शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री लालबाबु राउत : मन्दिर जालान् कि मस्जिद ?

बिहीबार, ०३ फागुन २०७४, १२ : २५
बिहीबार, ०३ फागुन २०७४

एसके यादव 
 

काठमाडौ–लालबाबु राउत, रामबाबु राउत, दशरथ राउत, राधिका राउत, लालमती राउत, राजमती राउत यी नामहरु सुन्दा लाग्छ कुनै हिन्दु परिवारकै सदस्यहरुको नाम हो । तर, होइन, यी सबै नाम एउटै मुस्लिम परिवारका हुन् ।

प्रदेश २ को मुख्यमन्त्रीमा यीनै राउतको नाम आएपछि कतिपय अलमलमा समेत  परे । आज उनै राउतले मुख्यमन्त्रीका रुपमा सपथ लिदैछन् ।
लालबाबु राउत मुस्लिम हुन् । तर, उनको नामबाट धेरै जना झुकिन्छन् । उनको नामबाट मात्र होइन, उनका परिवारका सदस्यहरुको नाम सुन्दा लाग्दैन– उनीहरु मुस्लिम नै हुन् । 

पर्सा जगरनाथपुरका लालबाबु राउतका बुवा दशरथ राउत हुन् भने आमा राधिकादेवी राउत । भाइ रामबाबु राउत, बहिनीहरु लालमती राउत र राजमती राउत छन् । 
अच्चमको कुरा के हो भने लालबाबु राउतका बुवा दशरथ राउत र भाइ रामबाबु राउत साकाहारी(वैष्णव) हुन्, जो मुस्लिम धर्मालम्बीमा कमै पाइन्छन् ।

वैष्णव हुने चलन हिन्दु धर्ममा बढी देखिन्छ ।

लालबाबु राउतले केहीदिन पहिले यस पंक्तिकारसँग भनेका थिए–‘म मुस्लिम हुँ जस्तो लाग्दैन, मन्दिरमा पुजा गर्नुबाहेक हिन्दु धर्मालम्बीहरुले गर्ने हरेक क्रियाकलाप गर्छु । खेती किसानी गरेको छु, भैसी पालेको छु । मेरो घरमा जानुभयो भने हाम्रा सम्पूर्ण क्रियाकलाप बोलिव्यवहार सबै हिन्दु जस्तो पाउनु हुन्छ ।’ 

उनको ११–१२ बिघा जमिन छ र उनका बुवा र भाइ सबैजना खेती किसानी गर्छन् ।
मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा एकदिन पहिले अर्थात फागुन १ गते महाशिवरात्रीको उपलक्ष्यमा उनले एक विज्ञप्ति जारी गरी शुभकामना दिएका थिए । 

राउतका चुनौती 
तर, के आज उनले मुख्यमन्त्रीको सपथ लिएपछि जानकी मन्दिरमा पुजा गर्न जान्छन् त कि जानकी मन्दिरकै पछाडी रहेको मस्जिदमा नवाज पढ्न जान्छन् ? लालबाबु राउतका लागि यो ठूलो प्रश्न भएको छ । 

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष समेत रहेका लालबाबु राउत संसदीय दलको नेतामा चुनिएपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । लालबाबु राउतले मुख्यमन्त्रीको सपथग्रहणका लागि हिन्दु परम्परा अनुसार नै साइत जुराए । 
जनकपुरकै सन्तोष पण्डितले उनको साइत हेरेका हुन् । उनलाई बिहीबार १२ बजेर १९ मिनेटदेखि १ बजेर १३ मिनेट भित्रमा सपथ लिन पण्डितले सल्लाह दिएका छन् । उनले मुख्यमन्त्रीको सपथ लिइसकेपछि गृहप्रवेश पनि हिन्दु परम्परा अनुसार नै गर्न लागेका छन् । 
तर, उनको अगाडी चुनौतिका चाङ बाँकी नै छन् । सपथपछि राउत पुजाका लागि जानकी मन्दिरजान्छन या मस्जिदमा ? यस विषयमा उनीसँग जान्ने प्रयास गरेपनि बैठकमा भएका कारण केही बोल्न चाहेनन् । 
उनका सहयोगी दीपक यादवसँग जिज्ञासा राख्दा उनले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको प्रतिकृया दिए ।
जनकपुर हिन्दु धर्मालम्बीहरुको बाहुल्य भएको क्षेत्र हो । त्यहाँ धर्मकर्म, पूजापाठमा विशेष ध्यान दिएको हुन्छ । जनकपुरमा जानकी मन्दिरका साथै अन्य ऐतिहासिक मठमन्दिरहरु छन् । त्यसको व्यवस्थापन पूजापाठलाई उनले कसरी व्यवस्थित गर्नेछन् त्यो उनको लागि अर्को चुनौति बनेको छ । 

फोरम नेपालकै प्रदेश सांसद रामअषिश यादव भन्छन्, धर्म भन्ने कुरा कसैले कसैमाथी लाद्ने कुरा होइन, धर्म भनेको धारण हो, यसलाई जसले जुन रुपमा धारण गरे पनि हुने बताए । 

राउतलाई स्वागतको निम्तो
जनकपुरको गंगासागरलाई सरसफाई गरि दैनिकरुपमा गांगा आरती गराउँदै आएका प्रदेश सांसद रामअषिश यादवले गंगा आरतीमा उनी सहभागि हुन चाहे त्यसका लागि आफू तयार रहेको बताए । ‘यद्यपी सपथपछि मन्दिर जान्छन् कि मस्जिद त्यो उनको स्वतन्त्र हो, त्यसमा आफूले कुनै प्रतिकृया दिन मिल्दैन’ उनले बताए । लालबाबु मुख्यमन्त्री बन्ने घोषणा हुनेवित्तिकै हिन्दुवादीहरुले जनकपुरदेखि विरगञ्जसम्म उनको विरोध गरेका थिए । 

चासो जनकपुरमा बढी
हिन्दु संस्कार र व्यवहारलाई मान्ने उनी जानकी मन्दिर वा कुनै मन्दिरमा पूजा गर्न जान चाहेमा त्यहाँका हिन्दु पुजारीहरुले स्वीकार्छन् कि स्वीकार्दैनन् यो पनि जनकपुरमा चर्चाको विषय बनेको छ । 

जनकपुरमा सुन्दर सदन अग्नी कुण्डका महन्थ नवलकिशोर यादव भन्छन्, ‘हिन्दु धर्म भनेको सनातन धर्म हो, यसमा सबै धर्म, जातका समुादयका व्यक्ति अटाउन सक्छन, यदि मुख्यमन्त्रीजीले सपथपछि जानकी मन्दिरमा पूजाआजा गर्न चाहे दिनुपर्छ । यद्यपी यो विषयमा आधिकारीक धारणा जानकी मन्दिरका महन्थले नै दिनुपर्ने हुन्छ । तर पूजा गर्न चाहेमा पूजा गर्न दिनुपर्छ ।’

को हुन् लालबाबु ?
अङ्ग्रेजी विषयमा एमए गरेका लालबाबुले एलएलबी पनि गरेका छन् । त्रिविबाट एमए सकेपछि उनको सम्बन्ध विश्वविलास जोशीसँग भयो । जसले उनलाई वीरगञ्जको ठाकुरराम क्याम्पसमा प्राध्यापक बनाए । प्रध्यापकमा काम गर्दागर्दै उनले त्यहाँको तत्कालिन नगरपालिकामा अधिकृतको जागिर पाए । यद्यपी त्यहाँ जागिरे भएपनि ठाकुरराम क्याम्पसमा पढाउन छाडेनन् ।
पछि दुईतिर जागिर खाएको भनि आलोचना हुन थालेपछि क्याम्पसबाट २०६१ सालमा राजिनामा दिए । तर अन्य प्राइभेट कलेजहरुमा पढाउँदै रहे । पूर्णकालीन राजनीतिमा लागेपछि २०६९ सालमा नगरपालिकाको जागिरबाट राजिनामा दिए ।

उनी काँग्रेस पृष्ठभूमिका हुन् । नेविसंघबाट राजनीति गरेका लालबाबु भन्छन्, ‘म त्यतिबेला काँग्रेसमा भएपनि मधेशको हकअधिकारका लागि बोल्थेँ र त्यसका लागि संघर्ष गर्थेँ ।’ त्यतिबेला उनले आफ्नै संयोजनमा मधेश बुद्धिजिवी मञ्च पनि गठन गरेका थिए । तर त्यो संगठन धेरै दिनसम्म टिक्न सकेन । राम्रोसँग काम गर्न नपाउँदै उनी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालतिर लागे ।
फोरम नेपालमा जितेन्द्र सोनलले उनलाई प्रवेश गराएका थिए जसले अहिले मुख्यमन्त्रीका लागि समर्थन गरेका छन् । सोनल अहिले राजपा नेपाल प्रदेश संसदीय दलका नेता छन् । 

२०५८ सालतिर उपेन्द्र यादवले पहिलो भेटमै लालबाबुलाई राजनीतिमा आउन सुझाव दिएका थिए । त्यो कुरा लालबाबु अहिलेपनि सम्झन्छन् । भन्छन्, ‘त्यहीबेलादेखि मैले फोरम नेपालमा सक्रिय भएर काम गर्न थालेँ, त्यतिबेलादेखि हालसम्म मैले फोरमलाई छाडेर कही गएको छैन । उपेन्द्र यादवसँग काम गर्नु आफूलाई भाग्यमानी ठान्थे र अलिहे पनि ठान्छु ।’ जितेन्द्र सोनल र भाग्यनाथ गुप्ताहरुले फोरम नेपाल विभाजन गर्दा लालबाबु राउतलाई उनीहरुले तान्न निकै प्रयास गरेका थिए तर उनी फोरमलाई छाडेर कतै गएनन् ।

जनकपुरमा भएको फोरम नेपालको महाधिवेशन सफल बनाउन उनले खेलेको भूमिका अहिले पनि फोरम नेपालका नेताहरु सम्झन्छन् । उनी जागिरमा हुँदाहुँदै पनि राजनीतिक गतिविधिमा निकै सक्रिय थिए । त्यतिबेलै फोरमले उनलाई सिम्रौनगढ क्षेत्रीय समितिको सचिव बनायो । 

पहिलो मधेश आन्दोलन हुँदा जागिरे भएपनि कुनै नेताभन्दा कम भूमिका थिएन राउतको । पार्टीको झण्डा नबोकेपनि विभिन्न संघसंस्थाको आडमा आन्दोलनमा सक्रिय थिए उनी । आन्दोलनमा उनी पर्सामा भन्दा बारा र रौतहटतिर बढि सक्रिय भए । सरकारी कर्मचारी भएर आन्दोलन गरिरहेका छन् भनेर चार्ज लाग्न सक्ने भएकाले बारा र रौतहटतिर लागेका थिए राउत । 

त्यसो त पहिलो मधेश आन्दोलनमा रामचन्द्र पौडेल र उपेन्द्र यादवबीचको पहिलो वार्ता लालबाबु राउतकै घरमा भएको थियो । त्यसैले पनि राउत मधेश आन्दोलनका ऐतिहासिक व्यक्ति भन्छन्, प्रतिनिधिसभाका सदस्य प्रदिप यादव । उपेन्द्र यादवलाई राउतको घरमा जितेन्द्र सोनलले पुर्याएका थिए । 

मधेश आन्दोलनपछि रौतहटको गौरमा फोरम नेपालको विस्तारित बैठक बस्यो । सो बैठकबाट लालबाबु राउतलाई कार्यालयको सचिवमा नियुक्त गर्यो । लालबाबुले फोरम नेपालको कार्यालय सचिवको रुपमा विना तलब काम गरे । त्यो बेला फोरम नेपालको केन्द्रीय कार्यालय वीरगञ्जमै थियो । २०६५ सालमा उनलाई केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय सचिव बनायो । तर, महाधिवेशनपछि उनी केन्द्रीय सदस्य भए । ठुलो पदमा बस्दा अधिकाँश समय काठमाडौमा दिनुपर्ने भएकाले उनले केन्द्रीय सदस्य नै रोजेका थिए । जागिरबाट राजिनामा दिएपछि मात्र उनी पार्टी उपाध्यक्ष भए ।

पहिलो सविधानसभामा उनले अरुलाई पनि सहयोग गरेर सविधानसभा सदस्य बनाए । दोस्रो सविधानसभामा मात्र उनी समानुपाकिबाट सभासद् पनि भए । पछिल्लो निर्वाचनमा पर्साको प्रदेशसभामा चुनाव लडे र जिते । 
आज उही लालबाबु प्रदेश २ को मुख्यमन्त्री बने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप