मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
समाचार

३० महिनामा आत्महत्या गर्न खोज्ने ४४ जनाको उद्धार

साइबर ब्यूरोले यसरी दियो नयाँ जीवन
मङ्गलबार, १९ पुस २०७९, १५ : ५४
मङ्गलबार, १९ पुस २०७९

नेपाल प्रहरीको साइबर ब्यूरोको भोटाहिटीस्थित कार्यालयमा थरीथरीका समस्या लिएर सेवाग्राही आइपुग्छन् । अधिकांश विषय यौनजन्य साइबर अपराध भए पनि वित्तीय अपराध, ब्ल्याकमेल र आत्महत्याको स्थितिसम्मको विषय पनि साइबर ब्यूरोले ‘ह्याण्डिल’ गरिरहेको छ ।

सानो जनशक्तिमा रहेको साइबर ब्यूरोले ३० महिनाको अवधिमा ४४ वटा आत्महत्यासँग सम्बन्धित घटनामा उद्धार गरेको छ । ४४ मध्ये ४२ वटा घटनामा जीवित उद्धार गरिएको छ भने दुई घटनामा ब्यूरोले पहलकदमी लिँदालिँदै पनि सम्बन्धित व्यक्तिको ज्यान बचाउन सकेन । पहिले ब्यूरोसँग जोडिएका केही प्रतिनिधि घटनाको चर्चा गरौँ । 

घटना नम्बर १ : आत्महत्या गर्न मेटासिट बोकेर हिँडेकी महिलाको उद्धार

पुस ३ गते साइबर ब्यूरोको इमेल ठेगानामा इमरजेन्सी रेस्पोन्सका लागि भन्दै एउटा इमेल आयो । भर्खरै कक्षा १२ पढ्दै गरेकी किशोरीले आफ्नी सानिमा आत्महत्या गर्ने अवस्थामा पुगिसकेको भन्दै उद्धार गरिदिन साइबर ब्यूरोमा इमेल पठाएकी थिइन् ।

ब्यूरोमा त्यस्तो इमेल आउना साथ भोटाहिटीस्थित साइबर ब्यूरोको टोलीले आत्महत्याको बिन्दुसम्म पुगिसकेकी महिलालाई सम्पर्क गर्‍यो । दुई सन्तानकी आमा रहेकी ती महिलालाई आत्महत्याको बिन्दुसम्म पुर्‍याउने कारण थियो, विवाहेत्तर यौन सम्बन्ध र त्यसपछि ब्ल्याकमेल ।

काठमाडौंको थानकोट घर भएकी २८ वर्षीय मेलिना (नाम परिवर्तन) आफ्ना श्रीमानलाई औधी माया गर्छिन् । श्रीमानले पनि मेलिनालाई औधी माया गर्छन् । काठमाडौंमै घर र जग्गाजमिन प्रशस्त भएका उनीहरुलाई दैनिक खर्च चलाउन भने धौ धौ पर्न थाल्यो । दुई सन्तान जन्मिसकेका कारण उनीहरुको खर्च बढ्न थालेपछि मेलिनाका श्रीमान वैदेशिक रोजगारीमा जाने सोचमा पुगे । सन्तान र परिवारको भविष्यका लागि मेलिनाले पनि श्रीमानलाई बाहिर पठाउने निधो गरिन् र मेलिनाका श्रीमान विदेश गए ।

मेलिनाको दिदीको विवाह नुवाकोटमा भएको थियो । बेलाबेलामा उनी दिदीको घर गइरहन्थिन् । त्यही समय नाताले दिदीको देवर पर्ने शंकरसँग मेलिनाको चिनजान भयो । चिनजानपछि उनीहरुले मोबाइल नम्बर साटासाट गरे अनि कुराकानी गर्न थाले । कुराकानीकै क्रममा उनीहरुबीच शारीरिक सम्पर्क राख्नेसम्मको कुरा भयो । फोनमै सहमति जुटेपछि शंकर नुवाकोटबाट काठमाडौंको कलंकी आए । मेलिना पनि थानकोटबाट कलंकी आइन् । कलंकीकै एक होटलमा उनीहरुबीच शारीरिक सम्पर्क भयो ।

पहिलोपटक सम्बन्ध भएपछि पनि उनीहरु फोनमा कुराकानी गरिरहन्थे । त्यसपछि पनि उनीहरु बेलाबेलामा कलंकीमै भेट भएर समय ब्यतित गर्थे । तर शंकरले भनेको सबै समयमा मेलिना भेट्न जान सक्दिनथिन् । त्यसपछि शंकरले मेलिनालाई धम्की दिन थाले । आफूले अन्तरङ्ग भिडियो रेकर्ड गरेको र आफूले भनेको समयमा यौन सम्पर्कका लागि उपस्थित नभए वा बेलाबेलामा खर्च नपठाए भिडियो भाइरल गरिदिने धम्की दिन थाले ।

तर शंकरले भनेको समयमा सधैँ उपस्थित हुन मेलिनालाई सम्भव थिएन । उक्त केटासाथी बेरोजगार रहेका कारण उसले बारम्बार खर्च पठाउनसमेत धम्की दिइरहन्थ्यो । पैसा नपठाए श्रीमानलाई नै भिडियो पठाएर सबै खत्तम पारिदिने धम्कीसमेत दिन थाल्यो ।

शंकरको मोबाइल जफत गरी फम्र्याट गरेपछि आत्महत्याको अन्तिम बिन्दुमा पुगेकी मेलिनाले पनि राहतको स्वास फेरेकी छन् । मृत्यु शय्याबाट फर्काइदिएको भन्दै उनले अब कुनै गल्ती नगरी छोराछोरी हेरेर बस्ने बताएकी छन् ।

बारम्बारको धम्कीपछि ती महिला आत्महत्या गर्ने मनसायसहित नुवाकोटमै रहेको दिदीको घरमा पुगिन् । दुई छोराछोरीलाई काठमाडौंमै छाडेर दिदीसँग कुरा गर्न नुवाकोट पुगेकी मेलिनाले दिदीसँग शंकरको कुरा गर्न सकिनन् । उमेरले आफूभन्दा करिब ११ वर्ष कान्छी रहेकी दिदीकी छोरीलाई मेलिनाले सबै कुरा बताइन् । मेलिनाले आफ्नो ब्यागमा रहेको विषादी देखाएर आफू आत्महत्या गर्न लागेको र छोराछोरीको हेरबिचार गर्न दिदीको छोरीलाई आग्रह गरिन् । तर आमा (मेलिनाको दिदी)सँग उक्त कुरा नगर्न उनले भनिन् ।

कक्षा १२ मा पढ्दै गरेकी मेलिनाको दिदीको छोरीले सानिमालाई सम्झाउँदै घटना बाहिर पनि नआउने र यस्तो केस साइबर ब्यूरोले हेर्ने गरेको भन्दै उजुरी गर्न आग्रह गरिन् । उजुरी गरेपछि सबै घटना बाहिर आउने भन्दै मेलिनाले उजुरी गर्न अस्वीकार गरिन् । आफू अन्तिम अवस्थामा पुगिसकेका कारण अब आत्महत्या नै अन्तिम विकल्प रहेको उनले बताइन् ।

मेलिनाको पीडा सुनेलगत्तै उनकी दिदीको छोरीले सबै कुरा उल्लेख गरेर साइबर ब्यूरोमा इमेल गरिन् । इमेल प्राप्त भएलगत्तै साइबर ब्यूरोले तत्कालै ती किशोरी र उनकी सानीआमालाई सम्पर्क गरेर शंकरलाई तत्कालै पक्राउ गर्ने र घटना बाहिर पनि नआउने आश्वासन दियो । ब्यूरोका प्रहरीले मेलिनालाई एक्लै नछाड्न र विषादी नियन्त्रणमा लिन किशोरीलाई आग्रह गरे । किशोरीले प्रहरीले भनेझैँ गरिन् ।

साँझको समयमा इमेल आएकाले प्रहरीले तत्कालै पक्राउ गर्ने प्रयास पनि गर्‍यो । तर तत्काल पक्राउ गर्दा घटना बाहिर आउने डरले प्रहरीले अर्कैै उपाय लगाएर शंकरलाई नियन्त्रणमा लियो । त्यसलगत्तै शंकरको मोबाइल जफत गरी मोबाइलको अध्ययन गर्‍यो । मोबाइलमा मेलिना र शंकरको अन्तरङ्ग भिडियोहरु भेटियो । प्रहरीले तत्कालै उक्त डिभाइस फम्र्याट गरी ल्यापटप लगायत अन्य डिभाइसमा पनि राखिएको छ कि भनी अनुसन्धान गर्‍यो । तर अन्यत्र कहीँ राखेको नपाएपछि प्रहरीले अबदेखि ब्ल्याकमेल नगर्ने र कहिल्यै सम्पर्क नगर्ने शर्तमा शंकरलाई छाडिदियो । शंकरले पनि मेलिनासँग माफी माग्यो र अब त्यस्तो गल्ती नगर्ने र बाँकी केही नरहेको आश्वस्त पार्‍यो । ब्यूरोले परिवारका सदस्यसम्म घटना पुग्नसक्ने देखेर शंकरविरुद्ध मुद्दा भने चलाएन । पारिवारिक सम्बन्धमा पनि विग्रह हुनसक्ने देखेपछि आफूहरुले मुद्दा नचलाएको ब्यूरोका एक प्रहरी अधिकारीले बताए ।

शंकरको मोबाइल जफत गरी फम्र्याट गरेपछि आत्महत्याको अन्तिम बिन्दुमा पुगेकी मेलिनाले पनि राहतको स्वास फेरेकी छन् । मृत्यु शय्याबाट फर्काइदिएको भन्दै उनले अब कुनै गल्ती नगरी छोराछोरी हेरेर बस्ने बताएकी छन् ।

(गोपनीयता कायम राख्न नाम, ठेगाना, सन्तानको सङ्ख्या आदि परिवर्तन गरिएको छ ।)

घटना नम्बर २ : व्यापारमा घाटा भएपछि आत्महत्याको बाटो

ताम्राकार कम्प्लेक्समा मोबाइलको पसल रहेका व्यापारी किरण पाण्डे (नाम परिवर्तन) को कुनै समय राम्रो कमाई थियो । परिवार राम्रोसँग चलेको थियो, रवाफिलो जीन्दगी चलिरहेको थियो ।

तर जब देशमा कोरोनाको माहामारी फैलियो र लकडाउन भयो, तब उनको व्यापार चौपट भयो । न्युरोडको महँगो भाडा र घर खर्चले आर्थिक अवस्था कमजोर बन्दै गइरहेको थियो । ऋणमा चलेको मोबाइल पसलको भाडा, आफ्नो खर्च र साथीभाइ तथा बैंकको ऋणका कारण अवस्था दयनीय बन्दै गयो । अवस्था यतिसम्म भयो कि घरमा ग्याँस र चामल किन्ने पैसासम्मको अभाव हुन थाल्यो ।

प्रत्येक दिन ‘साहु’ले फोन गरेर पैसा नदिए हातखुट्टा भाँचिदिने धम्की दिन थाले । दैनिक जनजीवन कष्टकर बन्न थालेपछि उनले बाँच्नुको औचित्य देखेनन् र आत्महत्या गरेर तनावबाट ‘मुक्ति’ लिने सोचमा पुगे ।

प्रहरीले मनोपरामर्श गरी कसैले धम्की दिएमा प्रहरीलाई खबर गर्न र प्रहरीले आवश्यक समन्वय र सहयोग गरिदिने आश्वासन दिएर पठायो । अहिले पनि कहिलेकाहीँ किरणले साइबर ब्यूरोका प्रहरीलाई सम्पर्क गरी ज्यान जोगाइदिएकामा धन्यवाद दिने गरेका छन् ।

घरमा सुतिरहेकी श्रीमती र छोराछोरी छाडेर उनी रातको ११ बजे घरबाट बाहिर निस्किए । एकैछिन भनेर घरबाट निस्किएका उनले फेसबुकमा लाइभ गरेर आर्थिक अवस्था दयनीय भएको कारण आत्महत्या गर्न लागेको बताए । छोटो समयको फेसबुक लाइभपछि उनले लाइभ बन्द गरे ।

उक्त विषय उनकै मोबाइल पसलमा काम गर्ने एकजनाले चितवनबाट राति १२ः१५ बजे काठमाडौं प्रहरीको मेट्रो पुलिस कन्ट्रोलमा खबर गरे । प्रहरीले रातको १२ः१८ बजे साइबर ब्यूरोलाई उक्त विषयबारे जानकारी गरायो ।

उक्त जानकारी प्राप्त भएलगत्तै साइबर ब्यूरोले फेसबुकसँग समन्वय गरी निजको युजर डिटेल्स र लोकेसन माग गरेर खोजी गर्‍यो । प्रहरीले किरणको श्रीमतीलाई पनि सम्पर्क गरी उनको खोजी सुरु गर्‍यो । फेसबुकबाट प्राप्त लोकेशनले किरण पशुपति क्षेत्रमा रहेको पत्ता लाग्यो । प्रहरीले लामो खोजबिन गरेपछि किरणलाई पशुपतिको जंगलमा गएर बसेको अवस्थामा फेला पार्‍यो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर रातको करिब १ः३० बजे प्रहरी वृत्त गौशालामा ल्याइयो । प्रहरीसँगको बयानमा किरणले आर्थिक अवस्थाका कारण आफूले आत्महत्या गर्न लागेको र त्यसका लागि पशुपतिको जङ्गलमा पुगेको बताए । प्रहरीले मनोपरामर्श गरेर मंसिर १२ गते साइबर ब्यूरोमा आउने गरी सो रातको २ः१५ बजे घट्टेकुलोमा किरणको श्रीमतीको जिम्मा लगायो ।

भोलिपल्ट साइबर ब्यूरोमा ल्याइएका किरणले लकडाउनले गर्दा ब्यापार ठप्प भएको र आफू चरम आर्थिक संकटमा पुगेको बताए । ऋण दिने व्यक्तिहरुले हातखुट्टा भाँचिदिने धम्की दिने गरेको र घरमा ग्याँस र चामल किन्ने अवस्थासमेत नभएपछि आत्महत्या गर्ने सोचमा पुगेको बताए । आत्महत्याको अन्तिम बिन्दुबाट उद्धार गरिएका किरणलाई प्रहरीले मनोपरामर्श गरी कसैले धम्की दिएमा प्रहरीलाई खबर गर्न र प्रहरीले आवश्यक समन्वय र सहयोग गरिदिने आश्वासन दिएर पठायो । अहिले पनि कहिलेकाहीँ किरणले साइबर ब्यूरोका प्रहरीलाई सम्पर्क गरी ज्यान जोगाइदिएकामा धन्यवाद दिने गरेका छन् ।

घटना ३ : आत्महत्या गर्न एमडी डाक्टर पुगे भोटेकोशी नदी

२०७७ कात्तिक २५ गते घरायसी समस्याका कारण आत्महत्या गर्दैछु भन्ने पोष्ट गरेर एक डाक्टर घरबाट निस्किएको भन्दै साइबर ब्यूरोलाई एउटा फोन आयो । ती डाक्टर थिए, वीर अस्पतालमा काम गर्ने दिनेश साह (नाम परिवर्तन) । साँझ ४ बजेतिर दिनेशकै साथीमार्फत् यस्तो सूचना आएपछि ब्यूरोको टोलीले ती डाक्टरको मोबाइल तथा फेसबुक डिटेल्स माग गरी खोजबिन सुरु गर्‍यो । मोबाइल डिटेल्सका आधारमा खोजबिन गर्दा अन्तिमपटक ती डाक्टर काभ्रेपलाञ्चोकको ३५ किलो भन्ने स्थानमा देखिए । त्यसलगत्तै ती डाक्टरको मोबाइलको ‘स्वीच अफ’ भयो ।

त्यसपछि साइबर ब्यूरोको प्रहरीले काभ्रे प्रहरी र सिन्धुपाल्चोकको बलेफी प्रहरीसँग समन्वय गरी ती व्यक्तिको खोजी सुरु गर्‍यो । आफ्नै कारमा काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ गइरहेका ती व्यक्तिलाई बलेफी प्रहरी चौकीका प्रहरीले बलेफीमा रहेको नदीको संगमस्थलमा टोलाइरहेको अवस्थामा फेला पारे । भिर रहेको उक्त स्थानबाट तल खसेमा भोटेकोशी नदीमा पुगिन्छ र त्यहाँ पुगेपछि बाँच्ने सम्भावना पनि निकै कम रहन्छ । आफ्नो कार नजिकै रोकेर नदीतर्फ हेरेर टोलाइरहेका अवस्थामा प्रहरीले दिनेशलाई नियन्त्रणमा लियो । पछाडिबाट बिस्तारै गएर समातेको प्रहरीलाई नै दिनेशले लछारपछार गरे । त्यही भिरबाट फाल हान्न खोजेका दिनेशलाई प्रहरीले उद्धार गरेर बलेफी प्रहरी चौकीमा ल्यायो ।

साइबर ब्यूरोले मनोपरामर्श दिइरहँदा पनि बेलाबेलामा उनी झस्किने गरेको ब्यूरोका एक अधिकारीले बताए । ती अधिकारी भन्छन्, ‘हामीले मनोपरामर्श दिइरहँदा उनी बेलाबेलामा झस्किएर म त झण्डै मरेको है भन्थे ।’

प्रहरीले सामान्य सोधपुछ गर्दा आफू घरायसी समस्याका कारण आत्महत्या गर्न लागेको र गाडीसहित नदीमा फाल हान्न खोजेको बताए । तर कहाँबाट फाल हान्दा सजिलै मर्न सकिन्छ भनेर गाडीबाट ओर्लिएर आत्महत्या गर्न सहज हुने ठाउँ हेरेको बताए ।

उक्त दिन साहलाई बलेफीकै प्रहरीको सुरक्षामा एक होटलमा राखेर भोलिपल्ट प्रहरीकै भ्यानमा काभ्रे प्रहरी र त्यहाँबाट प्रहरीकै भ्यानमा साइबर ब्यूरोको जिम्मा लगाइयो ।

आत्महत्याको अन्तिम बिन्दुबाट उद्धार गरिएका दिनेशले आफू डिप्रेसनमा पुगेको र घरायसी कारणले आत्महत्या गर्न लागेको बताए । आफू एमडी डाक्टर भए पनि राज्यले आफूलाई उचित सम्बोधन नगरेको, राम्रो स्थानमा पोष्टिङ नदिएको र आफू मधेसी मूलको भएका कारण हेपेको अनुभूति भएको कारण आत्महत्याको बिन्दुसम्म पुगेको साइबर ब्यूरोका प्रहरीलाई बताए ।

साइबर ब्यूरोले मनोपरामर्श दिइरहँदा पनि बेलाबेलामा उनी झस्किने गरेको ब्यूरोका एक अधिकारीले बताए । ती अधिकारी भन्छन्, ‘हामीले मनोपरामर्श दिइरहँदा उनी बेलाबेलामा झस्किएर म त झण्डै मरेको है भन्थे ।’

ब्यूरोले मनोपरामर्श गरी ती डाक्टरलाई परिवारको जिम्मा लगायो । अहिले ती डाक्टर स्वस्थ रहेको र नियमितरुपमा आफ्नो कामकाज गरिरहेका छन् ।

साइबर ब्यूरोले ३० महिनाको अवधिमा आत्महत्याको अवस्थाबाट ४२ जनालाई जीवितै उद्धार गरेको ब्यूरोका प्रवक्ता पशुपति रायले बताए । साइबर ब्यूरोको अनुसार आत्महत्या गर्दैछु भन्ने जानकारी आएर पनि समयमै उद्धार गर्न नसक्दा दुई जनाले भने ज्यान गुमाएका छन् ।

२०७७ साल असारको १८ गते दाङ तुलसीपुरकी एलिसा गौतमले फेसबुकको लाइभ स्ट्रिमिङमा आइ आत्महत्या गर्दैछु भनेकी थिइन् । समयमै जानकारी आए पनि गुगल म्यापमा समस्या तथा बाटोको अलमलका कारण समयमै उद्धार हुन नसक्दा प्रहरी टोली पुग्दा उनले आत्महत्या गरिसकेकी थिइन् ।

त्यसैगरी २०७७ असारको ३० गते चितवनकी विद्या पाण्डेले पनि फेसबुकमै लाइभ आएर आत्महत्या गरेकी थिइन् । प्रहरीले समयमै जानकारी पाए पनि प्राविधिक कठिनाइका कारण समयमै घटनास्थलमा पुग्न नसक्दा जीवितै उद्धार गर्न नसकिएको ब्यूरोका प्रवक्ता रायले बताए ।

आत्महत्या गर्दैछु, आज मेरो अन्तिम दिन हो, आमा म पनि तपाइँकै ठाउँमा आउँदैछु (मृत्युु भएको आमाको तस्वीर राखेर) जस्ता आत्महत्या उन्मुख स्टाटस राखेर वा अरुलाई जानकारी गराउने कतिपयका उद्धारका लागि प्रहरी पुग्दा भने उनीहरु कोही सुतिरहेको त कोही डिप्रेसनको रोगी रहेको समेत पत्ता लागेको छ । किन यस्तो भनेको वा गरेको भन्दा कतिपयले मजाक गरेको भनेका छन् भने कतिपयले आफू डिप्रेसनको रोगी रहेको समेत ब्यूरोका प्रहरीलाई बताएका छन् । गर्भवती भएकी एक महिलाले आफूलाई श्रीमानले मार्ने योजना बनाइरहेको भनेर ब्यूरोमा उजुरी गरेपछि उद्धारका लागि प्रहरी पुग्दा आफू गर्भवती भएको र बेलाबेलामा त्यस्तो सोच आउने भन्दै त्यस्तो कुनै त्रास नरहेको उनले बताइन् ।

ब्यूरोको टोलीले फेसबुक, ह्याट्सएप, टिकटक आदि सामाजिक सञ्जालबाट जानकारी प्राप्त भएमा पनि ती निकायसँग समन्वय गरी तत्कालकै प्रयोगकर्ताको सम्पर्क विवरण र लोकेशन माग गरी आत्महत्या गर्न लागेमा रोक्ने र उद्धार गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप