मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

वैद्यको देशभक्त जनगणतान्त्रिक मोर्चा : सके क्रान्तितिर न सके चुनावतिर

बिहीबार, १३ माघ २०७३, ०९ : ३८
बिहीबार, १३ माघ २०७३

दीपेश शाही

काठमाडौं– ‘इतिहासको पुनरावृत्ति त सामान्यतया हुँदैन, तर इतिहासका घटनाक्रम दोहोरिएजस्तो हुँदो रहेछ ।’ यो भनाई गत ०७३ भदौ २६ गते कमलदादीस्थित प्रज्ञा भवनमा भएको कार्यक्रममा प्रमुख अथिति बनेका नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणको हो । र, उनी बोलिरहेको कार्यक्रमा पनि इतिहासको एक अर्को घटना दोहोर्याइ थियो ।

इतिहास यसकारण कि वैद्यले पार्टी संगठनमा झन्डै २३ बर्ष पुरानो शैलीमा नयाँ प्रयोगको बाटो खुला गर्दै थिए । ०५२ सालमा जनयुद्ध सुरु हुनुपूर्व ०५० सालको आसपासमा सशस्त्र क्रान्तिको तयारी र आमुल परिवर्तनका लागि भन्दै तत्कालिन पार्टी एकता केन्द्र मशालले जस्तो प्रकारको मोर्चा तयार पारेको थियो, त्यस्तै प्रकारको अर्को मोर्चा त्यो हलबाट घोषणा हुँदै थियो । उतिबेलाको मोर्चाको नाम ‘संयुक्त जनमोर्चा नेपाल’ थियो भने त्यहाँबाट घोषणा भएको मोर्चाको नाम चाहिँ ‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’ थियो ।

यस्तो मोर्चा घोषणाको आवश्यक यसरी ठानियो कि त्यसबेला र अहिले देशको परिस्थिति करिब उस्तै–उस्तै रहेको विश्लेषण सो पार्टीले गर्यो । वैद्य माओवादीले क्रान्तिको आवश्यक्ता महसुस गर्दै दस्तावेज तयार पारेको छ । बल प्रयोगको सिद्धान्तलाई अनिवार्य ठानेको छ । तत्कालीन जनमोर्चाले पनि यस्तै खालको विश्लेषण गरेर जनयुद्धको तयारी गरेको थियो ।

त्यसबेला बाबुराम भट्टराईका नेतृत्वमा जनमोर्चा बनाइयो भने अहिले वैद्यले भने आफ्ना नेता सीपी गजुरेलको नेतृत्वमा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’ बनाएका छन् । कमलादीको सो कार्यक्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेलले कार्यपत्र प्रस्तुत गरे । त्यसलाई हलले पारित पनि गर्यो । सञ्चार माध्यमहरुले त यसलाई वैद्य माओवादीको चुनावी मोर्चा भनेरै नामाकरण नै गरिसके । मोर्चा अध्यक्ष गजुरेल आफ्नो सुविधामा मोर्चाको कामावारे ब्याख्या गर्छन ।

किन जन्माइयो मोर्चा ?

यस विषयमा मोर्चाकै दस्तावेजमा भनिएको छ, ‘समान उद्देश्य भएका शक्तिहरुकाबीचमा आफ्ना उद्देश्य प्राप्तिका लागि शक्ति संचय गर्ने, ती शक्तिहरुलाई एकताबद्ध गराउने विरोधीहरुमाथिको प्रहारलाई सशक्त बनाउन भूमिका खेल्ने संयन्त्र संयुक्त मोर्चा हो ।’ मोर्चाको आवश्यक्तालाई विभिन्न समयमा विश्वभरी भएका घटनाहरुलाई प्रस्तुत गरी यसरी प्रष्ट्याउने कोसिस पनि गरिएको छ,

अन्तराष्ट्रिय स्तरमा पनि यस्ता प्रकारका मोर्चा बन्ने गरेको उदारणसहित दस्तावेजमा छ, ‘दोस्रो विश्वयुद्धका दौरानमा हिटलरले नेतृत्व गरेको फासीवादी शक्तिका बिरुद्ध तात्कालीन सोभियत संघ लगायतका राष्ट्रहरुका वीचमा बनेको फासिवादविरोधी अन्तर्राष्ट्रिय मोर्चाले विश्वलाई फासिवादी पञ्जामा पर्नबाट बचाएको थियो ।’

त्यस्तै अर्को उदाहरण छ, ‘भियतनाममाथि भएको अमेरिकी आक्रमणका बिरुद्ध भियतनामको श्रमिक पार्टीको पहलमा बनेको राष्ट्रिय स्तरमा र त्यसलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय स्तरमा बनेका विभिन्न प्रकारका संयुक्त मोर्चाको दवाव अमेरिकालाई भियतनामबाट पछि हटाउनका लागि एउटा प्रमुख कारण बनेको थियो ।’

पार्टीको मुल विचार धाराको अभ्यास भएको मुलुक चीनको उदाहरण पनि दस्तावेजमा छ, ‘चीनमा जापानको आक्रमण भएका बेलामा जापानी आक्रमण बिरोधी संयुक्त मोर्चाले खेलेको महत्वपूर्ण भूमिकाको कारण त्यतिखेर जापान पछि हट्न वाध्य भएको थियो । यसको नेतृत्व गर्ने चीन कम्युनिष्ट पार्टीको नेतृत्वमा सन १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनका लागि यसले महत्वपूर्ण भूमिका खेलेको थियो ।’

त्यस्तै नेपालमा पनि यसअघि भएको अभ्यासलाई दस्ताबेजमा समेटिएको छ, ‘नेपालमा पनि यस प्रकारको संयुक्त मोर्चा निर्माण भएको हामीसँग अनुभव छ । नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएको लगत्तै पछि तत्कालीन नेकपा (मशाल)को पहलमा ‘नयाँ जनवादी मञ्च‘को गठन भएको थियो । जनयुद्धको तयारीको सिलसिलामा ‘संयुक्त जन मोर्चा’को गठन गरेर यसलाई क्रियाशिल बनाइएको थियो । नेपालमा अघि बढेको जनयुद्ध सफलताको सन्निकट पुगेको बेलामा क्रान्तिको नेतृत्व गरिरहेको एउटा समूह नै प्रतिकृयावादीहरुसँग मिलेर त्यही क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्ने काममा सक्रिय भयो ।’

मोर्चाको दस्ताबेजमा उल्लेखित माथिका उदाहरण नियाल्ने हो भने यसको मुल पार्टी एउटा भीषण युद्ध या आन्दोलनको तयारीमा जुटेको छ भन्ने जस्तो देखिन्छ । र यसको बाहिरी वातावरण बनाउन मोर्चा तयार पारिएको जस्तो देखिन्छ । पार्टी अध्यक्ष किरणले पनि यसलाई बल पुग्ने गरी आन्तरिक प्रशिक्षण र भेलामा अभिव्यक्ति दिने तथा दस्तावेजमा उल्लेख गर्ने गरेका छन् ।

गत ०७३ असार ६ देखि ८ सम्म बसेको बैठकमा ‘प्रतिक्रियावाद तथा दक्षिणपन्थी संसोधनवादको विरोध तथा भण्डाफोर गरौँ, नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढौँ’ भन्दै राजनीतिक प्रतिवेदन पेश गरे । पुस अन्तिम साता चितवनमा आफ्ना पार्टीका नेता र कार्यकर्तालाई पनि उनले ‘प्रचण्ड संसोधनवादमा फसेको र एमालेजस्तै भएको’ भनेका छन् भने ‘विप्लब पनि घुमिफिरी प्रचण्डसँगै एकता गर्न सक्ने’ बताएका छन् । किरणले भनेका छन्, ‘त्यसैले जनयुद्ध गर्ने दायित्व हाम्रै काँधमा छ । तपाईँहरु सबै तयार रहनुस । अब छिट्टै अर्को जनयुद्धमा होमिनुपर्छ । हामीसँग जनयुद्धको विकल्प छैन ।’

के गर्छ मोर्चाले ?

मोर्चाको नीति तथा कार्यक्रममा यसले वैधानिक संघर्षको साधनको रुपमा काम गर्ने उल्लेख छ । नेता–कार्यकर्ताको बुझाईमा ‘पार्टीभित्र मोर्चा बनाएर वैधानिक संघर्ष गर्ने भन्नुको अर्थ पार्टी अवैधानिक सघर्षमा जाँदैछ भन्ने अर्थ लाग्दछ ।’ मोर्चाको दस्तावेजमा भनिएको छ, ‘परिस्थितिको परिवर्तन सँगै यसले सत्ताको साधनको भूमिका पनि खेल्ने कुरामा हामी स्पष्ट हुनु जरुरी छ । अहिलेको ठोस अवस्थामा त यसले मूलतः वैधानिक संघर्ष संचालन गर्ने र यसको नेतृत्वगर्ने भूमिका खेल्ने छ । क्रान्तिकारी आन्दोलनको विकास सँगसँगै यसको भूमिकामा पनि तदनुरुपको परिवर्तन हुँदै जाने छ । वैधानिक र अवैधानिक संघर्षका वीचमा कुनै चिनियाँ पर्खाल हुँदैन ।’

र, अप्रत्यक्ष रुपमा चुनावतिर पनि लाइन सोझाइएको देखिन्छ । जस्तो कि नीति तथा कार्यक्रममा छ ‘हाम्रो यो मोर्चा चुनावी मोर्चा होइन, क्रान्तिका लागि बनेको मोर्चा हो र क्रान्तिका दौरानमा र क्रान्तिपछि पनि सत्ताको साधनका रुपमा यो मोर्चा क्रियाशिल नै रहने छ ।’

नीति तथा कार्यक्रमबारे कागजमा जे उल्लेख गरे पनि यसका अध्यक्ष गजुरेल चुनावको प्रकृति हेरेर सहभागिता पनि जनाउन सक्ने सम्भावना ठान्छन् । उनी भन्छन् ‘चुनावमै जाने कि नजाने भन्ने हाम्रो पार्टीका लागि कार्यनीतिको कुरा हो । संसदवादी दलहरुले भने जस्तो अहिलेको पश्चगामी संविधानलाई कार्यन्वयन गर्नका लागि चुनाव भयो भने त हामी भाग लिने सम्भावना नै रहँदैन ।’

‘संसदवादी दलह विभिन्न खालका बाहाना बनाइरहेका छन् । गाविसको रकम फ्रिज भयो, विकाश भएन, रकम अपचलन भयो, आदि इत्यादि । तर त्यतिमात्रै भनेर त चुनावको सम्भावना रहँदैन ।’ उनले भने ।

गजुरेलले आफ्नो नेतृत्वको मोर्चा चुनावमा जाने सम्भावना चाहिँ यहाँबाट देखे, ‘यदि केही गरी भयो नै भने पनि पहिलो समस्या, मधेश केन्द्रीत दलहरुले उठाएका मागहरुलाई सम्बोधन नगरिकन उनीहरुले भनेजस्तो अहिलेकै चुनाव पनि हुने सम्भावना रहँदैन । दोस्रो, माओवादी केन्द्र चुनाव गर्ने भन्दा टार्ने तिर बढी केन्द्रीत छ । अरुपनि दलहरु चुनावमै गइहाल्ने मनस्थितिमा देखिँदैनन् । यस्तो अवस्थामा हामीलाई टाउको दुखाई हुने विषय भएन । तर, केही गरी सहमति गरे र चुनाव भयो भने हामी पनि उपयोग गर्नका लागि चुनावमा भाग लिन सक्छौँ ।’

विश्लेषक हरि रोका पनि तत्कालै कुनै क्रान्ति गर्ने सम्भावना नदेखिएको भन्दै चुनावमै भाग लिनसक्ने सम्भावना रहेको बताउँछन् । उनी भन्छन् ‘उहाँहरुको कार्यक्रमहरु हेर्दा कुनै रेभोलुसन्मै जानुहोला भन्ने देखिदैन । त्यस्तो अवस्थामा अन्ततः जाने भनेको चुनावमा नै हो ।’

मोर्चामा आबद्ध र सहकार्य

मोर्चामा विभिन्न शक्ति आवद्ध हुने भने पनि अहिलेसम्म क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपि गजुरेल र उनको मातहतमा पार्टीकै केन्द्रीय मात्र संगठित छन् । तर, गुजुरेल ढिला–चाढो सवै राष्ट्रवादी शक्ति आफुहरुसँग सहकार्यमा आउने ठान्छन् । ‘परापूर्वकालदेखि नै नेपालीको चरित्र राष्ट्रवादी हो । यतिबेला नेपालको राष्ट्रिय स्वाधिनता गम्भिर खतरमा छ । देश सिक्किमीकरणको खतरमा छ । युवाशक्तिको अभावमा कृषि, औद्योगिक लगायत उत्पादनमा असर परेको छ ।’ उनले आफ्नो मोर्चाको भविष्यबाणी गर्दै भने, ‘भष्ट्राचार चरमरुपमा बढेको छ । जनगणतन्त्रविरुद्ध षड्यन्त्र गरेर पुरानै राज्य सत्ता ल्याउने अभ्यास भइरहेको छ । यस्तो बेलामा देशभक्ति शक्तिको खाँचो परेको छ । हामीले यसको नेतृत्व गरिरहेका छौँ र सबै पार्टी र शक्ति भित्रका देशभक्त शक्तिहरु हामीसँग गोलबद्ध हुन आउने अपेक्षा हामीले राखेका छौँ । चुनावमा नै भाग लिने स्थीति बन्दा एजेण्डा हेरेर सहकार्य पनि गर्न सकिन्छ ।’

यदि चुनावमा गयो भने गजुरेलेको मोर्चाको कार्यगत एकता कोसँग होला ? यसमा प्रचण्ड र विप्लव नेतृत्वको माओवादी उनी निकट हुन सक्छ । तर, विप्लव माओवादीले चाहिँ अहिलेसम्म चुनावलाई अस्वीकार नै गरेको छ ।

प्रचण्ड नेतृत्वको माओवादीसँग चुनावी सहकार्यको सम्भावना छ ? गजुरेल नकार्छन् ‘त्यो सम्भावना नै नभएको कुरा हो । प्रचण्डजी र हामीबीच कुनै पनि कुरा मिल्दैन । यस्तो अवस्थामा उहाँको पार्टीको एजेण्डा र हाम्रो एजेण्डा बिल्कुल फरक हुन्छ । त्यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ? सम्भावना नै छैन ।’

विप्लब चुनाव वहिष्कार गर्ने र प्रचण्डसँग सहकार्य नै गर्न नसक्ने अवस्थामा कसका लागि यो विकल्प खुला राखिएको हो ? गजुरेल भन्छन्, ‘सहकार्य गर्दा माओवादी भन्ने मापदण्ड पनि कायम रहँदैन । अघि भनेजस्तै देशभक्त र जनगणतन्त्रवादी एजेण्डा मिल्ने शक्तिसँग हाम्रो सहकार्य हुन्छ ।’

गजुरलेकै उनकै मुल पार्टीसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका विप्लब माओवादी चुनावमा भाग लिने या नलिने भन्ने कुराको टुंगोमा पुगेको छैन । स्रोतका अनुसार आगामी पार्टी महाधिवेशनमा यस विषयमा पनि छलफल हुन सक्छ । ‘बाहिर सुन्दा त उहाँहरुको नीति चुनाव बहिष्कार नै गर्ने भन्ने छ रे ! यदि चुनावमा भाग लिए भने छलफल होला’ गजुरेल आशा गर्छन ।

वैद्य चुनावमा गए के हुन्छ ?

एकातिर पार्टीको वर्ग संघर्षको रणनीतिक तयारी अर्कोतिर वैधानीक कार्यनीति सहितको मोर्चा बनाएर चुनावी कार्यक्रम । के हुन्छ त परिणाम ?

पार्टीको एजेण्डा र देशैभरीको पार्टी विभाजन पश्चात वाँकी रहेको आफ्नो संगठनको भरमा पनि सकरात्मक परिणाम आउने बताउँछन् मोर्चाका अध्यक्ष गजुरेल । उनी भन्छन्, ‘हार या जितले हामीलाई खासै ठुलो असर पार्दैन । चुनाव नै जितेर ठुलो शक्ति बन्ने र त्यसैमा रमाउने भन्ने हाम्रो उद्येश्य पनि छैन । चुनावमा जित्नकै लागि भनेर कसैसँग अपवित्र सम्झौता पनि गरिदैन । हामीले त वैधानिक संघर्षका कार्यक्रमहरु बनाएर अघि बढ्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले त आफ्नै शक्तिमा अघि बढ्छौँ, त्यसपछि वाँकी विकल्पहरुका बारेमा सोच्छौँ । त्यस्तो अवस्थामा हाम्रो एजण्डामा मात्रै जनताले मत दिने अपेक्षा हाम्रो छ ।’

तर, विश्लेषक हरि रोका भने सुखद परिणाम आउनेमा आशंका व्यक्त गर्छन् । उनी भन्छन्, ‘यतिबेला सम्पूर्ण माओवादी शक्ति कमजोर भएका छन् । त्यसैमा किरणहरुसँग मात्रै पपुलर उम्मेद्वारको अभाव छ । सिधै भन्न सकिन्छ उहाँहरुको यतिबेला समानुपातिक मत केही आउन सक्छ । थ्रेसहोल्ड राख्यो भने त हात लाग्यो सुन्य नै हुन्छ ।’

माओवादी विभाजनको कारण कुनै पनि माओवादी शक्तिको पक्षमा सकरात्मक नतिजा नआउने धारणा उनको छ ।

र, वैद्य आफैले चुनावी राजनीति गरेका छैनन्, यद्यपी उनी पहिलो संविधानसभामा चाहिँ सभासद् भएका थिए समानुपातिक कोटामा । पछि प्रचण्डले बाबुराम भट्टराईलाई संसदीय दलको उपनेता बनाएपछि वैद्यले सभासद्बाट राजीनामा गरेका थिए । तर, गजुरले चाहिँ पहिलो संविधानसभामा सिन्धुलीबाट प्रत्यक्ष सभासद् भएका थिए । चार बर्ष उनी सांसद भए । दोस्रो संविधानसभामा भने उनका पार्टीले बहिस्कार गरेको थिए । गजुरलेजस्तै वैद्य माओवादीमा अरु पनि केही नेता छन्, जसले संविधानसभा सदस्य भएर काम गरेका थिए । यस्तो अबस्थामा सशस्त्र क्रान्तिको मूलबाटो हिडन नसके वैद्य माओवादीले चुनावको गोरेटो चाहिँ समात्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप