अचानक प्रदेश ७ का मुख्यमन्त्री भट्ट अस्पतालको आइसियुमा ! (फोटो फिचर/भिडियो रिर्पोट)
धनगढी–प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट पद बहाली गरेको केही मिनेटमै सेती अञ्चल अस्पतालको आइसियुमा पुगे । प्रहरी टुकडीको सलामी खाएर पदबहाली गर्दै गर्दा स्वस्थ र फुर्तिलो देखिएका मुख्यमन्त्री अचानक सेती अञ्चल अस्पतालतिर लागेको खबर फैलियो । मन्त्रीसँगै प्रदेश सचिव लक्ष्मीराम पौडेल पनि अस्पतालतिर दगुरे ।
पदभार ग्रहण गरेको १० मिनेटभित्रमै कुनै गम्भीर रोगको उपचारका लागि मुख्यमन्त्री भट्ट अस्पतालको आकस्मिक कक्ष आइसियुमा पुगेका भने थिएनन् । उनी त स्वास्थ्य जस्तो संबेदनशील विषयलाई सुधारको पहल थाल्ने भन्दै मन्त्रालयबाट १५ मिनेटको दुरीमा रहेको अञ्चल अस्पतालमा छड्के निरीक्षणका लागि पुगेका थिए ।
अस्पताल निरीक्षणका क्रममा सुत्केरी बस्ने वार्डमा पुगेका मुख्यमन्त्री भट्टले उक्त वार्ड बिरामीमैत्री नभएको भन्दै मर्मत गर्न सुझाब दिए । मन्त्रीसँगै हिडिरहेका सेती अञ्चल अस्पताल प्रमुख डा.सजन केसीलाई उनले सुत्केरी बस्ने वार्डको एकापट्टीको भाग खुला रहेको भन्दै उक्त भागलाई छेक्न निर्देशन दिए ।
अस्पताल निरीक्षणका क्रममा दुबै मृगौला फेल भएर सिट नपाएका बिरामी तिलक भट्टका आफन्त गोपाल दत्त बढुले उनलाई उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे । मुख्यमन्त्री भट्टले उनको कुरा सुन्दै आवश्यक पहल गर्न अस्पतालका प्रमुख डा.केसीलाई निर्देशन दिए ।
सुत्केरी कक्षमा आफ्नी सुत्केरी देउरानीको हेरबिचार गर्न आएकी डिला पाण्डेले सुत्केरी कक्ष ब्यवस्थित नभएको गुनासो गरिन । उनले सुत्केरी वार्ड खुल्ला भएकोले छेक्नुपर्ने भन्दै मुख्यमन्त्रीलाई राम्रो काम गर्न आग्रह गरिन् ।
निरीक्षणको क्रममा अस्पतालको आइसियुमा पुगेका मुख्यमन्त्रीमा त्यहाँ अत्यावश्यक उपकरण भए नभएको बारेमा जानकारी लिए । उनले आवश्यक पर्ने उपकरण खरिद गर्न र सरकारले बिरामीका लागि उपलब्ध गराएको निःशुल्क सबै औषधी बिरामीलाई वितरण गर्न पनि निर्देशन दिए ।
आइसियु कक्षबाट अस्पताल प्रशासन पुगेर त्यहाँका चिकित्सकहरुसँग परिचय गर्दै मुख्यमन्त्री भट्टले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र काममा लापरवाही गर्नेलाई दण्डित गर्ने स्पष्ट पारे । अस्पतालका प्रमुख डा.सजन केसीले अस्पताल अस्पतालको क्षमता १ सय २५ सिट क्षमता भएपनि ३ सय सिट बनाएको र बिरामीको चाप बढेका बेला सेवा दिन अप्ठेरो रहेको बताए । उनले अस्पतालमा भौतिक संरचना, उपकरण र जनशक्तिको अभाव रहेको बताँउदै हरेक बर्ष बिरामीको चाप दोब्बरले बढ्ने गरेको मुख्यमन्त्री भट्टलाई जानकारी गराए ।
उनले जनशक्ति अभावमा ल्याबबाट रिपोर्टहरु ढिलो प्राप्त हुने भएकोले बिरामीले हैरानी पाउने गरेको बताए । अस्पतालमा मुटुरोगको डाक्टरको दरबन्दी ३ बर्षअघि भएपनि अहिलेसम्म नभएको र मानसिक रोगको डाक्टर रिटायर्ड भएकोले सेवा दिन कठिन भएको पनि जानकारी दिए । अस्पतालको नयाँ भवन बनाँउनका लागि टेन्डर प्रक्रिया अघि बढाएपनि काम शुरु हुन नसकेको पनि उनले मुख्यमन्त्री भट्टलाई जानकारी दिए ।
मुख्यमन्त्री भट्टले कर्मचारीलाई पार्किङ व्यवस्थित गर्न, अस्पताल हातामा सरसफाई गर्न, सरकारले दिएका औषधी दिन कुनै कञ्जुस्याई नगर्न र सुत्केरीको वार्डलाई ब्यवस्थित बनाउन निर्देशन दिए । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई दण्डित गर्ने बताउँदै उनी अस्पताल हाताबाट बाहिरिए । उनले यसरी नै हरेक निकायहरुमा नियमित ढंगले अनुगमनको कामलाई अगाडि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने