बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

किशोरकिशोरी लागुऔषधको कुलतमा फस्दै

सोमबार, ०३ माघ २०७३, ०६ : १९
सोमबार, ०३ माघ २०७३

कञ्चनपुर - विद्यालय पढ्ने उमेरका किशोरकिशोरी लागुऔषधको कुलतमा फस्न थालेपछि कञ्चनपुरको झलारीका अभिभावक चिन्तित छन् ।

भारतीय निकटवर्ती बजारमा रहेका औषधि पसल र स्थानीय बजारमा रहेका निजी औषधि पसलबाट १२ वर्षदेखि १६ वर्षमुनिका किशोरकिशोरीले लागुऔषध खरिद गरी प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित भएका हुन् ।

नेपालमा बेच्न प्रतिबन्धित गरिएका लागुऔषधका रुपमा प्रयोग हुने औषधि खुलेआम औषधि पसलमा बिक्री हुँदै आएकाले स्थानीय प्रशासनले कडा निगरानी गरी नियन्त्रण गर्नुपर्ने शिक्षिका धर्मा भण्डारीले बताए।

“किशोर अवस्थाका बालबालिका नशामा लठ्ठ परेका हुन्छन् अभिभावकले समेत चासो नदिँदा समस्या झनै विकराल बन्दै गएको छ” उनले भने । अभिभावकले बालबालिकालाई पढ्नका लागि विद्यालय पठाउँछन् । राजनीतिककर्मी लालबहादुर महराले भने, “बालबालिका कुलतमा फसेका कारण विद्यालय बाहिर नशामा डुबेका भेटिदा अभिभावक निकै चिन्तित छन् ।”

बालबालिकालाई कुलतबाट बचाउन अभिभाक सचेत हुनुपर्ने हुन्छ स्वाथ्यकर्मी गङ्गा बस्नेतले भनिन्, “निजी र सामुदायिक दुबै विद्यालयमा लागुऔषधले पु¥याउने हानीबारे विद्यार्थीलाई सचेतनामूलक शिक्षा दिनुआवश्यक रहेको छ ।”

आनीबानी, लवाइखवाइ र सङ्गतले समेत असर गर्ने भएकाले अभिभावकले बालबालिकाको बानी सुधार्नका लागि समेत घरबाटै प्रयास गर्नुपर्ने समाजसेवी दिलबहादुर बुढाले बताए।

लागुऔषधलगायतका अनैतिक कार्य गर्नेलाई प्रहरीले पक्राउ गरे राजनीतिक दबाब दिएर छोड्न बाध्य गराउने परिपाटीले समेत लागुऔषधको प्रयोगमा बढावा मिलेको पूर्व देखतभूली गाविसका अध्यक्ष तनुकलाल चौधरीले बताए।

“अभिभाकले बालबालिका आनीबानी सुधार्ने र लागुऔषध बिक्री गर्ने मेडिकलका सञ्चालकमाथि हँुदैसम्मको कानुनी कारबाही गर्नका लागि सबैले प्रहरीलाई साथ दिए मात्रै लागुऔषधको प्रयोगलाई नियन्त्रण गर्न सकिन्छ” उनले भने ।

दुई दिनअघि मात्रै इलाका प्रहरी कार्यालय झलारीमा पुग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद समक्ष समेत लागुऔषधको बढ्दो प्रयोग रोक्नका लागि यहाँका राजनीतिकर्मी, समाजसेवी, वुद्धिजीवी, व्यवसायीले आग्रह गरेका थिए ।

एक साताभित्रै परिवर्तनको अनुभूति हुने गरी लागुऔषध, अवैध मदिरा र देह व्यापार रोक्नका लागि काम गर्न उनले इप्रका झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएका थिए । इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले लागुऔषधको अवैध कारोबार गर्ने र सेवन गर्नेको पहिचान गर्ने कार्य अगाडि बढाएको बताए।

लागुऔषधको प्रयोग गर्ने बालबालिकाको सङ्ख्या झलारीमा मात्रै तीसभन्दा बढिरहेको बताइएको छ । घरबाट लागुऔषध प्रयोग गर्न पैसा नपाइदा धेरै जनाले चोरी गरेर पनि पैसा जुटाउने गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप