शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कक्षा छाडेर भाग्ने विद्यार्थी नियमित हाजिर हुन थाले

शनिबार, १४ फागुन २०७३, ०९ : ५७
शनिबार, १४ फागुन २०७३
कञ्चनपुर - राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ । विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भने, “विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राना थारु भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यमा झरेको छ ।” विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम हट्दै गएको हो । भाषाको कठिनाइले विद्यालय आए पनि बीचमै कक्षा छाडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् । विद्यालयमा पढाउने नौ जना शिक्षकमध्ये छ जना राना समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् । विद्यार्थी समयमै विद्यालय पुग्ने र पढाइप्रतिको लगाब बढ्न थालेपछि नतिजामा समेत सुधार देखिएको विद्यालयका शिक्षकको भनाइ छ । “आधारभूत तहका बालबालिकालाई घरायसीमैत्री वातावरणमा मातृभाषामै पठनपाठनको कार्य हुँदै आएकाले निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका समेत यस विद्यालयमा भर्ना गराएका छौँ” स्थानीय अभिभावक भीम रानाले भने । विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत ३ सय ७६ विद्यार्थीमध्ये ९७ प्रतिशत विद्यार्थी राना समुदायका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप