‘नेपाली माटोमै मर्छु, काशी जान पर्दैन’
मै खाऊँ, मै लाऊँ, सुख, सयल वा मौज म गरूँ
म बाँचू, मै नाचूँ, अरू सब मरून् दुर्बलहरू ।
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी,
चिता खित्का छोडी अभयसित हाँस्यो मरीमरी ।
५३ (तरुण तपसी १८।२८)
समाज अहिले त्यही ठाउँमा छ जुन अवस्था देखेर कविशिरोमणि लेखनाथले यो श्लोक लेखेका थिए । हो, अहिले पनि समाजका अधिकांश सदस्यमा आफैँ, खाऊँ, आफैँ लाऊँ भन्ने प्रवृत्ति देखिन्छ । पौड्यालले २०१० सालमा देखेको समाजको त्यो प्रवृत्ति र अहिलेको समाजमा अझ बढेको छ । आफूले भोगेको समाजको त्यो विकृतिलाई सूक्ष्म अध्ययन गरी तरुण तपसी नव्यवकाव्य उनले २०१० सालमै लेखेका थिए । नेपाली समाजलाई गहिरोसँग बुझेर नै उनले तरुण तपसी नव्यवकाव्य लेखेका थिए ।
जन्मका हिसाबले लेखनाथ पौड्याल १९४१ पौष शुब्ल एकादशीका दिन कास्की जिल्लाको अर्घौं अर्चलेमा भएको थियो । त्यो गाउँको नाम अहिले कास्कीको पोखरा लेखनाथ महानगरपालिका बनेको छ । बाबु दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा जन्मिएका पौडेलको शिक्षादीक्षा पाँच वर्षको उमेरदेखि घरबाटै आरम्भ भएको देखिन्छ । तत्कालीन समयमा जताततै विद्यालय थिएनन् । अधिकांश नेपालीहरूको घरमै संस्कृत शिक्षा लिने प्रचलन थियो । सोहीअनुसार उनले पनि सर्वप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी अध्ययन गरेका थिए ।
पन्ध्र वर्षको भएपछि उनी अध्ययनका लागि काठमाडौँ आए र तीनधारा संस्कृत छात्रवासमा भर्ना भई अध्ययन सुरु गरे । तीनधारा पाठशालामा अध्ययन हुने भए पनि परीक्षा दिन त्यतिबेला बनारस पग्नुपथ्र्यो । उनी बनारस गई परीक्षा दिएर फर्केपछि संस्कृत श्लोक लेख्न रुचि भएको तर प्रोत्साहन पाएका थिएनन् । ‘नेपाली काव्य र कवि’ कृतिमा राममणि रिसालले लेखेका छन्, “सुरुमा पितृप्रसादको हप्काइ, अग्निधरको उपेक्षा र दधिराम मरासिनीको प्रोत्साहन, अनि डी एच एन्ड को. को कार्याल (भोटाहिटी)मा बसेका केही विद्वान्हरूको नेपाली भाषा र साहित्यप्रतिको नकारात्मक दृष्टिले लेखनाथको नेपाली भाषा र साहित्यमाथिको अनुराग अझ एकनिष्ठता पार्दै अगाडि सार्यो ।”
नेपाली भाषासाहित्य नेपालकै विद्वान्हरूबाट उपेक्षित भएको समयमा लेखनाथले नेपाली भाषामा कविता लेख्न सुरु गरे थिए । त्यस्तो अपहेलित र अपमानित समयमा पौड्यालले नेपाली भाषाको उन्नयनका लागि ‘समस्यापूर्ति’ र ‘सूक्ति सुधा’ जस्ता बनारसबाट प्रकाशित हुने पत्रिकामा कविताहरूमा लेख्न सुरु गरेका थिए ।
छन्दोबद्ध तथा परिष्कारवादी धाराका थालनीकर्ता मानिने पौड्यालले विसं १९५६ देखि नै संस्कृत र नेपाली भाषामा कविता लेख्न सुरु गरेका थिए । उनको सिर्जना समस्यापूर्तिबाट सुरु भएको र ‘कविताकल्पद्रुम’ (१९६२)मा उनका ‘शृङ्गार पच्चीसी’ र ‘मानसाकर्षिणी’ दुईवटा कविता प्रकाशित भएपछि सार्वजनिक साहित्यमा देखापरे । किशोरवय समय भएकाले उनले शृङ्गारिक कविता बढी लेखे । यसपछि उनले जीवनभर निरन्तर लेखन र आफ्नै सिर्जनाको परिष्कार र सम्पादन गरिरहे ।
यसक्रमा उनले ऋतु विचार (खण्डकाव्य), बुद्धिविनोद, सत्यकलि संवाद, सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली, तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा, गौरी–गौरव (नाटक), लालित्य (कविता सङ्ग्रह भाग १, २), गीतासागर– श्रीमद्भगवत गीताको भावसार, भर्तृहरि निर्वेद, पञ्चतन्त्र (नेपाली अनुवाद), गङ्गा–गौरी लगायत थुप्रै कृति प्रकाशित छन् । यीमध्ये उनको सर्वाधिक चर्चित कृति ऋतुविचार खण्डकाव्य नै हो ।
सूक्तिसिन्धुु काण्ड माध्यमिक कालको चर्चित साहित्यिक काण्ड हो । सूक्तिसिन्धु २४ जना कविका ७१ वटा कविताको सङ्ग्रह हो । मोतीराम भट्टले सुरु गरेको शृङ्गारिक धारा यो समयमा चरम उत्कर्षमा थियो । यसमा कविहरूले युवतीका विभिन्न अङ्गहरूको कामुक वर्णन गर्दै प्रेम र रतिरागका कविता लेखेका थिए ।
हलन्त बहिष्कार आन्दोलनमा सरिक
लेखनथका समयमा नेपाली भाषाको विकास प्रारम्भिक अवस्थामा नै थियो । भाषिक एकरूपता थिएन । छिटपुट रूपमा प्रकाशित हुने साहित्यिक पत्रपत्रिकाहरूमा नेपाली भाषाका अक्षरमा खुट्टा काटी लेख्ने (हलन्त गर्ने) चलन व्यापक रूपमा मौलाएको थियो । त्यसबाट आजित भएर माधवी साहित्यिक पत्रिकाका सम्पादक राममणि आचार्य दीक्षितले १९६५ मा हलन्त बहिष्कार आन्दोलन नै चलाएका थिए । यो आन्दोलनमा लेखनाथ पनि सामेल भए । जथाभावी खुट्टा काटी लेख्ने शैलीको विरोधमा लेखनाथ पौड्याल व्याकरणसम्मत भाषा, काव्यगत सचेतता र सुललित पदरचनाबाट नेपाली वाङ्मयको अभिवृद्धिमा लागे । यही माधवी साहित्यिक पत्रिकामा हलन्त बहिष्कार आन्दोलनलाई सघाउन पुर्याउनेगरी उनी कविता लेखनतर्फ लागेका देखिन्छ ।
सिर्जनामा कठिन मोड
लेखनाथ पौड्याल राणा शासनको चरम अवस्थामा सिर्जनामा होमिएका कवि हुन् । उनी कवि मात्र नभएर जीवन निर्वाहका लागि श्री ३ भीम शमशेरका दरबारीया पण्डित हुन पुगेकाले तत्कालीन राजनीतिक परिस्थितिलाई नजिकबाट नियालेका थिए । त्यतिबेला सूक्तिसिन्धु पत्रिका माथिको हमला र मकै पर्वमा नेपाली साहित्यकारहरूलाई गरिएको अपमान र सजाय अझ नजिकबाट हेरेका थिए ।
सूक्तिसिन्धुु काण्ड माध्यमिक कालको चर्चित साहित्यिक काण्ड हो । सूक्तिसिन्धु २४ जना कविका ७१ वटा कविताको सङ्ग्रह हो । मोतीराम भट्टले सुरु गरेको शृङ्गारिक धारा यो समयमा चरम उत्कर्षमा थियो । यसमा कविहरूले युवतीका विभिन्न अङ्गहरूको कामुक वर्णन गर्दै प्रेम र रतिरागका कविता लेखेका थिए ।
अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित भएको अवस्थामा असहाय नेपाली जनजीवनका बारेमा सिधै लेख्ने अवस्था थिएन । उनमा उत्पन्न छटपटी र त्यो उकुसमुकुसलाई पिँजराका सुगामा व्यक्त गरेका छन् । राणाहरूको क्रूर व्यवस्थालाई प्रतीकात्मक रूपमा सो कवितामा चित्रण गरेका छन् ।
यो सङ्ग्रह प्रकाशित भएपछि प्रथम विश्वयुद्धमा जान लागेका सिपाहीहरू र दरबारका युवतीमा यौन उत्तेजना बढाएर तिनलाई बिगारेको आरोप लगाई चन्द्र शमशेरले थुप्रै कविलाई दण्डित गरेका थिए । राधानाथ लोहनीलाई सार्वजनिक रूपमा कान समातेर उठबस गराई अपमानित गरे भने अरू कविलाई पनि जरिवाना तिराएका थिए । सम्पूर्ण किताब जफत गरेर प्रतिबन्ध लगाए भने यसका सम्पादक श्यामजीप्रसाद शर्मा अर्याल ज्यान जोगाउन वीरगञ्जतिर भागे । त्यसपछि उनले साहित्यबाटै सन्न्यास लिए ।
समालोचक रिसालले लेखेका छन्, “सूक्तिसिन्धुमाथिको वक्रदृष्टि र मकै पर्वमा उठेका क्रूरदृष्टि आफ्नै अगाडि देखे, सुने र भोगेकाले पौड्यालले सावधानीपूर्वक काव्यकारिता अगाडि बढाउँदै, आदर्श भूमिमा नवीन दृष्टिकोण स्थापना गरेका हुन् ।” उनका अगाडि साहित्य सिर्जना गर्न निकै कठिन अवस्था थियो किनभने सामान्य कविता लेख्दा पनि सावधानी नअपनाए सर्वस्व हरण हुने परिस्थिति थियो ।
लेखनाथले आँखै अगाडि देखेको अर्को साहित्यिक काण्ड थियो– मकै पर्व । विसं १९७७ मा कौशिल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ भन्ने पुस्तक प्रकाशित गरेका थिए । पुस्तकको भूमिकामा ‘बेलायती कुकुरले तत्कालीन ब्रिटिस समुदायलाई सङ्केत गरेको, मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र कालो टाउके कीराले क्रमशः चन्द्र शमशेर र भीम शमशेरलाई होच्याइएको भन्ने अर्थ लगाइयो । अनि सुब्बा कृष्णलाललाई ९ वर्षको जेल र कोर्राको सजाय दिइएको थियो । पछि उनको जेलमै मृत्यु भयो । पुस्तक प्रकाशनमा सहयोग पुर्याउने उनका ४५ जना सहयोगीलाई ५–५ वर्ष जेल सजाय भएको थियो भने पुस्तक छाप्ने पशुपति छापाखानालाई ५० रुपैयाँ जरिवाना भएको थियो ।
यी सबै स्थितिलाई लेखनाथ पौड्यालले नजिकबाट नियालेका थिए ।
अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित भएको अवस्थामा असहाय नेपाली जनजीवनका बारेमा सिधै लेख्ने अवस्था थिएन । उनमा उत्पन्न छटपटी र त्यो उकुसमुकुसलाई पिँजराका सुगामा व्यक्त गरेका छन् । राणाहरूको क्रूर व्यवस्थालाई प्रतीकात्मक रूपमा सो कवितामा चित्रण गरेका छन् ।
पिँजराको सुगा
बालक बबुरो द्विज शुकनामा
हुँ म परेको छू पिँजरामा ।
मकन हरे ! शान्ति र चैन
सपना बिच पनि रतिभर छैन ।।
मेरा बन्धव बाबु र आमा
बसछन् वनका एक कुनामा
कोसित पोखूँ मनको ताप
गरर्दै पिँजराबाट विलाप ।।
आँशु बगाई कहिले रुन्छु
कहिले मुर्दातुल्य म हुन्छु
कहिले पागरसरि उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ।
फलफल खाई नित्य रमाई
वनमा पिरने बचरालाई
विधिले पार्यो पिँजराभित्र
कर्म हरे ! ......
(नेपाली कविता भाग ४ बाट)
कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितालाई तत्कालीन राणाशासनबाट पीडित जनताको अवस्था कस्तो थियो भनेर प्रतीकात्मक रूपमा लेखेका थिए भनिन्छ । कतिपयले लेखनाथ आध्यात्मिक व्यक्तित्व भएकाले उनी उनले शरीर र आत्माबीचको द्वन्द्वलाई चित्रण गरेको भनिन्छ भने कतिपयले वास्तविक सुगाकै पीडा व्यक्त गरिएको भनेका छन् ।
आध्यात्मवादी तथा परिष्कारवादी कवि
लेखनाथ पौड्याल नेपाली कविता क्षेत्रका परिष्कारवादी धाराका खम्बा हुन् । उनका हरेक कविता परिष्कार गरिएका छन् । उनले नेपाली भाषामा उच्च गुणस्तरयुक्त काव्य रच्ने भित्री अठोटका साथ विसं १९६६ मा ‘वर्षाविचार’ लेखे । त्यसलाई परिष्कार गरी १९७३ मा ऋतुविचार तयार गरे । यो कृतिलाई अझ परिष्कार गर्दै १९९१ मा पुनः प्रकाशित गरे । लेखनाथका यी कार्यले गर्दा कविशिरोमणि लेखनाथ पौड्याल परिष्कारवादी काव्यधाराका उत्कृष्ट खण्डकाव्यकार हुन् भन्ने प्रमाणित हुन्छ ।
परिष्कारवादी कवि मात्र होइनन् लेखनाथ पौड्याल । उनी आध्यात्मवादी थिए भन्ने कुरा उनका धेरै सिर्जनाको अध्ययन गर्दा थाहा हुन्छ । “लेखनाथका काव्यमा पूर्वीय दर्शन विशेषगरी अद्वैत वेदान्त–दर्शनको अमिट छाप छ ।” राममणि रिसाल लेख्छन्, “जीवन चङ्गा, चुँडिएको चङ्गासित र कोको आलि उनका कवितामा अद्वैत ब्रह्मको बयान भएको छ ।” पूर्वीय दर्शन र साहित्यलाई नेपाली काव्यभरी लेखनाथले कवितात्मक सौन्दर्य विशेष भल्किएका छन् भन्ने कुरा मृत्युशय्यामा छँदा लेखेको यो कविताबाट पनि थाहा हुन्छ–
यो दुःख भोग्ने परमेश्वरै हो,
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ,
सुटुक्क सामान लिएर जान्छ ।
(नेपाली काव्य र कवि पृ. ५९)
पौडेललाई सम्मान
पौड्याललाई २००८ असार २९ गते तत्कालीन राजा त्रिभुवनले कविशिरोमणि पदकले सम्मान गरेका थिए । सो दिनदेखि उनले मासिक दुई सय रुपियाँ आजीवन भत्ता पनि पाए । यो पुरस्कार पाएपछि लेखनाथ अत्यन्त खुसी भएको कुरा वरिष्ठ साहित्यकार नरेन्द्र प्रसाईंले लेखेका छन्– ‘कविशिरोमणि’को पद पाएपछि उनले सर्वप्रथम आफ्ना गुरु दधिराम मरासिनीलाई ‘मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छ ।’ भनेर चिठी लेखेका थिए ।’ यसपछि साहित्यिक सङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले ।
नेपाली साहित्यमा विशिष्ट योगदान दिने पौड्याललाई २०११ सालमा रथारोहण गराइएको थियो । यस विषयमा उत्तमकुँवरले लेखेका छन्, “२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँछाड र मछाड गर्दै सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामाआँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइन सारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।’
लेखनाथ पौड्याल प्रज्ञा प्रतिष्ठानका सदस्य पनि भएका थिए । उनलाई मरणोपरान्त वि सं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरेको छ । उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ ।
देहान्त
विसं २०२० पछि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । एउटा आँखामा मोतीविन्दु भएकाले उनी एउटा आँखा मात्र देख्थे । यस्तै अवस्था भए पनि उनी २०२२ मा तीर्थ गर्न भनेर बनारसतर्फ लागेका थिए । तर भारतको रक्सौल पुगेपछि उनको शरीरले थेग्न सकेन र थला परे । देहान्तको पूर्वसङ्केत पाएपछि उनले ‘नेपाली माटोमा मर्छु, काशी जान पर्दैन’ भनेपछि उनलाई चितवनको देवघाट ल्याइयो । अन्ततः २०२२ फागुन ७ गते शिवरात्रीका दिन उनी यस धर्तीबाट सदाका लागि बिदा भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)