सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

शनिबार, २२ माघ २०७३, १६ : ०१
शनिबार, २२ माघ २०७३

सोलुखुम्बु - धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ ।

हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर आवतजावत गर्छन् । उनीहरुले आधारशिविर तथा त्यस भन्दामाथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ ।

त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधारशिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउँछन् ।

पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपिसिसीले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् ।

आधार शिविरको मानव मलमूत्र भने एसपिसिसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउँछन् ।

सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार नौ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र सङ्कलन गरेको एसपिसिसीको कार्यालय नाम्चेले जनाएको छ ।

यो भन्दा अघि देखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिने लगायतका समस्या अहिले देखिएका छन् ।

यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप