रामचन्द्रको प्रस्ताव : राष्ट्रिय सहमतिको सरकार बनाऔँ
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौँमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको जिकिर गरे । उनले भने, ‘यहाँ जो राष्ट्रिय सहमतिको कुरा आइराख्छ नि बेला बेलामा । यो बेला हो कि । आज यो देशमा के भइराखेको छ, एकातिर अर्थतन्त्रको यत्रो खतरनाक अवस्थामा छ भन्ने छ । विश्वको मन्दी यहाँ पनि घुम्दै आइराखेको छ । अर्कोतर्फ चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दै घुम्दै इन्डिया हुँदै नेपाल आउँदैछ भनिएको छ । यहाँ राजनीतिक, आर्थिक, स्वास्थ्य सम्बन्धी, सामाजिक, मानवीय समस्याहरूले हामीलाई घेरिरहेका छन् । यो घेरिरहेको बेलामा हामीले आफ्नो लागि उपयुक्त बाँच्ने उपाय के हो त ? मलाई अझै पनि लाग्छ राष्ट्रिय सहमतिको एउटा खोजी गरौँ । अझै पनि लाग्छ हामी मिलेर नेपालको स्वार्थमा, नेपालीको, प्रजातन्त्रको स्वार्थमा । ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एकपटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि ? म यहाँ बाहिर भएर यो भनिरहेको छैन । तपाईंहरु विचार गर्नुहोला भोलि । म जहाँ भए पनि म एउटा नेपाली भएर भनिरहेको छु । अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ । यो मेरो भित्र दिलले देखाएको बाटो । एउटा उपाय बाँच्ने बाटो । यो मलाई लागिरहेको छ । नेपाललाई अहिले यो परिवर्तनलाई जोगाएर, यो व्यवस्था, यो संविधानलाई जोगाएर हामी एक भएर अझै पनि राष्ट्रिय सहमति गरेर जाने हो कि भन्ने मलाई लाग्छ ।’
वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे । उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताए । उनले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए । देशमा अस्थिरताको शृङ्खला अगाडी बढेको उनले बताए । उनले भने, ‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ । हाम्रो हिसाबकिताबले यहाँ काम गरेकै छैन । कुन हिसाबकिताबले काम गरेको हो थाहा छैन । एकथोक सोचेको अर्को थोक भइराखेको हुन्छ । काँग्रेसले माओवादीलाई हँसिया हथौडामा भोट हालेर, माओवादीले रुखमा भोट हालेर आफ्नो विपरीत सिद्धान्तलाई पनि अङ्गीकार गरेर चुनाव सम्पन्न भयो । लगभग गठबन्धन बहुमतमा आयो पनि । दुई चार भोट यता उता त्यो मिलिहाल्थ्यो । त्यो आएको गठबन्धन एकाएक हाइज्याक भयो । यसलाई मैले के रूपमा भनेको छु भने फेरि देशको लागि दुर्भाग्य । अस्थिरताको शृङ्खला यो मुलुकमा अत्यन्त तीव्र तासाथ अगाडी बढ्यो । यसले फेरि राष्ट्रलाई गरिखान दिँदैन । हामीले विकास गर्नलाई यहाँ बसेर फेरि नपाउनेतिर जान लागेको मलाई चिन्ता भएको छ ।’
वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रूपमा पठाइने भए पनि सांसदहरू विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए । जनताले पनि सांसदहरूलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको बताए । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । उनले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताए । केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरूले अधिकार नपाएका उनको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिक भइरहेछ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, अब के होला ?
-
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका