किन गान्धीको भूतसँग अझै तर्सन्छन् भारतका हिन्दु कट्टरपन्थी ?
नयाँ दिल्ली – महात्मा गान्धीको ६९ वर्षअघि जनवारी ३० मा हत्या भएको थियो । तर, अझै पनि भारतका हिन्दु कट्टपन्थीहरुलाई उनको हिन्दु–मुस्लिम एकताको विचारले अझै पनि तर्साइरहने लेख्छन् बिबिसी हिन्दीका राजेश जोशी ।
केही समयअघि मात्र हिन्दुवादी आस्था बोक्ने सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वन्त्रता संग्रामका अगुवा गान्धीभन्दा ‘ठूलो ब्राण्ड’ भएको बताएको थियो । यसले पनि हिन्दुवादीहरुका लागि गान्धी कति ठूलो टाउको दुःखाई हुन् भन्ने प्रष्ट हुन्छ ।
विजेपी सरकारकै हरियाना राज्यका अर्का मन्त्री अनिल विजले पनि विस्तारै भारतको मुद्राबाट गान्धीको तस्विरलाई हटाउँदै जाने बताएका थिए ।
सरकारले क्यालेन्डर र डायरीमा गान्धीको तस्विर हटाएर मोदीको तस्विर राखेपछि उनले सो टिप्पणी गरेका थिए । मोदीका आलोचकहरुले यसलाई गान्धीको स्थानमा प्रधानमन्त्री राख्ने तयारी रुपमा अनुमान गरे । किनभने भारतीय स्वतन्त्र संग्रामका दौरान चर्चित बनेको गान्धीको खादीको कपडा प्रबद्र्धन गर्ने जिम्मा नै सरकारकै थियो ।
अनिलको टिप्पणीप्रति सामाजिक सञ्जालमा विरोध भएपछि, विजेपी उनको गान्धीविरोधी अभिव्यक्तिबाट टाढै बस्यो । अनिलले आफ्नो अभिव्यक्तिप्रति माफी मागेपछि यो प्रकरण विस्तारै सेलाएर गयो ।
तर, यसरी विजेपीका नेताहरुले गान्धी विरोधी अभिव्यक्ति दिएको यो पहिलो अवसर भने होइन । पछिल्ला उदाहरणहरुलाई हेर्ने हो भने हिन्दुवादी नेताहरुले गान्धीको आलोचना गर्नमा कुनै पनि कसर बाँकी राखेका छैनन् ।
केही समयअघि उत्तर प्रदेशबाट विजेपीका सांसद् साक्षी महाराजले गान्धीलाई गोली हान्ने नाथुराम गोड्सेलाई ‘देशभक्त’ को संज्ञा दिएका थिए । गोड्से राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को कार्यकर्ता रहेको इतिहासमा दर्ज छ । यो संस्था विजेपीसँग नै आबद्ध छ ।
सन् १९९८ मा आरएसएसका प्रमुख प्रोफेसर राजेन्द्र सिंहले अखण्ड भारतप्रति गोड्सेको प्रतिबद्धताको प्रशंसा गरेका थिए । जसमा भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश र म्यानमारको परिकल्पना गरिएको थियो ।
‘उनको उद्देश्य सही थियो तर, उनले गलत तरिका अवलम्बन गरे,’ सिंहले भने ।
गान्धीले आफू हिन्दु भएको भने पनि उनले हिन्दु–मुस्लिम एकताको कुरा गरेकै कारण आरएसएसका लागि गान्धी सँधै टाउको दुखाई बन्ने गरेका छन् । यो उसको हिन्दु सर्वोच्चता फौलाउने उद्देश्यको विपरित छ ।
संघका संस्थापक रहेका माधव सदाशिव गोल्वाकरले मुस्लिम, क्रिस्टियन र कम्युनिस्ट देशका लागि ‘आन्तरिक चुनौती’ भएको बताएका थिए ।
इतिहासकार तथा लेखक रामचन्द्र गुहा हिन्दुवादीहरुमा गान्धीबारे अन्यौलतालाई उनीहरुको दृष्टिकोणसँग जोड्छन् । ‘आरएसएसलाई दुई हिन्दुवादी भिनायक दामोदर सभारकर र माधव सदाशिव गोल्वाकरबाट प्रभावित थियो, दुवै गान्धीलाई रुचाउँदैन थिए ।’
सभारकरलाई त गान्धीको हत्यामा दोषी पनि बनाइएको थियो । तर, पछि उनलाई निर्दोष रहेको बताइएको थियो ।
‘गान्धी र उनको दुश्मनी सन् १९०९ देखि कै हो । त्यतिबेला उनले गान्धीलाई सार्वजनिक रुपमा नै गाली गर्ने गर्थे । सरभाकर हिंसात्मक बाटो रुचाउँथे भने गान्धी शान्तिपूर्ण बाटो अवलम्बन गर्न चाहन्थे,’ गुहाले भने ।
‘पछि मात्र जब आरएसएसले आफ्नो राजनीति फराकिलो बनाउन चाह्यो, त्यति बेला मात्र उसले गान्धीको प्रशंसा गर्न थाल्यो,’ उनले थपे ।
तर, हिन्दुवादीहरुले उनलाई नरुचाउनुको अर्को गम्भिर कारण पनि छ ।
गोड्सेले गान्धीको हत्या गर्नभन्दा १० दिनअघि, पाकिस्तानबाट आएका हिन्दु शरणार्थी मदनदाल पाहवाले सन् १९४८ को जनवरी २० मा दिल्लीको बिर्ला भवनमा बम विस्फोट गराए । त्यतिबेला गान्धी त्यहाँ नियमित सन्ध्याकालिन प्राथनामा सहभागी थिए ।
भारत र पाकिस्तान छुट्टिएपछि दिल्ली लगायत उत्तरी भारतका विभिन्न स्थानमा हिन्दु–मुस्लिम दंगा फैलिएको थियो । बम विस्फोटको दोस्रो दिन गान्धीले पहवालाई हिन्दु कट्टरपन्थीहरुको मोहरा भएको संज्ञा दिए ।
उनले हिन्दु चरमपन्थीहरुलाई खुला चुनौती दिए, ‘यस्तो नगर । यस्तो कार्यले हिन्दु धर्मलाई जोगाउन सक्दैन । यदी हिन्दु धर्मलाई जोगाउनु छ भने यसलाई मेरो जस्तै शान्तिपूर्ण तरिकाले मात्र जोगाउन सकिन्छ ।’
त्यही भएर आरएसएससँग आबद्ध विश्व हिन्दु परिषद्का मुख्य नेता प्रविन तोगाडियाले सन् २००२ मा हिन्दु–मुस्लिम दंगाका दौरान ‘देशले गान्धीको सिद्धान्त अवलम्बन गरेकै आतंकवाद बढेको’ टिप्पणी गरेका थिए ।
मोदी र अनिलजस्तै तोगाडियाले पनि आरएसएसको शाखा (सैनिकजस्तै बिहान गरिने ड्रिल) बाट राजनीति सिकेका थिए ।
फरक यति मात्र हो कि मुख्य संवैधानिक पद धारण गरेका विजेपीका मुख्य नेताहरु खुल्ला रुपमा गान्धीको आलोचना गर्दैनन् । यसका कारण धेरै छन् – चुनावी रणनीति, गान्धीको अन्तर्राष्ट्रिय मान्यता र भारतीय जनताको मनमा ‘राष्ट्रपिता’ को रुपमा सम्मान ।
तु, गान्धी मारिएको ७ दशक बितिसक्दा पनि हिन्दु चरमपन्थीहरु अझै पनि उनको हिन्दु–मुस्लिम एकताको सिद्धान्तलाई चुनौती दिन लालायित भइरहन्छन् । अनि, साक्षीमहाराज, अनिल विज र प्रविन तोगाडियाजस्ता नेताहरु गान्धीविरोधी अभिव्यक्ति दिइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै