मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

बुधबार, ०५ माघ २०७३, ०९ : ३२
बुधबार, ०५ माघ २०७३

बाजुरा - जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ ।

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ ।

गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गराएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम, बाजुराका संयोजक गणेश पाध्यायले बताएका छन्। चामल सहयोग मानाकोट, दहकोट, रुगिन, साप्पाटा र विच्छ्या गाविसमा गरिएको पाध्यायले बताए ।

गाविसहरु कृषि विकास कार्यालय र जिल्ला विकास समितिको सिफारिसमा छनोट गरिएका थिए । बढी प्रभावित र स्थानीय आयस्तरलाई हेरेर कामका लागि खाद्यान्न सञ्चालन गरिएको साझेदार संस्था सप्रोप नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकायाले बताए ।

खडेरी प्रभावित १३ गाविसमध्ये छनोट गरिएका छ गाविसमा बढी जोखिम र प्रभावित रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताएका छन् ।

कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो । खडेरी र प्राकृतिक प्रकोपका कारण २०७२÷०७३ मा रु साढे १६ करोड र २०७३÷०७४ मा रु ११ करोडभन्दा बढीको अन्नबाली जिल्लामा नोक्सानी भएको थियो ।

कार्यक्रममा पाँच गाविसमा तीनहजार १३३ घरधुरी लाभान्वित भएको बताइएको छ जसमध्ये विच्छ्यामा ७२.१५ मेट्रिक टन, दहकोटमा ११२.०८, रुगिनमा ७२, मानाकोटमा ६७.०५ र साप्पाटामा १४५.९५ गरी जम्मा ४६.९५ मेट्रिक टन चामल सहयोग गरिएको छ ।

खडेरीले उत्पादन नहुने हुँदा रोजगारीको अभावमा आम्दानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत मानाकोटमा कृषि सडक र खानेपानी मर्मत गरिएको छ भने दहकोटमा तीन सिँचाइ कुलो, खच्चर बाटो निर्माण तथा स्वास्थ्य चौकी एकाइ भवन निर्माण गरिएको छ ।

त्यसैगरी, साप्पाटा, रुगिन र विच्छ्यामा पनि खोनपानीका मुहान मर्मत, दर्जनभन्दा बढी सिँचाइ कुलो मर्मत, खच्चर बाटो निर्माण गरिएको छ । कार्यक्रमअन्तर्गत मानाकोटमा ६६, साप्पटामा एक र दहकोटमा ४६ भकारो सुधार निर्माण गरिएको बताइएको छ ।

खाद्यान्न नभएर भोकभोकै बस्नुपर्ने अवस्था थियो, कार्यक्रमले ठूलो राहत पुगेको विच्छ्याका धर्मराज सुनारले बताए । यसबाट सुक्खा खडेरी प्रभावित क्षेत्रका लागि सहयोग भएको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप