शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नियात्रा संस्मरण

चेपाङ बस्तीमा चिसिँदा

मङ्गलबार, १९ पुस २०७९, ११ : २४
मङ्गलबार, १९ पुस २०७९

चितवनको पहाडी गाविस कोराकतिर सल्यानी मित्र रतनलाल केसीसँग मोटरसाइकलमा हुइँकियौँ । पुरानो पर्सा बजारबाट ४ किलोमिटर पूर्व वीरेन्द्रनगर बजारबाट उत्तरतर्फ कोराक गाविसको मध्य भाग किरनटार गाउँसम्म म कैयौँपटक गएको छु । रतन भने दोस्रो पटक गइरहेको थिए ।

‘किरनटारबाट ठकुरी भन्ज्याङसम्म बाटो राम्रो छ, मोटरसाइकल मजाले आउँछ’‐ हामीलाई सूचना दिनेले यस्तै भनेको थिए । 

किरनटारबाट ठुकरी भन्ज्याङ हिँडेर गए ४ घण्टा, हामीलाई पैदल जाने जाँगर चल्ने कुरै थिएन । त्यसैले, पर्याप्त पेट्रोलको जुगार गरेर हिँड्यो हामी भटभटेमा । तर किरनटारबाट थोरै उकालो उक्लिएपछि भटभटेको कान जति बटार्दा पनि माथि उक्लिन मानेन । हामीले बाइक किरनटार झार्‍यौँ अनि चिनजानको शेरबहादुर तामाङको आँगनीमा राख्यौँ ।

अब यात्रा कसरी अगाडि बढाउने भन्ने चिन्तामा रहेका हाम्रा लागि धन्न ठकुरी भन्ज्याङसम्म जाने मालवाहक गाडी किरनटारमा तम्तयार थियो । हामी चामलको बोरामा बोरालाई दुख्ने गरी बस्यौँ । ठाउँ ठाउँमा चामल झारियो, दुखाइ मेटिनाले चामललाई त सहज भयो होला । तर हाम्रो बसाइँ भने झन् झन् असहज हुँदै गयो । 

ठकुरी भन्ज्याङ पुग्नु अगावै एक ठाउँमा बाटोमा सखरखण्ड, पिँडालु, स्कुसको जरा विद्युतीय तराजुमा तौलिँदै थियो । तामाङ थरका व्यापारीले चेपाङ किसानबाट ती सामग्री खरिद गर्दै थिए । बदलामा नगद होइन, चामलको बोरा थमाउँदै थिए । किसानबाट ४० प्रतिशत मार्जिन राखेर तरकारी किनिरहेका तिनले चामल बिक्रीमा मार्जिन नराख्ने त कुरै थिएन । काइदा जाने फाइदा हुन्छ भनेको यही हो क्यारे । 

ठकुरी भन्ज्याङ पुग्न आधा घण्टा अगावै यहाँ चामल झार्नु छ, हिँडेर जानुस्, नभए झन् बेर हुन्छ भनेर गाडीले हामीलाई बिदा दियो । गाविस भवननेर स्कुलका पियन हामीलाई लिन आउने कुरा थियो तर तिनी कतै देखा परेनन् । 

पियन नआए पनि गन्तव्यसम्म पुग्न हामी ढुक्क थियौ । किनकि हामीसँग गाडीमै चिनजान भएका १७ वर्षे युवा सर्जु चेपाङ थिए । ‘समर्पण’ उपनाम लेख्ने उनले हाम्रो गन्तव्य श्री राप्रावि ग्लाउथोकको स्कुल भवनसम्म पुर्‍याइ दिने भए ।

बाँदर लड्ने भीड 

ग्लाउथोक गाउँमा एउटा पनि पसल नभएको जानकारी पाएपछि हामीले ठकुरी भन्ज्याङको सानो घुम्तीमा केही सामान किन्यो । सामान पोको पारेपछि सर्जु भाइले भने‐ ‘अप्ठ्यारो बाटोका कारण अब चाँही गुल्टिँदै जानु पर्छ है सरहरू । मन, मुटु दरो पार्नु होला ।’ 

हामीले सर्जुका कुरा खासै गम्भीरतापूर्वक लिएका थिएनौँ । तर एकैछिनमा आइपुग्यो, उकाली ओराली । गुल्टिँदै जाने बाँदर लड्ने भीड । न समाउने हाँगो, न टेक्ने ठाउँ । टेकेको माटो बुर्रर खस्छ । हामी दुई भाइ चार हात खुट्टा टेक्दै बाँदरझैँ लिस्नो उक्लिन थाल्यौँ । 

मलाई आफ्नै एकजोर कपडा र केही किताबको पोकाको झोला भारी भइरहेको थियो । रतन आफ्ना सामान पनि मेरो झोलामा कोचेर फुक्काफाल थिए । तर म भन्दा बढी अप्ठ्यारो ढङ्गले पहाडी बाटो छिचोल्दै थिए । सल्यानी रतन पहाडको उकालो ओरालोमा म दंगाली तराईको थारुभन्दा डरपोक देखिदै थिए ।

सर्जु भाइसँग सोध्दा चेपाङ भाषामा हाम्रो पुग्ने गन्तव्य ‘ग्लाउथोक’को अर्थ हुने रहेछ ‘कामेर ठोकेको ।’ पहाडको अजङ्ग बाटो देखेर हामी साँच्चिकै कामिरहेका थियौँ । एक ठाउँमा बाटो यति नराम्रो थियो कि दुई अङ्गुल जति टेक्न मिल्ने, पाखो खोपेर, समाउनलाई काठ ठोकेर बनाइएको जस्तो लाग्ने । हामी दुई भाइले लख काट्यौँ‐ कहीँ कामेर ठोक्दै गरेको यही ठाउँ त होइन ?, जसबाट ‘ग्लाउथोक’ नामकरण भएको छ ।

सर्जु चेपाङको कठिन जिन्दगी

हामी हिँडेको बाटो जति गाह्रो थियो, त्यो भन्दा पनि गाह्रो जिन्दगी हामीलाई बाटो देखाउने पथप्रदर्शक सर्जु समर्पण चेपाङ भाइको थियो । तिनले हामी सामु बिसाएको दुःखको भारी यस्तो थियो‐ 

‘जाँड खाएर आमासँग सधैँ झगडा गर्ने बाबा एकदिन झुण्डिएर मरे । २ वर्ष जति त आमाले दुःख गरेर पालिन् । त्यसपछि उनले पनि आफ्नो बाटो तताइन् अर्थात् पोइल हिँडिन् । त्यतिबेला म जम्मा ८ वर्षको थिएँ, भाइ ५ वर्षको । काकाको घरमा आश्रय लियौँ । बाबा आमा नभएका हामी टुहुरालाई कल्ले पो माया गर्थ्यो र ? कयौँ दिन वनमा कन्दमूल मात्रै खाएर वनमै सुतेको छु ।’ 

उनी अगाडि भन्दै गए, ‘पढ्ने वातावरण भएन । त्यसैले, कक्षा २ सम्म मात्रै पढ्न सकेँ । गाउँकै एकजना दाइ नारायणगढ ग्यारेजमा काम गर्थे । उनकै पछि लागेर कलिला हातमा रिन्ची, पिलास समातेँ । मिस्त्री भएको छु अहिले । आफूले पढ्न नपाए पनि भाइलाई पढाउने ठुलो धोको थियो । तर ऊ पनि मेरै लाइनमा छिरिसक्यो । ग्लाउथोकमा मेरो आफ्नो घर छैन । बाको घर त स्याहार बिना उहिल्यै ढलिसक्यो । आज दिदी भिनाजुको गोठमा सुत्छु । नभए पाश्चर बाको घरमा सुत्नु पर्ला । आफ्नो घर नभए पनि आफूले दुःख गरेको गाउँ आउन मन लाग्दो रहेछ सर ।’ 

यसरी सर्जु भाइको व्यथा सुनेर हाम्रो यात्राको यति जाबो उकाली ओराली केही पनि होइन रहेछ भन्ने लाग्यो । कति महान् रहेछ उनको गाउँको प्रेम । बीच बाटोमा हामीलाई लिन जाने पियन भेटिए । जो हेडसरको लागि ग्लाउथोकबाट २ घण्टा हिँडेर रिचार्ज किन्न ठकुरी भन्ज्याङ जाँदै थिए । उनीसँग उनको ६ वर्षे छोरा पनि थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप