प्रचण्ड–बाबुरामबीच छिट्टै एकता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच छिट्टै एकता हुने भएको छ । नेपाल समाजवादीको आगामी पुस २४ गतेको राजनीतिक समितिको बैठकपछि पार्टी एकताको वातावरण बनाएर जाने नेताहरूले बताएका हुन् ।
प्रचण्ड–बाबुरामबीच गत साउन ३१ गते एउटै चुनाव चिह्न र घोषणापत्र लिएर जाने सहमति भएको थियो । सोअनुसार एउटै चुनाव चिह्न र घोषणापत्रमार्फत नेपाल समाजवादीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादव प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यस्तै प्रदेशसभातर्फ गंगानारायण श्रेष्ठ र फनिन्द्र देवकोटा निर्वाचित भएका थिए ।
राजनीतिक समितिको बैठकपछि दुबै पक्षबाट समिति बनाएर माघभित्रै एकता गर्नेतिर जानुपर्ने नेता गंगानारायण श्रेष्ठले बताए । नेपाल समाजवादीका सांसद माओवादीका हुने भएकाले पार्टी एकता गर्न ढिला गर्न नहुने भन्दै बाबुराममाथि नेताहरूले दबाब बढाएका छन् । ‘हाम्रो पार्टी र माओवादीबीच तत्काल एकता गर्ने भन्ने छ । त्यसमा पार्टीको नाम र चुनाव चिह्न तत्काल टुंगो लगाउनुपर्छ भन्ने छ । अरु वैचारिक र कार्यदिशाको सवालमा महाधिवेशनमा बहस तथा छलफलबाट किनारा लगाउँनुपर्छ भन्ने छ’ श्रेष्ठले रातोपाटीसँग भने, ‘हाम्रो जोड समाजवादी केन्द्र बनाउने, चुनाव चिह्न समेत फेर्नुपर्छ भन्ने छ । त्यसमा दुबै पक्षको सहमतिमा एउटा निष्कर्षमा पुगिएला ।’
अरु देशभक्त कम्युनिस्ट पार्टीसँग पनि सहकार्य गरेर जाने योजना बनाइएको श्रेष्ठले बताए । त्यसमा एमाले, एकीकृत समाजवादी र जसपा लगायतका दललाई समेट्न सकिने उनको भनाइ छ ।
यसैगरी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग तत्काल एकता हुनेगरी छलफल भइरहेको बताए । ‘बाबुरामजी नेतृत्वको पार्टीसँग चुनावअघि नै एक खालको कार्य भइसकेको हो । प्राविधिक रूपमा एकता गर्न मात्रै बाँकी छ,’ पौडेलले भने, ‘संसदमा भएका अरु कम्युनिस्ट शक्तिहरुलाई जोडेर बृहत् कम्युनिस्ट केन्द्र बनाउने योजनामा छौं ।’ एकता गर्दा पार्टीको नाम र चुनाव चिह्न आपसी सहमतिमा टुंगो लगाउने पौडेलको दाबी छ । २०७२ साल असोज ९ गते माओवादीलाई ‘भत्किएको घर’ संज्ञा दिँदै बाबुरामले पार्टी परित्याग गरेका थिए ।
यस्तै भट्टराई आफ्नो नेतृत्वमा नयाँ शक्ति नेपाल गठन गरेर २०७४ सालको चुनावमा सहभागी भएका थिए । प्रदेश र प्रतिनिधि सभा दुबै चुनावमा सफलता हासिल नभएपछि उनले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेका थिए । एकतापछि नेपाल समाजवादी पार्टीमा भट्टराई सक्रिय भए । पछि महन्थ ठाकुर नेतृत्वको पार्टीसँग एकता भएर जसपा बनेको थियो । तत्कालीन जसपामा विवाद भएपछि ठाकुरले आफ्नो नेतृत्वमा लोसपा गठन गरेका थिए भने भट्टराई सोही पार्टीमा रहे । तर, ठाकुर बाहिरिएपछि बाबुराम र उपेन्द्रबीच विवाद उत्पन्न हुँदा पार्टी विभाजित भयो । त्यसपछि बाबुरामले आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरेका हुन् ।
यहीबीचमा चुनावमा सहकार्य गर्दै भट्टराई माओवादी छोडेको ७ वर्षपछि माओवादीमा फर्किने परिस्थिति बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)