वित्त र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने मन्त्री पौडेलको प्रतिबद्धता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा मन्त्री पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने तर हस्तक्षेप नहुने बताए ।
सोही क्रममा मन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरूलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीहरूलाई आग्रह समेत गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ । जसमा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव, न्यून राजश्व परिचालन र मुद्रा स्फीति समस्या रहेको मन्त्रीसमक्ष ब्रिफिङ गरेको छ ।
अहिले लगानी योग्य रकम बिस्तारै सहज हुन थालेको, मुद्रा स्फीति नियन्त्रण उन्मुख रहेको महाशाखाको भनाइ छ । महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र गत हप्ता पैँतालीस दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको जानकारी गराएको छ ।
महाशाखाले ब्याज दर पनि उच्च हुँदा मुद्रास्फीति नियन्त्रणमा सहयोग गरेपनि आर्थिक वृद्धिलाई असर पार्ने, न्यून राजस्व परिचालनले सार्वजनिक वित्त सन्तुलनलाई नकारात्मक प्रभाव पार्ने र मुद्रा स्फीतिले जनताको क्रय शक्ति न्यून पारी जनताको जीवनलाई कठिन परेको जानकारी गराएको छ ।
केही समस्या विश्वव्यापी प्रकृतिका रहेको उल्लेख गर्दै नेपालमा बजेटले लिएको आर्थिक लक्ष्य प्राप्त गर्न साधन जुटाउने विषय, लगानीको उच्च लागत, आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई लक्षित सीमा भित्र राख्ने विषय, सरकारी खर्च र राजस्व प्राप्तिबीच सन्तुलन कायम गर्ने विषय लगायतका चुनौतीका रूपमा प्रस्तुत गरेको छ ।
अब आर्थिक वृद्धि र अर्थतन्त्रमा स्थायित्व कायम गर्न सन्तुलित उपाय अवलम्बन गर्ने, पुँजीगत खर्चको कार्यान्वयनमा जोड दिने, राजस्व परिचालनमा विशेष कदम चाल्ने, अनौपचारिक क्षेत्रको विशेष नियमन गर्ने, आयात प्रतिबन्ध खुकुलो पार्ने, शोधभर्नालाई तीव्र पर्ने, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन पारित गर्नुपर्ने लगायतका मुद्दामा समेत महाशाखाले मन्त्री पौडेललाई सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी