मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्व राजाको शीतल निवास प्रवेशको के हुन सक्छ सन्देश ?

सोमबार, ०३ माघ २०७३, १४ : ०३
सोमबार, ०३ माघ २०७३

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो छोरीको विवाहमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेको समाचार सबैभन्दा पहिला रातोपाटी अनलाइनले प्रकाशित गर्यो ।

योसँगै सुरु भयो बहस, पूर्व राजा निम्ता मान्न जान्छन् वा जाँदैनन् ? पूर्वराजा सोमबार १२ बजेर ३४ मिनेट जाँदा शीतलनिवास प्रवेश गरे । वरवधुलाई आशीर्वाद दिए ।

के हुन सक्छ पूर्वराजाको शीतल निवास प्रवेशको सन्देश ? यसै विषयमा हामीले केही व्यक्तिसँग कुरा गरेका छौँ ।

घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी भन्छन् 

–यसलाई शिष्टाचारका रुपमा हेर्नुपर्छ । मलाई लाग्छ बोलाउनेले पनि औपचारिकता रुपमा बोलाएको हुनुपर्छ । पूर्व मन्त्री, पूर्व न्यायाधीशहरु आएको ठाउँमा पूर्व राष्ट्र प्रमुखलाई बोलाउनुपर्छ भन्ने उहाँहरुलाई लागेको हुनुपर्छ । यसकारण बोलाइएको पनि सामन्य हो र स्वीकार गरेर गइएको पनि सामन्य नै हो । मलाई व्यक्तिगत रुपमा उहाँ आउनुहुन्छ जस्तो लागेको थिएन । आउनुभयो । यस अर्थमा उहाँले सबै कुरालाई सहज तरिकाले लिनुभएको दखिन्छ । जनताको बीचमा जाने, जनतासँगै घुलमिल हुने यसको सन्देश हुन सक्छ ।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन् 

राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विवाहको निम्तो मान्न पूर्व राजा ज्ञानेन्द्र जानुलाई दुई किसिमले हेर्न सकिन्छ । पहिलो– विवाहमा पूर्व राजालाई बोलाउनु व्यक्तिगत सम्बन्धको आधारमा हुन सक्छ, जुन सबैको व्यक्तिगत जीवन हुन्छ । यसको मिडियामा त्यति चर्चा गर्नुपर्ने आवश्यकता पर्दैन । तर, यो विवाह जसरी हुँदै छ, त्यो पनि बहसको विषय भएको छ । राष्ट्रपतिको छोरीको विवाह सरकारी निवासमा त्यो पनि सरकारी व्यक्तिहरुको खटन पटनमा भइरहेको छ । जुन सकारात्मक होइन । तर, पूर्वराजालाई बोलाएकोे विषय त्यति ठूलो होइन । व्यक्ति गत चिनजानको आधारमा र निम्तो आएपछि शिष्टाचार पनि होला ।

दोस्रो– दोस्रो पक्ष हेर्ने हो भने लुकाइएको सम्बन्ध पनि हो । जसरी विवाहमा पाहुनाहरुलाई बोलाइएको छ, त्यो एकदमै हुनेखानेदेखि विदेशी कूटनीतिक व्यक्तित्वहरुलाई बोलाएको सुन्नमा आएको छ । यसमा पूर्व राजालाई निम्तामा बोलाइनुमा राजनीतिक अर्थ धेरै लुकेको छ ।

राष्ट्रपति भण्डारी पहिला रहेको पार्टी एमाले र राजाका निकट मानिने राप्रापबीच सहकार्य हुँदै आएको छ । यसमा कही कतै पूर्वराजालाई राजनीतिक स्पेस दिएको देखिन्छ ।

राष्ट्रपति र राजाका पछाडि राजनीतिक दलहरु छन् । यी दुवै दलहरुबीचमा अब धेरै भिन्नता छैन । यी दुवैको धेरै कुरा महेन्द्रको विचारसँग मिल्छ । त्यही भएर आन्तरिक रुपमा राजा पनि जसरी बाह्य शक्तिसँग संवादमा छन् त्यो कहीँ न कहीँ राजनीतिक ठाउँ खोज्दै छन् ।

यसरी राजनीतिक हैसियत दिनु नै गणतन्त्रप्रतिको व्यङ्ग्य हो । जुन सकारात्मक होइन ।

साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी भन्छन् 

यसमा दुवै पक्षले सन्देश दिन खोजे जस्तो देखिन्छ । मेरो ठम्याइमा राष्ट्रपतिले शिष्टाचार र सद्भाव बनाउन खोजेको देखिन्छ । राष्ट्रपति जस्तो संस्था निष्पक्ष हुनुपर्छ, सामाजिक काममा पूर्वाग्रह राख्नु हुँदैन भनेर यस्तो निम्ता गरेको हुनुपर्छ । यो निमन्त्रणा मार्फत राष्ट्रपतिले निष्पक्षताको सन्देश समाजलाई दिएजस्तो लाग्छ ।

पूर्व राजाले पनि निमन्त्रणा स्वीकारेर विगतको परम्परा, जो कसैले बोलाउँदा जाने थियो, यसलाई निरन्तरता दिएको देखिन्छ । राजपरिवारले विगतका यस्तो गरेको हुन्थ्यो ।

अर्को कुरा गणतन्त्र आएको आठ वर्षपछि पूर्व राजा र नेताहरु एउटै कार्यक्रममा सहभागी बन्ने मौका भयो । त्यहाँ उनीहरुले कसरी कुराकानी गर्छन, कूटनीतिक भाषामा के कुरा भयो ? भन्ने अर्थपूर्ण हुन्छ । त्यहाँभित्र कस्तो सिनारियो थियो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप