आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रंगमञ्च

गौतम बुद्धले पत्नी यशोधरालाई प्रेम गर्थे वा गर्दैनथे ?

सोमबार, १८ पुस २०७९, ०६ : ०६
सोमबार, १८ पुस २०७९

मानौँ, मानव समाज एक रंगमञ्च हो । के समाज र निजी जीवनमा गरिने प्रेम–सम्बन्धबीच पातलो पर्दा छ ? 

प्रसंग कुञ्ज नाटकघर थापागाउँमा मञ्चित नाटक ‘...गच्छामि’को हो । नाटकमा एउटा दृश्य छ, युवराज सिद्धार्थ गौतमले आफ्नो राज्यका युवतीलाई उपहारस्वरूप लत्ता–कपडा बाँड्छन् । एक हुल युवतीलाई खुला ठाउँमा उपहार बाँडिसकेपछि पातलो पर्दाभित्रबाट नारी आवाज आउँछ । यशोधराले भन्छिन्, ‘उपहार त सबै बाँडेर सकियो, मेरो लागि केही छ ?’ 

यशोधरालाई दिन सिद्धार्थसँग केही थिएन । उनले आफ्नो घाँटीबाट माला निकालेर यशोधरालाई लगाइदिन्छन् र उनीहरूको विवाह हुन्छ । विशेष रूपले, पातलो पर्दा भित्रबाट आएका यशोधराका शब्दहरुमा प्रेमको अपेक्षा र आह्वान लुकेको आभास हुन्छ । यसले यो पनि संकेत गर्छ— के बुद्धको गृहस्थी जीवन वा प्रेमिल जीवन पर्दाभित्रै रह्यो ?   

गौतम बुद्ध ज्ञान र प्रेमका दियो हुन् । साँच्चि ! बुद्धले पत्नी यशोधरालाई प्रेम गर्थे वा गर्दैनथे होला ? के अधबैँसे पत्नीप्रति कुनै प्रेम र सद्भाव नराखी उनलाई चटक्क छाडेर सत्यको खोजीमा निस्केका थिए सिद्धार्थ ? यी प्रश्न पनि छन् ।

संस्कृत शब्द गच्छामिको अर्थ ‘जाने क्रिया’सँग सम्बन्धित छ । हामीले सुन्दै आएका हौँ– बुद्धं शरणं गच्छामि अर्थात् बुद्धको शरणमा जान्छु । धम्मं शरणं गच्छामि अर्थात् धर्मको शरणमा जान्छु, संघं शरणं गच्छामि अर्थात् संघ, समूह वा समुदायको शरणमा जान्छु । 

वास्तवमा मानिस जाने कता हो ? वरिष्ठ रंगकर्मी सुनील पोखरेलको निर्देशन र वीरेन्द्र हमालको सहनिर्देशन रहेको नाटक  ‘...गच्छामि’ले यही प्रमुख प्रश्नमा सोधखोज गर्छ । 

gachhami1

नाटकको कथा अनुसार, दुई दाजुबहिनीले ‘सिद्धार्थ गौतम अर्थात् गौतम बुद्ध को हुन् ?’ भन्ने विषयमा अनुसन्धान गर्दै छन्, यो उनीहरूलाई कलेजले दिएको प्रोजेक्ट वर्क हो । मञ्चको अघिल्लो भागबाट सूत्रधारका रूपमा उनीहरूले बुद्धको कथा भन्न सुरु गर्छन् । कथा अघि बढ्दै जाँदा एकपटक उनीहरू मञ्चको भित्री भागमा प्रवेश गर्छन्, अर्थात् अनुसन्धानको गहिराइमा । सुरुमा चञ्चल पारा (आसन वा बसाइमा कुनै स्थिरता नभएको र बुझाइमा परिपक्वता नभएको अवस्था) मा प्रस्तुत भएका सूत्रधारहरू नाटकको अन्ततिर केही गम्भीर हुँदै जान्छन् र वज्रासनमा बस्न पुग्छन् । अर्थात् बुद्धलाई बुझ्दै जाँदा उनीहरूको व्यावहारिक जीवन पनि केही प्रभावित भएको छ । 

योगासनमा वज्रासनलाई सहज आसनका रूपमा लिइन्छ, यो एक मात्र यस्तो आसन हो, जुन आसन खाना खानेबित्तिकै वा जुनसुकै बेला बस्न सकिन्छ । अर्थात् नाटकले विम्ब र प्रतीकमा यस्तो भन्न खोजेको छ— बुद्धको ज्ञान क्लिष्ट नहोस्, सहज होस्, सबैको होस् ।

नाटकमा सिद्धार्थले घर छाडेको दृश्य छ । आफ्नो राजकीय पोसाक छाडेर सिद्धार्थले अकस्मात घर छाड्छन् । त्यसपछि आउने यशोधराको एकालाप, अझ भनौँ अलापविलापमा जीवनदर्शन जीवन्त भएर आएको छ ।

नाटक हेरिसकेपछि आफूले बुझेका विम्ब र प्रतीकका बारेमा मैले निर्देशक पोखरेलसँग कुरा गरेँ । रंगमञ्चका हस्तीले निर्देशन गरेको नाटकमा बुझाइ फरक पर्न सक्ला भन्नेमा म सतर्क थिएँ । केही गम्भीर मुद्रामा उनले भने, ‘अब त (यो ढल्कँदो उमेरमा ?) काम गरिहोलेपछि केही गम्भीर नै गरौँ भन्ने लाग्यो ।’ 

नाटक हेर्न सुनीलले मलाई मोबाइल फोनमार्फत निम्तो गरेका थिए । उनले नाटकको नाम ‘गच्छामि’ भन्नेबित्तिकै मेरो मस्तिष्कमा बुद्धको चित्र र चरित्र (आफूले बुझेसम्मको) उत्रेको थियो । १७ वर्षअघि हर्मन हेसको ‘सिद्धार्थ’ उपन्यास पढेपछि म हैरान भएको थिएँ । घर छाडेर ज्ञानको खोजीमा निस्कन सिद्धार्थले पितासँग अनुमति माग्छन् । तर, पिताले यो शब्द पुनः मुखबाट ननिकाल्ने आदेश दिन्छन् । साँझपख सिद्धार्थ जहाँ उभिएर पितासँग अनुमति मागेका थिए, उनी रातभरि त्यहीँ उभिन्छन्, बेलाबेला पिताले छोराको त्यो अवस्था नियालेकै थिए । छोराको अहं अडानसँग हारेका पिताले भोलिपल्ट बिहान पुत्रलाई अनुमति दिन करै लाग्छ । 

मलाई आजसम्म सबैभन्दा बढी मनपरेको उपन्यास यही हो । गाउँदेखि काठमाडौंंमा पढ्न मसँगै आएका साथीहरू टिक्न नसकेर गाउँ फर्के । काठमाडौंमा संघर्ष गर्दा कहिलेकाहीँ हारेर मैले पनि खाडी मुलुकको कल्पना गर्थें । त्यस्तो बेला मलाई सिद्धार्थ उपन्यासको उपरोक्त प्रसंगले रोक्थ्यो । हेसको उपन्यास ‘सिद्धार्थ’ गौतम बुद्धकै जीवनीमा आधारित होइन, तर यसले केही अध्यात्मवादीसँगै भौतिकवादी दर्शन बोकेकै छ ।  

gachhami2

नाटकमा सिद्धार्थले घर छाडेको दृश्य छ । आफ्नो राजकीय पोसाक छाडेर सिद्धार्थले अकस्मात घर छाड्छन् । त्यसपछि आउने यशोधराको एकालाप, अझ भनौँ अलापविलापमा जीवनदर्शन जीवन्त भएर आएको छ । सिके लालले लेखिदिएको यो एकालाप बुझ्न पुरुष र प्रकृतिको दर्शनलाई बुझ्नैपर्छ । यशोधराको संवाद छ, ‘अनि म ? युवराज्ञी यशोधरा, नारी शक्ति, म ऊर्जा हुँँ युवराज, पाँचौँ तत्व एवं राप र तापको स्रोत । मलाई छाडेर सत्यको खोजी ? पाइहाले पनि अपुरो हुनेछ त्यो सत्य युवराज । पूर्णता पाउन तिमीले फर्केर कपिलवस्तु नै आउनुपर्नेछ ।’ 

नाटकमा सिद्धार्थले घर छाडेर जाँदा दर्शकको माझको बाटो भएर गएको दृश्य राखिएको छ । तर, जाँदै गरेका सिद्धार्थको पछाडि लाइट (प्रकाश) राखिन्छ । प्रकाश अगाडि राख्दा अर्थपूर्ण हुन्थ्यो होला ! ताकि ज्ञानको खोजीमा निस्केको मानिस उज्यालोतिर फर्केको होस् । लाइट पछाडि हुँदा त उसको अगाडि छाया वा अँध्यारो पर्छ । सुनील भन्छन्, ‘होइन, त्यसरी नै राखेको हुँ । त्यही ठीक छ ।’ 

हो त, यशोधराको एकालापले यही भन्छ कि ज्ञानको उज्यालो घर–गृहस्थीमै थियो । आखिर, एउटा पुरुष स्त्रीसँग भागेर कहाँ नै पुग्छ र ?

घर छाडेर गएका सिद्धार्थले ज्ञान प्राप्त गर्छन् र संसारलाई चार आर्यसत्यको मार्ग बताउँछन् । बुद्धको ज्ञान वा प्रवचन नाटकमा पाश्र्व स्वर अझ भनौँ आकाशवाणी भएर आएको छ, जसले बुद्धको ज्ञानको ओज राखेको छ । बुद्धको भूमिका निभाएकै अभिनेताबाट प्रवचन गराएको भए सायद खल्लो हुन्थ्यो । 

बुद्धको जीवनीमा आधारित केही पुस्तकबाट कथावस्तु लिएर तयार गरिएको यस नाटक नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मञ्चन भएको हो । यस नाटक २३ पुससम्म मञ्चन हुनेछ ।

ज्ञान प्राप्त गरी बुद्ध घर फर्कंदा उनीभन्दा अघि १२ भिक्षु आउँछन् । बौद्धदर्शनमा द्वादश (१२) निदानको महिमा बताइएको छ । जसलाई अविद्या, संस्कार (कर्म), विज्ञान (चेतना), नामरूप, षडायन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति (जन्म) र जरामरणले जानिन्छ । अर्कोतिर, लामो समयलाई हामीकहाँ १२ वर्षका रूपमा पनि लिइन्छ । के सुनीलले यस्तै अर्थमा १२ भिक्षु राखेका हुन् ? सुनील भन्छन्, ‘होइन, यो संयोग हो, मैले जानेर गरेको होइन ।’  

नाटकमा बुद्ध घर फर्कंदै गर्दा बत्ती जान्छ । यस्तो बेलामा बत्ती गएको हुन्छ कि दर्शकलाई पनि उनी कहिले फर्कन्छन् भन्ने अत्याश लागिरहेको थियो । अर्कोतिर, नाटकले दर्शकलाई यस्तो आभास गराइसकेको थियो, कपिलवस्तुवासी उज्यालोको प्रतीक्षामा छन् । कतै सुनीलले कला वा नाटकको भागकै रूपमा बत्ती निभाउने दृश्य राखेका त होइनन् ? सुनील भन्छन्, ‘त्यस्तो होइन, साँच्चिकै बत्ती गएको हो । तर, कस्तो मिलेको है !’ 

भनिन्छ, रोहिणी नदीको पानीलाई लिएर दुई गणराज्य (कपिलवस्तु र कोलिया)का बीचमा द्वन्द्व चर्किन्छ र युद्धकै परिस्थिति निम्तन्छ । युद्ध नै हुने भएपछि मेलमिलाप र शान्तिको पक्षमा रहेका सिद्धार्थले घर छाड्छन् । यही कुरा नाटकमा आएको छ । बुद्धसम्बन्धी लेखिएका थुप्रै पुस्तकले विविध कोणबाट बुद्धको जीवनी पस्केका छन् । यस नाटकले बुद्धलाई भगवानको रूपमा होइन असल मान्छेको रूपमा प्रस्तुत गरेको छ । सुनील भन्छन्, ‘बुद्धत्व प्राप्त गरिसकेपछि हामीले सिद्धार्थलाई सिधै कपिलवस्तु फर्काएका छौँ । बुद्धले बाँसुरी बसाउँथे भन्ने मलाई नै थाहा थिएन । बुद्धले यशोधरालाई त्यस्तो माया गर्थे भन्ने हामीलाई थाहा थिएन । हामीले त बुझेको यही हो, उनले छाडेर गए । बुद्धलाई महान् गुरु, महान् क्रान्तिकारी, महान् यायावरका रूपमा बुझ्नुपर्छ कि हामीले ! मान्छेका रूपमा ? मैले नाटकमा भन्न खोजेको यही हो ।’

नाटकमा बुद्धका छोरा राहुल, बुद्धकी शिष्या आम्रपालीलाई देखाइएको छैन । उनीहरूको कथा पनि समेटेको भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो लाग्छ । 

नाटक हेरिसकेपछि मैले यशोधराको भूमिका निभाएकी सुनिशा बजगाईंसँग कुरा गरेँ । उनले भनिन्, ‘म त अलि चञ्चले, बोलिराख्नुपर्ने, हाँसिराख्नुपर्ने र छिटै इरिटेड हुने खालकी हुँ । तर, यो नाटकको रिहर्सल गर्न थालेदेखि मलाई तत्काल प्रतिक्रिया दिन मन लाग्दैन । आफू केही शान्त भएजस्तो महसुस भएको छ ।’

बुद्धको जीवनीमा आधारित केही पुस्तकबाट कथावस्तु लिएर तयार गरिएको यस नाटक नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मञ्चन भएको हो । यस नाटक २३ पुससम्म मञ्चन हुनेछ ।

मञ्चमा  

सुनिशा बजगाईं, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बु, मोहन राई, प्रतिज्ञा भण्डारी, केशव शाही, प्रकाश थापा, आशिष घिमिरे, एलिजा तुम्बापो, विश्वास मानन्धर, यशराज विमली, आकांक्षा केसी, जमिन राजथला, पूजा तिवारी र समीर राई । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप