आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुटनीतिको संवेदनशीलता र सचेत जनता

बुधबार, २० पुस २०७९, १४ : ०५
बुधबार, २० पुस २०७९

जनताको ज्ञानले राजनीतिज्ञको विचारलाई डग्मगाउन सक्छ र  राजनीतिज्ञका विचारले देशलाई । जिम्मेवार व्यक्तिहरुलाई आफ्नो जिम्मेवारीको बोध भएन भने समाज या देश ओरालोतर्फ मोडिन्छ । शासकले सत्ता जित्नलाई देशलाई हराएको इतिहास विश्व सामु छ ।

जनताले केवल भूराजनीति र स्थानीय राजनीतिमा मात्र आफ्नो चासो व्यक्त गरेर देश अगाडि बढ्न सक्दैन । कूटनीतिक र परराष्ट्र नीतिमा देश कसरी अघि बढिरहेको छ भन्ने कुराको ज्ञान बराबर राखेर सचेत गराउनुपर्छ जनताले । किनकि राष्ट्रको स्वाधीनता सार्वभौमसत्ताको रक्षा गर्नु हरेक नेपालीको उत्तरदायित्व हो ।  

अहिले अमेरिका, चीन र भारतसँग नेपालको विभिन्न पक्षमा सम्बन्ध र  सन्धिहरुसँग सम्बन्धित कुराहरुमाथि अझ बढी ध्यानाकर्षण होस् भन्ने उद्देश्य हो यस लेखको । 

हरेक राष्ट्र केवल भौगोलिक राजनीतिक दृष्टिकोणले मात्र नभई भावनात्मक दृष्टिकोणले पनि बाँधिएको क्षेत्र हो । कुनैपनि देश स्थिर हुनको लागि उसको कूटनीतिको मजबुतीमा पनि निर्भर गर्दछ । विश्व अर्थतन्त्रमै ठूलो प्रभाव देखाएका दुई मजबुत प्रभावशाली छिमेकी भारत र चीनका अगाडि नेपालको वैदेशिक नीतिले ठुलो  स्थान  राख्दछ । 

छिमेकी भएका नाताले कुनैपनि धारणाहरूमा कुनै पनि दुई देशबीच विमति हुनु स्वाभाविक हो  । जस्तो उदाहरणको लागि चीन र भारतको सीमा विवाद, नेपाल र भारतको कालापानीको विवाद । यी विवादहरुमा देशले कुन किसिमको कुटनीतिको सहारा लिन्छ भन्ने हो । ती निर्णयहरु  लिने व्यक्तिहरु हामी हाम्रो चेतना र ज्ञानको आधारमा निर्वाचनद्वारा छनोट गर्छौ, ती कत्तिको महत्वपूर्ण हुन्छन् महत्वपूर्ण प्रश्न यो हो ।

नेपाल कुनै पनि राष्ट्रको उपनिवेशमा बाँच्न परेको छैन । हाम्रो इतिहास सौर्यवान वीरहरूका शक्तिशाली रगतबाट लेखिएको छ, कमजोर छैन । परन्तु वैदेशिक हस्तक्षेपले नेपालको राजनीति सदैव तरंगित हुँदै आइरहेको छ । 

अहिले रुस र युक्रेनको युद्धले विश्वयुद्ध निम्ट्याउने अवस्था छ । सन् १९९१ अघि युक्रेन सोभियत सङ्घको एक अंश थियो तर त्यसपछि युक्रेन स्वतन्त्र भयो र नेटो र इयूहरूसँग युक्रेनका कुराहरु जोडिन लागे । आजको दिनसम्म पनि युक्रेन नेटोको सदस्य छैन तर यी सदस्यतासँग सम्बन्धित विषयले रुस र युक्रेनको युद्धको भीषण अध्याय लेखिने मोडमा छ ।

आज अन्तरराष्ट्रिय सम्बन्धमा आर्थिक कूटनीतिको विशिष्ट स्थान छ । विश्व व्यापार संगठन, अन्तरराष्ट्रिय मुद्रा कोष र विश्व बैंकको भूमिका अत्यन्त महत्वपूर्ण छ । साना देशहरु आर्थिक रूपमा मजबुत हुन खोजिराखेका छन् भने  ठूला देशहरु आर्थिक सहायतामार्फत् आफ्ना स्वार्थ पुरा गर्न खोजी राखेका छन् । बाह्य पुँजीनिवेश, संयुक्त उद्यम,  आर्थिक सहायता औद्योगीकरणमा सहयोग आदि कूटनीतिको अध्ययनको विषय बनेको छ ।

पश्चिमी देश आफ्नो आर्थिक शक्ति र कुटनीतिक कौशलताको कारण अल्पविकसित देशमा आफ्नो प्रभुत्व या  नियन्त्रण स्थापित गर्न चाहन्छन् । परराष्ट्र नीतिमा पुँजीवाद, नवउदारवाद,  समाजवाद जस्ता विचारहरूको प्रभाव पर्दछ तर जुनसुकै राजनीतिक दर्शन बोकेको भए पनि सत्ताधारी दलले परराष्ट्रनीतिलाई राष्ट्रिय अस्तित्व, राष्ट्रिय हित, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई केन्द्रमा राखेर कूटनीतिलाई प्रबल बनाई छिमेकी राष्ट्र  या पुरै विश्वसामु सगर्व उभ्याउन सक्नुपर्छ ।

राष्ट्रियता र राष्ट्रिय हित 

नेपालको हरेक कुटनीतिक पहल या विचारको आशयको अन्तर्यभित्र एउटै तत्त्व पर्छ, त्यो नेपालको राष्ट्रियता र राष्ट्रिय हित हो । नेपालको परराष्ट्र नीतिको मुख्य आधारशिला राष्ट्रिय अस्तित्व र राष्ट्रियता नै हो ।

नेपाल कुनै पनि राष्ट्रको उपनिवेशमा बाँच्न परेको छैन । हाम्रो इतिहास सौर्यवान वीरहरूका शक्तिशाली रगतबाट लेखिएको छ, कमजोर छैन । परन्तु वैदेशिक हस्तक्षेपले नेपालको राजनीति सदैव तरंगित हुँदै आइरहेको छ । 

औपचारिक रुपमै हाम्रो कुटनीतिक सम्बन्धको इतिहास दुई सय वर्ष भन्दा पुरानो छ ।  पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा नै नेपालको कुटनीतिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण सन्देश दिउका छन् ।  नेपाल दुई ढुङ्गा बिचको तरुल भएकाले उत्तर र दक्षिण दुबैसँग राम्रो सम्बन्ध बनाउनुपर्ने आधारभूत सिद्धान्त पृथ्वीनारायण शाहले त्यही बेला बुझिसकेका थिए । अहिले पनि नेपालको परराष्ट्र नीतिलाई यही सिद्धान्तले दिशानिर्देश गरिरहेको छ । 

नेपालको कूटनीतिक इतिहास हेर्ने भने राणाकालमै नेपालले अमेरिका, बेलायत, फ्रान्स जस्ता मुलुकसँग आफ्नो कुटनीतिक सम्बन्ध स्थापित गरिसकेको थियो  । 

पञ्चायतकालीन समयमा हामी अहिलेको तुलनामा कूटनीतिक रूपमा बढी व्यवस्थित र  स्थिर थियौं  भन्न्े जस्तो लाग्छ । पार्टीगत राजनीति र भूराजनीतिको नकारात्मक प्रभाव र संलग्नताले कुटनीति आज असफलतातिर लच्कदै  छ । परराष्ट्र निकायहरुमा राजनीतिक भागवण्डा  ठूलो समस्याको रुपमा देखिएको छ । 

अन्तरराष्ट्रिय स्तरमा कुनैपनि देशको स्थान या छवि निर्धारण गर्ने धेरै तत्व या आधारहरु हुन्छन्, जसमध्ये एक हो पासपोर्ट । तर विश्वको पासपोर्टमा हामी कमजोर  स्थितिमा छौं र क्रमिक रुपमा हाम्रो स्थिति खस्किने क्रममा छ ।

विश्वको धेरै क्षेत्रीय संघसंगठनहरुले अहिले  तीब्र सक्रियता देखाइरहेका छन् तर  सार्क र  बिमस्टेक जस्ता क्षेत्रीय संगठनहरुको सक्रियता कम हुँदै गइरहेको छ । नेपालको परराष्ट्र नीतिका पनि बहुआयामिक पक्ष छन्, जसमध्ये यस्ता संगठनहरु पनि पर्दछन् । आज सार्क आफ्नो निष्क्रियता प्रस्तुत गरिरहेको छ, जबकि बिमस्टेकलाई भारत अगाडि बढाउन चाहन्छ । जुन कारक तत्वका कारण सार्क फेल भयो, त्यस्तै बिमस्टेक भोलिका दिनमा फेल नहोला भन्न सकिँदैन ।

यस्ता संगठनहरूको कार्यनीति, सञ्चालन विधि र अन्य सदस्यहरूको संलग्नतालाई नेपालले सुक्ष्म अध्ययन गरी अघि बढ्नुपर्छ । जस्तो कि  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा नेपाल पनि संस्थापक राष्ट्रको रुपमा छ । त्यसैले, सार्कको भविष्य लेखनमा नेपालको पनि ठूलो हात हुन्छ । 

कूटनीतिक रूपमा निस्केका समस्याहरु उच्चस्तरको कुटनीतिक पहल या वार्ताबाट मात्र समाधान हुन्छन् र हरेक सरकारले त्यस्ता कुटनीतिक पहल या वार्ताका प्रगति विवरण आमजनतालाई बुझाउन सक्नुपर्छ ।

चीन–अमेरिका या भारत–अमेरिका या भारत–चीनको सम्बन्धले प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालको भूराजनीतिको जटिलतालाई प्रभाव पार्छ । एक्काइसौं शताब्दीमा चीन,  अमेरिका, रसिया जस्ता देश मुख्य शक्ति रुपमा छन् । आगामी दिनमा भारत–चीन शक्तिकेन्द्र बन्न सक्छन् ।  त्यसैले पनि नेपाल विश्व दृष्टिकोणमा महत्वपूर्ण स्थानको रूपमा छ । 

भारत र चीनको राजनीतिक दर्शन, परिवेश, इतिहास फरक छन् । केही यिनलाई पौराणिक युगमा प्रतिस्पर्धी सभ्यता र वर्तमान युगमा प्रतिस्पर्धी राज्यको रूपमा लिन्छन् । भौगोलिक तुलनामा चीन र भारतको अगाडि नेपाल धेरै सानो अविकसित मुलुक पनि हो । विकसित र अविकसित मुलुकमा पाइने साधारण भिन्नता स्रोतसाधनको सही उपयोगिता,  कुटनीतिक चातुर्यता, स्थिर भूराजनीति र स्थिर सरकार नै हो । भौगोलिक मानचित्रमा साना मुलुकहरु जस्तै सिंगापुर, दक्षिण कोरिया जस्ता देशहरु विकसित मुलुकमा गनिन्छन् ।

आफ्नो स्वार्थका लागि राजनीतिमा विश्वास गर्नेहरूले देशको स्वार्थका लागि देशको वैदेशिक नीतिमा पनि चासो राखी खबरदारी गर्न सक्नुपर्छ । राजनीति देशको सर्वोच्च नीति हो, शासनसत्ताको बिज्ञान हो राजनीति र त्यो शासनसत्ताको प्रमुख कलाहरु मध्येको एक प्रमुख कला हो कुटनीति । समयसंगै यिनका अर्थ र प्रयोग भिन्न हुँदै छ । तर धेरै कालखण्डमा फोहोर राजनीतिबाट कूटनीति थिचिँदा देशको सार्वभौमसत्ता संकटमा पर्दछ । 

हरेकले जटिल दर्शनहरू बुझ्नुपर्छ भन्ने अनिवार्य छैन तर सरकार या संसद के गर्दैछ भन्ने बोध हुनुपर्छ हरेक देशवासीलाई । किनकि केही प्रश्नले निरन्तरता पाएन भने नेतृत्व जसको भएपनि आफ्नो सिमा नाघ्ने साहस गर्न सक्छन् । कुटनीति पनि  संवेदनशील विषय हो,  साधारण विषय होइन । कुटनीतिमा शब्द मात्र होइन, मौनता पनि शक्तिशाली हुन्छ । 

कूटनीतिक रूपमा निस्केका समस्याहरु उच्चस्तरको कुटनीतिक पहल या वार्ताबाट मात्र समाधान हुन्छन् र हरेक सरकारले त्यस्ता कुटनीतिक पहल या वार्ताका प्रगति विवरण आमजनतालाई बुझाउन सक्नुपर्छ । हरेक नेपालीले आफ्नो देशको स्वाधिनता र सार्वभौमिकताको रक्षा हेतु कुटनीति बुझ्ने प्रयास गर्नुपर्छ । 

हरेक दर्शनको निचोड गहिराइमा मात्र मिल्छ तर हरेक निचोडलाई सरल शब्दमा भन्न सक्नु नै बुझाउन सक्ने एक विद्वानको चिनारी हुन्छ । यस्ता कुटनीतिक विद्वानको हामीसँग पहिला पनि कमी थिएन र अहिले पनि कमी छैन । तर आज महत्त्वपूर्ण सन्धि सम्झौताहरुमा विद्वानहरुकै मत बाँडिएकाले जनता एउटा निष्कर्षमा पुग्न सकेका छैनन् ।

बौद्धिक वर्ग तटस्थ हुनैपर्छ, कुनै एउटा पक्षतिर बढी झुकेर विभिन्न स्वार्थका कारण गलत सन्देश दिन हँुदैन । यस्तो हुनु भनेको देशकै लागि दुर्भाग्यको कुरा हुन्छ । हामी आज कुटनैतिक रुपमा समयको नाजुक धारमा छा ैं। त्यसैले विद्वानहरुले हरेक नेपालीले बुझ्ने गरी राष्ट्रघात हुन सक्ने कुटनीतिक पहल सन्धि सम्झौताका बारेमा स्पष्ट पार्नुपर्छ ।

राष्ट्रको सामाजिक, आर्थिक विकास हुने सन्धिलाई सहर्ष स्वागत गर्ने र राष्ट्र अहितको हरेक सन्धि,  सम्झौताको विरुद्धमा उत्रिनु हरेक नेपालीको कर्तव्य हो र त्यसको जानकारी पाउनु अधिकार । र, ती सन्धिमाथि सघन र गहिरो विश्लेषण संसदले गर्नुपर्छ । 

आज लिम्पियाधुरा र कालापानीको समस्या पनि उच्चस्तरीय कूटनीतिक वार्ताबाट मात्र समाधान हुन सक्छ ।  महाकाली सन्धि सम्झेर हामी  आज पनि दुःखी हुन्छौँ । किनकि यो धेरै पुरानो कुरा पनि होइन । हामीले विद्वान ठानेर चुनेर पठाएकाबाट भएका गल्ती धेरै पटक  देखि सक्यौं, बुझिसक्यौं । तर न आवाज बुलन्द भयो, न त प्रतिध्वनि नै गुन्जियो । म उग्र राष्ट्रवाद या अति राष्ट्रवादको वकालत गर्ने व्यक्ति होइन । राष्ट्रिय हितको बारेमा सोच्ने एक आम युवक, मेरा शब्दहरु फगत देशभक्तिका परावर्तित किरण मात्र हुन् ।

वैचारिक निष्पक्षता र स्पष्टता एउटा नेताको चिनारी हो र सैद्धान्तिक निष्पक्षता र स्पष्टता एउटा पार्टी या संस्थाको हो । विशेष गरी अन्तरराष्ट्रिय सम्बन्धहरु या अन्तरराष्ट्रिय राजनीतिमा पार्टीगत र व्यक्तिगत धारणाहरु पारदर्शी हुनुपर्छ। 

हामीले अस्तित्व नै मेटिएका देशहरु पनि देखेका छौँ । कूटनीतिक रूपमा मुलुकको संवेदनशील निर्णयहरू लिनको लागि राष्ट्रिय हितमा विश्लेषण नगरी निर्णय लिदा देश सदैव संकट तिर मोडिन्छ । त्यसैले मुलुक सही दिशामा अघि बढ्न कुट्नीतिक दूरदर्शिता अत्यावश्यक हुन्छ ।

वर्तमान समयमा नेपालको संसद आफ्नो जवाफदेहितामा कमजोर देखिएको छ । विगत दुई वर्षको नेपालको घटनाक्रमलाई हेर्ने हो भने सायद राजनीतिमा यति धेरै उलटपुलट हुनमा बैदेशिक हस्तक्षेपको ठूलो भूमिका देखिएको छ । असंलग्न परराष्ट्र नीतिको अभ्यासमा पनि अस्पष्ट हँुदैछ । 

कुनै पनि देश अझ त्यसमाथि पनि भूपरिवेष्ठित राष्ट्रको लागि छिमेकीसँगको सम्बन्ध सदैव संवेदनशील विषयको रुपमा रहन्छ । ठूला शक्तिहरूको  गह्रौ भारमा थिचिँदाको  नतिजा देख्दैछौ हामी । किनकि वर्तमान समयमा देशले स्थिरता पाएको छैन । 

सिक्काको दोस्रो पाटो पनि छ, आर्थिक र सामाजिक विकासको पनि राष्ट्रिय अखण्डता जोगाउनमा ठूलो हात हुन्छ । र, अन्तरराष्ट्रियस्तरको सहयोग ( विशेषतः आर्थिक सहयोग)  विना हामी अघि बढ्न सक्दैनौं । यसका लागि धेरै देशको सहयोग चाहिन्छ । 

कुनै पनि देशको कुटनीतिको मुख्य लक्ष्य विश्वसामु आफ्नो मजबुत स्थिति बनाउनु नै हुन्छ, चाहे अर्को राष्ट्रमा सकरात्मक प्रभाव परोस् या नकारात्मक प्रभाव ।  आर्थिक, सामाजिक,  राजनैतिक रुपमा सक्षम र सबल बन्ने कूटनीतिको उद्देश्य हुन्छ ।  

शीतयुद्धको कारण सन् १९९१ मा सोभियत संघको विघटनपछि अमेरिकाको महाशक्तिमा उदय अमेरिकाको कूटनीतिको उदाहरण हो । महाकाली सन्धि भएको भारतको कुटनीतिक उदाहरण हो । सन् १९७१ मा पाकिस्तानको विभाजन गर्नु भारतको कुटनीतिको अर्को उदाहरण हो ।

रुस–युक्रेन युद्धबाट नेपालले सिक्नुपर्ने कुरा के हो भने छिमेकमा धेरै शक्तिशाली राष्ट्र भए कुटनीतिको महत्व झनै बढ्छ । किनकि युद्ध हुनु भनेको कुटनीतिको हार हो ।  चीनले  सन् १९९१ मा तिब्बत कब्जा गरेको र  भारतले सन् १९७५ मा सिक्किम कब्जा गरेको घटनाबाट पनि नेपालले  धेरै कूटनीतिक शिक्षा लिनुपर्छ ।

बकैया–१२, मकवानपुर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विदुर घिमिरे
विदुर घिमिरे
लेखकबाट थप