सुस्ताउँदै साक्षर नेपाल घोषणा, ३३ जिल्ला मात्र साक्षर घोषित
काठमाडौँ- चार वर्षअघि सबै जिल्लालाई साक्षर तुल्याई साक्षर नेपाल घोषणाको लक्ष्य लिइएकामा हालसम्म ३३ जिल्ला मात्र साक्षर घोषित भएका छन् । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको आधार प्राप्त भएको अवस्थामा साक्षर जिल्ला घोषणाको थालनी गरेको थियो । विसं २०७२ सम्म सबै जिल्ला सकेर साक्षर नेपाल घोषणा गरिसक्ने लक्ष्य लिइए पनि बजेट अभाव र विविध कारणले गति लिन नसकेको पाइएको छ । साक्षर घोषित कतिपय जिल्लामा कागज मात्र मिलाएर साक्षर घोषणा गरिएको र नागरिक अझै औँठाछाप लगाउनुपर्ने अवस्थामा पाइएको प्रश्न उठेकाले पनि नयाँ जिल्लालाई साक्षर घोषणा गर्दा सचेतना अपनाएको मानिएको छ । गत आवसम्म कुल २९ जिल्ला साक्षर घोषणा भएका थिए । चालु आवमा कुल २६ जिल्ला साक्षर घोषणाको लक्ष्य लिइएकामा यो अवधिसम्म चार जिल्लामात्र घोषणा भएका छन् । तीन वर्षअघि सिन्धुपाल्चोक पहिलो र ललितपुर दोस्रो साक्षर जिल्ला घोषणा भएको थियो । साक्षर जिल्ला घोषणापूर्व गाविस र नगरपालिकालाई साक्षर घोषण गर्ने अभ्यास छ । जिल्ला घोषणा कार्यक्रमका लागि सरकारले अलग्गै रु तीन लाख खर्च दिँदै आएको छ । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दीवाकर ढुङ्गेलले हाल १० जिल्ला साक्षर घोषणाका क्रममा रहे पनि अभियानको लक्ष्यअनुसार कतिपय जिल्लाले तत्परता नदेखाएको बताए । केन्द्रको मापदण्डअनुसार आफ्नो मातृभाषामा लेखिएका दैनिक जीवनसँग सम्बन्धित छोटा र साधारण वाक्यहरु बुझेर लेखपढ गर्न सक्ने र बुझेका कुरा एकापसमा राम्ररी सम्प्रेषण गर्न सक्ने तथा साधारण हरहिसाब गर्न सक्ने व्यक्तिलाई साक्षर मानिन्छ । सरकारले २०६९ देखि २०७२ सम्मको अवधिलाई साक्षर नेपाल अभियान भनी सञ्चालन गरेको हो । अभियानको पहिलो वर्ष १६ लाख ९३ हजार ९६५ र दोस्रो वर्ष झन्डै १५ लाख नेपालीलाई साक्षर गराउने लक्ष्य लिइएकामध्ये हालसम्म कति साक्षर भन्ने स्पष्ट आँकडा आउन सकेको छैन । अभियानकै रुपमा कार्यक्रम सञ्चालन केन्द्रले मागेजति बजेट उपलब्ध हुन सकेको छैन । निर्देशक ढुङ्गेलले गत वर्ष आफूहरुले रु ७५ करोड मागेकामा रु ३७ करोड बजेट आएको बताउँदै तराईका १५ जिल्लामा साक्षरता घोषणा गर्न मात्रै रु ४२ करोड लाग्ने कार्ययोजना पेस गरिएको जनाए । आव २०६७/६८ मा देशैभर घरधुरी सर्वेक्षण गरी निरक्षरको नामनामेसीसहितको लगत तयार गरिएको थियो । विसं २०६८ को राष्ट्रिय जनगणनामा ६५ दशमलव ९ प्रतिशत नागरिक साक्षर रहेको देखिएको थियो भने त्यसपछि साक्षरता बढेको पाइए पनि राष्ट्रिय सर्वेक्षण गरिएको छैन । काठमाडौँका जिल्ला शिक्षा अधिकारी जय आचार्यले जिल्लामा पुरानो आँकडाअनुसार ९८ प्रतिशत नागरिक साक्षर भएको पाइए पनि कीर्तिपुरबाहेक अन्य नगरपालिकामा घोषणा कार्यक्रम सम्पन्न नभएको बताए । उनले तथ्याङ्कको विश्वसनीयता र ताजकीकरण गरी प्रक्रिया पु¥याएर काठमाडौँलाई आगामी असारभित्र साक्षर घोषणा गरिने जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान