । तर सरकारलाई सहयोग गरेको दलको बारेमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहेका छन्, यसमा तपाईंको भनाइ के हो ?
–यो गठबन्धनको सरकारलाई धेरैले अनौठो रूपमा लिएका छन् । तर त्यो रूपमा लिन जरुरी छैन । सरकार बनाउन सङ्ख्या पुर्याउनै पर्ने हुन्छ । माओवादी केन्द्रको ३२ वटा सिट मात्र छ, यतिले सरकार बनाउने अवस्था रहँदैन । त्यस अवस्थामा जो जोसँग कुरा मिल्छ, सबैलाई समेटेर गठबन्धनको सरकार बनाउने हो । यसमा थप टिप्पणी गर्ने खास कारण नै छैन ।
गठबन्धन त पहिलाकै ठिक थिएन र ?
हो, गठबन्धन त पहिलाकै ठिक थियो । त्यही गठबन्धनलाई कायम राख्नुपर्थ्यो तर काँग्रेसले बेवास्ता गरेपछि बाध्य भएर हामीले यस्तो कदम चालेका हौँ । काँग्रेसले पार्टी बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैमा आफ्नो दाबी कायम राख्ने निर्णय गर्यो । र, त्यही कुरा गठबन्धनको बैठकमा पनि दोहोरियो । पार्टीको निर्णय गठबन्धनमाथि लाद्न मिल्दैन । काँग्रेसले माओवादीलाई केही दिन तयार नभएपछि पछाडि हटेर अर्को गठबन्धन बनाउन बाध्य भएको हो ।
काँग्रेसलाई एउटा भ्रम थियो कि प्रचण्ड गठबन्धन छाडेर कहीँ जाँदैनन् । तर प्रचण्ड त्यत्रो जनयुद्ध हाँकेर आउनु भएको नेता हुनुहुन्छ । आफू र आफ्ना सङ्गठनलाई कसरी सुरक्षित गर्न सकिन्छ, यस बारेमा उहाँलाई राम्रोसँग ज्ञान छ र उहाँले त्यही गर्नुभयो ।
तर कतिपय दलको त उद्देश्य नै प्रस्ट छैन । केही दलले सङ्घीयता खारेजीकै कुरा हाकाहाकी उठाएका छन् । तिनको साथ लिएर सरकार अघि बढ्दा अनेक शङ्का गर्ने ठाउँ छ नि ?
अहिलेको सरकारलाई जेजस्तो विचार भएका दलले सहयोग गरे पनि ती दलहरू जनताबाट चुनिएर आएका हुन् । जनताबाट म्यान्डेट पाएर आएका हुन् । भोलि गएर के गर्छन्, के गर्दैनन्, त्यो पछिको कुरा हो । तर अहिले ती दलहरूले यही संविधानलाई स्वीकारेका छन् । संविधानअनुसार शपथ खाएका छन् । अहिले नै किन शङ्का गर्ने ?
म त भन्छु, अहिलेको सरकारमा काँग्रेसपनि समावेश भए हुन्छ । विश्वासको मत दिएर सर्वदलीय सरकार बनाउँदा हुन्छ । अहिले देशमा सर्वदलीय सरकारको आवश्यकता छ । देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय चुनौती थपिँदै छ । तिनको सामना गर्न सबै दल मिल्नुपर्ने आवश्यकता छ । देश र जनताप्रति को कति इमानदार छन्, सबैको टेस्ट एकै पटक हुन्छ ।
माओवादीको नेतृत्वमा बनेको हालको सरकारको चुनौतीहरू के कस्ता छन् ?
–सबैभन्दा ठुलो चुनौती भएको यो सरकारमा रहेका दलहरू फरक फरक विचारका छन् । सङ्घीयता, गणतन्त्र नमान्नेहरू पनि छन् । जब कि यो सरकारको मुख्य काम नै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गर्दै त्यसलाई ठिक ढङ्गले चलाउनु हो । यदि त्यसैमा समस्या देखियो भने पक्कै पनि सरकारको लागि यो ठुलो चुनौती हो ।
मन्त्री पद पाउनु कुनै ठुलो कुरा होइन, त्यो पद लिएर समस्याको समाधान कसरी गर्छन्, त्यो महत्त्वपूर्ण कुरा हो । यद्यपि मलाई के लाग्छ भने उनीहरूको सिद्धान्त विचार जे भए पनि संविधानलाई मानेर आइसकेकाले संविधानअनुसार सबैले मिलेर परिआएका समस्या समाधान गर्नेछन् ।
माओवादीले लडेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको हो । तर, आज त्यही सङ्घीयता र गणतन्त्र विरोधीसँग मिल्नुपर्ने माओवादीलाई के बाध्यता आइलाग्यो ?
–संविधानलाई कार्यान्वयन गर्न तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि नै यी सबै भएको हो । तर मुख्य कुरा काँग्रेसको बदमासी हो । काँग्रेसले बदमासी नगरेको भए आज यो परिस्थिति बन्ने थिएन ।
एमालेले त सुरुदेखि नै गठबन्धन भत्काउन लागेको थियो । त्यो कुरा काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि थाहा थियो । यो कुरालाई उहाँले किन आकलन गर्न सक्नु भएन ? माओवादीका अध्यक्ष प्रचण्डलाई बाध्य किन पारियो, यसैबाट सबै कुरा छर्लङ्ग हुन्छ ।
अहिलेको सरकारलाई धेरै ठुलो रिस्क छ । प्रचण्ड पहिलादेखि नै रिस्कसँग खेल्ने भएका कारणले उहाँले यस पटक पनि रिस्क नै लिनु भएको छ । अहिले आएका कतिपय शक्तिहरूले संविधानलाई मान्छु, सङ्घीयतालाई मान्छु भन्दै यो सरकारलाई समर्थन गरेको छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
माओवादीले सरकारको नेतृत्व गर्यो तर सङ्गठन त धरमरायो नि ?
–बाहिर टिप्पणी हुनुभन्दा पनि पार्टीका अध्यक्ष कमरेड प्रचण्डले नै महाधिवेशनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दा पार्टीमा समस्या छ, पार्टी बिग्रिसकेको धारणा राख्नु भएको थियो । त्यो १९ बाट २० भएको छैन, बरु १८, १७ हुँदै गइरहेको छ । अर्थात् पार्टीमा समस्या छ भन्ने कुरा घाम जतिकै छर्लङ्ग छ । समस्या छ भनी हामी सबैले भनिरहेका छौँ तर त्यसलाई बनाउनुपर्छ भनी पहल कसैबाट भइरहेको छैन ।
महाधिवेशनपछि चुनावै चुनाव, अहिले सरकार सञ्चालनको जिम्माले गर्दा सायद काम भइरहेको छैन जस्तो लाग्छ । पार्टीमा समस्याको चाङ छ । अहिले चुनावमा माओवादी जसरी कमजोर भएको छ, त्यसको मुख्य कारण पार्टीभित्रको समस्या नै हो । पार्टी मुख्य हो, अरू कुराहरू सबै सहायक हुन्छ ।
पार्टीमा समस्या हुनु र त्यसको समाधान नहुनुमा मूल दोषी कसलाई देख्नु हुन्छ ?
–सबैले आफूलाई हेरेर देखेको समस्या समाधान गर्दै गए भने पार्टीको सबै समस्या समाधान हुन्छ । कसैले कसैलाई आरोप लगाउनु भन्दा पनि आफूले आफैलाई पहिला हेर्नुपर्छ । पार्टी बिग्रिनुमा एक जना मात्र दोषी छैनन् । सबैको कमी कमजोरीका कारण यो समस्या भएको हो ।
म पनि पार्टीको जिम्मेवार कार्यकर्ता हुँ मेरो पनि दोष होला । तर त्यसलाई समाधान गर्नेतिर लागेको छैन, किनकि पार्टीले हाल मलाई कुनै जिम्मेवारी दिएको पनि छैन । यदि म जिम्मेवारी पाएर त्यो काम नगरेको भए म फेल भएको मानिन्थे तर मलाई पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।
म मधेसको जिम्मेवारीमा हुँदा यस्तो अवस्था थिएन । मधेसमा माओवादीका लागि राम्रो परिणाम आएको थियो तर अहिले म कुनै भूमिकामा छैन । त्यसैले, म मेरो बारेमा मूल्याङ्कन गर्न सक्दिन । अब जो जो जिम्मेवारी पाउनु भएको छ, उहाँले यसको जवाफ दिनुपर्ने हो ।
देशभरको चुनावी परिणाम हेर्दा माओवादी सबैभन्दा कमजोर मधेसमा देखियो, मधेसमै कमजोर हुनुको अन्तर्य के हो ?
–मुख्य कुरो पार्टी हो । मधेसमा माओवादी पार्टी नै छैन, अनि नतिजा आउने यस्तै हो । नेताहरू जथाभाबी बोलिरहेका हुन्छन् । नेताले फलानो भ्रष्ट छन्, फलानो खराब छन्, फलानोको व्यवहार ठिक छैन, फलानोले पार्टीको हितमा काम गरेका छैनन् जस्ता कुराहरू भनिरहेका हुन्छन् । तर त्यस्तै त्यस्तै व्यक्तिलाई अघि सारिरहेका हुन्छन् ।
यदि नेताले नै यी व्यक्ति खराब हुन् भन्छन् भने त्यही नेताले ती व्यक्तिलाई कसरी टिकट दिए त ? कसरी समानुपातिक सांसद भए त ? जस्ता सोचनीय विषय छन् ।
खराब छन्, भ्रष्ट छन् भने पार्टीबाट हटाउनु पर्यो । उसलाई कारबाही गर्नुपर्यो तर उल्टै त्यसलाई संरक्षण गरेका हुन्छन् । पार्टीमा अन्तर्घात हुन्छ तर त्यसलाई कारबाही हुँदैन । मधेसमा पार्टीमा अनुशासनै छैन । कोही कसैमाथि रेस्पोन्सिवल छैन । जसलाई जे जे मन लागेको छ, त्यही गरेको छ ।
तपाईं पनि पार्टीमा मधेसको जिम्मेवार व्यक्ति हुनुहुन्छ । मातृका यादवका कारण मधेसमा पार्टी बिग्रियो भन्ने एकथरिको आरोपबारे के भन्नुहुन्छ ?
–तपाईं पत्रकारहरूले एउटा थेगो बनाई सक्नु भएको छ, मातृकाको गुट रे, फलानोको गुट रे । सबैभन्दा बढी मिडियामा चर्चा हुने यही विषय हो । कमजोरी कसको छ, त्यो खोज्नु हुन्न । नेपालका लागि मिडियालाई सजिलो छ नि कसैमाथि दोष थुपारी दियो तर त्यसको कारण खोज्नतिर नलाग्ने ।
यदि मातृका दोषी हो, मातृकाले गुट चलाइरहेको छ भने त्यसको कारणसहित कुरा बाहिर आउनु पर्यो नि । म दोषी हो भने कारबाही पनि गर्नुपर्यो तर यथार्थ के हो त्यो बाहिर आउनुपर्छ । मेरो कति दोष छ, त्यसको बारेमा तपाईँहरूले रिसर्च गर्नुपर्यो । कसैले भनेको भरमा कसैलाई दोषी देखाइदिने काम गर्नुहुन्न ।
लौ भन्नुस् त, खासमा पार्टीका दोषी को हुन् मधेसमा ?
–यो कुरा तपाईँहरूले अध्ययन गर्नुपर्यो । पार्टीले यसको बारेमा छानबिन गर्नुपर्यो अनि न पत्ता लाग्छ कि त्यहाँ दोषी को हुन्, निर्दोष को हुन् । स्थानीय तह चुनावमा भएको गडबडको बारेमा पार्टीले छानबिन गरी रिपोर्ट बनाएको छ । त्यो रिपोर्ट मागेर हेर्नुस् न को दोषी छन् । सबै पत्ता लाग्छ । पार्टीभित्रकै मान्छेले चुनाव हराउनका लागि एक अर्काको विरुद्धमा उम्मेदवारी नै दिएका छन् । यो कुरा त पक्कै पनि पार्टीलाई थाह छ अहिलेसम्म किन कारबाही गरेन त ?
म पार्टी नेतृत्वलाई सधैँ भन्दै आएको छु कि जो दोषी हुन्, त्यसलाई कारबाही गरियोस् । तर कोही बोल्दैन । शिक्षक रामवृक्ष यादवको शालिक भत्काइएको छ । पार्टीकै जिम्मेवार व्यक्तिहरूबाट त्यो भत्काउन लगाइएको हो । तर कोही बोल्दैनन् । के म त्यसको बारेमा बोल्नु भनेको गुट चलाउनु हो र ?
पार्टीभित्र मधेसको बारेमा केही कुरा भयो भने तपाईँलाई नारायणकाजी श्रेष्ठसँग जोडेर किन हेरिन्छ ?
–मेरो र नारायणकाजी कमरेडबीच कुनै मनमुटाब वा गुटबन्दी छैन । यो बाहिर चर्चामा आएको विषय मात्र हो । मेरो भनाई के हो भने पार्टी कहाँबाट किन ओरालो लाग्यो, त्यसको समीक्षा हुनुपर्छ कि पर्दैन ? जनयुद्धप्रतिको एउटा सोच, व्यवहार पार्टीमा हुनुपर्छ कि पर्दैन ? त्यही जनयुद्धको ब्याज अहिले सबै नेताहरू खाइरहेका छन् तर जनयुद्धमा लागेकाहरूको मानमर्दन भइरहेको छ । यसमा पार्टीले बोल्नुपर्छ कि पर्दैन ?
पार्टीभित्र सबै कुरा खस्किदैछ, त्यसको समीक्षा हुनुपर्छ, मैले भन्ने गरेको कुरा यति हो । यसलाई गुटगत रूपमा हेरियो भने त्यो मेरो दोष होइन ।
यहाँ त जोसँग जनमत छैन, पार्टीमा कामै गरेका छैन, त्यो सांसद हुन्छ । यो कुरामा पार्टीले ध्यान दिनुपर्छ कि पर्दैन ? जो पार्टी, देश र जनताका लागि लडेर आए, तिनको बारेमा सोच्ने, बोल्ने कसैलाई फुर्सद छैन । जो पार्टीको सम्पर्कमा छैन, केही कामै गरेको छैन त्यस्ता व्यक्तिलाई खोजी खोजी ल्याएर पार्टीले जिम्मेवारी दिन्छ । र, त्यसमा कतिपय ठुला नेताहरू ताली बजाउँछन् ।
मधेसमा जति पनि नेताहरू चुनाव हारेका छन्, सबैले पार्टीका नेताबाट नै अन्तर्घात भएको आरोप लगाइरहेका छन् । यस्तो किन ?
–मैले त कसैमाथि आरोप लगाएको छैन अहिलेसम्म । मेरो भनाई र टिप्पणी पनि कतै आएको छैन । म त आफू नसकेर हारेको हुँ भनिरहेको छु । म हारेकोमा कसैलाई दोष दिन्न । बरु अब पार्टीले खोज्नु पर्यो, समीक्षा गर्नुपर्यो कि मधेसमा पार्टी किन कमजोर भयो, नेताहरू किन हारे ? पार्टीले छानबिन गर्यो भने सबै कुरा छर्लङ्ग हुन्छ ।
मातृकाले पद नपाएर रिसाएको कहिले सुन्नु भएको छ ? बरु म पाएको पद छाडेर हिँडेको छु । म पार्टीमा यत्रो समय काम गरेँ, आजसम्म म कुनै पनि पदका लागि मरिहत्ते गरेको छैन । मधेसमा भेला बोलाइयोस्, छानबिन होस् र दोषी देखिए पहिला म मातृकामाथि नै छानबिन होस् र कारबाही गरियोस् । तर पार्टीमा यसरी छाडा छाड्नु हुँदैन ।
पार्टीमा समस्यै समस्या छ । तर, समस्या देखाएर मात्र हुँदैन, त्यो समाधान कसरी हुन्छ, उपाय पनि बताई दिनुपर्यो नि ?
–मलाई के लाग्छ भने १० वर्षको जनयुद्धमा हामीले कमाएको अहिले त्यसलाई भजाएर बसी बसी खाइरहेका छौँ । र, त्यसैको परिणाम हो २०६४ सालदेखि हामी खस्किँदै गइरहेका छौँ । यस्तै खस्किँदै गइरह्यो भने एक दिन सबै सकिन्छ । पश्चिम बंगालको कम्युनिस्टझैँ अवस्था हुन्छ । हेर्दा हेर्दै त्यहाँको कम्युनिस्ट समाप्त भयो । हामी पनि त्यतैतिर लागि रहेका छौँ । पार्टी बिस्तारै सकिँदै गइरहेको छ ।
पार्टी सकिँदै गइरहेको छ भन्नुभयो तर माओवादी शान्ति प्रक्रियामा आएदेखि आजसम्म पार्टी जहिले पनि शक्तिको केन्द्रबिन्दुमा रह्यो । यो कसरी सम्भव भयो त ?
–मैले अघि नै भने कि १० वर्षमा कमाएको ब्याज अहिलेसम्म खाइरहेका छौँ । जनयुद्धकालमा कमाएका शक्तिका कारण अहिले माओवादी केन्द्रबिन्दुमा रहेको छ । हाम्रै एजेन्डा, हाम्रो मुद्दा यथावत् छ, त्यही भएर सबै शक्तिहरू हाम्रै वरपर घुमिरहेका छन् । तर, पार्टी भित्रभित्रै समाप्त भइरहेको छ । यही ताल रह्यो भने हाम्रो हालत पश्चिम बंगालका कम्युनिष्टहरुको झैँ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?
-
शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित
-
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
-
सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान