सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

भैरहवा भन्सारमा हुँदैन खाद्यान्नको गुणस्तर परीक्षण, उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

बिहीबार, २१ पुस २०७९, १२ : ५३
बिहीबार, २१ पुस २०७९

भैरहवा । भैरहवा भन्सार हुँदै भित्रने खाद्यान्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ । उपभोक्ताले सिधै प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफूल (काजु, बदाम) लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो ।

भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेनटिन जाँच मात्रै हुने गरेको छ ।

सरकारले खानयोग्य वस्तु मात्रै भित्रियाेस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि प्रमाणीकरण कार्यालय स्थापना गरेको छ । भैरहवा भन्सारनजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई सिँधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ ।

कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनी गुणस्तर जाँच हुन्छ । खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यान्नको गुणस्तर परीक्षण नै नभई भित्रिने गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म चार हजार नौ सय २९ वटा तयारी खाद्य वस्तु परीक्षण गरेकोमा दुई वटा खान अयोग्य भई भन्सारबाट फिर्ता पठाइएको छ ।परीक्षणबाट खानयोग्य भएपछि  करिब ११ हजार मेट्रिक टन खाद्यवस्तु भैरहवा भन्सार हुँदै भित्रिएको छ । भित्रिएका ती वस्तुमध्ये कृषिजन्य खाद्य वस्तु नभई तयारी वस्तु मात्रै रहेको छ । 

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा मात्रै करोडौं मूल्य बराबरको खाद्यान्न भन्सार जाँच पास गरी नेपाल पठाएको छ तर पठाएका ती वस्तुमध्ये कुनैको खाद्य गुणस्तर परीक्षण भएको छैन । 

भन्सार विभागले जारी गरेको एकद्वार प्रणालीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ । तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेनटिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेनटिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँच पासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधै प्रयोग गने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चियालगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परीक्षण नै नभई भन्सार कार्यालयले जाँच पास गर्ने गरेको छ । 

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाका प्रमुख रवीन्द्र झाका अनुसार कार्यालयमा हालसम्म कुनै खाद्यान्नको नमुना परीक्षण नगरेको बताए । उनले भने, 'हामीले तयारी खाद्यवस्तुको परीक्षण चालु आवमा करिब पाँच हजारको गरे पनि खाद्यान्नको परीक्षण गरेका छैनौँ । खाद्यान्न पनि भैरहवा भन्सार नाकाबाट आयात भइरहेका छन् । तर भन्सारले नमुना विश्लेषणका लागि नपठाएकोले हालसम्म कुनै खाद्यान्नको परीक्षण भएको छैन ।'

यस भन्सारबाट आउने खाद्यान्नको गुणस्तर परीक्षण नहुने भएकोले तस्करी र खुला सीमाबाट आउने खाद्यान्न सरह हुने गरेका छन् । गुणस्तरहीन खाद्यान्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छन् । जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । 

भन्सार जाँच पास अनलाइनबाट हुने भन्सार प्रमुखको दाबी

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भैरहवा भन्सार कार्यालयले अनलाइन प्रणालीमार्फत भन्सार जाँच पास गर्ने गरेको बताए । भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट भित्रिने खाद्यवस्तुको प्लान्ट र विषादी परीक्षण हुने गरेको बताए । परीक्षणविना भन्सार जाँच पासको प्रक्रिया सुरु नहुने उनको दाबी छ । 

कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रमाणीकरण कार्यालय र प्लान्ट क्वारेनटिनको कार्य विभाजनका कारण परीक्षणमा केही समस्या आएको छ । कृषि मन्त्रालयले भन्सार विभागलाई अफलाइनबाट परीक्षण गर्न भने विभागको परिपत्रअनुसार खाद्यान्नको गुणस्तर पनि परीक्षण गर्ने उनले बताए । उनले भने, 'सिस्टममा त्यो व्यवस्था नभएकोले कृषि मन्त्रालयको विवाद हामीमाथि दोषारोपण गर्न खोजियो । ' 

प्लान्ट क्वारेनटिन तथा कीटनाशक व्यवस्थापन केन्द्र भैरहवाका प्रमुख कुलदीप घिमिरेले रोग किरा र झारपात जस्ता क्वारेनटिन परीक्षण मात्रै गर्ने गरेको बताए । खाद्य वस्तुको गुणस्तर हेर्ने काम आफ्नो नभएको र गुणस्तर हेर्न पनि नभनिएको उनले बताए । खाद्यान्नमा विष, छ  वा रङ्ग मिसाइएको छ छैन भनेर हेर्न विशेषज्ञ नहुने उनको भनाइ छ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप