बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वादी महिलाको कथामा नथिया

शनिबार, २० माघ २०७४, २० : १८
शनिबार, २० माघ २०७४

काठमाडौँ - कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा आख्यानकारका रुपमा आउनुभएको छ । 

वादी महिलाको कथामा लेखिएको उपन्यास ‘नथिया’ मार्फत कवयित्री प्रतीक्षा उपन्यासकारका रुपमा प्रस्तुत हुनुभएको हो । आज यहाँ आयोजित कार्यक्रममा उपन्यास नथियाको वादी मुक्ति आन्दोलनकी अगुवा तथा प्रदेशसभाका सांसद उमा वादीले सार्वजनिक गर्नुभयो । 

दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलित रुपमा रहँदै आएका वादी महिलाको कथालाई उपन्यासमार्फत प्रस्तुत गरेको जानकारी दिँदै उपन्यासकार प्रतीक्षाले आफूले धेरैको नजर नपरेको विषयलाई प्रस्तुत गरेको उल्लेख गर्नुभयो । 

“विसं २०३६ देखि २०४६ सालसम्मको वादी महिलाको कथालाई प्रस्तुत गर्नु सहज थिएन । मैले दुस्साहस गरेकी हुँ, ९५ प्रतिशत सत्य घटना समेट्ने प्रयास गरेको छु”, सार्वजनिकीकरण समारोहमा उहाँले भन्नुभयो । 

गणतन्त्रको घोषणापछि आफ्ना माग पूरा गराउन सिंहदरबारमा भित्री बस्त्रमात्रै लगाएर प्रदर्शनमा उत्रिएका वादी महिलाले आफूलाई उपन्यास लेख्ने प्रेरणा दिएको उपन्यकार प्रतीक्षाको भनाइ थियो । 

“मलाई १० वर्ष लाग्यो उपन्यास सकाउन । समाजले उनीहरुलाई हेर्ने नजर देख्दा म धेरैपटक रोएँ, धेरैपटक मलाई पनि पीडा दियो, वादी महिलाको दुःख देख्दा”, उपन्यासकार प्रतीक्षाले भन्नुभयो, “मेरो विश्वविद्यालय पढ्दादेखिको सपना पूरा गरेको छु ।” 

उपन्यासमाथि टिप्पणी गर्दै पत्रकार नारायण वाग्लेले सरल भाषामा यथार्थलाई प्रस्तुत गरिएको कृति समकालीन आख्यानमध्ये उत्कृष्ट रहेको बताउनुभयो । 

पुरुषले महिलामाथि गरेका शोषण र ज्यादतिलाई औपन्यासिक रुप दिएर ज्यादतिविरुद्ध बोल्ने साहस उपन्यासले गरेको भन्दै उहाँले उपन्यास उपन्यासभन्दा पनि कवितात्मक रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले वादी महिलाको आँसु, कथित ठूलाबडाको ज्यादतिलाई सशक्त रुपमा प्रस्तुत गर्न उपन्यास फिल भएको बताउनुभयो । 

यथार्थ विषय लेख्ने हिम्मत थोरैले मात्रै गर्ने भएकाले वादी महिलाको कथालाई सरल र सहज रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै तिम्सिनाले भन्नुभयो, “कमजोर मुटु भएकालाई उपन्यास सहजै पढ्न नसक्ने छ ।” 

प्रमुख अतिथि रहुनुभएकी वादी आन्दोलनकी अगुवा उमा वादीले आफ्नो समुदायको अवस्था, पीडित महिलाको कथामा उपन्यास लेखेर ठूलो गुन लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नथिया वादी समुदायका लागि गीता, महाभारत जस्तै श्रद्धाको पुस्तक बनेको छ ।” 

बुक हिलले उक्त उपन्यास प्रकाशन गरेको हो । प्रकाशक संस्थाका प्रमुख भूपेन्द्र खड्काले आफ्नो प्रकाशनले प्रकाशन गरेका २५ वटा पुस्तकमध्ये नथिया सर्वोत्कृष्ट रहेको बताउनुभयो । 

चलचित्रमा नथिया 

पुस्तक सार्वजनिकीकरण समारोहमा निर्देशक दीपेन्द्र के खनालले नथियामाथि चलचित्र बनाउने घोषणा गर्नुभयो । आफूलाई उपन्यासले प्रभावित पारेकाले त्यसैमाथि चलचित्र बनाउने सोच आएको निर्देशक खनालको भनाइ थियो । डिएस डिजिटल र भूपेन्द्र खड्का प्रोडक्सनले निर्माण गर्ने उक्त चलचित्रको प्राविधिक तयारीसमेत शुरु भएको छ । 

पुस्तकमाथि बनेका चलचित्र व्यावसायिक रुपमा सफल हुन नसके पनि नथिया त्यसभन्दा बिल्कुल फरक हुने निर्देशक खनालको भनाइ थियो । उहाँले यसअघिका पशुपतिप्रसाद, धनपति, भिजिलान्ते, चपली हाइटजस्ता चलचित्र निर्माण गरिसक्नुभएको छ । 

नेपाली चलचित्र उद्योगमा फरक धारका चलचित्र बनाउँदै आउनुभएका खनालले नथियालाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रुपमा चित्रण गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप