सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

कोसी ब्यारेजमा मेला भर्नेको घुइँचो

शुक्रबार, २२ पुस २०७९, १० : ५९
शुक्रबार, २२ पुस २०७९

सप्तरी । सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प नहरमा नुहाएर आज पुसे पूर्णिमा मनाइँदै छ । 

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ । ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पूर्णिया, फारबिसगञ्ज, मधुवनी, लौकही, लौकहा, खुटौना, अररिया, निर्मली, कुनौलीलगायत स्थानबाट कोसीमा स्नान गर्न आएका स्थानीय लीला यादवले जानकारी दिए । उनका अनुसार बिहानैदेखि बस, ट्र्याक्टर, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोसी स्नानका लागि आउनेको सङ्ख्या उल्लेख्य छ ।

कौशिका माताका रूपमा कोसी नदीलाई पूजा गर्ने चलनअनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मीठाइ खाने गरिन्छ भने बढी श्रद्धालु घरबाटै मुरही, चिउरा, छोला तरकारी बोकेर जाने चलन छ । एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामग्रीको खरिद–बिक्री गरिन्छ । 

मेलामा कृषकका बढी उपस्थिति हुने गरेको स्थानीयवासी बताउँछन् । पौष शुक्ल पूर्णिमाका दिन कोसी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास रहेको पण्डित पुरण झा बताउँछन् । सप्तकोसी नगरपालिका, बलान बिहुल गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कल्याणपुर नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप