मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

हाम्रो विकासको गति : ६० वर्षमा पनि बन्न नसकेको एउटा सडकको कथा

सोमबार, ०३ माघ २०७३, १६ : ३८
सोमबार, ०३ माघ २०७३

पछिल्लो ६० वर्षमा देशमा थरीथरीका राजनीतिक व्यवस्था आए । देश चलाउने थरीथरीका पात्र पनि आए । तर, एउटा विकास योजनामा कोही पनि गम्भीर भएनन् । तत्कालीन राजा महेन्द्रले २०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ ६० वर्ष बित्दा पनि पूरा हुन सकेन । यो सडक किन बनेन ? एसके लामाको रिपोर्ट :

–ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन गर्ने विश्वास छ ।

–मुख्य व्यापारिक नाका वीरगञ्जलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने भएकाले वीरगञ्ज नाकाबाट नेपाल तथा भारतबीचको व्यापारिक वस्तु तथा सेवा विस्तारमा योगदान पुग्ने आशा छ ।

–कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अनुमान छ ।

–उत्तर दक्षिण लिङ्क काठमाडौँ निजगढ द्रूतमार्ग र ड्राइपोर्टमा बन्ने एकीकृत भन्सार जाँचस्थल बन्न सक्छ ।

–पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल, सिमरा नजिक बन्ने विशेष आर्थिक क्षेत्रमा सहयोग पुर्याउन सक्छ ।

–वीरगञ्ज बस टर्मिनललगायतमा यस मार्गले विशेष सहयोग पुर्याउँछ ।

यी फाइदाका बारेमा स्थानीय जनताले वर्षौंदेखि सुनेका छन् । सडक निर्माण हुन्छ कि भनेर अहिले मात्र अलि अलि आशा पलाएको छ । यो सडक हो– कान्ति लोकपथको । देशमा गणतन्त्र आएसँगै यो सडकको नाम पनि कान्ति लोकपथ रहन गयो, त्यसभन्दा अगाडि कान्ति राजपथ थियो ।

अहिले सडक चौडाको काम भइरहँदा भने स्थानीयमा खुशी छाएको देखिन्छ । भट्टेडाँडा–३ का स्थानीय वेदप्रसाद अधिकारी धेरै वर्षपछि काम सुरु हुँदा यस सडक भएर हेटौँडा–काठमाडौँ गुड्ने गाडीमा चढ्ने इच्छा रहेको बताए ।

‘बन्दैन होला भन्ने लागेको थियो । काम गरेको देख्दा त साँच्चिकै बन्छ कि भन्ने आशा पलाएको छ,’ स्थानीय वेदप्रसादले भने, ९० किमि कुल लम्बाइ रहेको यो सडकलाई आर्थिक वर्ष २०७४÷०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखएिको छ र कामको गति बढाइएको छ ।

मन्त्रीले आफै निरीक्षण गरे

पुस दोस्रो साता यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखक र संसदको विकास समितिको टोली यो सडक खण्डको अनुगमन तथा निरीक्षणमा गएको थियो । लोकमार्गको यथास्थिति बुझ्नका लागि भौतिक पूर्वाधार मन्त्रीसमेतको विकास समितिको टोली हेटौडासम्म पुगी अवलोकन गरेको थियो ।

निरीक्षणका क्रममा टोलीले लोकमार्ग निर्माणलाई केही सुधार गरी छिट्टै निर्माण आयोजना सम्पन्न गर्न पनि आयोजना पदाधिकारीलाई निर्देशन दिएको थियो । निरीक्षणका क्रममा भिन्न रणनीतिक महत्वको कान्ति लोकमार्ग निर्माणमा केही समस्या र चुनौती देखिएको विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताएका थिए ।

निरीक्षणका क्रममा हेटौँडामा भएको स्थानीय तथा सरोकारवालासँगको अन्तक्र्रियामा भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले कान्ति लोकपथ सडक आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरेका थिए ।

निरीक्षणका क्रममा पाइएको थियो–

–देखिने र महसुस हुने गरी काम हुन नसकेपछि समिति स्थलगत अध्ययनमा निस्केको थियो ।

–भूकम्पपछि प्रभावितहरुले मुख्य बजारहरुमा सडक अतिक्रमण गरी टहरा बनाएका कारण पनि सडक निर्माण विस्तार कार्य प्रभावित भयो ।

–सडक चौडा गर्नका लागि व्यक्तिगत जग्गाको समस्या, नरोकिने किसिमका ठाडो पहिरोका कारण बर्सेनि वर्षायाममा सडकमा क्षति पुग्ने समस्या राजमार्गमा देखियो ।

–कठिन भूबनोटका कारण विद्युत्, टेलिकम तथा खानेपानीको पाइप व्यवस्थापनमा पनि समस्या देखियो ।

–मुख्य निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ स्वीकृत भए पनि समयमा उपलब्ध हुन नसक्दा सडक चौडा गर्ने काममा पनि प्रतिकुल असर पर्यो ।

–केही स्थानमा लोकपथ दुई लेनको बनाउने काम भए पनि साँघुरो र धुलाम्मे तथा उबड खाबडका कारण यात्रा अत्यन्तै कष्टकर बन्ने गरेको पाइयो । जोखिम पनि उत्तिकै देखियो ।

–ललितपुर तर्फको देवीसाँध—तीनपाने, बगुवा— काल्चे र काल्चे —देवीसाँध खण्डको सडक विस्तारमा भने कुनै पनि प्रगति हुन सकेको छैन ।

–बुद्धचोक हेटौँडा— टीकाभैरव खण्डको सवारी सुरक्षाको क्षेत्रमा पनि काम हुन नसकेको अध्ययनमा देखिएको छ ।

–विभिन्न समस्याका बाबजुत लोकमार्ग निर्माण कार्य सन्तोषजनक नै छ ।

हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो र भरपर्दो वैकल्पिक मार्गका रुपमा कान्ति लोकपथलाई लिइन्छ । २०१३ सालमा कान्ति राजपथको नाममा राजा महेन्द्रले शिलान्यास गरेसँगै ट्र्याक खोलेको हो ।

ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले काम थालेको तीन वर्षपछि वि.सं. २०१६ सालमा काम सकेको थियो ।

ट्र्याक खोलेको झण्डै साठ्ठी वर्ष बितिसक्दा पनि हेटौँडालाई काठमाडौंसँग जोड्न भने सकिएन ।

धेरै समयसम्म त यो सडकखण्ड राज्यकै प्राथमिकतामा परेन । ट्र्याक खोल्ने काम सम्पन्न बजेटको अभाबले सडकखण्डमा पर्ने नदी तथा खोलामा समयमै पुल बन्न सकेनन् । सडकखण्डलाई थप चौडा तथा सुधार गर्न सकिएन । स्थानीयको सपना जहाँको त्यही रह्यो ।

ट्र्याक त थियो तर, कच्ची र साँघुरो सडकले गर्दा वर्षातको समय पहिरोको समस्या हुन्थ्यो । यहाँ सवारी लगभग चल्दैनथिए । हिउँदमा भने दक्षिण ललितपुर भेगमा दूध बोक्ने सवारी साधन चल्ने गर्दछन् । तर, यात्रुहरुले यसलाई निकै सकसपूर्ण यात्रा ठान्दछन् ।

न्यून बजेट विनियोजन भइरहने हुन्थ्यो । तर त्यो रकम पनि सानातिना सुधार र मर्मतमै सकिन्थ्यो ।

तर, पछिल्ला केही वर्षयता भने यो सडकखण्ड सरकारको प्राथमिकतामा परेका छ । सधैँ कम बजेट विनियोजन हुने यस सडकखण्डमा बजेटको अभाव हुन नदिने यहाँका सांसदहरु बताउँछन् ।

ललितपुर क्षेत्र नं. १ का सांसद उदयशमसेर राणलेभने, ‘यो मार्ग भनेको तराईबाट काठमाडौं भित्रिने मार्गहरुका वैकल्पिक मार्ग हो । त्यसैले यसलाई उच्च प्राथमिकतामा राखेर काम सम्पन्न गरी सञ्चालनमा ल्याउनुको विकल्प छैन ।’

काठमाडौँसँग जोडिने अन्य मार्गमा हुने लामो जामको समस्या छ । भूकम्पले उपत्यका भित्रिने र बाहिरिने मार्गमा भएको अवरोध लगायतले यो सडकको महत्व थप बढायो । जसले गर्दा बजेटको मात्र बढाई कामलाई पनि तीव्रता दिइएको छ ।

कसरी भइरहेको छ सडकको काम ?

कान्ति लोकपथ सडक योजनाका प्रमुख देवेन्द्र साहले सिङ्गल लेनको रुपमा रहेको सडकलाई डबल लेन बनाउनका लागि काम भइरहेको बताए । उनले भने, ‘लक्ष्यअनुसारकै समयमा काम सम्पन्न हुनेमा म ढुक्क छु ।’

उनका अनुसार सो सडकको चौडाइ ४÷५ मिटर रहेकोमा अब ९ मिटर हुनेछ । पर्खाल लगाउने, नाली बनाउने, पानी निकासका लागि ठाउँठाउँमा होमपाइप राख्ने काम भइरहेको पनि उनले बताए ।

निर्माण सकेर लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तिनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिङ्गन, मकवानपुरको आलेभन्ज्याङ, बुद्धचोकसम्म (९० किमी) २ घण्टामा पुग्न सकिने अधिकारीहरुको भनाइ छ ।

लोकपथको सडक खण्डअन्तर्गत पर्ने रानीबास, काल्चे, मौरीभीर लगायत ७ किमि भागमा चट्टान रहेको र त्यस सडकखण्डमा चौडा गर्नका लागि विष्फोटक पदार्थ चाहिएकाले सेनासँग माग गरिरहेको योजनाले जनाएको छ ।

हेटौँडाको बुद्धचोकलाई यो सडकखण्डको सुरुवात विन्दु मानेको छ भने अन्तिम बिन्दु ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोलाई मानेको छ ।

मकवानपुरतर्फ (कुल ५१ किमि) बुद्धचोक–चुच्चे खोला (७ किमि), चुच्चे खोला– जितपुर (१५ किमि), जितपुर–आलेभञ्ज्याङ (१८ किमि) र आलेभञ्ज्याङ– बाग्मती बगुवा पुलसम्म (११ किमि) गरी ४ खण्ड बनाई काम धमाधम भइरहेको छ ।

त्यस्तै ललितपुरतर्फ बाग्मती बगुवा पुल–मास खोला (९ किमि), मास खोला– तीनपाने भञ्ज्याङ (११ किमि), तीनपाने भञ्ज्याङ– टीकाभैरव पुलसम्म (८ किमि) र टिकाभैरव पुल– सातदोबाटोस्थित चापागाउँ दोबाटो गरी चार खण्डमा बाँडेर काम भइरहेको छ ।

चालु आ.व. भित्र ८० प्रतिशत चौडाको काम गर्ने र अर्काे सालमा सम्पूर्ण चौडाको काम सम्पन्न गर्ने लक्ष्य राखेको योजना प्रमुख साहले बताए । हालसम्म ५५/६० प्रतिशत चौडाको काम सकेको उनले जानकारी दिए ।

योजनाले चालु आ.व.भित्र ग्याबिन लगाउने, नाली खन्ने, होमपाइप विछ्याउने काममा ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य तय गरेको छ भने हाल सम्म ३० प्रतिशत काम भइसकेको जनाएको छ ।

त्यस्तै योजनाले चालु आ.व. भित्र हेटौँडाको बुद्धचोकदेखि यता १५ किमिसम्म कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।

काम गर्न सरकारी निकाय धेरै, प्रगति थोरै

–यस सडक खण्डको काम कान्तिलोकपथ सडक योजना, काठमाडौं उपत्यका विकास प्राधिकरण आयुक्तको कार्यालय ललितपुर, डिभिजन सडक कार्यालय ललितपुर र काठमाडौं उपत्यका सडक विस्तार योजनागरी चार सरकारी निकायले खण्ड खण्ड गरी काम गरिरहेका छन् ।

–यस लोक मार्गको कुल लम्बाइ ९० किमि रहे पनि हेटौंडादेखि ललितपुरको टीकाभैरव नल्लु खोलाको पुलसम्म ७९ किमि सडकखण्ड कान्ति लोकपथ सडक योजनाले हेरिरहेको छ ।

–सातदोबाटोस्थित चापागाउँ दोबाटोदेखि टाहाखेलसम्मको सडक खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर तथा टहरा भत्काउने, सडक सीमा चिन्ह लगाउने, छुट्याउने काम काठमाडौँ उपत्यका विकास प्राधिकरण आयुक्तको कार्यालय ललितपुरले गर्दछ ।

–त्यस्तै आयुक्तको कार्यालयले सडक सीमा छुट्याएपछि सातदोबाटोस्थित चापागाउँ दोबाटोदेखि ढोलाहिटीसम्म सडक विस्तार गर्ने काम डिभिजन सडक कार्यालय ललितपुरले गर्दछ भने ढोलाहिटीदेखि चापागाउँसम्म (७ किमि)को सडकखण्ड काठमाडौँ उपत्यका सडक विस्तार योजनाले हेर्ने विस्तार योजना प्रमुख दीपक केसीले बताए ।

–कान्तिलोकपथ योजनाको काममा तीव्रता देखिए पनि प्राधिकरण, डिभिजन सडक र विस्तार योजनाको कामले भने एउटा सिन्कोसमेत भाँच्न सकेको छैन ।

समस्या पनि उस्तै छन्

–स्थानीयको अवरोध र विवाद कायमै छ ।

–जग्गा अधिग्रहण नभएको र अधिकांश सडकखण्डमा अतिक्रमण गरी घर टहरा बनिसकेका छन् ।

–खानेपानीको पाइप, धारा, ट्याङ्की, पानीको स्रोत, बिजुली र टेलिफोनको पोल स्थानान्तरण गर्न सकिएको छैन ।

–पानीको निकास व्यवस्थापन गर्न सकिएको छैन ।

–समयमै विष्फोटक पदार्थ पाउन सकेको छैन ।

काठमाडौँ उपत्यका सडक विस्तार योजनाका प्रमुख केसी भन्छन् :

–यहाँ स्थानीयको विरोध थेगिसक्नु छैन । यहाँ निरन्तरको विरोधले केही ठाउँमा सुरु गरेको कामलाई पनि रोक्नुपरेको छ । दिनदिनै कार्यालयमा डेलिगेसन आउने, कार्यक्षेत्रमा अवरोध गर्ने, थर्काउने, धम्क्याउने काम निरन्तर हुँदै गयो । त्यसकारण अहिले काम रोकिएको अवस्था छ । हामीले विरोध आएको भन्दै खाली र सार्वजनिक ठाउँमा मात्रै काम गर्दै जाऔँ अनि विरोध पनि सँगसँगै सुल्झाउँदै जाउँला भन्ने सोचेर काम थालेको, त्यहाँ पनि काम गर्न दिएनन् । स्थानीयको निरन्तरको अवरोधका कारण काममा खासै प्रगाति भएन । प्रगति १ प्रतिशत पनि भएको छैन । अब शन्ति सुरक्षाका लागि प्रशासन राखेर भए पनि काम गर्नुपर्छ ।

चौडा सडक मापदण्ड विपरीत

–सातदोबाटोदेखि ढोलाहिटीसम्म डेढ किमिमा सडक चौडा गर्दा मापदण्ड विपरीत भएको छ । यस सडकखण्डको सडक विस्तार हेर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय ललितपुरको हो ।

–सरकारी नियम अनुसार सहरी सडक २२ मिटर चौडा हुनुपर्ने अनिवार्य नियम सरकारले बनाएको छ । तर, यहाँ १७ दशमलव २ मिटर चौडा कायम गर्दै सडक विस्तार गरियो ।

–यसअघि निर्माणको ठेक्का पाएको युनाइटेड बिल्डर्स निर्माण कम्पनीले १७ दशमलव दुई मिटर कायम गरी सडक चौडाइको काम सकेको थियो ।

–केही समयअघि मात्रै यो सडक विस्तार मापदण्ड विपरीत भएको भन्दै सडक विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय ललितपुरलाई पत्रचार गर्दै सो सडकखण्डलाई २२ मिटर कायम गरेर चौडाइमा विस्तार गर्न भनेको छ ।

निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनी के गर्दैछन् ? –ललितपुरको टीकाभैरव नल्लुखोला पुलदेखि तीनपानेसम्मको चौडाको ठेक्का पाएको गोल्डेन गुड÷पीएस जेभीले, तीनपाने भञ्ज्याङ–झाँग्रीडाँडा–भट्टेडाँडा हनुमान कन्स्ट्रक्सनले र बगुवा–मासखोलामा मोतिदान÷दी कञ्चनजङ्घा जेभीले काम गरिरहेको छ ।

–यी सडकखण्डमा सडक चौडा गर्ने ठेक्का पाएका ठेकेदार कम्पनीको ध्यान छिटो छरिटो र प्रभावकारी ढङ्गले काम सम्पन्न गर्नुको साटो काममा चरम लापारबाही गरिरहेको भेटिएको छ ।

–ठेकेदारहरुको ध्यान सडक चौडातिर भन्दा पनि जहाँ ढुङ्गा सजिलो खन्न सजिलो हुन्छ, त्यहाँ खनेर क्रसर उद्योग तथा डिपोमा थुपारेका छन् । यो क्रम विगत १ वर्षदेखिको निरन्तर भइरहेको स्थानीयहरुले बताएका छन् ।

–ठेकेदारहरुले यी सामग्रीहरु नख्खु करिडोर भएर सहरी क्षेत्रमा पुर्याउँछन् । त्यस्तै निर्माण व्यवसायीले माटोलाई भने व्यवस्थित गरेर राख्नुको साटो जथाभावी रुपमा फालेको स्थानीयको आरोप छ ।

–यस क्षेत्रमा ढुङ्गा खानी सञ्चालन गर्ने अनुमति नपाएपछि यहाँका क्रसरहरुलाई कान्ति लोकपथकै ग्राभेल तथा ढुङ्गा ओसार्दै उत्पादन गरी बिक्री वितरण गरिरहेको छ ।

ठेकेदार लागे व्यवसायतिर

–कान्तिलोकपथको सडक चौडा गर्न जिम्मा पाएका कम्पनीका ठेकेदारहरुले त्यहाँ निस्किएका ग्राभेल तथा ढुङ्गाको डिप्पो खोलेर अन्तै लगेर बेच्ने गरेका छन् । उनीहरुले कान्तिलोकपथ निर्माणभन्दा पनि त्यहाँ निस्किएका ढुङ्गा तथा ग्राभेलको व्यवसाय गर्न तल्लिन देखिन्छन् । गोल्डेन गुड÷ पीएस जेभी र हनुमान कन्स्ट्रक्सनले यस्तो गरिरहेको स्थानीयले बताए ।

–नियमअनुसार सडक चौडा गर्दा निस्किएका ग्राभेल र ढुङ्गा त्यहीँ सडक निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गर्नुपर्ने र ती सामग्री अन्त लगेर बेच्न पाइँदैन । –निर्माण व्यवसायी र योजनाको सम्झौताअनुसार सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा तथा ग्राभेल निर्माण व्यवसायीले बिक्री गर्न पाइँदैन भनिएको छ । त्यहीँ प्रयोग गर्न मिल्ने गरी उचित व्यवस्थापन गर्नुपर्ने नियम छ । यसरी नियमको उल्लङ्घन गर्दा पनि नियमन गर्ने निकाय भने मुकदर्शक बनिरहेको छ ।

–ती कच्चा पदार्थलाई त्यहीँ प्रयोग गर्नका लागि ठेकेदार कम्पनीले तोकिएको स्थानमा व्यवस्थित गरेर राख्नुपर्ने हुन्छ तर त्यसो गर्नुको साटो क्रसर उद्योगमा पेल्ने र बेच्ने, डिपो स्थापना गरेर बिक्री गर्ने गरेको स्रोतले बतायो ।

–स्रोतले दिएको जानकारीअनुसार हनुमान कन्स्ट्रक्सन कम्पनीका ठेकेदारहरु मध्येका एक गम्भीर राणाले एक वर्षअघिदेखि टीकाभैरवमै डिपो खोली सडक चौडामा निस्किएका ढुङ्गा तथा ग्राभेललाई थुपार्दै बेच्दै आएका छन् भने क्रसरतिर पनि बेचिरहेका छन् ।

–त्यस्तै, गोल्डेन गुड/पीएस जेभीका ठेकेदारमध्येका एक प्रकाश डोटेलले सडक चौडाका क्रममा निस्किएका ढुङ्गा तथा ग्राभेललाई आफ्नै क्रसर साइन रोडा ढुङ्गा उद्योग र अरुको क्रसर उद्योगमा बेच्ने गरेको छ ।

–यस विषयमा गोल्डेन गुड/पीएस जेभी निर्माण कम्पनीका ठेकेदार मध्येका एक प्रकास डोटेलले बाटोकै लागि योजनासँग स्वीकृति लिएर क्रसरमा ढुङ्गा पेलेको बताए । उनका अनुसार कान्ति लोकपथबाहेक अन्य ठाउँमा गिट्टी नलगेको उनले बताए ।

–ठेकेदारहरुले दिनहुँ जसो सयौं ट्रिपर त्यहाँबाट निकासी गर्छन् । यो कार्य दिनदिनै बढिरहेको स्थानीयको भनाइ छ । तर आयोजनाले भने ठेकेदारको यस्तो मनपरी व्यवहारलाई नकारेको छ ।

योजना प्रमुख देवेन्द्र साहले भने– –थाहा भएसम्म हामीलाई ठेकेदारले यस्तो गरेको जानकारी आएको छैन । ठेकेदारले ढुङ्गा ओसार्ने कुरा म बुझ्छु । सडक चौडा गर्दा निस्किएका ढुङ्गा ग्राभेल यहीँ प्रयोग गर्नका लागि कच्चा पदार्थका लागि चाहिन्छ । हामीले त्यही अनुसार ठेकेदारहरुलाई भनेका छौँ । गैरकानुनी काम गरेको भटिए कारबाही हुन्छ ।

सूचना अधिकारीले दिए ढुङ्गा पेल्ने अनुमति

–सूचना अधिकारी नातिबाबु खड्काले गोल्डेन गुड÷ पीएस जेभी कम्पनीका ठेकेदारमध्येका एकलाई त्यहीँ प्रयोग गर्न गिट्टी पेल्न क्रसरसम्म ढुङ्गा तथा ग्राभेल लान अनुमति दिएका थिए । सडक योजनामा योजना प्रमुख सरुवा भएर खाली रहेको अवस्थामा उनले यस्तो गरेका रहेछन् ।

–पत्र सङ्ख्या २०७३/७४ लेखिएको र चलानी नम्बर पनि उल्लेख नगरेको पत्र योजनाका सूचना अधिकारीले २०७३ मङ्सिर २२ काटेका पत्र हामीले भेट्टायौं ।

तीनपाने– टीकाभैरव सडकखण्डको स्तरोन्नतिका लागि गोल्डेन गुड÷ पी.एस. जे.भी.बाट सो कार्यमा प्रयोग हुने सब बेस तथा कोर्सका लागि आवश्यक सामग्री साइन रोडा उद्योग प्रालि, लेले–७ मा उत्पादन गर्न सो योजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री सब बेस (२०,६३६ घ.मि.) र बेस (१०,२९० घ.मि) परिणाम उल्लेख गरी सिफारिश पाऊँ भन्ने व्यहोराको पत्र योजनामा आएको र सबैको जानकारीका लागि भन्दै आवश्यक सामग्रीको जानकारीसहितको ब्यहोरा खुलाइएको पत्रको भरमा ठेकेदारले आफ्नो क्रसरका साथै अरुको क्रसरमा पनि बिक्री गर्ने गरेको छ ।

योजना प्रमुखले रोके

पछि योजनामा प्रमुख आएसँगै सडक चौडामा निस्किएको ग्राबेल तथा ढुङ्गा क्रसर उद्योगमा लगेर पेल्ने र त्यो सडकमै प्रयोग नगरी अन्तै लगेर बेच्ने काम रोके । अबदेखि यस्तो कृयाकलाप नगर्न कडा पत्रचार गरेको योजना प्रमुख साहले बताए । उनले भने– –हामीले ठेकेदारले ढुङ्गा क्रसरमा लैजाने, बिक्रीका लागि लैजाने गरेको थाहा पाएपछि रोक्न प्रशासनलाई ताकेता गर्ने, ठेकेदार कम्पनीलाई कडा निर्देशन दियौं । क्रसरमा लान त सकियो तर त्यो क्रसर नितान्त कान्ति लोकपथको लागि भनेर खोल्नुपर्यो नि त ? अटेर गरे कारबाही हुन्छ ।

सडकखण्डको इतिहास वि.सं. २०१३ : ट्र्याक निर्माण कार्यको थालनी वि.सं. २०१६ : ट्र्याक निर्माण कार्य सम्पन्न वि.सं. २०४९–०५२ : चैडा तथा सुधार, हटिया– ठिङ्गन खण्ड (३२ किमि) मकवानपुर खण्ड । वि.सं. २०५२–०६४/०६ ५ः मर्मत सम्भार, मकवानपुर खण्ड : ५१ किमि – डिभिजन सडक कायालय हेटौंडाबाट), ललितपुर खण्डः ३९ किमि (डिभिजन सडक कायालय ललितपुरबाट) । वि.सं. २०६५– हालसम्मः संस्थागत विकास :सरकारले आफ्नो स्रोतबाट बजेटको व्यवस्था गरी कान्ति लोकपथ सडक योजनाको गठन । वि.सं २०५९ : कोरियन सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन तयार पारेको । पुल निर्माण : ललितपुरतर्फ बाग्मती नदी र नल्लु खोलामा पुल बनिसकेको, मकवानपुरतर्फ सिमात खोलामा २ वटा पुल बनिसकेको । सडक चौडा : मकवानपुरमा ५ र ललितपुरमा ४ खण्ड गरी चौडा गरिरहेको । हालसम्मको सडक चौडाको प्रगतिः ५५/६० प्रतिशत सम्पन्न पर्खाल÷ग्याबिन तथा नाली निर्माणको प्रगतिः ३० प्रतिशत सम्पन्न

बजेटको अवस्थाः यस योजनाले सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न झण्डै चार अर्बको बजेट लाग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षसम्म एक अर्ब २७ करोड १९ लाख ४४ हजार रुपियाँ विनियोजन गरिसकेको छ । हेर्नुहोस् हालसम्म गरिएको विनियोजित रकम र खर्चको व्यहोराः आ.व. २०६५/०६६–२०६८/०६९ः विनियोजनः पाँच/पाँच गरी २० करोड, खर्चः १४ करोड २६ लाख ५३ हजार । आ.व. २०६९/०७०ः विनियोजनः पाँच करोड ७७ लाख ३२ हजार । खर्चः चार करोड ७७ लाख चार हजार । आ.ब. २०७०/०७१ः विनियोजनः १० करोड खर्च : ९ करोड ६६ लाख ४ हजार आ.व. २०७१/०७२ः विनियोजनः १९ करोड ४२ लाख १२ हजार आ.व. २०७२/०७३ विनियोजनः ३९ करोड चालु आ.व. २०७३/७४ विनियोजनः ६० करोड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप