कित्ताकाट नखुल्दा मधेस प्रदेशको घरजग्गाको राजस्व ३३ प्रतिशतले घट्यो
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशको घरजग्गा रजिस्ट्रेसन बापतको राजस्वमा ३३ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार मधेस प्रदेशको आर्थिक प्रतिवेदन जारी गर्दै आर्थिक वर्षभित्र प्रदेशको घरजग्गा रजिस्ट्रेसनबाट संकलित राजस्व ३३.२२ प्रतिशतले घटेको जनाएको हो ।
यद्यपि, समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेसन संख्या भने १७.११ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । स्थानीय तहबाट जग्गा वर्गीकरणको काम नभएसम्मको लागि कित्ताकाट रोकिएको हुँदा नयाँ विक्री बापतको रजिस्ट्रेसन कम भई अंश पासबापतको तथा महिलाको नाममा बढी रजिस्ट्रेसन हुने गरेको कारण रजिस्ट्रेसन संख्यामा वृद्धि भएपनि रजिस्ट्रेसनबाट संकलित राजस्वमा भने कमी आएको बैंकको विश्लेषण छ ।
आर्थिक वर्षमा समग्र प्रदेशको कृषियोग्य जमिनमा ०.३० प्रतिशतले ह्रास आउँदा यता उत्पादन समेत ०.५३ प्रतिशतले कमी आई ६३ लाख ८२ हजार ६ सय १२ मेट्रिकटन पुगेको बैंकले जनाएको छ । तर, माछा, मासु, फलफूल तथा दूधको उत्पादनमा भने वृद्धि भएको बैंकले जनाएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेस प्रदेशको कृषि क्षेत्रमा कुल कर्जाको १२.५५ प्रतिशत अर्थात् ५३ अर्ब ९५ करोड रुपैयाँ प्रवाह भएको छ ।
यस्तै, समग्र प्रदेशको प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ६३.९८प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा वर्षमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २.९५ प्रतिशतले ह्रास आई १ खर्ब २ अर्ब १३ करोड पुगेको छ । मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५२.३९ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.५७ प्रतिशत, धातुको उत्पादन,मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ ७.६२ प्रतिशत, निर्माण उद्योगतर्फ ७.२७ प्रतिशत, खानी उद्योगतर्फ १.६६ प्रतिशत र विद्युत्, ग्याँस तथा पानी उद्योगतर्फ ०.४८प्रतिशत कर्जा प्रवाह भएको छ ।
समीक्षा वर्षमा मधेस प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या र पर्यटकको आगमनमा क्रमशः ३६.४३ र २५४.५९ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु