माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाउने
काठमाडौँ - सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ ।
सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो ।
कम्पनी दर्ता भएपछि थप आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ । यसअघि नै मन्त्रिपरिषद्ले सो आयोजना प्राधिकरणले नै बनाउने गरी सैद्धान्तिक सहमति दिइसकेको थियो ।
प्राधिकरणले नै निर्माण गर्ने गरी अगाडि बढाइएको प्रस्तावलाई संशोधन गरी प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाउन पनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । लामो समयदेखि प्राधिकरणको स्वामित्वमा रहेको सो आयोजना विदेशी प्रवद्र्धकलाई दिन लागिएको भन्दै विरोधसमेत भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सस्तो आयोजनाको रुपमा रहेको सो आयोजना कम्पनी ढाँचामा अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
कुल ३३५ मेगावाट क्षमताको सो आयोजना हालसम्मकै सबैभन्दा सस्तो आयोजनाको रुपमा मानिन्छ । प्राधिकरणका सहायक कम्पनीमार्फत अगाडि बढाएका आयोजनाको प्रतिफल राम्रो देखिएको र व्यवस्थापनसमेत चुस्त देखिएको सन्दर्भमा कम्पनी ढाँचामा आयोजना अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले बताए ।
आयोजनामा प्राधिकरणको शतप्रतिशत लगानी रहनेछ । लगानी जुटाउने विषयमा विभिन्न सरोकारवाला निकायसँग पनि छलफल सुरु भइसकेको छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल भन्दा आठ किलोमिटर माथि आयोजना स्थल रहेको छ ।
आयोजनालाई गति दिन परामर्शदाता, प्राविधिक मूल्याङ्कन तथा लगानीको जोहोलगायतका विषयमा समेत प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणको हातमा कुनै पनि आयोजना नरहेको अवस्थामा माथिल्लो अरुण जलविद्युत् आयोजना अगाडि बढाउन लागिएको हो ।
प्राधिकरणका तत्कालीन सञ्चालक समिति अध्यक्ष लीलामणि पौड्यालले आयोजना स्वदेशी लगानीमा नै अगाडि बढाउने निर्णय गरेका थिए । निर्णय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्यौल बढेको थियो । केपी ओली नेतृत्वको सरकारले सो आयोजना चिनियाँ लगानीमा अगाडि बढाउने विषयमा चीन सरकारसँग सामान्य कुराकानी भए पनि ठोस प्रस्ताव भने अगाडि बढ्न सकेका थिएन ।
प्राधिकरणले नै सन् १९९१ मा सम्भाव्यता अध्ययन गरिसकेको माथिल्लो अरुण आयोजना निर्माण गर्दा कम डुबान क्षेत्र पर्छ भने अध्ययनको आधारमा हालसम्मकै सबैभन्दा सस्तो आयोजनामध्ये एक हो ।
तीन सय पैतीस मेगावाटको उक्त आयोजनाको लागत रु ५३ अर्ब ४० करोड रहनेछ । प्राधिकरणकाअनुसार सो आयोजनाबाट उत्पादन हुने विद्युत्को लागत प्रति युनिट दुई रुपैयाँ ७४ पैसा मात्रै पर्नेछ । आयोजनाको क्षमतालाई बढाएर ७ सय मेगावाटसम्म बनाउन सकिने प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको छ ।
सन् १९९१ मा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरेको अध्ययनमा सो आयोजना सहज र सस्तो आयोजनाको रुपमा रहेको देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ