मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

विश्व राजनीतिमा ट्रम्पका चुनौती

मङ्गलबार, ११ माघ २०७३, १६ : ३३
मङ्गलबार, ११ माघ २०७३

गैरराजनीतिक वृत्तबाट उदाएका ७१ वर्षीय रियलस्टेट खर्बपति डोनाल्ड ट्रम्पले गत शुक्रबार विश्व महाशक्तिराष्ट्र अमेरिकाको उच्च एवं शक्तिशाली पद राष्ट्रपति पदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरको सम्मुख सपथ तथा पदभार ग्रहण गरेका छन । संयुक्त राज्य अमेरिकको ४५औं राष्ट्रपति पदमा ट्रम्पले सपथ लिँंदैगर्दा भने आम विश्वमा एक प्रकारको आशङ्का र कतिपय चिन्ताका बाछिटाहरुले ट्रम्पलाई पनि नछ्यापेको भने अवश्य होइन । यसअंघि उक्त बाछिटाहरु प्रत्यक्ष रुपमा डोनाल्ड ट्रम्पले उद्घाटन गरेको एक परेड समारोहमा पनि देखापरेका थिए । यससँगै आम विश्व शक्तिराष्ट्रहरुद्वारा व्यक्त गरिएको शङ्का र चिन्ता मिश्रित गुनासाहरु बेलाबखत सुन्नमा आइरहेका पनि छन् । विश्वकै सबैभन्दा ठूलो महाशक्तिराष्ट्र र उक्त राष्ट्रको शक्तिशाली पदमा सपथ लिँदैगर्दा ट्रम्पका आगामी कार्ययोजना, उनको कार्यअवधि र उनको क्याबिनेटले लिनसक्ने सम्भाव्य निर्णयहरुका बारेमा आम विश्व समुदायले अत्याधिक चासो र शङ्कामिश्रित नजरले उनलाई हेर्न थालिसकेका छन् । स्वयं अमेरिकाभित्र पनि उनको जबर्जस्त उपस्थितिलाई चिन्ता, भय एवं अन्योलपूर्ण रुपमा हेरिन थालिएको छ ।

विशेष गरेर डेमोक्र्याट अधिकारीहरुले उनको उदयलाई अन्योलग्रस्तको संज्ञा दिएका छन् । जसको प्रत्यक्ष असर उनको शपथग्रहणमा पनि देखिन पुग्यो । उनका कतिपय उत्तेजक एवं आक्रामक भाषण र शैलीले गर्दा उनको भविष्यमाथि नै कालो बादल मडारिन थालेको कतिपयको विश्लेषण रहेको छ भने उत्तर अमेरिकी महादेशको विशाल फैलावटसँगै सान फ्रान्सिस्को हुँदै अमेरिकी राजधानी वसिङ्टनलाई एक केन्द्रविन्दु बनाउने उनको योजनाको चर्को विरोधको सामना उनले गर्नुपर्यो । योसँगै उनीमाथि बेइमानको राजनीति गरेको र मध्य अमेरिकाद्वारा भइरहेको वातावरणीय प्रदूषण र उक्त प्रदूषणद्वारा सिर्जित जलवायु परिवर्तन र यसबाट समग्र अमेरिकामा दिनानुदिन परिरहेको असर अनि उनले यसको रोकथामको लागि चाल्न सक्ने सम्भावित कदमको बारेमा पनि उनीमाथि तिखा टीकाटिप्पणीहरु हुनेगरेका छन् । विश्लेषकहरु भन्छन्, हाल समग्र अमेरिकालगायत पूरै विश्वका लागि चुनौतीका रुपमा रहिआएको जलवायु परिवर्तनको समस्या रोकथाममा ट्रम्प प्रशासन पूर्णरुपमा असफल हुने दाबी गर्दछन् । यस्तो टिप्पणी गर्नेमा मध्य र उत्तर अमेरिकी विश्लेषक अग्रपङ्क्तिमा छन् । अमेरिकनहरु खासमा व्यावहारिक परिवर्तनलाई देख्न र सुन्न रुचाउँछन्, त्यसैअनुरुप नै उनीहरु नयाँ राष्ट्रपति चुन्न आतुर थिए । ताकि नयाँ राष्ट्रपतिको ध्यान त्यस मुद्दामा केन्द्रित रहोस् जुन जल्दोबल्दो चुनौतीका रुपमा रहिआएको छ । त्यो भनेको पहिलो आतङ्कावाद र दोस्रो जलवायु परिवर्तन हो । तर ट्रम्प भने यी दुवै मुद्दामा येथेष्ट सम्बोधन गर्नवाट चुकेका छन् ।

ट्रम्पका सन्दर्भमा विपक्षीद्वारा उठ्नेगरेका कतिपय टीकाटिप्पणी सुन्नमा आएअनुसार ट्रम्पमा राष्ट्रवाद अवश्य हाबी छ र महसुस गर्ने हृदय पनि न्यानो छ तर त्यस्तो राष्ट्रवादको व्यावहारिक प्रयोगमा भने उनी अलिक चिसा पनि छन् । साथै अहिलेको ग्लोबलाइजेशनको समयमा पनि अमेरिका मात्र पहिलेझैँ र बाँकी सबै त्यसपछिको क्रममा भन्ने एउटा सरल मनोवैज्ञानिक दम्भ उनमा हाबी रहेको बताउने गर्दछन् ।

कतिपय अमेरिकनहरु चीनतर्फ सङ्केत गर्दै भन्छन्– अमेरिका त्यो चीन होइन, जहाँ गणतन्त्रको नाममा राष्ट्रपतिको व्यवस्थासँगै एउटा उदीयमान शक्तिको स्वघोषित हल्ला मात्र छ । मानवअधिकारको सवालमा चीनमा धेरै नै कठोर व्यवस्था गरिएको भन्दै उनीहरु थप्छन्, चीनले मूर्खतापूर्ण व्यवहार अवलम्बन गरेको छ जहाँ एक्काईसौं शताब्दीसम्म आइपुग्दा पनि बीसौं शताब्दीको जस्तो पद्धति अवलम्बन गरिएको छ । हामी चाहन्छौं ट्रम्पको कार्यशैली पनि त्यस्तै अराजक नबनोस् र अमेरिकाको गौरवपूर्ण इतिहास र वर्तमान यथावत रहिरहोस् ।

अधिकांश अमेरिकनहरु अमेरिका अझ सशक्त र सबल भएको देख्न चाहन्छ्न र सबै नागरिकको साझा दर्शन पनि यही नै हुनुपर्दछ भन्ने उनीहरुको ठम्याइ छ । तर त्यो एउटा त्यस्तो निष्ठा जसलाई कर्तव्यपूर्वक पालना गर्नका लागि ट्रम्पका सामुन्ने ठूला ठूला चुनौतीका पहाडहरु सामुन्ने छन् । ती चुनौतीरुपी पहाडहरुको सामना ट्रम्पले कसरी गर्दछन् त्यो भने हेर्न बाँकी रहेको छ । अझ अर्को अवसरको रुपमा राष्ट्रवाद रहेको छ जहाँ नागरिक र राज्य दुवैद्वारा संरक्षित रुपमा रहेको छ । यस्तो राष्ट्रवादले बारम्बार विगतका उथलपुथल घटनाहरुको सम्झना गराइरहन्छ । अनि त्यस्तो राष्ट्रवादले आफ्नो मूर्त रुप अमेरिकी इतिहासमा कालान्तरसम्म दर्ज गराउँछ कि गराउँदैन भन्ने कुरा आगामी दिनहरुमा देखिँदैजाने पनि छ । आतङ्कवाद र विदेश नीतिमा के कस्तो बदलाव र व्यवहार ट्रम्प प्रशासनले गर्दछ त्यसैको आधारमा अमेरिकी भविष्य सुनिश्चित हुनेछ ।

त्यस्तै, वर्तमान ट्रम्प प्रशासनले कतिपय पुराना व्यापार सम्झौताहरु (टीपीपी)को उल्लङ्घन गरेर अगाडि बढ्ने निर्णय गरेको बेलामा विपक्षी डेमोक्र्याट पार्टीका उच्च अधिकारीहरु भने ट्रम्पको यस्तो उद्घोससँग सहमत हुन सकिराखेका छैनन् । उनीहरुको आरोप छ– रिपब्लिकन पार्टीमा विरोध ज्यादा र लोकतान्त्रिक चरित्र कम छ, त्यसैले यहाँनेर समस्या उत्पन्न हुन सक्दछ । समग्र अमेरिकी गणतन्त्र र विदेश मामलामा एकजना मानिसको सोचले मात्र समायोजित एवं संरचित हुन सक्तैन, न नै कसैको सन्काहट एवं तानाशाह शैलीले नै गणतन्त्र र विदेश मामलामा एकरुपता आउने हो । यसमा सबै शक्तिहरुसँगको समन्वय एवं सहकार्यद्वारा नै अगाडि बढ्नुपर्ने बाध्यता रहिआएको छ । डोनाल्ड ट्रम्पलाई राम्रोसँग बुझ्नका लागि अझै केही समयसम्म अवश्य पर्खिनुपर्ने हुन्छ, किनभने ट्रम्प बेलाबखत भन्ने गर्दछन्– “मष्तिस्कमा तुच्छ सोच एवं व्यवहारमा दोस्रो दर्जाको चाल हुनेहरुले सजायको सामना गर्नुपर्नेछ ।” उनको स्पष्ट सङ्केत आफूविरुद्ध लागेकाहरुप्रति केन्द्रित थियो भनेर प्रष्टै बुझ्न सकिन्थ्यो ।

ट्रम्पले अमेरिकी शासन शैलीमा अपत्यारिलो रुपमा परिवर्तन या धक्का दिन सक्छन् । उनले आफ्नो कार्यशैलीलाई आक्रामक रुपमा अगाडि बढाउने कुराले कतिपय अमेरिकनहरुमा चिन्ता पनि थपिएको छ । त्यसैले त एकजना डेमोक्र्याट अधिकारी टिप्पणी गर्छन्, शासन भनेको विधिले हुने हो, जङ्गली शैलीको शासन हिंसात्मक पनि हुनसक्तछ । उनको यस्तो टिप्पणी सीधै ट्रम्पको आक्रामक एवं उत्तेजक भाषणमाथि रहेको थियो । यसो त ट्रम्पका पछिल्ला भाषणहरुमा राष्ट्रियताभन्दा पर रहेर अत्याधिक डरलाग्दा र नितान्त निजी विचारहरुले काम गरिरहेको जानकारहरु बताउँछन् । यदि ट्रम्पले आफ्ना उत्तेजक एवं आक्रमण भाषणहरुमाथि पुनर्विचार गरेनन् र उस्तै रवैया कायम राखिराखे भने समग्र देश र बाँकी विश्वका लागि पनि खतरनाक हुनेछ ।

कतिपय सवालमा ट्रम्प प्रशासनका गतिविधिमाथि लगाम लगाउने या अझ प्रोत्साहन गर्नेभन्ने बारे मिडियाको पनि अहम भूमिका रहन जान्छ । अधिकांश अमेरिकन नागरिकहरु समाचारको सत्यता एवं निष्पक्षमाथि भर पर्ने हुनाले सही या गलत के छ भनेर मिडियाले पनि यथार्थता उल्लेख गर्नुपर्ने अमेरिकनहरु तर्क गर्छन्, किनभने कसैले कसैका विरुद्धमा नभएर मिडिया हाउसहरुले सत्य र निष्पक्ष रुपमा गणतन्त्रको मर्मभित्र रहेर काम गर्नुपर्ने हुन्छ । अमेरिकाले लिने विदेश नीति र व्यवहारको प्रत्यक्ष असर विश्वका प्रायः सबै देशहरुमा पर्ने हुनाले ट्रम्प प्रशासनले लिने कतिपय महत्वपूर्ण एवं संवेदनशील मूद्दाहरुमा संयुक्त राष्ट्रसङ्घ या अन्य यस्तै भरपर्दो संस्थालाई पर्यवेक्षकको रुपमा राख्नुपर्ने विश्लेषकहरुको ठम्याइ छ ।

ट्रम्प प्रशासनको अर्को महत्वपूर्ण परीक्षण भनेको उसको चीन नीतिमा पनि देखिनेछ । एक या दुई (स्वतन्त्र तिब्बत) चीन नीतिमा उसले प्रदर्शन गर्ने व्यवहारबाट पनि बाँकी दिनहरुका बारेमा आँकलन गर्न सकिन्छ । किनभने फ्री तिब्बतका मसिहा दलाई लामा एवं उनका गतिविधिलाई अमेरिकाले परोक्षरुपमा सहयोग गर्दै आएको छ । यसबारेमा आगामी दिनहरुमा ट्रम्प प्रशासनले अख्तियार गर्ने चीन नीतिबाट पनि अमेरिका– चीन सम्बन्धको बारेमा बुझ्न अझै समय पर्खिनुपर्ने हुन्छ । त्यस्तै गरेर उत्तरकोरिया र इरानको आणविक हतियार उत्पादन, भण्डारण एवं परीक्षणको नियामन एवं निरुपण ट्रम्प प्रशासनका मुख्य चुनौती रहनेछन् भने रुसी व्यापार सम्बन्ध नाटोको भविष्य, अन्तर्राष्ट्रिय जलवायु नियन्त्रण र जटिल अन्तर्राष्ट्रिय मुद्दाहरुको सामना ट्रम्प प्रशासनका चुनौतीका रुपमा रहनेछन् ।

अबको चार वर्ष ट्रम्प प्रशासनका लागि चुनौती र अवसरका दुवै बाटो हिँड्नु जरुरी छ । अमेरिका र एसिया एवं अन्य क्षेत्रसँगको सम्बन्ध एवं अवलम्बन गर्ने व्यवहारबाट नै ट्रम्प प्रशासनका भविष्यका बारेमा लेखाजोखा हुँदै जानेछ । सिरियालगायत कतिपय द्वन्द्वग्रस्त मुलुकको व्यवस्थापन एवं आतङ्कवाद निर्मूल पार्ने लक्षमा कुन हदसम्म ट्रम्प प्रशासन सफल रहन्छ । यसै आधारमा नै उनको कार्यक्षमताको मूल्याङ्कन पनि हुनेछ । ट्रम्पको शपथग्रहणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्षिप्त विवरण उल्लेख गर्दै विश्वका सम्पूर्ण जिम्मेवार नेतृत्वमा परिवर्तित वैश्विक रुझानको गहन अध्ययन एवं चिन्तन आवश्यक रहेको औँल्याएका थिए । यसबाट प्रष्ट हुन्छ कि परिवर्तित समयमा शक्तिराष्ट्र र तिनको नेतृत्व गर्ने नेतृत्वतहमा आपसी विश्वास, विवेकिय चातुर्यता, धैर्यता, संयमता एवं परिस्थितिलाई गम्भीर भएर बुझ्नैपर्ने हुन्छ र आवश्यक पहलकदम बढो समन्वयात्मक तवरबाट गरिनुपर्ने हुन्छ ।

अमेरिकामा राष्ट्रपति पदका लागि आवेदन प्रक्रिया सुरु पनि भएको थिएन । यसैबीच देशविदेशका तमाम मिडिया, जासुसी संयन्त्र, राजनैतिक दल र विदेशी शक्तिकेन्द्रहरुले पहिल्यै नै ट्रम्पको सम्भावित उम्मेदवारी, प्रतिस्पर्धा र उनीद्वारा चालिने हरेक कदमहरुको सूक्ष्म अध्ययन गरिरहेका थिए । जसै चुनावी सरगर्मी नजिकिँदै गयो उति नै ट्रम्पका आक्रामक एवं उत्तेजक भाषण र गतिविधिहरु पनि उत्तिकै मात्रामा चुलिँदै गए । यसले गर्दा पूरा विश्व अति संवेदनशिल बन्न पुग्यो ।

निवर्तमान राष्ट्रपति बाराक ओबामाले जब सिकागो सहरमा आफ्नो अन्तिम भाषण मन्तव्य व्यक्त गर्दैथिए, ओबामाका समर्थकहरुले ट्रम्पका विरुद्ध ट्विटरमा ठूला ठूला आक्रामक एवं उत्तेजक पोस्टहरु ट्विट गरिरहेका थिए । उनीहरुको आरोप थियो– डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष एवं परोक्ष रुपमा रुसी जासुसी संस्थाले सहयोग गरिरहेको छ । यस्ता गतिविधीले सिङ्गो अमेरिका र अन्य मुलुकलाई पनि नोक्सान पुर्याउँछ । ट्रम्प निकै खतरनाक एवं सन्की व्याक्ति हुन्, उनलाई समर्थन गर्नु भनेको समग्र अमेरिकाको संवैधानिक पद्धतिलाई नै खलबल्याउनु हो । हुन पनि समय र घटनाक्रमद्वारा पुष्टि हुँदै आएको छ, डोनाल्ड ट्रम्पले आफ्नो चुनावी दौडाहाको दौरान रुसी गुप्तचर निकायसँग कहीँ न कहीँ सम्झौता अवश्य गरेका थिए । उनले उक्त गुप्तचर निकायसँग सम्झौता गर्नुको एकमात्र कारण थियो– विगतमा आफ्नो यौन कृत्यको कारण उनले अमेरिका लगायत कतिपय मुलुकहरुमा महिलाद्वारा उनीविरुद्ध गरिएको विरोध प्रदर्शनलाई साम्य पार्नु एवं त्यस्ता गतिविधिहरुमाथि नियन्त्रण एवं निगरानी बढाउनु । तर यस्तो कदममा ट्रम्प भने पूर्ण सफल हुन सकेनन् ।

ट्रम्प र उनका समर्थक भने विपक्षीका यस्ता आरोपको खण्डनमा हरसम्भव लागिपरेका थिए । विपक्षीका यस्ता आरोपहरुको खण्डन गर्न ट्रम्प र उनका निकटस्थहरुले मुख्य गरेर अनलाइन पोर्टलहरुको भरमग्दुर प्रयोग गरेका थिए । आफ्नो नियमित पत्रकार सम्मेलनमा ट्रम्प स्वयंले यस्ता आरोपहरुको खुलेर खण्डन गर्दथे भने आफूनिकटस्थ संवादाताद्वारा पनि यस्ता कुराहरुको खण्डन हुनेगरी लेख्न र बोल्न लगाउँथे । ट्रम्पका विपक्षीद्वारा लगाइएको आरोपको खण्डन गर्नका लागि सोसल मिडियाहरुमा ट्रम्पका समर्थकहरुले हजारौँको सङ्ख्यामा नक्कली आईडी बनाएर पनि त्यस्ता आरोपहरुको खण्डन र ट्रम्पका पक्षमा जनमत सिर्जना गर्न सफल भएका थिए ।

बज फिड म्यागजिनद्वारा केही समयपहिला प्रकाशित एक रिपोर्टअनुसार तत्कालीन समयमा स्थिति अत्यन्त जटिल मोडमा थियो । यस चुनावी सरगर्मीमा पूर्व ब्रिटिस खुफिया अधिकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो । कतिपय रिपोर्ट र दस्तावेजहरुमा यसको पुष्टि भएको पाइन्छ । उक्त म्यागजिनले उल्लेख गरेअनुसार वसिङ्टनको राजनीतिक अनुसन्धान र आँंकलनका बारेमा विभिन्न शक्तिराष्ट्रले आफ्ना जासुसीहरुलाई सूक्ष्म रुपमा खटाएका थिए । निकै गम्भीर एवं चातुर्यताका साथ ती उच्च अधिकारीहरुले बदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सूचना एवं रिपोर्ट सम्बन्धित ठाउँमा निरन्तर सम्प्रेषण गरिरहेका देखिन्थे । राष्ट्रपति पदलाई लिएर डीसीमा सायद यसभन्दा पहिला कहिल्यै पनि यति विघ्न विचार विमर्शहरु भएका थिएनन् जुन यसपालि भएको थियो । निकै ठूलो राजनीतिक कसीकसाउ र तनावका बीच ट्रम्पले आफूलाई पछिल्लो हप्ता विपक्षीद्वारा बुझाइएको एउटा आरोपपत्रको सारांशसहित उपस्थित हुन भन्दै आफू निकटस्थ एक खुफिया अधिकारिलाई उक्त पत्रको छानविनको जिम्मा दिएका थिए । उनले नितान्त आफूनिकटस्थ खुफिया अधिकारीलाई यस्तो आदेश दिनुको एउटै कारण थियो– उक्त पत्रलाई गोप्य राखिरहनु । ट्रम्प कुनै पनि हालतमा उक्तपत्रको सार्वजनिकीकरण चाहँदैनथे । जुनकुरा उनले बारम्बारका बैठकहरुमा पनि दोहोर्याउँदै आएका थिए । तर उक्त पत्रमा केकस्ता आरोपहरु लगाइएको थियो त ? यसबारेमा प्रायः सबैजना अनभिज्ञ नै थिए । उक्त पत्रलाई लिएर कतिपय भन्ने गर्दथे यो आरोप सही हो या गलत हो । यकिन भन्नसक्ने अवस्था भने छैन । किनभने कुनै पनि मिडियाले उक्त पत्रलाई सार्वजनिक गरेका थिएनन । कसैको प्रतिशोधपूर्ण भावको यथार्थ नबुझी टिप्पणीमा उत्रिनु पनि जायज होइन तर पछिल्लो केहिसमयदेखि आमनागरिकमा उक्त पत्रको विषयलाई लिएर जिज्ञासा ह्वात्तै बढेको थियो ।

ट्रम्पका लागि ह्वाइट हाउसको ढोका त्यति सहज पनि थिएन, जति उनले सोचेका थिए । तर पछिल्लो निर्वाचनको परिणाम भने सबैलाई आश्चर्यमा पार्नेखालको थियो । यता वसिङ्टनमा चुनावी सरगर्मीलाई लिएर अनेकन अड्कलवाजी चलिरहँदा उता ताइवानको जलमरुडस्थलको मध्य भूभागमा चिनियाँ जासुसी विमानहरु देखा पर्न थालिसकेका थिए । जुन घटनाले अमेरिकी मिडियामा ठूलै स्थान पाएको थियो र अमेरिकी प्रशासन यस्ता गतिविधिबारे चुप लागेर बस्नसक्ने अवस्था पटक्कै होइन । तर यस घटनाले डोनाल्ड ट्रम्पलाई भने अर्को एक चुनौती थपिएको जानकारहरु वताउँछन् । यस्तै युरोपियन शक्तिहरु युरोको भविष्य अनि सम्भाव्य आगामी सङ्कट र उक्त सङ्कटसँग कसरी जुझ्ने भन्नेबारेमा छलफल गर्न ब्रिक्स सम्मेलनको माग जोडदार रुपमा उठाइरहेका थिए । साथै सन् २०१७ का लागि सबैभन्दा चुनौतीको रुपमा देखा परेको उत्तर कोरियासँग कसरी प्रस्तुत हुने अनि रसिया र चीनसँग कस्तो सम्बन्ध स्थापित गर्ने भन्नेबारेमा ती शक्तिहरु गहन छलफलमा जुटेको स्रोतहरु बताउँछन् । विशेष गरेर उत्तरकोरिया जो अहिलेसम्मकै सबैभन्दा परिष्कृत एवं शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षणको सँघारमा पुगेको छ, उसको उक्त परीक्षण रोक्न सकिन्छ या सकिँदैन । यसबारेमा अधिकारीहरुले गम्भीर चिन्ता जाहेर गरेका छन् । साथै आगामी दिनमा ट्रम्प प्रशासन र उत्तर कोरियाबीच कस्तो सम्बन्ध रहने हो र त्यस्तो सम्बन्धले बाँकी देशहरुमा पर्ने उतारचढावको बारेमा पनि अधिकारीहरु गम्भीर भएका खबरहरु सार्वजनिक भएका छन् ।

ट्रम्पले आफू निर्वाचित भएलगत्तै पहिलो प्रेस कन्फ्रेन्समा अत्यधिक उत्सुकताका साथ भनेका थिए– आज एउटा तुरुपको विजय भएको छ । र, यो तुरुपको पहिलो प्राथमिकता भनेको विदेशनीति नै हुनेछ । त्यसपछिका प्राथमिकतामा आर्थिक मजबुती एवं अधिकभन्दा अधिक जागिरको व्यवस्था गर्नु रहनेछ । साथै ट्रम्प सङ्गठनको भविष्यसँगै उत्तरकोरिया, रुस र चीन नीतिमा तत्काल परिमार्जन गर्नु उनका लागि महत्वपूर्ण तालिका हुनेछन् । तथ्यहरु भन्दछन्, ट्रम्पले यी सबै मुद्दाहरुलाई व्यापक रुपमा बुझ्ने कोसिस गरेका छन् । तर यस्ता जटिल एवं संवेदनशील मुद्दाहरुको नजरअन्दाज स्वयं ट्रम्पका लागि जोखिमपूर्ण पनि हुनसक्तछ । बज फिडका अनुसार विपक्षीद्वारा ट्रम्पमाथि लगाइएका आरोपबाट उनी टाढा जानसक्ने अवस्था छैन । उनीविरुद्ध लगाइएका जति पनि आरोपपत्रका फाइलहरु छन्, ती सबैको निष्पक्ष छानविन हुँदा उनलाई कतिपय अफ्ठ्यारो अवस्था पनि आइपर्न सक्तछ । यस्तोमा यस्तै अफ्ठ्यारो अवस्थाका कारण कतिपय महत्वपूर्ण निर्णयहरु उल्झनमा पर्न सक्छन् वा यसै आरोपहरुको साहारा विपक्षीको दह्रो अवरोध पनि हुनसक्तछ ।

ट्रम्प शक्तिमा आउनुको मुख्य श्रेयका रुपमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जान्छ । अधिकांश अमेरिकी नागरिक, विश्लेषक र विपक्षीका नेताहरु दावाका साथ भन्छन– यो सबै रणनीति पुटिनकै हो । उनले आफ्नो जासुसी संस्थालाई खुबै प्रयोगमा ल्याएका थिए । डोनाल्ड ट्रम्पले बारम्बार दोहोर्याउँदै आएको शब्द ‘तुरुप’ निर्माणमा रुसी राष्ट्रपति र त्यहाँस्थित जासुसी संस्थाको अहम् भूमिका रहिआएको छ । तर यसरी निर्माण भएको तुरुपको प्रतिष्ठा भने खासै नरहने आलोचकहरु बताउँछन् । उनीहरु दावाका साथ के भन्छन भने ट्रम्पले आफ्नो चुनावी अभियानमा उच्च स्तरको राय एवं सुझाव लिने बाहानामा उनले रुसी गुप्तचर निकायका वरिष्ठ अधिकारीलाई नै आफ्नो विश्वासिलो सल्लाहकारमा राखेका थिए भने यता रुसी अधिकारीहरुको बैठकमा निरन्तर कसरी ट्रम्पलाई सहयोग एवं हस्तक्षेप गर्न सकिन्छ भन्नेबारेमा निरन्तर छलफल भइरहेका स्रोतहरु पुष्टि गर्दछन् ।

ट्रम्पसँग गरिएका सबै सम्झौताहरु सही थिए या थिएनन् भन्नेमा कतिपय रुसी उच्च अधिकारीहरु पनि अन्योलमा थिए । जुनसुकै मूल्य चुकाएर भए पनि ट्रम्पसँग गरिएको सम्झौताले पूर्णरुपमा सार्थकता पाउनुपर्दछ भन्ने रुसी चाहना थियो । मस्कोबाटै कुनै अमेरिकी राष्ट्रपतिलाई ब्ल्याकमेलिङ गर्नु भनेको चानचुने कुरा थिएन, जुन रुसबाट भइरहेको थियो । उताभने ट्रम्पले बारम्बार रुससँग गोप्य रुपमा कुराकानी गरिरहन्थे र विशेष रुपमा महिलाद्वारा हुनसक्ने विरोधप्रदर्शन र सम्भावित उजुरीहरुलाई साम्य पार्न रुससँग उनको पहिलो अनुरोध हुनेगर्दथ्यो ।

मस्को र वसिङ्टनबीचको टकराब कुनै नयाँ होइन तर यी दुवै शक्तिहरुले बेलाबखत दुई देशको सम्बन्धमा गरिने व्यवहार एवं रणनीतिमा सम्झौता नगरेका पनि होइनन् । जगजाहेर नै छ विगतमा यी दुई देशहरुमा एकआपसमा आएका उतारचढाव अनि टकराव बारेमा एकले अर्कोलाई दोष दिने गर्दथे । खास गरेर संयुक्त राज्य अमेरिकामा राजनीतिक अराजकता फैलाउन सघाएको मुख्य आरोप रुसमाथि लाग्नेगर्दथ्यो । त्यसैको परिणामस्वरुप नै हुनसक्छ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी जासुसी संस्थाको सक्रियता ह्वात्तै बढ्नु । किनभने रुसमा जुन विपक्षीहरुमाथि अमेरिकी प्रशासनको समर्थन एवं सहयोग हुँदै आइरहेको छ पुटिनले यसमा सीधै ओबामामाथि प्रश्न तेस्र्याउने गर्दछन् । यद्यपि दुवै देशले संयुक्त रुपमा बारम्बार अन्य देशहरुमा हस्तक्षेप गरेका उदाहरण पनि प्रशस्त भेटिन्छन्, तर पनि यी दुई देशबीचको आपसी सम्बन्ध भने कहिल्यै सौहार्दपूर्ण रहन सकेन ।

ट्रम्पले बेलाबखत अमेरिकी खुफिया एजेन्सी र मिडियाले आफूलाई कत्ति पनि सहयोग नगरेको भनेर गुनासो गर्ने गर्दछन् । आफ्नै खुफिया एजेन्सीका उच्च अधिकारीहरु नै मेरा विरुद्ध लबिङ, मिडिया ब्रिफिङसँगै राजनीतिको भूमरीमा अल्झाएरै छाड्ने योजनामा लागेको आरोप लगाउँछन् । त्यस्तै मिडियाहरुतर्फ पनि रोष प्रकट गर्दै उनी भन्छन्– सत्य र जनमत एकातर्फ हुँदा पनि सत्यतथ्यलाई तोडममोड गरेर प्रारम्भिक सर्वेक्षण ठीक उल्टो देखाएर ममाथि अन्याय गरिरहेको गुनासो गर्दछन् । ट्रम्प निकटका एक उच्च अधिकारी भन्छन्, एफबीआई ट्रम्पका विरुद्ध कतिसम्म लागेका थिए भने उनीहरुले हिलारी क्लिन्टनको इमेल जाँच दोहोर्याएर गर्नसमेत मानेनन् । तमाम प्रमाण र तथ्यसहित आग्रह गर्दा पनि उनीहरुले उक्त इमेल जाँच गर्न नखोज्नुको एउटै कारण ट्रम्पका लागि ह्वाइटहाउसको ढोका कठिन बनाउँदै लैजानु हो । यथार्थ चाहिँ जुनसुकै परिस्थितिमा पनि ट्रम्पले अधिकांश झुठा विवरण, आक्रामक शैली र उत्तेजक भाषणको साहारा लिएका थिए । जुनसुकै मूल्य चुकाएर भए पनि उनी हिलारीका मुद्दाहरुलाई कमजोर पार्न चाहन्थे र आफ्ना मुद्दाहरुलाई बलियो पार्न चाहन्थे । अफवाह फैलाएर होस वा आर्थिक प्रलोभनमा पारेर होस उनले कुनै पनि हालतमा हिलारीको अभियानलाई कमजोर पारेरै छाड्ने अठोट लिएका थिए । त्यसैले त रुसी गुप्तचर निकायसँग सम्झौता गर्दा ट्रम्पले करोडौँ डलर खर्च गरेको कुरा जानकारहरु बताउँदछन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी दिनुभन्दा तीन हप्ता पहिले डोनाल्ड ट्रम्पले ट्विट गर्दै देशको गुप्तचर निकायको बारेमा केही नयाँ सन्देह उठाएका थिए । उनले भनेका थिए, “गुप्तचर निकायबाट एउटै अधिकारी सामुन्ने आओस्, जसले आफ्नो संवेदनशील फैसलालाई सुसूचित गर्नमा मद्दत गरोस्, त्यस्तो अधिकारीलाई एकपटक म आफ्नै कार्यालय लिएर जानेछु ।” त्यसो त यस सवालमा ट्रम्पले उक्त निकायमाथि मौखिक आक्षेप पनि लगाउने गर्दथे । सन् २०१६ को अमेरिकन राष्ट्रपतीय निर्वाचनमा रसियन गुप्तचर निकायले अमेरिकामाथि गरेको हस्तक्षेपलाई पनि ट्रम्पले तत्कालै खुलासा गरिदिएका थिए । रसियन खुफिया एजेन्सीतर्फ लक्षित गर्दै ट्रम्पले ट्विटेका थिए, “सायद अझै अलिकति समय एउटा मामलालाई सल्टाउनका लागि लाग्नेछ । साह्रै गज्जबको कुरा छ !” अझ शब्दको आसपास उद्धरण चिन्हको प्रयोगसँगै उनले अन्त्यमा लेखेका थिए, “ खुफिया !” उनले जोडतोडका साथ उल्लेख गरेको उक्त “खुफिया” शब्द आफूविरुद्ध लागिपरेका आन्तरिक एवं बाह्य एजेन्सीतर्फ प्रहार थियो भनेर स्पष्ट बुझ्न सकिन्छ ।

आफ्नै देशभित्रका खुफिया नेताहरुद्वारा बारम्बार आलोचित ट्रम्प भने आफूले आफैलाई एउटा तुरुपमाथिको प्रहार भनेर जवाफ फर्काउन चाहन्छन् । ट्रम्पको आलोचना गर्नेहरुको भिडमाझ खुफिया एजेन्सीका अधिकारीहरु पनि त्यतिबेला तीन छक्क परेका थिए, जतिखेर ट्रम्पको पक्षमा नतिजा आएको थियो । लगत्तै ती अधिकारीहरुले ब्रिफिङ गर्दै भनेका थिए, “हामीमा एउटा ठूलो भ्रम थियो, जुन फुटेर गएको छ ।”

ट्रम्पले ह्वाइट हाउसको चाबी सम्हाल्दै गर्दा चर्को विवादको सामना गर्नुपर्यो । विशेष गरेर उनले आफ्नो शासन शैलीको विषयमा, मन्त्रीमण्डल विस्तार सँगै महत्वपूर्ण पदको जिम्मेवारी सुम्पने विषयलाई लिएर व्यापक उल्झन खेप्नुपरेको कुरा उनी स्वयम् स्वीकार्दछन् । त्योभन्दा पहिले नै उनले अमेरिकन व्यापार प्रतिनिधिको रुपमा चुनिएका एक उच्च पूर्व अधिकारीद्वारा मुक्त ब्यापारका लागि रिपब्लिकन पार्टीद्वारा व्यक्त गरिएको प्रतिबद्धताको चर्को आलोचनाको सिकार बनेका थिए । यस मामलामा ट्रम्पले स्पष्ट रुपमा के सङ्केत गरिसकेका थिए भने उनका एकजना विश्वासिला पात्र रावर्ट लाइटजर, जसलाई चीन मामलामा हार्डलाइनरको रुपमा पनि लिने गरिन्छ । उनले नै यसको प्रतिनिधित्व गरून् तर परिस्थिति त्यस्तो भएन । ट्रम्पले ट्विटरमा स्पष्ट रुपमा भनेका छन, मेरो व्याक्तिगत प्रोफाइलका कारणले म विजय भएँ, तर मेरा खुफिया सहयात्रीहरु भने अन्तिम समयसम्म पनि मेराविरुद्धमा अवश्य थिए । उनी थप्छन्, संयुक्त राज्य अमेरिका र चीनबीच हामी एक उच्चस्तरको व्यापार सम्झौता गर्न चाहन्छौंँ । तर यसबीचका कतिपय जिम्मेवार ब्याक्तिहरुवाटै अनेकन उल्झनको सिर्जना गरेकै कारण यस ब्यापारलाई पूर्णता दिन गाह्रो पर्ने उनको भनाइ थियो । उनको स्पष्ट सङ्केत सीआईएतर्फ उल्लेख थियो । यसबीच ट्रम्प प्रशासनका नयाँ प्रवक्ता शान स्पाइनरको मत भने भिन्न छ । उनी भन्छन् नयाँ प्रशासनको नयाँ व्यापार नीति भने विल्कुल अलग छ । अब लिने व्यापार नीति भनेको हाम्रो क्राफ्टिङमाथि भर पर्नेछ, तर त्यसको लागि समय भने पर्खिनुपर्नेछ ।

डोनाल्ड ट्रम्पको अर्को चुनौतीको विषय थियो– बाराक ओबामाद्वारा हस्ताक्षरित आमनागरिकको स्वास्थसम्बन्धी बिमा नीति । उनले उक्त स्वास्थ्य नीतिको तीव्र विरोधसँगै खारेज नै गर्ने मनसाय पहिल्यै व्यक्त गरिसकेका थिए । ट्रम्पको भनाइलाई आधार मान्ने हो भने सस्तो लोकप्रियताको लागि मात्र ओबामाले निर्वाचनको मुखैमा आएर उनले आमनागरिकको स्वास्थ्य बिमासम्बन्धी नीतिलाई सहजै हस्ताक्षर गरेका थिए । यस्तो कदमबाट आम नागरिकमा डेमोक्रेटिक पार्टीतर्फ बढ्दै गएको जनलहरप्रति भने उनी अनविज्ञ अवश्य थिएनन् । उनी ठान्दथे हतारमा यसरी उक्त नीतिमाथि हस्ताक्षर गर्नुको अर्थ बाराक ओबामाको चालबाजी सिवाय अर्थोक केही होइन । यसवाट प्रष्ट हुन जान्थ्यो लाखौं अमेरिकन जनता स्वास्थ्य बिमाको माध्यम ओबामा प्रशासन तथा उनको पार्टीद्वारा अवलम्बित नीतिप्रति आकर्षित हुनेछन र ट्रम्पका योजनाहरु निरर्थक हुनेछन् । साथै यस मुद्दालाई लिएर उपराष्ट्रपतिको निर्वाचनसम्म जान सकिनेछ भन्ने ओबामा प्रशासनको आँकलन थियो । उक्तसमय वसिङ्टन रिपब्लिकनले पेश गरेको एक सनसनीपूर्ण आलेखमा एउटा चुनौतीपूर्ण सन्देश दिएको थियो । यसमा दर्साइएअनुसार आगामी दिनहरुमा क्यापिटल हिललगायत समग्र अमेरिकी राजनीतिले एउटा उग्रराजनीतिको परिणतिको सामना सामना गर्नुपर्नेछ । तर उक्त आलेखलगत्तै ट्रम्पले प्रतिक्रिया दिँदै आफ्नो ट्विटरमा ट्विट गर्दै भनेका थिए– क्यापिटल हिलका लागि वर्तमानमा म अग्रपङ्क्तिमा छु । आगामी कार्ययोजनाहरु र समग्र अमेरिकाको भविष्यको बारेमा के कस्ता कदमहरु चाल्नुपर्छ भनेर म र मेरो टिमले निर्णय गर्ने हो । यी र यस्ता अफवाहले केवल नागरिक भड्काउने काम मात्र गर्ने हुनाले यस्ता अफवाह नफैलाउन मिडियाहरुलाई सचेत गराएका थिए । साथै सुरक्षा प्रशासनतर्फ पनि सङ्केत गर्दै उनले ट्विट गरेका थिए– “अमेरिकाको स्वतन्त्र सुरक्षा प्रशासनलाई कमजोर पार्ने कार्य म लगायत मेरो टिमवाट कहीँकतै हुनेछैन । अमेरिकी सुरक्षा निकायहरुलाई पूर्णरुपमा स्वतन्त्र राखिनेछ । यस्ता संवेदनशील निकायहरुमा कोही कसैले हस्तक्षेपको दुस्साहस गर्छ भने त्यस्तो दुस्साहस केवल दिवास्वप्न मात्र हुनेछ ।“

राष्ट्रपतिको चुनावी खर्चको विषयलाई लिएर पनि आम नागरिकमा तीव्र रोष प्रकट गरिएको थियो । आमनागरिकको चाहना थियो चुनावी खर्च पारदर्शी एवं निष्पक्ष हुनुपर्दछ र सम्पूर्ण चुनावी खर्चलाई नागरिकसामु पेश गरिनुपर्दछ । विपक्षीद्वारा वारम्बार ट्रम्पका विरुद्ध चुनावीखर्च पारदर्शी नबनाएको, चुनावमा अत्याधिक तडकभडक गरेको एवं अति नै महँगा सभा सम्मेलनका साथै कतिपयलाई आर्थिक प्रलोभनमा पारेको आरोप लगाइरहेका बेला नागरिकतहबाट पनि यसको बारेमा चासो बढ्दैगएको देखिन्छ । उक्त आरोपको तत्काल प्रतिक्रिया दिँदै ट्रम्पले भनेका थिए– विपक्षीको धर्म भनेको केवल विरोध गर्नु मात्र नभएर सही मुद्दा र तत्कालीन आवश्यकतालाई गम्भिर भएर बुझ्नु र बुझाउनु पनि हुनेछ । चुनावी पारदर्शीमा म पनि कटिवद्ध छु र छिट्टै नै यसको हिसाबकिताब नागरिकका सम्मुख पुरयाइनेछ ।

तर ट्रम्प र उनको समूह भने एउटा कुरामा अझै स्पष्ट हुन सकिरहेका थिएनन् । त्यो हो, चुनावपछिको पहिलो पत्रकार सम्मेलनमा आफ्नो आर्थिक विवरण र चुनावी पारदर्शितालाई कसरी पेश गर्ने भन्नेबारेमा । साथै राष्ट्रपतिको कार्यभार सम्हालेपछि आफ्नो व्यावसायिक पाटोलाई कसरी सम्बोधन गर्ने अनि राजनीति र व्यवसायलाई कसरी अलग अलग ढङ्गले व्यवस्थापन गर्ने भन्ने बारेमा उनी अझै स्पष्ट भइसकेका थिएनन् । प्रत्यक्षअप्रत्यक्ष रुपमा उनको राजनीतिको कारणले व्यवसायमा पनि असर पर्नेहँुदा ट्रम्पले पर्याप्त मात्रामा राजनीतिक उपस्थिति जनाउन सक्दैनन् कि भन्ने कतिपय विश्लेषकहरुको चासो थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप