बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

पाल्पा रामपुरका सीसीटीभी क्यामेरा मर्मत भएनन्

सोमबार, १८ पुस २०७९, ११ : ५२
सोमबार, १८ पुस २०७९

पाल्पाको दोस्रो ठूलो व्यापारिक केन्द्र रामपुर बजारमा जडान गरिएका सीसीटीभी क्यामेरा मर्मत नहुँदा प्रयोगविहीन भएका छन् । सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले जडान गरिएका सीसीटीभी क्यामराले काम गर्न छोडेको वर्षौँ भएको छ । सिसिटिभी नचल्दा बजार क्षेत्रका सडक वरिपरि हुने चोरी, सवारी दुर्घटना तथा अन्य घटनाहरूको अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिकाले बि. स. २०७६ सालमा बेझाड बजारका ३ स्थानमा ४ वटा सिसी क्यामेरा राखेको थियो । जडान गरिएको क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका हुन् । रामपुरको मुख्य बेझाड बजार चोक र गरिमा विकास बैङ्क अगाडि पोलमा गरी ४ क्यामेरा जडान गरेको थियो । क्यामेरा बिग्रिएको वर्षौँ भएको छ ।

सरोकारवालाको बेवास्ताका कारण रामपुर बजार चोकमा जडित सिसिटिभी क्यामेरा देखाउनका लागि मात्र सीमित छन् । नगरपालिकाले काठमाडौँका प्राविधिकबाट सिसिटिभी क्यामेरा जडान गरेको थियो । सुरक्षा निकायबाट मनिटरिङ गरिएको भए पनि केही समयको अन्तरालमा नै बिग्रिएको हो । ‘बाहिरका प्राविधिकबाट जडान गरियो नियमित मर्मत अपडेट भएन, नगरप्रमुख रमणबहादुर थापाले भने– केही समयसम्म चलेको थियो सोही प्राविधिकलाई बोलाउँदा सम्पर्कमा आएनन् ।’

प्रविधिमैत्री सहरीकरणको अवधारणालाई आत्मसाथ गर्दै थप सिसिटिभी क्यामेरा जडान गरी सहरलाई प्रविधिमैत्री युक्त बनाउनुपर्नेमा भएका क्यामेराहरू पनि बिग्रिएर मर्मत हुन नसक्नु सम्बन्धित निकायको गम्भीर लापरबाही भएको स्थानीय बत्ताउँछन् । बजार क्षेत्रमा रहेका प्रायः बैङ्क तथा वित्तीय संस्थाले सुरक्षाका लागि सिसिटिभी राखेका छन् । तर ती पनि धेरैजसो नचल्ने स्थितिमा पुगेका छन् ।

२०७५ सालमा रामपुरमा रहेको सुरक्षा बचत तथा ऋण सहकारीमा भएको चोरीको अनुसन्धान निष्कर्षमा पुग्न नसक्नु पनि एकातर्फ सिसी क्यामेरा नहुनु हो । सुरक्षाको दृष्टिले तत्कालीन अवस्थामा सरकारी कार्यालयमा अनिवार्य सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राखी रामपुर नगरपालिका र प्रहरी कार्यालयबिच मौखिक सहकार्य भए पनि यसले गति लिन नसकेको हो । सो समयमा सुरुमा इलाका प्रहरी कार्यालय रामपुरमा विभिन्न सहयोगी मार्फत थुनुवा कक्ष, पश्चिम मूल गेट सहित ४ स्थानमा क्यामेरा जडान भएको थियो ।

बढ्दो सहरीकरणलाई ध्यान दिँदै रामपुरका मुख्य बजारमा सिसिटिभी जडान गर्नुपर्ने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए । क्यामेरा थपिनुपर्नेमा भएका सिसिटिभी क्यामेराले काम नगर्दा बजार क्षेत्रमा अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण र बजार व्यवस्थापनमा ठूलो समस्या भएको उनले उल्लेख गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप