गण्डकीमा सरकार गठन गर्न आह्वान, मुख्यमन्त्रीका लागि रस्साकस्सी
पोखरा । गण्डकी प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नआएकाले प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेका छन् । प्रमुख गुरुङले बिहीबार दिउँसो प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन् । सरकार गठन गर्न गुरुङले ५ दिनको समयसीमा दिएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेसम्मको समय सीमा तोकिएको छ । ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ति गर्नका लागि पौष २५ गते सोमबार ४ बजेभित्र दाबी पेस गर्न अनुरोध छ,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रमा माओवादी नेतृत्वको सरकार बनेसँगै प्रदेशमा भागबन्डा नहुँदा कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने अझै यकिन भइसकेको छैन । सत्तारुढ गठबन्धनका मुख्य घटक एमाले र माओवादीले केन्द्रको ‘ग्रीन सिग्नल’ कुरिरहेका छन् । तर, सरकार बनाउन एमाले र माओवादीले आआफ्नै नेतृत्वको दाबी गर्दा मुख्यमन्त्री को बन्ने भन्ने प्रस्ट हुन सकेको छैन ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । संघीय सरकारलाई समर्थन गरेको राप्रपाको २ सांसद छन् । यस्तै नेकपा एकीकृत समाजवादीका एक सांसद छन् ।
यसरी हेर्दा केन्दीय समीकरण अनुसार सत्ता गठबन्धनमा दुई मुख्य घटक एमाले र माओवादी केन्द्रको कुल सांसद संख्या ३० हुन्छ । यो गठबन्धनले सरकार गठन गर्ने हो भने राप्रपा वा नेकपा एकीकृत समाजवादीमध्ये कुनै एक दलको समर्थन अनिवार्य जुटाउनु पर्ने हुन्छ ।
सरकार गठनका लागि आफू निर्णायक भएका कारण राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशका नेताहरु केन्द्रले नै भागबन्डा गरेर पठाइदिए सरकार गठनका लागि सहज हुने बताउँछन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रले निर्णय नलिँदासम्म सरकार गठनको प्रक्रिया सुरु नहुने बताए । उनले भने, ‘मुख्यमन्त्रीमा हाम्रो दाबी हो । एमालेबाट पनि दाबी आएको छ । तर, हामीले यसपटक गण्डकी आफूहरुले पाउनुपर्ने दाबी स्वाभाविक रुपमा गरेका छौं,’ उनले भने, ‘हाम्रो दाबी यसपटक सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ भन्ने हो । ०७४ सालमा गण्डकीमा एमाले नेतृत्वको सरकार बन्यो । यसपटक एमालेले माओवादीलाई सरकारको नेतृत्व गर्ने अवसर दिनुपर्छ ।’
एमाले संसदीय दलका नेता खगराज अधिकारी भने केन्द्रीय तहमा हुने भागबण्डामा ढुक्क छन् । उनले देशभरि सत्ता गठबन्धनमा भागबन्डा हुँदा गण्डकीको मुख्यमन्त्री एमालेले नै पाउने विश्वास व्यक्त गरे । गठबन्धनका दलहरुबीच समग्र विषयमा सहमति खोजेर समयमै प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमालेका नेताहरूमाथि धमाधम कारबाही, वामदेव गौतम एमालेमै फर्किने तयारीमा
-
खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता
-
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ
-
जेलमै बस्नका लागि अपराध गर्छन् महिला
-
विप्लव भन्छन्– ‘केही काम नपाएपछि पार्टी खोल्ने र चन्दा माग्ने प्रवृत्ति हाबी भयो’
-
सुदूरपश्चिम प्रदेशसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण