भरतमोहनको भ्रमपूर्ण पार्टी चिन्तन
एमाले पार्टीका ज्येष्ठ अनुभवी नेता भरत मोहन अधिकारी अहिले कुनै पार्टीगत कार्यकारी औपचारिक भूमिकामा हुनुहुन्न । उहाँ उमेर हदका कारण पार्टी माध्यमबाट गरिने सक्रिय भूमिकाबाट निवृत्त हुँदा पनि पार्टीको भाग्य र भविष्यप्रति अत्यन्त चिन्तित हुनुहुन्छ भन्ने कुरा एउटा राष्ट्रिय पत्रिकामा उहाँको अष्टलक्ष्मी पराजयसम्बन्धी एउटा लेख पढेपछि अवगत भयो ।
हुन त यो हार खुसीको किमार्थ होइन । ०२८ सालदेखि ससाना लालाबालालाई किसान परिवारको जिम्मा लगाएर देश, जनता र जनजीविकाका सवालमा घरबार त्यागेर लाग्नु भएकी शाक्य हार्नु हुँदैनथ्यो र हार्ने खालको चुनाव उहाँले लड्नु र नेताहरूले लडाउनु पनि हुँदैनथ्यो । पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले शाक्यलाई हार्ने गरी चुनाव लड्नु हुँदैन भनेपछि उहाँले कुरा बुझ्नुपथ्र्यो । यस विषयमा नेपाल समूहले सहमतिको कुनै प्रयत्न गरेन । सायद यही मुद्दा अल्झाइबल्झाइ गुटगत सुदीखेती गर्ने नियत पनि हुनसक्छ ।
अधिकारीले आफ्नो यस लेखमा प्रदेश स्तरको सामान्य कार्यकर्ताबाट शाक्यले हार्नु परेको, यस हारले उपाध्यक्ष पदकै गरिमा घटाएको, अहिले एमाले पार्टीमा रहेको चरम गुटबन्दीका कारण शाक्य हार्नुभएको भन्नु भएको छ । अधिकारीले ‘अहिले’ शब्दमा विशेष जोडबल दिएर अहिलेको नेतृत्वबाट पार्टीमा चरम गुटबन्दी भएको भन्नखोज्नु भएको देखिन्छ । अधिकारीले उल्लेख गरे अनुसार यति उपद्रो खालको गुटबन्दी पहिले थिएन भनेको स्पष्ट हुन्छ । लेखकले आठौँ महाधिवेशनले पार्टी सङ्गठनमा जनवादीकरण वा लोकतान्त्रिक विधि अपनाएर यस खालको चरम गुटबन्दी जस्ता रवैया भएको भनेर परोक्ष रूपमा त्यस बेला लागू गरिएको विधिलाई कटाक्ष गर्न खोज्नुभएको छ ।
यसरी चुनावमा हार्दा पार्टीका वरिष्ठ नेताहरूको शिर निहुरिएको र पदीय गरिमा नरहेको पनि लेखकले उल्लेख गर्नुभएको देखिन्छ । अनि उहाँ पार्टीका अधिवेशन र महाधिवेशनमा नेताहरू सामान्य कार्यकर्ताबाट हार्न पनि सक्छन् यस्तो कुरा सामान्य हुन्छ पनि भन्नु हुन्छ । अनि शाक्यको हारलाई भने आकासै खस्यो र धर्ती नै पल्टियो भनेझैँ गर्नुहुन्छ ।
उहाँले यस्ता घटना हुँदै जाने हो भने पार्टीमा पैसाको चलखेल, खानपान, बढ्ने, दुई नम्बरी धन्दासमेत मौलाउने, कार्यकर्ता नेता किनबेचसमेत हुने खतरा हुने अनि एवम् क्रमले पार्टी पङ्क्तिभित्र गोलीसमेत चल्ने स्थिति नआउला भन्न नसकिने समेत अधिकारीले लेखमा लेख्नु भएको छ ।
भरतमोहनले शेरबहादुर देउवाले विगत कालमा सांसद् बन्धक र खरिद बिक्रीजस्तै अहिले पनि सांसद् लुकाउने खरिद बिक्री जस्ता विकृति भित्र्याउने भनी शीर्ष नेतृत्वलाई प्रश्न पनि गर्नुभएको छ । शाक्य काठमाडौँबासी नेवा बाहुल्य प्रदेशकी भएकाले उहाँ मुख्यमन्त्री हुनु जायज रहेको लेखक बताउनु हुन्छ तर अन्य प्रदेशमा पनि समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरालाई ख्याल गर्नु भएको देखिन्न ।
उहाँले त शाक्य हारको चित्तबुझ्दो उत्तर आम कार्यकर्ताले खोजिरहेको पनि उल्लेख गर्नुभएको छ । लेखक भरतमोहनले अहिले आएर आठौँ र नवौँ महाधिवेशनमा गुटगत रूपमा नेतृत्व चयन गरेर गल्ती गरेको थाहा पाउनु भएछ ।
अझ नवौँ महाधिवेशनमा नेतृत्वको सहज हस्तान्तरण गर्ने विषयमा अमुक नेताबाट भएको रडाको, फलाको र रैफाँडो चाहिँ बिर्सनु भएछ । त्यस बेला पार्टीका क्षमतावान् तथा प्रभावशाली सहयोद्धा नेतालाई अरूले पटक पटक नेतृत्व गर्ने अवसर पाउँदा पनि एकपल्ट नेतृत्वको अवसर नदिएर शिरदेखि तीरसम्म पार्टीमा दुई गुट बनाउनु हुँदैन भन्ने कुरा त्यस बेला स्वयम् अधिकारीले भुसुक्कै बिर्सनु भएछ ।
शाक्य हारको विषय सबैको चिन्ताकै विषय हो तर चिन्ता चाहिँ मौसमी हुनु भएन भन्ने कुरा यस लेखकको हो ।
उहाँले अहिले र आज भनेर वर्तमान पार्टी नेतृत्वलाई जोणकोण मिलाएर शाक्य हारको विषयमा आरोपित गर्न खोज्नु भएको देखिन्छ । तर अधिकारीले समग्र रूपमा पार्टीको नीति, नेतृत्वलाई विधान र विधि अनुसार स्थापित र सुदृढ गर्ने गराउने कुराको खुल्ला सडक विरोध हुँदा पनि मौन बस्नुभएको देखिन्छ ।
अधिकारी किन जबज क्लोज भयो, यसको औचित्य समाप्त भयोभन्दा एक अक्षर लेख्नु र बोल्नु हुन्न ? अनि सङ्घको चुनावी मैदानमा बाउबाउ भनेर चुनाव जित्ने अनि चुनाव जितेपछि बन जाउ बाउ भन्ने प्रवृत्तिका बारेमा सुझाउमूलक विचार किन व्यक्त गर्नुहुन्न ? के जबज अब अहिले नै च्यात्न पर्ने कागतको खोस्टो हो ?
कुनै पनि पार्टीको अपरिहार्य र सर्वोपरि मूल विषय सिद्धान्त वा नीति हो । यही जबजका प्रकाशमा नेपाली लोकतन्त्र र कम्युनिस्ट आन्दोलनले निरन्तर अग्रगमन गरिरहेको छ । समाजवादमा पनि प्रतिस्पर्धा गर्ने राजनीति जबजको मूल ध्येय रहेको छ ।
एमाले नामको पार्टी त हिजो पनि थियो तर आजको एमाले कस्तो छ त्यो त लेखकले देखिरहनुभएको होला । हिजो यही पार्टी झुम्रो हुने र आज चाहिँ त्यही पार्टी झरिलो र भर्भराउँदो हुने कारण लेखकबिना आग्रह भन्न सक्नुहुन्छ ? यस अवस्थामा नीति र नेताको मलाम जान उद्यत एमाले नेता प्रवृत्तिका विरुद्ध अधिकारीले कहाँ कुन पानामा के लेख्नु भयो ? कसैले यस लेखकलाई भनिदिन सक्छ ?
नीति र नेता भनेको पार्टीको प्राण हो । नीति बाँच्यो भने र त्यसलाई इमान, जमान र कमान्डका साथ नेतृत्व गर्ने नेतृत्वले महाधिवेशनको फैसला अनुसार कम्तीमा आफ्नो कार्यकालसम्म टिक्न र बिक्न सक्यो भने देश र दुनियाँले अग्रगमन गर्छ भन्ने कुरा त देखियो नि ।
यिनलाई बचाउने कुरा सर्वोपरि अहं महत्वको विषय हो । त्यस बेला शाक्य, मल्ल, अधिकारी र पोखरेलहरू सबै नेतृत्वहरू आफू हार्दाहार्दै पनि जित्न सक्छन् । अर्थात् त्यस अवस्थामा देश र जनताको जित हुन्छ । हामीलाई चाहिएको जनताको जीत हो,कुनै अमुक प्रमुख नेताको मात्र जीत होइन ।
अहिले पार्टीमा चरम गुटबन्दी रहेको र अब जनताको आशा र भरोसको केन्द्र रहेको पार्टी स्वाहा हुने अधिकारीले लेख्नु भएको छ । अहिले त पार्टी बचेको,सास मात्र धानेको होइन यो पार्टी त अहिले जीवन्त बनेको छ । हिजो लिङ्ग पहिचान नभएको यस पार्टीको अहिले लिङ्ग पहिचान त सुस्पष्टै छ ।
अझ त्योभन्दा अघि बढेर यो पार्टी विश्व राजनीतिको केन्द्र बनेको छ, पार्टी अध्यक्ष ओली वरिपरि फनफनी घुमेको देखिन्छ । अधिकारीजी तपाईंले नै पनि यसरी यो पार्टी अघि बढला भनेर सोच्नुभएको थिएन होला । अचम्मै पो हुन लाग्यो हेर्नुस् त, अब यो मुलुकको नवनियुक्त प्रधानमन्त्री पुच्छर डोलाउँदै लुसुक्क दक्षिण र उत्तर छिमेकी राष्ट्रतिर राजकीय भ्रमणमा जान्थे अब र अहिले त दुवै देशका राष्ट्र प्रमुख नेपाल चाहिँ पहिले आउने भए ।
अधिकारीजी पार्टीको समग्र चिन्ता गर्नुपर्छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गरिएको पार्टीभित्रैका एकाध नेताका अगुवाइमा भएको गुप्तगु षडयन्त्र बाहिर आयो । हामीले यसमा कहिल्यै दुःख प्रकट गर्यौँ ?
सदन चलिरहेका बेला पार्टीका एक वरिष्ठ नेताले एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्ध दुनियाँ हँसाउने गरी जुन लबज,लिवाज,भाका र भाष्य छाट्नु भयो । त्यसमा तपाईले दुःख मनाउ कहाँ गर्नु भयो ?
आज होइन हिजो पार्टीमा के कस्ता निकृष्ट र घटिया गुटबन्दी थिए भन्ने कुरा यस सुनसरी जिल्ला पार्टीमा कार्यरत रहेको लेखकलाई राम्ररी थाहा छ । यस क्षेत्रका एक अमुक नेता वर्तमान पार्टी अध्यक्षलाई एक अक्षर नलेख्ने र लेख्न नसक्ने अनि अर्काले लेखेको लेख पत्रिकामा छाप्ने र दश मिनेट पनि बोल्न नसक्ने अक्षम भनेर यस लेखकलाई सातौँ महाधिवेशनका बेला भनेका छन् वा भनाइएका छन् । प्राध्यापन गर्ने यस लेखकलाई यसरी भन्नेले सामान्य कार्यकर्तालाई के–केसम्म भनेर ओलीको व्यक्तिगत तथा राजनीतिक छवि धमिलो पार्ने दुष्प्रयत्न गरे होलान् ?
त्यसैगरी धरानमा आएका बेला एक वरिष्ठ नेता नगर समितिका सदस्यहरूसितको कुराकानी ओलीविरुद्ध अशिष्ट, अमर्यादित संवाद गरेको यस लेखकको जानकारीमा छ । बीपी कोइराला मेमोरियल अस्पतालमा रजिष्ट्रार पदमा कार्यरत साथीले यस लेखलाई एक प्रसङ्गमा खुसुक्क भनेका थिए ।
त्यस खालको गुटगत अति सङ्कीर्ण र भद्दा कृत्य हुँदा त पार्टीमा आपसमा काटाकाट भएन भने अहिले ज्येष्ठ नागरिक भएका तपाईं यस खालको उक्साउने र कसैलाई बक्साउने काम किन गर्नुहुन्छ ? के कतै शाक्य हारको विषय अनावश्यक उछाल र पछारको मुद्दा बनाउन खोजिएको त होइन ?
तपाई ंजत्तिको नेतालाई पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल पुन अध्यक्ष हुने क्रममा हार्नु भएको थियो । नेताले फूलको मालाको मात्र आश गर्नु हुँदैन,अन्यथा हुँदा पनि हरेस खानु हुँदैन ।
अधिकारी जी को ठूलो को सानो के पद मात्रै ठूलो हो र अहिले त कतिपय र केही एमाले केन्द्रीय नेता भन्दा त्यसभन्दा मुनिका धेरै क्षमतावान् र योग्य नेता र कार्यकर्ता छन् । तपाईंका सहयोद्धा राम प्रसाद खनाल माक्र्सवादी हुँदै एमाले बन्नु भएका पुराना र त्यागी नेता हुनुहुन्छ । उहाँ तपाईं भन्दा पदीय हिसावले हिजोका दिनमा तलै भए पनि उहाँको त्यसबेलाको योगदान तपाईंको भन्दा कम थिएन । तर उहाँलाई त्यस बेलाको जिल्ला पार्टी नेतृत्वले उठ्नै दिएन,थिचेर दवाएर उहाँको राजनीति नै समाप्त पा¥यो । कृपया एकाङ्गी,अर्धाङ्गी र अर्धानु मूल्याङ्कन नगर्नु होला ।
अतिमूल्याङ्कन अधिमूल्याङ्न गरेर अतिशयोक्ति पनि नगर्नु होला । चरम गुटबन्दीको विरोध गरेर आफू पनि गुटगत बखानमा नरमाउनु होला । पार्टी भित्र दूरी बढाउने नियतका साथ नलेख्नु होला ।
जहाँसम्म गुटकै कुरा छ कार्ल माक्र्स गुट होइन,विचार सिद्धान्त हो । माओ पनि गुट होइन गुण हो । मदनलाई पनि अबुझहरू गुटकै नेता भन्थे । गुट त त्यो हो जसले त्यसका नाममा लोभी,पापी,अवसरवादीहरूलाई गोलबन्द गर्छ ।
नेता कार्यकर्ता व्यक्तिगत रूपमा सही भए पनि गुटका कारण खराव हुनपुग्छ । गुट नै खराव,अवसरवादी भए पछि गुटले गरेको नकाम उसले खुलेर भन्नै सक्तैन,उ त्यस गुटको फड्के किनाराको साक्षी हुन्छ । त्यसो नगरे उ गुटबाट खेदिन्छ र हटाइन्छ । त्यसैले नेता र कार्यकर्ता सही भए पनि उसले हिड्ने बाटो खराव भएपछि त्यस्ता नेता बाँदरका पुच्छर लौरो न हतियार सरह हुन्छन् । तिनको भर परेर पार्टी अगाडि बढ्दैन, देशले पनि प्रगतिको पाइलो सार्दैन ।
ओली गुट वा समूहका सबै दूधले धोएका छैनन् । केहीले पार्टीमा अक्षम नातागोतालाई काखी च्यापेको यस लेखकको जानकारी मा छ ।
तर ओलीका पछि लाग्दा मात्र यतिका अतुलनीय उपलब्धि पार्टीले प्राप्त गर्न सकेको हो । नेता सही हो होइन भन्ने कुरा उसले हिड्ने बाटोले निर्धारण गर्छ ।
तपाईंले पार्टीप्रति भारी चिन्ता त गर्नु भयो तर तपाईंको यो चिन्ता समग्र छैन र होइन । यो चिन्ता भ्रमपूर्ण तथा अन्यौलपूर्ण पनि छ । एउटा उदाहरण तपाईं मुख्य मन्त्री हुने अवस्था आएको भए अष्टलाई सरक्क निर्विरोध गर्नु हुन्थ्यो । उपदेश आफूलाई चाहिँ काम लाग्दैन ।
लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने