मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सानो पार्टी, ठूलो कार्यालय

मङ्गलबार, ०४ माघ २०७३, १३ : ४०
मङ्गलबार, ०४ माघ २०७३

दोस्रो संविधानसभा निर्वाचन मत परिणामअनुसार राष्ट्रिय जनमोर्चालाई सानो पार्टी भन्न सकिन्छ । पार्टी सानो भए पनि राजमो पार्टी कार्यालय भव्य छ । काठमाडौंको कपन, ज्योतिनगरमा रहेको भव्य कार्यालय बनाउन कसरी सम्भव भयो ? ‘पार्टी कार्यालय बनाउने निर्णयपछि पार्टीसँग सम्बन्धित कमिटीमा रहेकालाई आह्वान गर्यौं । पार्टी कार्यालय बन्दै गरेकाले तपाईंको योगदान आवश्यक छ भन्यौं,’ राजमो कार्यालय सचिव घनश्याम न्यौपानेले सुनाए, ‘विद्यार्थी संगठनमा काम गर्नेलाई समेत सहयोग आह्वान गर्यौं । पार्टीसम्बद्ध विद्यार्थीले पढ्न घरबाटै ल्याएको खर्चले धानिरहेका हुन्छन् । र पनि, ११ महिना धान्ने खर्चले १२ महिना पुर्याउन आग्रह गर्दै एक महिनाको खर्च सहयोग आह्वान गर्यौं । विद्यार्थीले समेत दुई, तीन, चार हजार रुपैयाँका दरले सहयोग गरे ।’

संवत् २०५२ मा गठित राजमो अध्यक्ष चित्रबहादुर केसी केन्द्रीय कार्यालय निर्माण अभियानका लागि जापानसम्म पुगे । पार्टी अध्यक्ष नै जापान पुगेपछि त्यहाँ पनि अभियान चलाइयो । जापानबाट झन्डै २० लाख रुपैयाँ संकलन भएको थियो ।

धेरै स्रोत पार्टीको आन्तरिक संगठनबाट जुटाइएको पार्टी कार्यालय सचिव न्यौपानेले बताए । उनका अनुसार राजमोसम्बद्ध पेसा/व्यवसायमा संलग्नलाई समेत सहयोग आह्वान गरिएको थियो । केन्द्रीय कार्यालय बन्दै छ भनेपछि सबैले उच्च मनोबलसहित सहयोग गरे । पार्टी कार्यालय निर्माणका लागि १० हजारभन्दा माथि सहयोग गर्ने सबैको नामावली प्रकाशित गर्ने अन्तिम तयारीमा रहेको राजमोले सहयोग गर्ने सबैको नामावली समेटेर बुकलेटसमेत निकाल्दै छ । उसले उद्योगी, व्यवसायीसँग पनि सहयोग मागेको थियो । पार्टी कार्यालय निर्माणका लागि मलेसिया, बेल्जियम, अमेरिका, भारतबाट सहयोग प्राप्त भएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो स्रोत भारतमा रहेका नेपालीबाट हात लागेको हो ।

०४६ मा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामबाट आन्दोलित राजमोले पार्टीसम्बद्ध विभिन्न मोर्चा, जनवर्गीय संगठनका कार्यालय सञ्चालन गर्दा भाडामात्रै मासिक ६० हजार बढी बुझाउँथ्यो । त्यसलाई दृष्टिगत गर्दै पार्टीलाई आफ्नै पार्टी कार्यालय निर्माण गर्न बाध्य बनायो ।

औंलामा गन्न सकिने राजनीतिक पार्टीको मात्रै आफ्नै पार्टी कार्यालय छ । नत्र सबै भाडाका कार्यालय हुन् । बुटवलको चाँदबारीमा पनि राजमोको आफ्नै भवन छ । त्यहाँ कम्युनिस्ट संग्रहालयसमेत खोलिएको छ ।

राजमोले तीन वर्षअघि २ करोड १० लाखमा पार्टी कार्यालय किनेको हो । पाँचआना जग्गामा बनेको पार्टी कार्यालय साढे पाँच तले रहेको छ भने २६ कोठा छन् ।

आफ्नै पार्टी कार्यालयको कार्यकक्षमा भेटिएका कार्यालय सचिव न्यौपानेले खुसी व्यक्त गरे, ‘पार्टीको केन्द्रीय कार्यालय व्यवस्थित भएपछि त्यहाँबाट सबै काम सहज रूपमा सञ्चालन गर्न सकिन्छ । आफ्नै पार्टी कार्यालय भएपछि मासिक ६० हजार रुपैयाँ बचत भएको छ ।’

प्रविधिमैत्री कार्यालय बनाउन लागिपरेको राजमोले व्यवस्थित पुस्तकालय निर्माण गर्दै छ । यसैगरी, राजमो पार्टी कार्यालयसम्म सहज रूपमा पुग्न ‘लोकेसन म्यापिङ’ गर्ने भएको छ । उसले गुगलबाट सर्च गर्दा पार्टी कार्यालय भेटिने पनि बनाउँदै छ ।

पार्टीसम्बद्ध अधिकांश संघ–संगठन केन्द्रीय कार्यालयमै रहेका छन् । हाँक साप्ताहिकको कार्यालय पनि त्यहीं रहेको छ । प्रशिक्षण केन्द्र पनि पार्टी केन्द्रीय कार्यालयमै सरेको छ । केन्द्रले महिना दिन, कहिले १५ दिन त कहिले विषयगत प्रशिक्षण चलाउँदै आएको छ । पार्टीका कतिपय मोर्चा भने बाहिरै छन् ।

०४९ को स्थानीय निकाय निर्वाचनमा अखिल नेपाल किसान संघबाट भाग लिएको राष्ट्रिय जनमोर्चाको आफ्नै पार्टी कार्यालय भएपछि कामविशेषले पार्टीसम्बद्ध व्यक्ति काठमाडौं आउँदा बस्नका लागि सजिलो भएको छ । कार्यालयमै आवासीय कोठा छन् । पार्टी कार्यालयमा बस्न चाहने सम्बन्धित जिल्लाको पार्टी कार्यालयबाट सिफारिस गरेको हुनुपर्छ ।

कार्यालयभित्रै आफ्नै क्यान्टिन छ । पुस्तक पसल छ । पार्किङ सुविधा नभए पनि कार्यालयीय काम गर्न सजिलो भएको छ ।

आफ्नै पार्टी कार्यालय भएपछि पहिलेजस्तो महिना पुग्नसाथ कार्यालय भाडा बुझाउने तनाव नभएको न्यौपानेले बताए ।

उनले भाडामा कार्यालय नहुँदा घरभेटीले कहिले गेट नखोलिदिने, कहिले च्यानल गेट लगाएर घरबाहिर निस्कँदा कार्यालयीय काम गर्न, बैठक बस्न अप्ठ्यारो परेको सुनाए ।

विविध समस्यामुक्त हुँदा खुसी व्यक्त गर्न नसकिने बताउने उनले कार्यालय भाडाबराबरको बचत रुपैयाँ आन्दोलनका कार्यक्रममा खर्चिने जानकारी गराए । त्यही रुपैयाँबाट कार्यकर्ता कार्यक्षेत्रमा पठाउन सकिन्छ ।

०५१ को संसदीय निर्वाचनमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाबाट भाग लिएको उसले पार्टी गठन भएको २१ वर्षमा आफ्नै पार्टी कार्यालय निर्माण गरेको छ ।

कुराकानीका अन्त्यमा पार्टी कार्यालय सचिव घनश्याम न्यौपानले अतीत सम्झे, ‘कतिपय ठाउँमा कार्यालयका लागि भवन पाइए पनि बोर्ड राख्न पाइँदैन है भनेर अप्ठ्यारोमा पार्थे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप