मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

६ महिनाभित्र देशभर फोरजी सेवा बिस्तार गर्न निर्देशन

बुधबार, ०५ माघ २०७३, १६ : २५
बुधबार, ०५ माघ २०७३

काठमाडौं –नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन महिनाबाटै कानुन संशोधन गरेर फोरजी चलाउन मिल्ने व्यवस्था गरेको जनाएको छ ।

बुधबार बसेको संसद विकास समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले विगतमा टुजी चलाउन दिएका फ्रिक्वेन्सीमै फोरजी चल्ने प्रविधिको विकास भएपछि तिनै सेवा प्रदायकलाई शुल्क बढाएर फोरजीको अनुमति लिनसक्ने कानुनी व्यवस्था गरिएको जानकारी गराए ।

सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले विगतमा टुजीको अनुमति दिइसकेका संस्थाहरुलाई नै लक्षित गरेर ऐन संसोधनमार्फत नयाँ व्यवस्था गरिएको स्पष्ट पारे ।

समितिमा अध्यक्ष झाले भने, –ऐनको नयाँ व्यवस्था अनुसार फोरजीको अनुमतिका लागि तीनवटा संस्थाले निवेदन दिएका थिए उनीहरुलाई नै फोरजीको अनुमति दिएको हो ।

–प्राधिकरणले ग्रामिण दूरसञ्चार सेवा सञ्चालनका लागि नयाँ फ्रिक्वेन्सीको व्यवस्था गरेर काम शुरु गरीसकेको छ ।

–सेवाको गुणस्तर सुधारका लागि सेवा प्रदायक संस्थालाई मापदण्ड तोकेर विनियमावली तयार पारेको छ ।

–गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई के कानुनी कारवाही गर्ने भन्ने विगतमा स्पष्ट कानुनी व्यवस्था नभएकाले केही समस्या भएपनि आगामी दिनमा गुणस्तरमा सुधार हुन्छ ।

बैठकमा समितिका सदस्यहरुले ग्रामिण क्षेत्रमा आफ्नो सेवाको गुणस्तर कायम गर्न नसकेको भन्दै नेपाल टेलिकमको आलोचना गरेका थिए ।

समितिका सदस्यहरुले प्रश्न गरे,

–समयमा फोन नलाग्ने किन हो ?

–रिचार्ज नहुने र आवाजसमेत स्पष्ट नहुनेलगायतका समस्या ग्रामिण क्षेत्रका टेलिकमका उपभोक्ताले भोग्नु परेको छ यो कहिले समाधान हुन्छ ?

–ग्रामिण दूरसञ्चार कोषको अधिकतम उपभोग गरेर गाउँबाटै द्रुत गतिको इन्टरनेटलगायतका सुविधाको बिस्तार गर्नुपर्छ ।

–समितिले २ वर्षदेखि पटक पटक दिएका निर्देशनको पालना किन पालना नगरेको हो ?

समितिले एक महिनाभित्र नेपाल टेलिकमको सेवामा देखिएको समस्या समाधान गर्न र उपभोक्तको गुनासो सम्बोधन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

उपभोक्ताको गुनासो समाधान नभए क्षतिपूर्तिको व्यवस्था गर्नसमेत टेलिकमलाई समितिले सचेत गराएको छ ।

यस्तै ६ महिनाभित्र आवश्यक पूर्वाधार तयार पारेर देशभर फोरजी सेवा बिस्तार गर्न पनि समितिले सरकारलाई निर्देश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप