मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सात वर्षअघि सम्झौता गरेको प्रसारण लाइनको काम अझै सुरु भएन

सोमबार, ०३ माघ २०७३, १२ : ४९
सोमबार, ०३ माघ २०७३
दोलखा - दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो गरेका छन् । सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा जिल्लामा निर्माणाधीन आयोजनाका काममा समेत समस्या परेको छ । दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको स्थानीय रामशरण ठकुरीले गुनासो व्यक्त गरे । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारण लाइन र सिङ्गटीको सवस्टेशनसमेत निर्माण गर्ने रहेको छ । सम्झौताअनुसार सवस्टेसनका लागि रु साढे १७ करोड र प्रसारण लाइनका लागि करिब रु ४२ करोडमा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सवस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन् । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनीसमेत सम्पर्कविहीन हुँदा काम अघि बढ्न नसकेको बताइएको छ । दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युत्कै लागि लक्षित गरी नेपाल विद्युत् प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिङ्गटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १२१ वटा टावर निर्माण गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप