भूकम्पको पहिलो किस्तासँगै एकीकृत सेवा पाउँदा गाम्नाङ्टारवासी हर्षित
शनिबार, ०८ माघ २०७३, १७ : ५८
ओखलढुङ्गा - भूकम्प गएको झन्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्टार र टार केराबारी गाविसका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकमसहित एकीकृत सेवा गाउँमै पाउँदा हर्षित भएका छन् ।
गाम्नाङ्टार र टार केराबारीका झन्डै ७०० घरपरिवारलाई करिब रु तीन करोड ५० लाख गाउँमै लगेर वितरण गरिएपछि गाउँले हर्षित भएका हुन् । पहिलो किस्ताबापत प्रतिपरिवारले रु ५० हजार पाएका छन् । सदरमुकामदेखि सो स्थल करिब दुई दिनको पैदल दूरीमा पर्दछ ।
स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्रलगायतका एकीकृत घुम्ती शिविर सेवा पनि एकैचोटी उक्त स्थानमा सञ्चालन गरेको छ ।
सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कबोल राईले श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि ग्याम्नाङ्टारमा आज आयोजित कार्यक्रममा सरस्वती बस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ताबापतको अनुदान रकम प्रदान गर्नुभयो । प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनिक सेवाको सुरुवात गरे।
“अहिलेसम्म ऋण काढेर कष्टले टहरामै बसेका छौँ, अब पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौँ”, टारकेराबारीका ६२ वर्षीय यज्ञबहादुर अछामीले भने ।
जिल्लाका ५० मध्ये पकलीटार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन ।
“दुर्गम बस्तीका भूकम्पपीडित परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँबस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो”– सांसद खतिवडाले भने । सांसद खतिवडाको पहलमा हेलिकप्टरबाट सो स्थलमा आवतजावतको प्रबन्ध मिलाइएको थियो ।
सांसद यज्ञराज सुनवारले सरकारले ढिलो भएपनि अनुदान रकम उपलब्ध गराउनु सह्रानीय काम रहेको बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८०० प्रभावित परिवारमध्ये अधिकांशसँग अनुदान सम्झौता भएको भए पनि जम्मा ७६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए ।
प्रजिअ दाहालले अनुदान रकमसँगै स्थानीय प्रशासनले दिने कृषि, स्वास्थ्य, नागरिकता, राहदानी, ज्येष्ठ नागरिक परिचय पत्रसहितको सेवा एकैचोटी गाउँघरमै उपलब्ध गराइएकाले दुर्गम बस्तीका नागरिकले यसबाट लाभ लिन पाएका छन् भने ।
स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले दोस्रो किस्ताको रकम पनि छिटो उपलब्ध गराएर सरकारी र सार्वजनिक भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन पुनःनिर्माण प्राधिकरणले तदारुकता देखाउनुपर्ने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ