शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

स्थानीयले तोडफोड गर्दा निर्माणाधीन हाइड्रोपावरमा ३० करोड क्षति

मङ्गलबार, १९ पुस २०७९, १४ : ३७
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । स्थानीयवासीले विभिन्न माग राख्दै तोडफोड गरेपछि निर्माणाधीन चेपे ‘ए’ हाइड्रोपावरको आयोजनास्थलमा करोडौंका क्षति भएको छ । स्थानीले विभिन्न माग राख्दै मंसिर २४ गते आयोजनास्थलमा तोडफोड र आगजनी गर्दा ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

गोरखाको सिरान्चोक गाउँपालिका र लमजुङको दुधपोखरी गाउँपालिका सिमानामा निर्माणाधीन आयोजनास्थलमा स्थानीयले विभिन्न माग राखेर अवरोध गर्दै आइरहेका छन् । ७ मेगावाट क्षमताको जलविद्युत परियोजना चम्पावती हाइड्रोपावर लिमिटेडले विगत २ वर्षदेखि निर्माण सुरू गरेको थियो । नदीको प्रवाहमा आधारित आयोजनाको बाँध खुल्ला बहाव अर्थात फ्रि फूलो वियरको रूपमा निर्माण हुन लागेको हो ।

यस आयोजनाको हेर्डवक्र्सका संरचना कुयँलेमा र विद्युतगृह गोरखा जिल्लाको सिरानचोक गाउँपालिका २ कुविन्डे यमस्मा निर्माण हुँदैछ । विद्युत् ऐन २०४९ बमोजिम इजाजत प्राप्त ‘चेपे’ ए जलविद्युत आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ । आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण सकेर परीक्षण उत्पादन गर्ने योजना कम्पनीको छ । 

निर्माण कार्य भइरहेको बेला राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र राइनास नगरपालिका समेतले आयोजनामा तोडफोड तथा आगजनी गरेको छ । स्थानीयले सिँचाइको विषयमा जानकारी राख्दा कम्पनी र विद्युत् विकास विभागले विद्युत् गृहबाट निस्कने पानी नहरको मुहानमा जान प्राविधिक रूपमा समस्या नभएको जानकारी दिएको थियो । तर, उक्त जानकारीलाई विश्वास नगर्दै गत मंसिर २४ गते राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र राइनास नगरपालिकाका जनप्रतिनिधिहरू समेतको संलग्नतामा आयोजनाको विद्युत् गृह निर्माण स्थल र तोडफोड र आगजनी गरेको हाइड्रोपावरले जनाएको छ । 

उपभोक्ता समितिले पटक–पटक आयोजनाको काम रोक्न धम्की दिएपछि कम्पनीले सुरक्षा निकायलाई जानकारी गराएको थियो । तर, तोडफोड र आगजनीमा जनप्रतिनिधिहरू स्वयंले अगुवाइ गरेको कम्पनीका कार्यसमिति सञ्चालक लक्ष्मण अर्यालले जानकारी दिए । उनले भने, ‘स्थानीय रूपमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्वमा रहेकाहरू नै संलग्न थिए भन्ने कुरा प्रहरी प्रशासनलाई पनि राम्रोसँग थाहा छ ।’ सामाजिक सञ्जालहरूमा भेटिने आगजनीका फोटो तथा भिडियो, विभिन्न सञ्चारमाध्यममा दिइएका अन्र्तवार्ताहरुलाई हेर्दा पनि सो कुरा स्पष्ट हुने उनको भनाइ छ ।

यस आयोजनाको हकमा स्वीकृत वातावरणीय प्रतिवेदनमा पावर हाउस क्षेत्र भनेर तोकिएको स्थान (टोपोम्यापमा उल्लेख गरिएको क्षेत्रमा) नै पावरहाउस अन्तर्गतका संरचना निर्माण भइरहेको छ । अर्कोतर्फ आगजनी गर्ने पक्षले उचालेको विषय नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागेको स्थानीयको आरोप छ । ‘यसमा कुनै सत्यता छैन, आयोजनाको विद्युत् गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भए अनुसार नै अहिलेको डिजाइनमा विद्युत् गृहको टेलरेसबाट पानी जान्छ,’ अर्यालले भने ।

केही व्यक्तिहरूले निर्माणाधीन आयोजनाको बारेमा मिथ्या सूचना दिएको कम्पनीले बताएको छ । तोडफोड र आगजनीको अगुवाइ गर्ने व्यक्तिहरूलाई आयोजनाले विद्युत् गृहबाट निस्कने पानी नहरको मुहानभन्दा माथि चिल्ली खोला र चेपेखोलाको दोभानभन्दा माथि फाल्ने कुरा पटक–पटक जानकारी गराएको थियो । त्यति हुँदा पनि घटना घटाइनु र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गर्दा सहमतिमा नआउनु दुःखद पक्ष भएको कम्पनीले जनाएको छ । 

तोडफोड र आगजनीबाट ठेकेदार कम्पनी र आयोजनाको गरी करिब ३ करोड ४० लाख जतिको प्रत्यक्ष÷अप्रत्यक्ष क्षति भएको बताइएको छ । यस्तै, उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले गर्दा झण्डै थप ३० करोड क्षति हुने अनुमान छ । आयोजना निर्माण सम्पन्न गर्नका लागि थप लगानी गर्नुपर्ने स्थिति सिर्जना भएको छ । आयोजना प्रवर्द्धक कम्पनीका तर्फबाट आगजनी र तोडफोडमा संलग्नहरूमाथि कारबाही र आगजनीबाट भएको क्षतिपूर्तिको लागि कम्पनीले माग गरेको छ । 

स्थानीयवासीले सिँचाइको विषयलाई लिएर आयोजनास्थलमा अवरोध गर्दा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई समेत जानकारी थियो । तर, गुरुङले हाइड्रोपावर र स्थानीयवासीबीचको विवादलाई समाधान गर्न कुनै पनि पहल नगरेको स्थानीयवासी बताउँछन् । उनले भने, ‘गुरुङले पहल गरेको भए आयोजना र स्थानीयबीचको विवादले योरूप लिँदैनथ्यो । उनले थप पहल नगर्दा तोडफोड र आगजनी भएको छ । यसबाट करोडौं क्षति भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप