मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

किन उठ्यो नयाँ शक्तिमा विदेशी सहयोगको विवाद ?

शुक्रबार, ०७ माघ २०७३, १५ : १६
शुक्रबार, ०७ माघ २०७३

काठमाडौं– –केही संचारमाध्यममा नयाँ शक्ति पार्टी नेपालले डेनमार्कको राजनीतिक पार्टीबाट पैसा लिएको भनी समाचार आएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । नयाँ शक्ति पार्टीले विदेशीबाट आर्थिक सहयोग लिदैन र लिएको छैन । नयाँ शक्ति पार्टीले आर्थिक कार्यविधिमै विदेशीबाट आर्थिक सहयोग नलिने स्पष्ट गरेको छ ।’ माघ ५ को राती नयाँ शक्तिको फेसवुक पेजबाट यो सूचना जारी भयो । लगत्तै पार्टी संयोजक डा.बाबुराम भट्टराईले सेयर गरे, अर्थात बाबुरामकै अनुमतिमा पार्टीको फेसवुक पेजमा यस्तो स्टाट्स हालिएको थियो ।

–माघ ५ मै नयाँ शक्ति निकट पत्रकारको संगठनका संयोजक रुद्र भट्टको फेसवुक स्टाटस आयो–केही संचारमाध्यममा नयाँ शक्ति पार्टी, नेपालले डेनमार्कको राजनीतिक पार्टीबाट पैसा लिएको भनी समाचार प्रकाशन प्रशारण भएको देखियो । नयाँ शक्ति पार्टीले विदेशीबाट आर्थिक सहयोग लिदैन र लिएको छैन भन्ने कुरामा म ढुक्क छु किनकी नयाँ शक्ति पार्टीले आर्थिक कार्यविधिमै विदेशीबाट आर्थिक कार्यविधिमै विदेशीबाट आर्थिक सहयोग नलिने स्पष्ट गरेको छ । तर, पार्टीको नाम बेचेर कसैले बदमासी गरिरहेको छ भने कारवाही हुनुपर्छ । निजि विचार ।’

–भट्टको स्टाट्समा नयाँ शक्ति निकट पत्रकारको संगठनका सह–संयोजक विदुर खड्काले कमेन्ट गरेका छन्–पार्टीको नाम बेचेर पैसा त खिमलाल देवकोटाले ल्याएका थिए क्यारे । दुई–तीन पटक त नेताहरुलाई समेत भेला पारेर होटलमा रमाइलो गरेकै हुन् । कसले गर्ला त कारवाही ।’

हावा नचली पात हल्लीन भन्ने नेपाली उखान छ । माथिका तीन सन्दर्भ पनि यस्तै सरोकारका विषय हुन् । यद्यपी कहिलेकाही पंखाले हल्लाउने फरक कुरा हो ।

तपाईंलाई विस्तारमा बताउने कोशिष गर्नेर्छौँ, नयाँ शक्तिभित्र कसरी प्रवेश गर्यो विदेशी सहयोगको कुरा ?

पहिला के समाचार प्रकाशित भएको थियो, त्यो जान्ने कोषिश गरौँ । माघ ५ को दिउँसो एक अनलाइनमा ‘बाबुरामको नयाँ शक्तिलाई डेनमार्कको पार्टीले आर्थिक सहयोग गर्ने’ शीर्षकमा समाचार प्रकाशित भयो ।

समाचारमा –नयाँ शक्ति पार्टी नेपाललाई सहयोग गर्दै आएको द अल्टरनेटिभ, डेनमार्कले अर्को महिना हुने कार्यकर्ता भेलाको सहजिकरण गर्ने,

–यसअघि गत वर्ष अप्रिल र अक्टुबर महिनामा काठमाडौंमा भएको नयाँ शक्ति पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षणकोसमेत डेनिस अल्टरनेटिभका बिशेषज्ञहरुले सहजीकरण गरेको,

–द अल्टरनेटिभ डेनमार्कले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सो पार्टीलाई सहयोग गर्न झन्डै १ करोड ६७ लाख रुपैयाँ (१० लाख ६९ हजार ५६० डेनिस क्रोनर) प्राप्त गरेको,

–डेनिस इन्स्टिच्युट फर पार्र्टीज एण्ड डेमोक्र्यासी मार्फत द अल्टरनेटिभले नेपाल प्रोजेक्टका लागि उक्त रकम अनुदान प्राप्त गरेको उल्लेख थियो ।

यही समाचारले हो नयाँ शक्तिमा हावा र बहस चलाएको विदेशी सहयोगको ।

नयाँ शक्ति र द अल्टरनेटिभ, डेनमार्कबीचको सम्बन्ध

संस्थागत नभएपनि नयाँ शक्ति र द अल्टरनेटिभ, डेनमार्कका नेताहरुवीचको व्यत्तिगत सम्बन्ध चाहिँ देखिएको छ । नयाँ शक्तिका प्रवत्ता खिमलाल देवकोटाले यसको नेतृत्व गरेका छन् । विषयबस्तुहरुले द अल्टरनेटिभ, डेनमार्कबाट सहयोग लिएको जस्तो देखिन्छ ।

जस्तो कि, डिसेम्बर २, २०१६ देखि अर्थात १७ मंसिर २०७३ देखि प्रोगेसिभ वल्र्ड अनलाइन चलेको छ ।

http://www.progressiveworld.online/

यसको प्रमुखमा नयाँ शक्तिका प्रवत्ता खिमलाल देवकोटा आफै छन् । कार्यकारी प्रधानसम्पादक मनिकर कार्की र प्रधानसम्पादकमा सुदर्शन खतिवडा छन् । यसमा बिमल आचार्य, कमला नेपाल, मोहनप्रसाद मैनाली, नवराज ढुवाडी, नवि नेपाली। पार्वती आचार्य, फणिन्द्र फुयल, आरके पटेल, उज्जल पौडेल र सपना कँडेल पनि जोडिएको अनलाइनमै उल्लेख छ । खिमलाल देवकोटा र सुदर्शन खतिवडाले एक पटक डेनमार्क भ्रमण पनि गरेका थिए

यो अनलाइनको सामाजिक संजाल तथा प्रविधि समूहमा लाप्का डोक्प्या, मनोज ढोडारी, राम घले छन् । प्रबुद्ध समूहमा नयाँ शक्तिका केन्द्रीय नेताहरु डम्वर खतिवडा, देवेन्द्र पराजुली, डा केशवमान शाक्य, दुर्गा न्यौपाने, दुर्गा सोव, हिसिला यमी, कल्पना धलमा, कमला पहारी, लिला भण्डारी, मानुषीयमी भट्टराई, पर्शुराम तामाङ, रामरिझन यादव, शर्मिला तामाङ, सुरेन्द्र चौधरीको नाम छ ।

यति मात्र होइन, यहाँ बाबुराम भट्टराईको सानो सन्देश छ–‘मार्गदर्शक विचार’ भन्ने शीर्षकमा । जहाँ उनले आर्थिक विकासको पक्षलाई उठाएका छन् । http://www.progressiveworld.online/convening-thoughts/

अनलाइनमा कहीकतै यसको आर्थिक स्रोत र परिचालनको विषय छैन । अनलानमा केही लेख र अन्तर्वार्ताहरु पनि प्रकाशित भएका छन् ।

र, अनलाइनको सम्पादकीयमा छ

http://www.progressiveworld.online/editorial/

–विभिन्न तह र तप्काको असन्तुष्टिको यथोचित सम्बोधन हुन नसक्दा अझै पनि नयाँ संविधान कार्यान्वयनको अवस्था सहज बन्न सकिरहेको छैन ।

–संविधान कार्यान्वयनमा तीव्रता आउन नसक्नुका पछाडिको प्रमुख कारण हो, राजनीतिक दलहरुले उनीहरुप्रति जनताले गरेका अपेक्षाहरुलाई बेवास्ता गर्नु । जब विकास कुनै वर्गको लाभका लागि मात्र सीमित हुन्छ, त्यसबाट हुने लाभबाट ठूलो जनसंख्याको हिस्सा वञ्चित हुन्छन् । यसको खराब असर राष्ट्रको समृद्धिको मार्ग अवरुद्ध गर्नेसम्मको हुन्छ ।

–यसर्थ, विगतका विविध परिवेशमा राज्यबाट नै बञ्चितीकरणमा परेका वर्ग, जाति, क्षेत्र र लिंगका हरेक नागरिकले म नेपाली हुँ भनेर गर्व गर्न सक्ने र राज्यबाट बराबर अवसर पाउने अवस्थाको सिर्जना नगरी विकास र समृद्धि सम्भव हुँदैन । ‘एउटै भाषा एउटै भेष’ भन्ने अवधारणाले नेपालको विविधतालाई स्वीकार्न सकेको छैन । यसलाई नसल्ट्याइकन आर्थिक विकास हुँदैन । सामान्य वृद्धि त सधैं भइरहेकै हुन्छ । अधिकार र आत्मगौरवसहितका झण्डै तीन करोड नागरिक एकैपटक हातमा औजार लिएर आफ्नो क्षमताअनुसारको काम गर्न सक्ने वातावरणको सिर्जनाबाट मात्र समृद्धि सम्भव हुन्छ ।

–हामी यो अंकमा यही विषयमा केन्द्रित भएर काम गर्नेछौँ । यसबाट सामाजिक न्यायसहितको तीव्रदरमा समृद्धि हासिल गर्न योगदान पुग्नेछ भन्ने विश्वास लिएका छौं ।

–नयाँ शक्तिका एक नेताका अनुसार अनलाइन शुरु गर्नुपूर्व पनि खिमलाल देवकोटाको पहलमा नयाँ शक्तिका नेता–कार्यकर्ता र पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो ।

तालिममा सहभागी एक नेता र पत्रकारले बताए अनुसार,

–केही समय अगाडि ठमेलमा पत्रकारहरुका लागि र अर्को नेताहरु र पत्रकारका लागि तालिम भएका थिए ।

–शुरुमा १५–१६ जना पत्रकार सहभागी थिए । खाना र नास्ताको सुविधा थियो भने काठमाडौं भन्दा बाहिरबाट आएकालाई यातायात खर्च दिइएको थियो । पहिलो तालीममा पाँच जना डेनमार्कका प्रशिक्षक थिए । –दोस्रो तालिममा सात जना प्रशिक्षक डेनमार्कबाट आएका थिए । दोस्रो तालिममा नाचजानसहित रमाइलो भएको थियो ।

–तालिमकोे संयोजन खिमलाल देवकोटा गरेका थिए । तर, तालिममा साधन–स्रोतका विषयमा केही बताइएको थिएन ।

यो आर्थिक सहायताको विषय जान्न मैले नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र प्रवत्ता खिमलाल देवकोटासँग कुराकानी गरे ।

पौडेलले भने

–औपचारिक निर्णय केही पनि होइन । व्यक्तिगत रुपमा हाम्रो पार्टीका केही नेताहरुको डेनमार्कको अल्टरनेटिभ पार्टीका नेताहरुसँग सम्बन्ध रहेछ ।

–विश्वमा बैकिल्पकधार बनाउने विषयमा विचार आदान–प्रदान हुन्छ ।

–उहाँहरु हाम्रा कुरा सुन्नुहुन्छ । हामी उहाँहरुका कुरा सुन्छौँ ।

–पार्टीले आधिकारिक रुपमा कुनै फन्ड लिएको छैन । त्यो पार्टीको नीतिभित्र पर्दैन ।

–विचारको रुपमा सहकार्य मात्र भएको छ । प्रवत्ता देवकोटाले भने

–समाचारको विषयमा हामीले फेसवुक मार्फत स्पष्ट गरेका छौँ ।

–कुनै आर्थिक सहयोग लिइएको छैन ।

–हाम्रो भाइचारा सम्बन्ध मात्र हो ।

–अनुभव आदान–प्रदान हुन्छ ।

–उनीहरु आफ्ना विज्ञता र अनुभव सुनाउँछन् ।

–आफै नेपाल आउँछन्, आफ्नै खर्चमा आउँछन् ।

–आर्थिक चासो केही होइन ।

यी दुई नेतासँग कुरा गरेपछि नयाँ शक्तिभित्रका अरु केही सूत्रहरुसँग मैले बुझ्ने कोशिष गरे, जसले यो कार्यक्रमका लागि बजेट आएको पुष्टी गरे । तर, उनीहरुले बजेटको सीमावारे आफु चाहिँ अनविज्ञ भएको बताए । सूत्रहरुले बताए अनुसार, देवकोटले नेतृत्व गरेको वैकल्पिक शक्तिको बहसका लागि तयार पाएको अनलाइनको सामग्री उत्पादनका लागि परिचालित जनशक्तिले पारिश्रमिक पाउँछन् । मतलव, परियोजनाका लागि पैसा चाहिँ आएको छ । बरु, खर्च चाहिँ पार्टीगत निर्णयमा वा परियोजनासँग जोडिएका व्यक्तिका निर्णयमा हुन्छ ? प्रश्न उब्जिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप