शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नीतिकथा : भाग्य

बिहीबार, २१ पुस २०७९, ०९ : ५७
बिहीबार, २१ पुस २०७९

प्रायः हामी अरूका बारेमा बढी नै जानकार हुन्छौँ, जानकारी राख्छौँ । फलानो यस्तो, ढिस्कानो उस्तो, फलानाले यसो ग¥यो, उस्तो भन्यो, ढिस्कानोले यस्तो ग¥यो, उस्तो भन्यो भन्छौँ तर आफ्नो बारेमा भने प्रायः अनभिज्ञ रहने गर्छौँ । यस्तो वानीले कसैको पनि फाइदा गर्दैन । अरूको हानि त होला नहोला आफैँलाई भने राम्रैसँग गर्छ, गरेको हुन्छ । आफ्नो हित गर्ने भनेको आफैँबारे जानकारी राख्नाले हो, आफैबारे के गर्ने, के बोल्ने भन्ने कुराले हो । 

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना ज्योतिष बस्थे । आफूलाई प्रकाण्ड विद्वान् र त्रिकालदर्शी मान्थे । दुनियाँको हात तथा चिना टिप्पन हेरेर भाग्य तथा भविष्य बताउने गर्थे । मैले गरेको भविष्य वाणी खेर जान्न, फलानाको भाग्य यस्तो, ढिस्कानाको भाग्य उस्तो भन्दैमा फुर्सद थिएन । काकतालीले कुनै कुरा मिल्यो भने गर्वले नाक फुलाउने गर्थे । त्यसमा पनि कसैले केही प्रशंसा गरिदियो भने त भुइँमा खुट्टै हुँदैनथ्यो ।

समय बित्दै गयो, उनको ज्योतिष विद्या पनि चली नै रह्यो । चली नै रह्यो भन्नुभन्दा पनि फस्टाउँदै गयो भन्नु मनासिव हुनेछ । बिस्तारै लाइनमा बसेर पालो कुर्नुपर्ने अवस्था आयो । केही पछि गएर त्यो पनि बढ्दै गएर पालो कुर्नकै लागि पनि महिनौँ दिन अघि नाम लेखाउनुपर्ने अवस्था सिर्जना भयो । 

हेर्दाहेर्दै ज्योतिष बाजे कहाँबाट कहाँ पुगे । घर भयो, गाडी भयो, बिस्तारै त्यो पनि बढ्दै गयो, दुई तीन बटा महङ्गा गाडी भए, ठुलठूला महलका मालिक बने । सेवकहरू भए, नोकर चाकरहरू थपिँदै गए । यतिसम्म त ठीकै थियो तर भइदियो के भने साथमा अहङ्कार पनि चुलिँदै गयो । जति धनी हुँदै गयो तालमेल मिलाउन सकिएन भने अहङ्कार पनि बढ्दै जाने गर्छ । अहङ्कार बढाउने भनेको पद, प्रतिष्ठा तथा धन, सम्पत्तिले नै हो ।

गरीवहरू जस्तोसुकै बोली र व्यवहार पनि पचाउन सक्छन् तर धनीमानीहरू सक्दैनन् । उनीहरूका लागि बोलीवचन र व्यवहार पनि त्यस्तै हुनुपर्छ जति साथमा धन, सम्पत्ति हुन्छ नत्र पचाउन गाह्रो पर्छ । उनीहरूको सम्बन्ध पनि त्यस्तैसँगै हुन्छ सम्बोधन पनि त्यस्तै गर्नुपर्छ । विचरा ज्योतिष बाजे मात्र किन अपवादमा पर्थे र । बिस्तारै उनले गरीव गुरुवाको चिना टिप्पन हेर्न र भविष्य वाणी बताउन मात्र होइन बोल्नै छाडिदिए । उनलाई त धनीमानीको भाग्य तथा भविष्य वाणी बताउँदैमा फुर्सद थिएन ।

एक दिनको कुरा हो उनलाई अर्कै गाउँको जानेमाने सेठजीको घरमा भाग्य बताउन जानुपर्ने भयो । सेठजी यति बढी धनी थिए कि ज्योतिषको घरसम्म जाने फुर्सदै थिएन । त्यसैले ज्योतिषलाई नै घरमा बोलाएका थिए । गरीव गुरुवाको भविष्य बताउन फुर्सद नहुने ज्योतिष बाजेलाई पनि उनको घरसम्म जाने फुर्सद थियो, निकालेका थिए ।

साँझको समय थियो ज्योतिषीजी सेठजीको घरतिर जाँदै थिए । नजिकैतिर पुग्दा उनको सवारी साधन बिग्रेर कामै नलाग्ने भयो । चालक भाइले बनाउन केही समय लाग्छ भनेकाले उनले त्यहाँसम्म पैदलै जाने निर्णय गरे । किनकि सेठजीले यति बढी दवाव दिएका थिए कि अरू बढी समय पर्खने फुर्सद थिएन । त्यसैले चालक भाइलाई गाडी बनाएर ल्याउने आदेश दिएर सेठजीको घरतिर लागे । स्थान नयाँ थियो, बाटो नयाँ । बाटो अवस्थाबारे कहाँ कस्तो छ थाहा हुने कुरै भएन ।

आकाशमा बादल हटेकाले ताराहरू प्रष्टै देखिन्थे । उनी तिनै ताराहरूलाई हेर्दै यसको स्वरूप र स्वभाव यस्तो छ, यसले यस्तो फल दिन्छ, उसको स्वभाव र स्वरूप यस्तो छ यसले यस्तो फल दिन्छ आदि कुरा सोच्दै हिँड्दै थिए बाटोको खाडल देखेनन् र नराम्ररी खस्न पुगे ।

यद्यपि उनले खाडलबाट निस्कन भरसम्भव प्रयास नगरेका होइनन् तर केही गर्दा पनि केही लागेन । उल्टै शरीरमा हिलो लतपतिएर चिन्नै नसक्ने भए । उता सेठजीको भाग्य बताउन हतार थियो यता आफ्नो अवस्था यस्तो, के गर्ने, गर्ने । त्यत्तिकैमा नजिकै कसैको आवाज सुनियो । उनले उद्धारका लागि हार गुहार लगाए । संयोगवश सोही गाउँका केही मानिस त्यतैबाट आउँदै रहेछन् । उनीहरूले तत्कालै आएर उद्धार गरी उनको परिचय माग्दै भने–

‘महाशय ! को हुनुहुन्छ ? कता जाँदै हुनुहुन्छ ? खाडलमा पर्नुको कराण के हो ?’

गाउँलेहरूको कुरा सुनेर उनले हतारिँदै भने–

‘अमुक गाउँको ज्योतिष हुँ । अरूको भाग्य बताउने काम गर्छु । अहिले पनि त्यही पल्लो गाउँको अमुक सेठजीको भाग्य बताउन हिँडेको हुँ । बाटाको खाडल देखिनँ र यस्तो अवस्थामा पुगेँ ।’

उनको कुरा सुनेर गाउँलेहरूले भने–

‘त्रिकालदर्शी ज्योतिष हुनुहुन्छ हो ?’

‘हो, त्यसै भन्छन् ।’

‘त्यसो भए धेरैको भाग्य बताई सक्नुभयो होला होइन ?’

‘हो, ठीक भन्नु भो ।’

‘अनि भाग्य बताउने आधार ?’

‘ज्योतिष विद्या नि अरू के हुन्छ भाग्य बताउने साधन ?’

‘जसलाई आफ्नै भाग्यको बारेमा थाहा छैन भने त्यस्तो विद्याको के काम ?’

‘ के विस्वास लागेन ?’

‘तपार्ईँको बारेमा होइन ।’

‘कसको बारेमा त ?’

‘तपाईँको विद्याको बारेमा ।’

‘अर्थात् ?’

‘अर्थात् यही कि जुन विद्याले आफ्नै भविष्य बताउन सक्दैन भने त्यस्तो विद्याले कसरी अर्काको भविष्य बताउन सक्छ भनेको नि ।’

उनीहरूको कुरा सुनेर ज्योतिषीजी रातो मुख लगाई आफ्नो बाटो लागे ।

वास्तवमा विद्या त्यही सिक्नुपर्छ जसले अफैँलाई काम लागोस् । अनि कुरा पनि त्यस्तै गर्नुपर्छ जसले आफ्नोबारेमा जानकारी देओस् । अर्काको बारेमा जानकारी राख्दै हिँड्नेको अवस्था त्यस्तै हुन्छ, जस्तो ज्योतिषीजीको भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप