आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
शिक्षा

विश्वविद्यालयहरूले किन विद्यार्थी पाउन सकिरहेका छैनन् ?

चिकित्सा तथा प्राविधिक विषयमा आधाभन्दा कम विद्यार्थी पढ्दै
बुधबार, २० पुस २०७९, ०९ : ५९
बुधबार, २० पुस २०७९

काठमाडौँ । नेपालमा हाल ११ वटा विश्वविद्यालय, एक प्रदेश विश्वविद्यालय तथा ५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । ती विश्वविद्यालय मातहत एक हजार ४४० क्याम्पसमा उच्च शिक्षा तहको पढाई सञ्चालन भइरहेका छन् ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार ती विश्वविद्यालयमा हाल ४ लाख ६० हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये त्रिभुवन विश्वविद्यालयमा मात्रै ७६ प्रतिशत र अन्यमा २४ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

त्यसमा साधारण विषय अध्ययन गर्ने ७७.८३ प्रतिशत र प्राविधिक विषय अध्ययन गर्ने २२.१७ प्रतिशत छन् । साधारणतर्फ पनि ४३ प्रतिशत व्यवस्थापन, १९ प्रतिशत शिक्षा, १३ प्रतिशत मानविकी संकायका छन् ।

प्राविधिक धारमा विद्यार्थीको प्राथमिकता रहे पनि विज्ञानमा ८ प्रतिशत, इन्जिनियरिङमा ६.३८ प्रतिशत र मेडिकलमा ५.९८ प्रतिशत भर्ना भएका छन् । विश्वविद्यालयहमा भर्ना हुने विद्यार्थी दर हरेक वर्ष घट्दो क्रममा छ । यतिमात्र नभएर विद्यार्थी पास हुने दरसमेत घट्दो क्रममा छ । विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन हेर्दा यस्तो तथ्यांक उजागर भएको हो ।

शैक्षिक सत्र २०७५/०७६ मा ४ लाख ४१ हजार ८१९ विद्यार्थी विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका थिए । त्यस्तै २०७६/७७ मा ४ लाख ६६ हजार ८२८ विद्यार्थी उच्च शिक्षाका लागि भर्ना भएका थिए । शैक्षिक सत्र २०७७/०७८ मा ४ लाख ६० हजार ८२६ जना विद्यार्थी भर्ना भएको पाइन्छ । २०७६ को तुलनामा २०७७ मा ६ हजार कम विद्यार्थी भर्ना भएका थिए ।

झण्डै १० वर्ष अगाडि २०७०/०७१ मा ४ लाख ५८ हजार ६२१ विद्यार्थी उच्च शिक्षाका लागि भर्ना भएका थिए । त्यसको तुलनामा १० वर्षपछि विद्यार्थी संख्या बढ्नुपर्नेमा घट्दो देखिएको हो ।

यतिमात्र नभएर चिकित्सा शिक्षा तथा प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्या भने निकै कम हुँदै गएको छ । कतिपय मेडिकल कलेज तथा प्राविधिक विषय पढाउने शिक्षालयहरू विद्यार्थीको अभावमा बन्दसमेत भइरहेका छन् ।

uni-data

तीन शैक्षिक सत्रको तथ्यांक हेर्दा विद्यार्थी संख्या थपघट देखिएको छ । अघिल्लो शैक्षिक सत्र २०७७/०७८ को तुलनामा २०७८/०७९ मा विद्यार्थी संख्या न्यून देखिन्छ । विश्वविद्यालयहरूले विगतको तुलनामा कम विद्यार्थी भर्ना भएको बताएका छन् ।

चालु शैक्षिक सत्र २०७९/०८० मा त झन् विद्यार्थीको संख्या निकै कम देखिन्छ । कतिपय शैक्षिक कार्यक्रममा विद्यार्थी संख्या अपुग भएपछि दोस्रो वा तेस्रो पटक प्रवेश परीक्षासमेत लिएका छन् । चालु शैक्षिक सत्रको विद्यार्थीको तथ्यांक भने यकिन भइसकेको छैन । तर, विश्वविद्यालयहरूले भने विद्यार्थीको संख्या कम हुँदा कतिपय कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयले बीबीए, बीएचएम, बीबीएमलगायत विषयमा दुई पटक प्रवेश परीक्षा गरेको छ । विद्यार्थीका लागि तोकिएको कोटा पूरा हुन नसकेपछि त्रिविले दुई–दुईपटक प्रवेश परीक्षा सञ्चालन गरेको हो । 

data 2019-20

त्रिविमा यिनै विषय विद्यार्थीको आकर्षणको केन्द्रमा पर्छन् । तर, अहिले भने ती विषयमा विद्यार्थी पाउनै गाह्रो छ । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा कुनै समय ८०० देखि ९०० विद्यार्थी स्नातकोत्तर तहमा पढ्थे । तर, अचेल २०० देखि ३०० विद्यार्थी मात्रै पढ्छन् । अंग्रेजी विभाग प्रमुख डा. जीवलाल सापकोटाले वार्षिक भन्दा सेमिस्टर प्रणालीमा जाँदा विद्यार्थी संख्या कम हुने गरेको बताए ।

‘वार्षिक कार्यक्रममा निकै ठूलो क्लास हुन्थ्यो । कक्षा कोठामा २०० देखि ३०० सम्म विद्यार्थी राख्थे । अहिले एउटा कक्षा कोठामा ३५/४० जनामात्र राख्दा स्वतः कम हुने भयो,’ उनले भने ।

data 3

अहिले सेमिस्टर प्रणालीमा ८० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ । त्यस्तै समय समयमा परीक्षा गरिन्छ । जसले गर्दा जागिर खाने विद्यार्थीले सेमिस्टर प्रणाली अनुसार पढ्न नसकिरहेको उनको भनाइ छ ।

विद्यार्थी घट्नुको कारणहरू :

यसरी विश्वविद्यालयमा विद्यार्थी संख्या घट्नुको पछाडि थुप्रै कारण छन् । त्यो मध्येको सेमिस्टर प्रणाली पनि एक भएको विद्यार्थीहरू नै बताउँछन् । त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा दोस्रो सेमिस्टरमा अध्ययनरत विद्यार्थी भुवन कठायतले सेमिस्टर प्रणाली लागू गरेर लाखौं विद्यार्थीलाई पढ्नबाट वञ्चित गराएको बताए ।

‘बिहान कलेज पढेर दिउँसो जागिर गर्न खोज्यो भने मिल्दैन । दिउँसो नै कक्षा सञ्चालन हुन्छन् । अनि कमाएर पढ्न खोज्ने विद्यार्थी कसरी पढ्न सक्छन् ?’ उनले प्रश्न गरे ।

data 2

पढेर के गर्ने भन्ने सोच पनि एउटा कारण  

उच्च शिक्षामा विद्यार्थीको आकर्षण घट्नुको अर्को प्रमुख कारण वैदेशिक रोजगारी भएको त्रिविका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमा बताउँछन् ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै वैदेशिक अध्ययन अनुमतिका लागि १ लाख १४ हजार १३४ जना विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् । सोही वर्ष ६ लाख ३० हजार ९० जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । झण्डै ३० प्रतिशत नेपाली १८ देखि २४ वर्ष उमेर समूहका छन् । जुन उच्च शिक्षा अध्ययन गर्नुपर्ने उमेर समूहका हुन् । त्यस्तै २५ देखि ३४ वर्ष उमेर समूहका ५१.३ प्रतिशत व्यक्ति वैदेशिक रोजगारीमा छन् । उनीहरू विश्वविद्यालयस्तरको पढाई गर्नुपर्ने उमेरसमूहका व्यक्ति हुन् ।

आर्थिक अवस्था कमजोर भएकाहरूले पढाईभन्दा आर्थिक आर्जनलाई प्राथमिकतामा राखेको प्रा.डा. माथेमाको भनाइ छ । ‘पढेर पनि के गर्ने भन्ने कुरा आउँछ । जागिर पाउँदैनन् । सरकार पनि यिनीहरूलाई बाहिर पठाइदिए पनि आनन्दै हुन्थ्यो जस्तो गरेर बसेको छ,’ उनले भने, ‘यहाँ जब क्रिएसन भएको छैन नि त्यति साह्रो । यहाँ ठूल्ठूलो लगानीकर्ता आएर लगानी गरेको खण्डमा त मान्छेहरू यहीँ रमाउँछन नि । यहाँ रोजगारी नभए विदेश नै जानुपर्‍यो ।’

विश्वविद्यालयको गुणस्तर पनि नपुगेको उनको भनाइ छ । घरमा आफ्नो बच्चाले भातदाल नखाने तर बाहिर गएर मःम खाने गरेको कुरामा हामी गम्भीर हुन नसकेको उनले बताए ।

‘बच्चाले घरमा दालभात नखाने । पर पसलमा गएर मःम हरेक दिन खाएर जान्छ भनेपछि त मेरो किचन पनि हेर्नुपर्‍यो नि,’ उनले भने, ‘मेरो किचेनमा केही गडबडी त छैन, त्यो नहेरेर छोराले दालभात खाएन भनेरमात्र भएन । केटाकेटी यहाँ किन पढेनन् भनेर राम्रोसँग हेर्नुपर्‍यो नि ।’

विदेशी विश्वविद्यालयको पाठ्यक्रम अनुसार पढ्न पाइयोस् भनेर नेपालमा कलेजहरू खुलेका छन् । तर, त्यति गर्दा पनि पढ्नका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । विदेशी सम्बन्धन प्राप्त नेपाली कलेज निकै महँगा भएको उनको भनाइ छ ।

‘त्यत्रो महँगो तिरेर त्यहाँ पढ्नुभन्दा विदेश नै जान ठिक लाग्छ उनीहरूलाई । विदेश जाने विद्यार्थीले त पढ्न पनि सक्छ, काम पनि गर्न सक्छ,’ उनले भने, ‘तर, नेपालमा त्यस्तो वातावरण छैन । उतातिर त काम गरेर पढ्न पनि सकिन्छ । काम पनि हुने, पढाई पनि हुने भएपछि धेरैको आकर्षण बढेको देखिन्छ । त्यस्तो खालको अवसर नेपालमा छैन ।’

पाठ्यक्रम समय सापेक्ष नहुनु

त्यस्तै विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घट्नुको अर्को कारण भनेको समयसापेक्ष पाठ्यक्रम नहुनु हो । विश्वविद्यालयहरूमा अहिले विद्यार्थीको रूची तथा चाहना र बजारको माग अनुसारका शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।

विगतकै जसरी पढेर बेरोजगार हुनुपर्ने खालका शैक्षिक कार्यक्रम सञ्चालन हुँदा यस्तो खालको समस्या आएको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् ।

‘विद्यार्थीका लागि सहज र हाम्रो परिवेशको पाठ्यक्रम हुनुपर्‍यो । लाखौं खर्च गरेर बेरोजगार हुनुपर्ने खालको शिक्षा पढेर के काम ? त्योभन्दा त प्लस टु गरेर विदेश जानु सजिलो भनेर त्यतातिर हानिएका छन्,’ कोइरालाले भने ।

अंग्रेजीमा पढाउने गरेका कारण पनि विद्यार्थीहरूको आकर्षण कम भएको उनको भनाइ छ । ‘पाठ्यक्रम नै अंग्रेजीमा बनाइन्छ । नेपाल जस्तो देशमा पढ्ने विद्यार्थीका लागि अंग्रेजी त थुपार्ने काममात्र भएको छ । विद्यार्थीहरूले त्यस्तो खालको पढ्न चाहँदैनन्,’ कोइरालाले भने ।

विद्यार्थी घट्नुको कारण पत्ता लगाउन राम्रोसँग अध्ययन नै नभएको प्रा.डा. माथेमाको भनाइ छ । ‘तपाई बिरामी हुनुभएको छ भने डाक्टरले जाँच गरेरमात्रै उपचार गराउँछ । हो, त्यस्तै खालको अध्ययन हुनुपर्‍यो नि । किन केटाकेटीहरूको विश्वविद्यालयप्रति आकर्षण छैन ? त्यसको खास अध्ययन भएको छैन,’ उनले भने ।

विश्वविद्यालयमा हुने गरेको राजनीतिका कारण पनि विद्यार्थीहरूको आकर्षण घट्दै गएको प्रा.डा. माथेमाको भनाइ छ । त्यस्तै विश्वविद्यालयले समयमै परीक्षा गर्न नसक्ने, रिजल्ट दिन नसक्ने जस्ता कारण पनि विद्यार्थीको आकर्षण घटेको उनी बताउँछन् ।

‘टाईममा रिजल्ट आउँदैन । टाईममा परीक्षा हुँदैन । २ वर्षको कोर्षलाई ४ वर्षको लगाइरहेको छ । ४ वर्षको कोर्षलाई ६ वर्ष लगाइरहेका छन् । त्यो कुरामा विश्वविद्यालय पनि चुकिरहेका छन्,’ उनले भने ।

नेपालमै पढेर यहीँ कामको अवसर नपाउँदासम्म विद्यार्थीहरू विदेश नै जाने उनको भनाइ छ ।

‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने बच्चाहरूले काम पाउनुपर्छ । त्यसका लागि यहीँ ठूल्ठुलो लगानी आउनुपर्‍यो, ठूल्ठुलो प्रोजेक्टहरू आउनुपर्‍यो, ठूल्ठूलो अफिसहरू खडा हुनुपर्‍यो । यहीँ काम गर्ने वातावरण हुनुपर्‍यो,’ प्रा.डा. माथेमाले भने, ‘फरेन डाईरेक्ट इन्भेस्मेन्ट (एफडीआई) त्यो एकदमै न्यून छ । त्यो नआईकन नेपाल माथि जानलाई गाह्रो हुन्छ । नेपालकै मान्छेको पुँजीले पुग्दैन ।’

नियम कानुनले पनि समस्या गरिरहेको उनको भनाइ छ । आज एउटा नियम कानुन हुने, भोलि अर्को नियम कानुन हुने प्रवृत्तिले पनि समस्या भइरहेको माथेमाको भनाइ छ । यसका लागि सबैभन्दा पहिला रोग के हो भन्ने नै पत्ता लगाउनुपर्नेमा उनले जोड दिए ।

‘सबैभन्दा पहिला रोगै पत्ता लगाउनुपर्‍यो । के कारणले यस्तो भइरहेको छ भनेर पहिला पत्ता लगाउनुपर्‍यो । दिनमा ३ हजार मानिस बाहिर जानुभनेको धेरै नै हो । यता फरेन करेन्सी पनि गइरहेको छ । सामाजिक हिसाबले भन्ने हो भने गाउँ रित्तिरहेको छ । घर परिवारमा बुढाबुढीमात्र बस्नु परिरहेको छ । यो के कारणले भएको हो भनेर राम्रै अध्ययन हुनुपर्छ भन्ने लाग्छ,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय सुधार गर्ने पोलिसी बनाएको थियो । तर, कार्यान्वयन हुन सकेको छैन । भिजन २०२०–३० मा पनि यी कुरा समेटिएको थियो । तर, काम भने सुरू भइसकेको छैन ।

जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना तयार नगरेर सीपमूलक शैक्षिक कार्यक्रमको न्यूनताले गर्दा शैक्षिक बेरोजगारको संख्या बढिरहेको देखिन्छ ।

विश्वविद्यालयबाट विश्व बजारको माग र नव प्रविधिमा आधारित शिक्षा बायोमेट्रिक्स, बायो इन्फर्मेसन, कम्प्युटर कमेष्ट्री, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विषय अझै कार्यान्वयनमा आउन नसकेको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले औल्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप