शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिंचाई कुलो निर्माण भएपछि किसानलाई सहज

सोमबार, १८ पुस २०७९, २० : ५३
सोमबार, १८ पुस २०७९

जुम्ला । चन्दननाथ नगरपालिका–९ की नन्दलक्ष्मी रावलले सिंचाई कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताइन् । उनी यसअघि जसोतसो खनेर बनाएको कुलोले खेतमा सिंचाई गर्न बाध्य थिइन् ।

उनीमात्रै होइन, चन्दननाथ–९, रिमिज्युलोमा खेत भएका सबै किसानको पीडा त्यही थियो तर अहिले उमगाड सिंचाई कुलो निर्माण भएपछि त्यहाँका किसानलाई जौ, गहुँ लगायतका बालीमा सिंचाई गर्न सहज भएको छ । कृषि विकास कार्यालय जुम्लाको ६ लाख र स्थानीयको २० प्रतिशत लागत सहभागितामा १ सय ४२ मिटर आरसीसी कुलो बनेको छ ।

माटोको कुलो बाढी आउँदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा विगतमा निकै हैरानी खेपेर खेती गर्नुपरेको सोही ठाउँका स्थानीय नवराज रावतले बताए । उनले भने, ‘पक्की कुलो निर्माण भएसँगै यहाँका किसानलाई केही सहज भएको छ ।’

चन्दननाथ नगरपालिका–७ स्थित छन्ने ज्युलोमा पनि दुईवटा सिंचाई कुलो निर्माण भएका छन् । बालढुक्सादेखि दोकामुलसम्म १ सय २० मिटर र दोकामुलदेखि अगाडि १ सय २० मिटर गरी दुई सय ४० मिटर आरसीसी कुलो निर्माण गरिएको छन्ने ज्युलो सिंचाई कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया बुढ्थापाले बताइन् ।

उनका अनुसार कुलो निर्माण भएसँगै अब खाद्यान्न बाली, तरकारी लगायतका नगदेबाली उत्पादनमा सहज हुने भएको छ । उनले भनिन्, ‘७० मिटर कुलो कच्ची छ । बजेट अभावले पूरै निर्माण हुन सकेको छैन ।’

जुम्लाको मुख्य बालीका रुपमा रहेको मार्सी धान र यहाको जौ, गहुँ हो । त्यस अतिरिक्त तरकारी खेती गर्न पनि सिंचाइ कुलोले ठूलो राहत मिलेको किसानको भनाइ छ ।

जुम्ला हिमाली भेग भएकाले प्रायः सुक्खा क्षेत्र छ । यहाँका किसानले माघ महिनामा अनिवार्य रुपमा हिउँदे बालीमा सिंचाई गर्ने समय भएको कृषि बिकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिकामा मात्रै तीन वटा कुलो निर्माण भएका छन् ।’

उनका अनुसार ६ लाख कृषि विकास कार्यालयको बजेट र २० प्रतिशत लागत सहभागितामा तीन वटै आरसीसी कुलो सम्पन्न भएका छन । कृषि विकास कार्यालयका अनुसार १ सय ५ वटा सिंचाई कुलो आयोजना छन् । जस अन्तरगत केही सम्पन्न भएका छन् भने केही सम्झौता हुने क्रममा छन् । केही कुलो निर्माणाधीन अवस्थामा छन् ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारका अनुसार धान खेतीका लागि र तरकारी उत्पादनका लागि जुम्ला उत्कृष्ट जिल्ला हो । यहाँ वर्षमा दुई बाली धानसँगै अन्य बाली पनि हुने गरेको छ ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरि २६ हजार हेक्टर खेतीयोग्य जमिन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप