बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द

मङ्गलबार, १९ पुस २०७९, २० : ५५
मङ्गलबार, १९ पुस २०७९

महोत्तरी । पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताए । 

उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गहा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र पिपरा गाउँपालिकाले आफ्ना सबै सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

अविरलरूपमा बहिरहेको चिसो स्याँठ र तप तप गर्दै चारैतिर शीतवर्षा भइरहेका कारण असहनीय जाडो भएपछि दशवटै पालिकाले आउँदो एक साताका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । साथै केही पालिकाले मौसममा सुधार नआएमा पुनः बिदा थप गर्नेसमेत जनाएका छन् ।

मौसममा अचानक आएको परिवर्तनपछि जिल्लाका १५ पालिकामध्ये १० पालिकाले बालबालिकाको जीउ, ज्यान तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आजैदेखि लागु हुने गरी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका छन् भने अन्य पालिकाले पनि आ आफ्ना नगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिरहेको बुझिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख सुवेदीका अनुसार महोत्तरी जिल्लाको १५ वटा पालिकामा जम्मा तीन सय २३ वटा सामुदायिक विद्यालय छन् भने अहिले अचानक जिल्लामा सुरु भएको शीतलहरका कारण करिब दुई सय विद्यालयमा अचानक पठनपाठन बन्द गरिएको हो । 

उनले जिल्लाका विद्यालयले वर्षे तथा बाँकी रहेको बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई हुनसक्ने क्षति तथा दैवी प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई विद्यालय बन्द गरेको जानकारी दिए । जिल्लाको पाँच वटा पालिकाका विद्यालयमा अझै पनि नियमित पठन पाठन जारी रहेको उनले बताए । 

कठ्याङ्ग्रिँदो जाडोमा दलित र विपन्न बस्तीमा नेपाली सेना

महोत्तरीमा अचानक जाडो बढेपछि नेपाली सेनाले सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित मुसहर र बिन बस्तीमा नेपाली सेनाले सहयोग गरेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले सो बस्तीका एक सय ७५ घरधुरी लाभान्वित हुने गरी ३० स्थानमा एक हजार दुई सय किलोग्राम दाउरा बालेर न्यानो बाँड्ने काम गरेको प्रमुख सेनानी उत्तम कटवालले बताए ।

त्यस्तै नेपाली सेनाको टोलीले ती बस्तीका चार सय व्यक्तिलाई कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला तातोपानी र चिया पिलाएर बस्तीका व्यक्तिलाई न्यानो पार्ने काम गरेको छ । नेपाली सेनाले कठ्याङ्ग्रिँदै गरेको बस्तीमा न्यानो बाँडेपछि ती बस्तीका बासिन्दा खुसी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप