राजस्वको नक्कली स्टिकरसहित वीरगञ्जबाट दुई जना पक्राउ
सोमबार, १८ पुस २०७९, १३ : १६
![राजस्वको नक्कली स्टिकरसहित वीरगञ्जबाट दुई जना पक्राउ](https://npcdn.ratopati.com/media/news/Rajeshwo-Sticker-9.18-(2079)-_H4jJ6QHgUi.jpg)
आन्तरिक राजस्व विभागले जारी गर्ने नक्कली स्टिकर सहित प्रहरीले दुई जनालाई पर्साको वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ घर भएका २७ वर्षीय मनिष कुमार शाह तेली र २५ वर्षीय रञ्जन कुमार राम छन् ।
आरोपीहरूले भारतीय बजार रक्सौलबाट राजस्वको विभागका नक्कली स्टिकर ल्याएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) दीपक गिरीले रातोपाटीलाई बताए ।
प्रदेश–२–०३–००८ प २६६९ नम्बरको मोटरसाइकलमा सवार आरोपीहरूको साथबाट प्रहरीले मदिराको बोतलमा प्रयोग गरिने १ पाना स्टिकर (३९ थान) बरामद गरेको छ । दुई पाना स्टिकरको फोटोकपी भेटिएको छ ।
आरोपीहरूविरुद्ध लिखत सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए ।