‘यू सेप’ मा उकालो लाग्दै पर्यटन व्यवसाय, वार्षिक ३५ लाखको लक्ष्य भेट्ने चुनौती
कोभिड–१९ पछि नराम्ररी खस्किन पुगेको नेपालको पर्यटन व्यवसाय क्रमशः वातावरण सहज भएसँगै लयमा फर्किने तरखरमा छ । सन् २०१९ पछि तीन वर्षको अन्तरालमा पहिलो पटक ६ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिएको तथ्याङ्क सार्वजनिक गरेको छ । जुन सङ्ख्या सन् २०१९ मा नेपाल भित्रिएका पर्यटकहरूको तुलनामा झण्डै ५१.३० प्रतिशतको रिकभरी हो ।
कोभिड–१९ को विश्व सङ्क्रमण सुरु हुँदै गर्दाको वर्ष सन् २०१९ मा नेपालमा कुल ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग प्रयोग गरेर आएका पर्यटकहरूको मात्र तथ्याङ्क हो । यसबाहेक छिमेकी भारतबाट स्थलमार्ग (सवारी साधन बस, कार, भ्यान, जिप लगायतबाट) हुँदै आउने पर्यटकहरूको सङ्ख्या उल्लेखनीय रहेको पर्यटन बोर्डको भनाइ छ ।
यू सेपमा उकालो लाग्दै पर्यटन व्यवसाय
सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सोही वर्षको पुछारबाट सुरु भएको कोभिड महामारीका कारण नेपालको मात्र होइन, विश्वकै पर्यटन बजार प्रभावित हुन पुग्यो ।
कोभिड–१९ को सङ्क्रमणको त्रास विश्वका अधिकांश मुलुकहरू लकडाउनमा गए । एक अर्को देशमा आउजाउमा प्रतिबन्ध लगाउँदा नेपालको पर्यटन बजारसमेत प्रभावित हुन पुग्यो । जसका कारण लगत्तै सन् २०२० मा अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत माथिले नै पर्यटन आगमन घटेर २ लाखमा झर्न पुग्यो ।
निकै तामझामका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएकै वर्ष जम्मा २ लाख ३० हजार ८५ जना मात्र विदेशी पर्यटक भित्रिनु निकै दुःखद विषय रह्यो । भ्रमण वर्षकै लागि भनेर सरकारी तवरबाट ६० करोड माथिको खर्च भएको थियो भने निजी क्षेत्रबाट पनि सोही परिमाण बराबरको खर्च भएको अनुमान छ । तथापि, यी सबै खर्च बालुवामा पानी खनाए बराबर हुन पुग्यो ।
तर, पछिल्लो समय क्रमशः यू सेपमा पर्यटन आगमनको ग्राफ उकालो लाग्दै गर्दा पर्यटन क्षेत्रमा केही आशाका किरण पलाएका छन् ।
कोभिड–१९ को प्रभाव चरम विन्दुमा पुग्दा सन् २०२१ को पर्यटन आगमन जम्मा १ लाख ५० हजार ९६२ मात्र रह्यो । सोही वर्षको जुन, जुलाई, अगष्टदेखि बिस्तारै कोभिड–१९ को प्रभाव विश्व बजारबाट कम हुँदै जाँदा पर्यटन बजारसमेत चलायमान हुन थाल्यो । अन्ततः २०२२ मा ६ लाख माथिको पर्यटक भित्रिने वातावरण बनेको छ ।
ग्राफमा
वार्षिक ३५ लाखको लक्ष्य भेट्ने चुनौती
हालै मात्र सरकारले भ्रमण दशक (सन् २०२३–२०३३) घोषणा गरेको छ । दश वर्षभित्र पर्यटन क्षेत्रमा गर्ने विविध पर्यटन प्रवर्द्धनात्मक तथा प्रचारप्रसारको कार्यक्रम तालिका बनाएको सरकारले २०३३ सम्ममा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको छ । तर, यो घोषणा धेरै चुनौतीपूर्ण छ ।
‘अहिलेसम्म सरकारले जतिपनि भ्रमण वर्षको घोषणा गर्यो, कुनैको लक्ष्य भेटेको इतिहास छैन । सन् २०२० को ‘नेपाल भ्रमण वर्ष २०२०’ को त के कुरा गर्नु र’ नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले रातोपाटीसँग भने, ‘हामी कहाँ गफ ठुला गर्ने तर काम नगर्ने परिपाटी छ । घोषणाले मात्र हुने भए सन् २०११ मा नै लक्षित पर्यटक भित्र्याउन सकिन्थ्यो । तर, त्यसो भएन,’ उनले भने ।
उसो त नेपाल सरकारले पहिलो पटक सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष, १९९८’ घोषणा गरेको थियो । जति बेला ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण वर्षमा ४ लाख ८६ हजार पर्यटक भित्रिएका थिए । तथापि, यो वर्षलाई सफल नै मान्नुपर्छ ।
दोस्रो पटक पुनः सरकारले सन् २०११ लाई भ्रमण वर्ष घोषणा ग¥यो । ‘पर्यटनका लागि सँगसँगै’ मूल नारासहित कम्तिमा १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गरिएको यस वर्ष ८ लाख ५० हजार मात्र पर्यटक भित्रिए । यो वर्ष पनि लक्ष्य भेट्न सकिएन ।
ठुलो अपेक्षासहित सन् २०२० लाई तेस्रो पटक भ्रमण वर्ष घोषणा गरिएकोमा दुर्भाग्यवश कोभिड–१९ बाधक बनिदियो । २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित निकै तामझामका साथ घोषणा गरिएको भ्रमण वर्षमा मुस्किलले २ लाख मात्र पर्यटक भित्रिए । तथापि, प्रतिकुल समयलाई नजरअन्दाज भने गर्न मिल्दैन ।
‘हुने यहीँ थियो, कोभिड–१९ को महामारी नआएको भए पनि भ्रमण वर्षको लक्ष्य भेट्न सकिने स्थिति थिएन,’ उपाध्यक्ष रिजालले भने, ‘मुद्दा लक्ष्यको भन्दा पनि पर्याप्त तयारी थियो कि थिएन भन्ने हो । भ्रमण वर्ष घोषणा गर्दै गर्दा आवश्यक पूर्वतयारी गर्यौँ कि गरेनौँ ?, आवश्यक रणनीतिक तथा प्राविधिक तयारी ग¥यौं कि गरेनौँ ? पर्यटन व्यवसायको नयाँ नयाँ आयामको खोजी गर्यौँ कि गरेनौँ ? यसले ठुलो अर्थ राख्छ,’ उनले रातोपाटीसँग भने ।
बरु, अब विगतको अनुभवबाट पाठ सिकेर सुधारमा लाग्नुपर्ने उनी बताउँछन् । भ्रमण दशक सफल बनाउन सरकार तथा निजी व्यवसायी सबै सरोकारवाला पक्षहरू योजनाबद्ध रूपमा लाग्नुपर्ने उनको जिकिर छ ।