आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

१८ वर्षीया युवतीको पाकेटमारा ग्याङ !

बिहीबार, २५ माघ २०७४, १३ : १५
बिहीबार, २५ माघ २०७४

काठमाडौं–सुन्धारामा साँझपख गाडी कुर्नेहरुको बाक्लो भीड हुन्छ । त्यहि भीडको मौका छोपेर पाकेटमाराहरुले आफ्नो धन्दा सुरु गर्छन् । माघ १८ गते त्यस्तै भयो, शारदा भट्टराई कार्यालयको काम सकेर आफ्नो डेराकोठा कपनतर्फ जानका लागि माइक्रो चढ्दै थिइन्, त्यसैबेला एक युवतीले उनको गोजीबाट मोवाइल निकालिन् । 
महानगरीय प्रहरी वृत जनसेवाबाट सादा पोशाकमा खटिएका प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिए । उनी थिइन्, भक्तपुरको सल्लाघारी घर बताउने १८ वर्षीय अस्मिता श्रेष्ठ । प्रहरीको भाषामा अस्मिता ‘पटके पाकेटमारा’ हुन् । 
सुन्धारामा उनको नेतृत्वमा पाकेटमाराको ग्याङ नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू महिला भएपनि अस्मिताको ग्याङका अन्य सदस्यहरु भने पुरुष छन् । 
ललितपुरका सुशान शाक्य र उदयपुर घर बताउने सुरज राई उनको ग्याङका सदस्य हुन् । प्रहरीले सोही दिन सुशान र सुरजलाई पनि नियन्त्रणमा लिएको थियो । अहिले उनीहरु तीनैजना महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् । 
‘शारदा भट्टराईको जाहेरीले हामीले तीनै जनालाई मुद्दा चलाएका छौं’ महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख (डिएसपी) मोहन कुमार थापा भन्छन्, ‘जनसेवाको एरियामा पर्ने इन्द्रचोक, पुरानो बसपार्क, सुन्धारा, भोटाहिटी लगायतका क्षेत्रमा पाकेटमारा विरुद्ध बिशेष अप्रेशन नै चलाएका छौं ।’  
साँझको समयमा राजधानीको मुटु मानिने पुरानो बसपार्क, इन्द्रचोक, नेपाल बायुसेवा निगम अगाडिको माइक्रोपार्क, काठमाडौं मल लगायतका स्थानमा सबैभन्दा धेरै पाकेटमारीका घटना हुने गर्छन् । भोटाहिटी र रत्नपार्क पनि काठमाडौंको धेरै पाकेटमारी हुने स्थानमध्येमा पर्छ । महानगरीय प्रहरी वृत जनसेवाले पाकेटमारा विरुद्ध ‘विशेष अप्रेशन’ शुरु गरेपछि माघ महिनाभरी मात्रै यो क्षेत्रबाट २० जनाभन्दा बढी पाकेमारा पक्राउ परिसकेका छन् । 
‘यो क्षेत्रमा अधिकांश पटके पाकेटमार फेला पर्ने गरेका छन्’ डिएसपी थापा भन्छन्, ‘यस्ता पटके हरुबाट दशीको सामान फेला परेमा चोरीमा मुद्दा चलाउँछौं अन्यथा सार्वजनिक अपराधको मुद्दा चलाउने गरेका छौं ।’ 


घटना पुस १९ गतेको हो, धादिङको निलकण्ठ नगरपालिका स्थायी घर भएका कृष्ण नगरकोटी पुरानो बसपार्कमा सर्वसाधारणको झोला तथा गोजीमा हात लगाउँदै थिए । प्रहरीले उनको क्रियाकलाप शंकास्पद लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्न थाले । नगरकोटी पाकेटमार रहेको खुलेसँगै उनकै बयानका आधारमा प्रहरीले सिन्धुपाल्चोक स्थायी घर भएका अर्जुन श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । 
पुस ३० गते मकवानपुरको थाहा नगरपालिका स्थायी घर भएका २९ वर्षीय अमृत थोकरलाई प्रहरीले रत्नपार्कमा  पाकेटमारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । काभ्रे स्थायी घर भएका रवि लामा पनि उनकै ग्याङका सदस्य हुन्,उनीहरु दुबै पटक–पटक प्रहरी कस्टडीमा पुग्दै निस्कँदै गर्छन् । 
‘मुद्दा टुंगिएर निस्कनासाथ फेरि पाकेट मार्न थालिहाल्छन्’ डिएसपी थापा भन्छन्, ‘यस्ता पटके पाटेकमाराबाट हैरान भैसक्यौं ।’ 
         पाकेटमाराको मोबाइल पसल 
पाकेटमाराले सबैभन्दा पहिले हात लम्काउने मोवाइलमा हो । उनीहरु त्यसपछि अनुकुलता हेरेर पर्स र पैसा निकाल्छन् । पाकेटमारीको मोबाईल धेरै हुन थालेपछि कतिपय पाकेटमाराले मोवाइल पसल नै खोलेको पाइएको छ । गएको पुस १९ गते जनसेवा प्रहरीले नियन्त्रणमा लिएको निरन राईले बागबजारमा चोरीको मोवाईल बेच्ने पसल नै खोलेका छन् ।
 ‘एकथरी पाकेटमार चोर्ने मात्रै छन्,अर्कोथरी समुह किन्ने मात्र पनि रहेको खुल्न आएको छ’ वृत्त जनसेवाका डिएसपी थापा भन्छन्, ‘निरन राईले बागबजारमा पसल नै खोलेको भेटिएको छ ।’ 
केही दिनअघि रत्नपार्कबाट पक्राउ परेका भुपाल थापा, जीवन थापा र सुरज श्रेष्ठले निरनको पसलमा लगेर सस्तोमा मोवाइल बेच्ने गरेका थिए । 
दाङका पुर्ण बहादुर खत्री, झापाका रजित तामाङ, रोल्पाका राजकुमार थापा मगर, सुनसरीका राहुल मगर, काभ्रेका विपीन तामाङ, सिन्धुपाल्चोकका शिव बोहोरा, चितवनका साजन अर्याल र ओखलढुंगाका सुजन परियार रत्नपार्क एरियाको पटके पाकेटमार भएको प्रहरीले जनाएको छ । 
लागू औषधको दुब्र्यसनीमा परेका तथा पाकेटमारीमा संलग्न पुरुष साथीहरुको संगतमा लागेका महिलाहरु पछिल्लो समय पाकेटमारीमा संलग्न हुन थालेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप