यामलाललाई मुख्यमन्त्री बनाउन दबाब दिँदै एमाले नेताहरू

सुर्खेत । आइतबार नेकपा (माओवादी केन्द्र) नेताहरूले कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउन माग गर्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेसँगै एमाले नेताहरू पनि बालकोट धाउन थालेका छन् । बिहीबार एमाले सुर्खेत जिल्ला तहका नेताहरू बालकोट पुगेर कर्णालीमा यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन अनुरोध गरेका छन् ।
एमाले केन्द्रीय सदस्य एवं सुर्खेत जिल्लाका सह–इन्चार्ज मोहनमाया ढकाल लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष भेटेर जसरी पनि यो पटक कर्णालीको नेतृत्व एमालेले पाउनुपर्ने माग राखेका थिए । जवाफमा अध्यक्ष ओलीले सरकारको नेतृत्वको विषयमा आफू सकारात्मक भएको बताएका थिए । ‘तपाईँहरूको कुरामा सकारात्मक छु, मेरो जोडबल रहन्छ ,’ ओलीको भनाईलाई उदृत गर्दै एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले भनिन्,‘ कर्णालीमा नेतृत्व लिनका लागि म प्रयास प्रयास गर्छु ।’
०७४ मा २० सिट रहँदा पनि एमालेले कर्णालीमा नेतृत्व लिन सकेको थिएन । अहिले १० सिटसहित तेस्रो स्थानमा रहे पनि सरकारको नेतृत्वका लागि सिट सङ्ख्यालाई महत्त्व दिन नहुने एमालेको भनाई छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले अबको ७ दिनभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि सरकार गठनको विषयलाई थप चासोका साथ अग्रसर भएका हुन् ।
नेतृत्वका लागि केन्द्रले नै टुङ्ग्याउने भएकाले प्रदेशका नेताहरू भने केन्द्रकै ‘सिग्नल’ कुरिरहेका छन् । यता १३ सिट रहेको माओवादीका नेताहरूले भने यसअघि अध्यक्ष प्रचण्डलाई भेटेर जसरी पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउन माग राखेका थिए । जवाफमा प्रचण्डले ओली जस्तै आफू सकारात्मक रहेको र आफ्नो प्रयास रहने बताएका थिए ।
प्रदेशमा एमाले–माओवादी संसदीय दलका नेता यामलाल कँडेल र राजकुमार शर्मा भने सरकारको नेतृत्वको विषय केन्द्रमा निर्भर रहेकाले प्रदेशमा कुनै छलफल नभएको बताउँछन् ।