चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै
चितवन - कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।
एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेरअघि मात्रै निकुञ्ज ल्याइपु¥याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो । योसँगै आजसम्म निकुञ्जमा तीन भालेसहित ११ वटा अर्ना आइपुगेको छ ।
पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ वटा अर्ना कोसीबाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञसहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बिहानैदेखि खटाइएको छ ।
निकुञ्जले एक भालेसहित तीनवटा अर्ना चिडियाखानाबाट ल्याउने तयारी गरेको अर्र्यालले जानकारी दिए । “पहिलो चरणमा कोसीबाट १२ वटा र चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना ल्याइने छ,” अर्यालले भने – बाँकी पाँच अर्ना भने पछि अनुकूल समयमा ल्याइने छ ।”
विसं २०७१ मा नै सरकारले चितवनमा पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो ।
कोसीबाट चिडियाखानामा समेत आइतबार मात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
“एउटा भाले अर्ना कोसीबाट चिडियाखानामा पनि पठाइयो, अब चिडियाखानामा भएको तीन अर्नालाई चितवनमा ल्याउँदै छौँ, प्रमुख कँडेलले भने – दुवै स्थानमा प्रजनन प्रभावकारी बनाउने उद्देश्य हो ।”
एक ठाउँबाट अर्को संरक्षित क्षेत्रमा यसरी अर्ना स्थानान्तरण यो नेपालकै पहिलो हो । यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरण गरेको अनुभव प्रविधिज्ञहरुलाई छ । चितवन निकुञ्जमा सन् १९६० को दशक अघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ ।
निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । कोसीमा डाट गरेर नियन्त्रणमा लिइएको अर्ना यही माघ १४ गते पहिलोपटक चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो ।
अर्ना राख्न चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफल तयार पारी इन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद