मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपेन्द्रको प्रस्ताव बाबुरामद्वारा अस्वीकार

सोमबार, ०३ माघ २०७३, १९ : ०६
सोमबार, ०३ माघ २०७३

काठमाडौँ – मधेशी मोर्चासहितको संघीय गठबन्धनमा आउनलाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अस्वीकार गरेका छन् ।

हिजो गठनबन्धनसँग भएको छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले गठबन्धनमा आउनका लागि गरेको प्रस्ताव डा.भट्टराईले अस्वीकार गरेका हुन् ।

त्यसपछि डा.बाबुराम भटट्टराईले भनेका थिए,

– गठबन्धनमै आउनका लागि उपयुक्त समय भएको छैन ।

– उपयुक्त समय आएपछि त्यसको बारेमा सोचौँला ।

– अहिले साझा मुद्दा बनाएर कार्यगत एकता गरेर अगाडि बढ्दा नै बेस ।

– एक्लै–एक्लै लडेर हुँदैन, कार्यगत एकता गरेर योजनाबद्ध तरिकाले अगाडि बढौं

–कार्यगत एकता गर्ने सैद्धान्तिक सहमति गरेर अगाडि बढौं

–हाम्रो पार्टी मुद्दामा स्पष्ट छ –१० प्रदेशले मात्र समस्या समाधान हुन्छ

–शासकीय स्वरुप अहिलेको संरचनाले हुँदैन, कार्यकारी राष्ट्रपति नै हुनुपर्छ

–अहिलेको मुद्दा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयलाई स्थापित गराउनु हो

–सीमांकन, शासकीय स्वरुपलगातका मुद्दामा पछि पनि संघर्ष गर्न सकिन्छ

तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले डा.बाबुराम भट्टराईप्रति प्रश्न उठाउँदै भने,

–तपाइँमाथि अहिले पनि मधेशमा शंका छ ।

–तपाइँको बारेमा भ्रम छँदैछ, त्यसलाई कसरी चिर्ने ?

–तपाइँले सविधानसभा छाड्ने उपयुक्त समय त्यो थिएन ।

–संविधानमा हस्ताक्षर गरेर जारी भइसकेपछि त्यसको विरोध गरेर निस्कनुको के अर्थ राख्छ ?

–विवाद समाधान समितिमा कुरा नमिलेकै अवस्थामा छाडेर हिँड्नुपथ्र्यो त्यस्तो नगरेर जारी भएपछि छाड्दा तपाइँमाथि विभिन्न आशंकाहरु भइरहेका छन् ।

–३० दलीय गठबन्धन छाड्नलाई तपाईंले नै प्रचण्डलाई उक्साउनु भएको थियो ।

–अहिले कुन र के कारणले कार्यगत एकता गर्ने स्पष्ट पार्नुपर्छ ।

त्यसपछि डा.बाबुराम भट्टराईले यस्तो जवाफ दिए,

– यदि मैले छाडेर हिँडेको भए अहिलेको उपलब्धि पनि गुम्ने थियो

– संविधान निर्माण हुँदा पनि मैले यो संविधान पूर्ण छैन भनेको थिएँ

– संविधान जारी भएको बेला पनि मैले यो दिपावली मनाउनुको कुनै तुक छैन भनेको यिो ।

– हामी जनयुद्धबाट आएकाले मेजर मुद्दाहरु कुनै पनि हालत छोड्नु हुँदैन्थ्यो

– संघीयता, धर्म निरपेक्षता, गणतन्त्र जस्ता मुद्दालाई संस्थागत गर्नु थियो ।

– मुद्दामा कुनै कम्प्रमाइज हुँदैन ।

अन्ततः कार्यगत एकता गर्ने नै सहमति भयो । माघ ६ गते चार बजे बसेर एजेण्डहरुमा छलफल गरेर टुँगो लगाएर संयुक्त विज्ञप्ति निकाल्ने सहमति गरेको छ ।

बैठक बबरमहलस्थित नयाँ शक्ति नेपालका नेता केशवमान शाक्यको घरमा बसेको थियो । एक महिनाअघि पनि उनकै घरमा बसेर गठबन्धन र मुद्दाको छलफल गरी त्यसको भोलिपल्ट महन्थ ठाकुर र बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । माघ ६ गतेको बैठक शाक्यकै घरमा बस्ने तय भएको छ ।

धेरै पहिलादेखि उपेन्द्र यादवले बाबुरामलाई गठबन्धनमा ल्याउनका लागि लविङ गरिरहेको थियो । सोही लबिङअन्तर्गत उपन्द्र यादव र बाबुरामको संयुक्त विज्ञप्ति मंसिर १४ गते आएको थियो ।

डा.बाबुराम भट्टराईले संविधानसभा छाड्ने बित्तिकै मधेस आन्दोलनलाई समर्थन गर्दै आन्दोलनको बेला मधेशतिर गएका थिए । जनकपुरमा उनको विरोध भयो । उनले भाषण गरिरहेको मञ्चलाई समेत तोडफोड गरी आगो लगाएको थियो ।

त्यसपछि पनि उनले मधेश जाने पटक–पटक प्रयास गरेका थिए तर सम्भव भएका थिएन । आन्दोलन सकिएपछि मधेशको पूर्व पश्चिम हुलाकी सडक हुँदै भेटघाट र छलफल अभियान चलाएका थिए । मधेशका जिल्लाहरुमा पटक पटक गए । त्यसको तुलनामा पहाडी जिल्ला धेरै कम गएका थिए । मधेशको मुड मापन गरिसकेपछि उनले उपेन्द्र यादवसँग नजिकिए । उपेन्द्र यादवसँग नजिकएपछि पार्टी एकताको हल्ला नै चलेको थियो । सञ्चारमाध्यममा समाचार आएपनि त्यसको खण्डन कहीँ कतैबाट भएन । हुँदा हुँदै कार्यगत एकताको कुरा टुंगिएको छ । अब हेर्न बाँकी छ, बाबुरामको साथ मधेशी मोर्चासँग कति दिनको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप