मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : प्रचण्ड–ओलीबीच भद्र सहमति, बाबुरामसँग मिलन नजिक

मङ्गलबार, १९ पुस २०७९, २० : ३१
मङ्गलबार, १९ पुस २०७९

आज पुस १९ गते मंगलबार । आज दिनभर रातोपाटीमा प्रकाशित शीर्ष १० समाचार यहाँ प्रस्तुत गरेका छौँः

प्रचण्ड–बाबुरामबीच छिट्टै एकता

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच छिट्टै एकता हुने भएको छ । नेपाल समाजवादीको आगामी पुस २४ गतेको राजनीतिक समितिको बैठकपछि पार्टी एकताको वातावरण बनाएर जाने नेताहरूले बताएका हुन् ।

प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक प्रभावशाली मन्त्रीले रातोपाटीलाई जानकारी दिएका हुन् ।

आले र राईको शपथ

प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।  आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन् । 

रामचन्द्रको प्रस्ताव

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौँमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । 

वीरेन्द्रनगरको भाइरल १३ लाखको बाघ

आइतबारदेखि सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्तिको कोलाज गरिएको तस्बिर भाइरल बनिरहेको छ । उक्त मूर्तिको मूल्य र बनावटलाई लिएर सामाजिक सञ्जालभरि चर्चा भइरहेको हो । सो तस्बिर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को भैरव सामुदायिक वनभित्र रहेको ‘सहिद पार्क’ को हो ।

प्रधानमन्त्री प्रचण्डको ३० बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरूलाई  जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने विभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा भएको छलफलपछि सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न भनेका हुन् ।

बालेन भर्सेस निर्वाचन आयोग

निर्वाचन खर्च नबुझाएको कारण ठुलो जरिवानाको घोषणा गरिएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्  आयोगको निर्णय स्वेच्छाचारी र संविधान विपरीत रहेको भन्दै उनले ऐनसमेत संशोधनका लागि संवैधानिक इजलासमा रिट दर्ता गराएका हुन् । 

एकीकृत समाजवादीका दुई निर्णय

नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । मंगलबार सकिएको बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको हो ।

नेपालमा रहेको ५ करोड भारु कागजको खोस्टा बन्ने खतरा

भारत सरकारले लागू गरेको नोटबन्दीको कारण नेपालमा रहेको ५ करोड भारतीय रुपैयाँ कागजको खोस्टामा परिणत हुने भएको छ । सोमबार भारतीय सर्वोच्च अदालतले सन् २०१६ मा नै केन्द्रीय सरकारले घोषणा गरेको ५०० दरका र १००० दरका भारु नोटबन्दीको निर्णय सदर गरिदिएको छ । योसँगै नेपाल रहेको सो दरका करिब ५ करोड भारु बराबरको नोट खोस्टा बराबर बन्ने खतरा बढेको हो । 

राष्ट्र बैंक सहमत

नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत बनेको छ । व्यवसायकी छाता संगठनसँग भएको भेटवार्ताका क्रममा केन्द्रीय बैंक २ वर्षसम्म यसलाई जारी पूँजी कर्जा निर्देशिका खुकुलो बनाउन सहमत बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप