सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

तेस्रो लिङ्गीका यस्ता छन् दुःख

शुक्रबार, १९ माघ २०७४, १२ : ०९
शुक्रबार, १९ माघ २०७४

काठमाडौँ । झट्ट हेर्दा अग्ली, गहुँ गोेरी, सिलिक्क परेको, खैरो कलर गरेको कपाल अनि समय अनुसारको कपडा लगाउँदा अजितालाई बाटो हिँड्नेहरूले पनि फर्केर हेर्ने गर्छन् । अजिताको खाइलाग्दो जिउ ज्यान देख्दा काठमाडौँको व्यस्त भीडले उनलाई महिला नै ठान्छन् । तर उनको पेसा फरक छ  । जिन्दगी जिउने शैली फरक छ । रत्नपार्ककको पुलमा १ बजेदेखि बेलुका ७ बजेसम्म यौनकर्मी खोज्नु उनको पेसा हो ।

खुलेर भन्नुपर्दा अजिता एक तेस्रो लिङ्गी यौन व्यवसायी हुन् । जन्मदा उनी शारीरिक रूपमा पुरुष थिइन् । परिवारले पनि उनलाई पुरुष जातको अजय नाम थियो । तर उनले अहिले नेपाल सरकारबाट प्राप्त गरेको नागरिकतामा अजिता भुजेल नामबाट नै प्राप्त गरिन् । शारीरिक रूपमा आफू पुरुष भए पनि मानसिक रूपमा भने उनलाई महिलाले प्रयोग गर्ने कपडा, नङ पोलिस, लिबिस्टिक लगाउन मन लाग्थ्यो ।

विस्तारै उमेर बढ्दै जाँदा शारीरिक रूपमा पुरुष भए पनि महिलातर्फ आकर्षण बढ्नुपर्ने त्यो समययमा अजिताको आकर्षक पुरुषतर्फ नै हुन थाल्यो । उनी आफैले आफैलाई प्रश्न गर्थिन्, मलाई किन यस्तो भएको होला भनेर ? विद्यालय जाँदा महिलाले प्रयोग गर्ने शौचालयमा जाने, हिँडाइमा पनि महिलाको जस्तो व्यवहार भएका कारण विद्यालयका साथी अनि शिक्षकहरूले हिजडा हो क्या हो भन्ने गर्थे । छक्काको उपनाम दिन्थे । मनमा पीडा हुन्थ्यो तर सुन्ने कोही थिएनन् । यस कारण उनी विद्यालयमा हाजिर भएको भन्दा नभएका दिन धेरै छन् ।   

शारीरिक रूपमा पुरुष भए पनि हरेक कुरा महिला नै महसुस हुँदा एक दिन लिबिस्टिक लगाउँदा अजिताको दाइले ३ दिनसम्म शौचालयको थुनेको पीडा पोखिन् । त्यो समयमा कक्षा ९ को फाइनल परीक्षा छुटेको बताउँछिन् । भन्छिन्– तेस्रोलिङ्गी भएर बाँच्नु निकै गाह्रो छ । आफ्नै दाइने तेस्रो लिङ्गी भन्दै पिट्थे ।  परिवारको कान्छो सदस्य त्यसमाथि बाबा इन्डियन आर्मी तर उनलाई कहिले पनि परिवारको साथ मिलेन ।  

आधा रातमा घरबाट निकालिएको ६ वर्ष भयो
अजिता रुँदै भन्छिन्, म घरबाट निकालिएको छ वर्ष भयो । केटी बनेको नाटक गरेको भन्दै गाउँको चेलीबेटीलाई बिगार्ने यस्तो व्यवहार देखाएको भन्दै  गाउँ, समाजका सबै मान्छे जम्मा भएर मेरो जेठो दाइले मलाई ११ बजे राति धक्का मारेर निकालेको हो । त्यो बेला राति म नीलहीरा समाज मकवानपुरको शाखामा आइपुगँे । उनलाई तेस्रोलिङ्गी सरगम गुरुङले नीलहीरा समाजमा आबद्ध गराएका हुन् । नीलहीरा समाजमा आबद्ध भएपछि उनी महिलाको रूपमा नै चिनिन थालिन् । घरबाट निकालिए पनि अजिताले हेटौँडाको एउटा होटलमा भाँडा माझ्ने काम गरिन् । काम भाँडा माझ्ने भए पनि जिन्दगी चलाउने माध्यम पाएकामा उनी निकै खुशी भइन् । तर काम सुरु गरेको ३ हप्ता नपुग्दै होटल साहुले तेस्रो लिङ्गी भएकै कारण निकालिनु पर्यो । न काम गरेको पैसा नै पाइन् न सम्मान नै । त्यस पनि हेटाँैडामा नै ५ महिना पत्रिका बेच्ने काम पनि गरिन् । मासिक ३ हजार कमाउँथिन् । त्यहाँ पनि काम गर्दै जाँदा तेस्रो लिङ्गी भएको भन्ने कुरा थाहा पाएपछि कामबाट निकालिन् ।

त्यसपछिको मेरो यात्रा यौन व्यवसाय
उमेरले अजिता २८ वर्षको भइन् । उनको जन्म २०४७ साल भदौ ३० गते मकवानपुरमा भएको थियो । उनी परिवारको कान्छो सदस्य हुन् । उनको २ जना दाइ र ३ जनाा दिदी छन् । परिवारको कान्छो सदस्य भनेपछि सबैको माया ममतामा हुर्किन्छन् भन्ने हाम्रो बुझाइ हुन्छ । उनले तेस्रो लिङ्गी भएकै कारण आफ्नै घर परिवारदेखि समाजका व्यक्तिहरूबाट अपमानित हुनुपर्यो । सुरु गरेको कुनै पनि काम सफल नहुँदा जिन्दगी चलाउने अन्तिम र एउटा माध्ययम यौन व्यवसाय देखिन् ।

भन्छिन्, तेस्रो लिङ्गी यौन व्यवसायमा लाग्नु रहर होइन, बाध्ययता हो । यौन व्यवसायमा लागेको ६ वर्ष भइसकेको छ । १ हजारबाट सुरु गरेको यौन व्यवसायबाट नै उनले मासिक कम्तीमा पनि ८० हजार कमाउँछिन् । भन्छिन्– समुदायका १७ देखि ६० भन्दा पनि बृद्ध पुरुषहरूको यौन प्यास मेटाउने काम गरेको छु । दैनिक कम्तीमा ५ देखि ७ जना हुन्छन् । भन्छिन्, निकै नाम चलेका व्यक्तिहरूको यौन प्यास मेटाएकी छु ।   उनले आजभन्दा एक वर्ष अघि थाइल्यान्डमा गएर ब्रेस्ट टान्सफर गरेकी छिन् । जसका लागि ४ लाख लाग्यो ।

ब्रेस्ट ट्रान्सफरको पनि व्यापार राम्रो
ब्रेस्ट ट्रान्सफर पछि यौन व्यवसायमा सजिलो भएको अजिता बताउँछिन् । शारीरिक रूपमा स्तनले गर्दा महिला नै देखिने भएकाले उनलाई यौन सम्पर्कको प्रस्ताव गर्ने परुषहरू बढ्न थालेका छन् ।  स्तन बनाएदेखि सजिलो त भएको छ । तर पछि तेस्रो लिङ्गी रैछ भन्ने कुरा थाहा पाएपछि कोही गाली गर्दै छाडेर हिँड्छन् भने कोही डिमान्ड गरेको भन्दा कम पैसा दिन्छन् । यस्तो व्यवहार गर्दा म किन यस्तो भएर जन्म लिएँ होला भनेर नमज्जा लाग्छ । समाजले सोच्ने तल्लो स्तरको काम गर्दा पनि तेस्रो लिङ्गी भन्ने शब्दले बारबार घोचिरहन्छ ।

नागरिकता प्राप्त तर बुबालाई परिवारबाट निकालियो
अजिताले ४ वर्ष पहिला अजिता भुजेल नामबाट नै तेस्रो लिङ्गीको नागरिकता मकवानपुर जिल्ला प्रशासनबाट प्राप्त गरिसकेकी छिन् । नागरिकता पाएकोमा उनी खुशी छिन् तर नागरिकता प्राप्त गरेको दिनबाट नै उनको बाबा परिवारबाट एक्लिएका छन् । अजितालाई नागरिकता दिलाएकै कारण उनको २ जना दाइले अजिताको बाबालाई सहयोग गर्न छाडे । उनका बाबा अहिले ७० वर्षको उमेरमा पनि एक्लै बस्दै आएका छन् । उनी ५ महिना पहिला आफ्नो वृद्ध बाबालाई भेट्न गएकी थिइन् ।  

प्रेम विवाह ३ वर्षमा टुट्यो
उनले मकवानपुरकै मुस्लिम थरको २७ वर्षका पुरुषसँग प्रेम विवाह गरिन् । ३ वर्षसम्म विवाह गरेर सँगै बसे । त्यसपछि श्रीमानको घरबाट दबाब आउन थालेपछि मुस्लिम जातका ती पुरुषले अर्कै महिलासँग विवाह गरे । पीडादायी जिन्दगीलाई काठमाडौँको भीडमा ल्याइन् । 
  
नेपालमा तेस्रो लिङ्गीको अवस्था
नेपालमा हाल तेस्रो लिङ्गी तथा समलिङ्गीहरूको सङ्ख्या ९ लाख रहेको  छ । नीलहीरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङले दिएको जानकारीअनुसार यीमध्ये पनि निकै कम सङ्ख्याले मात्रै परिवारको साथ पाएका छन् । धेरै सङ्ख्यालाई परिवारको साथ छैन । आफ्नो जन्मदिने बाबा, आमा, दाजुभाइ तथा दिदी बहिनीको साथ नपाउँदा धेरै तेस्रो लिङ्गी तथा समलिङ्गी समाजबाट अपहेलित हुन्छन् । उनीहरूको जीउने माध्यम भनेकै सडक ठान्छन् । अध्यक्ष गुरुङ भन्छिन्– तेस्रो लिङ्गी तथा समलिङ्गी सडकमा आउनुको मुख्य कारण परिवार हो । 

तेस्रो लिङ्गी तथा समलिङ्गीको हकहितमा काम गर्नका लागि नेपालमा सन् २००१ मा नीलहीरा समाजको स्थापना भयो । अहिले यस समाजमा ८५० सदस्यहरू आबद्ध रहेका छन् । समाजले देशभरका ६ लाख तेस्रो लिङ्गी तथा समलिङ्गीको हकहितमा काम गर्दै आइरहेको छ । तर नेपाली समाज र सरकारप्रति तेस्रो लिङ्गी तथा समलिङ्गीलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म नेपालको तेस्रो लिङ्गी तथा समलिङ्गीको अवस्थामा कुनै पनि परिवर्तन नहुने उनले बताइन् ।
 
समलिङ्गी तेस्रोलिङ्गीप्रति सरकारी नीति
वि. सं. २०७० सालमा सर्वाेच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषयमा ऐतिहासिक फैसला गरेको छ ।  सार्वजनिक फैसलको पूर्ण पाठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिङ्गी, द्वलिङ्गी र अन्तरलिङ्गी) लाई नागरिकता, शैक्षिक प्रमाणपत्रसहितका सबै कागजात पहिचानअनुसार लिने व्यवस्था गरेको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका अभियन्ता पूर्वसभासद सुनिलबाबु पन्त, नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङ र तेस्रोलिङ्गी अधिकारकर्मी आनिक रानाले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र देशैभरका सीडीओहरूलाई विपक्षी बनाए ७० सालमा संयुक्त रूपमा दायर गरेको रिटमा फैसला गर्दै सर्वाेच्च अदालतले यो समुदायका लागि निकै महत्वपूर्ण फैसला गरेको थियो ।

समलिङ्गी र तेस्रो लिङ्गीलाई पहिले लिएको नागरिकतामा रहेको नाम र लिङ्ग परिवर्तनको अधिकार दिएको जानकारी गराएको थियो ।  सर्वाेच्चको फैसललाले समलिङ्गी तेस्रोलिङ्गीलाई पहिलो लिएको नागरिकता परिवर्तन गरी आफूले चाहेको नाम र लैङ्गिक पहिचानसहित नागरिकता लिने व्यवस्था गरिएको थियो । त्यसपछि समलिङ्गी तेस्रोलिङ्गीलाई दिएको नागरिकताको रेकर्ड राख्न पनि गृहमन्त्रालय र मातहतका जिल्ला प्रशासनहरूलाई निर्देशन दिएको थियो ।
 
१७० जनाले मात्रै पाए नागरिकता
नेपाल सरकारले पनि तेस्रो लिङ्गी तथा समलिङ्गीले अन्य भनेर नागरिकता तथा लाइसेन्स प्राप्त गर्न पाउनुपर्ने    कानुनी प्रवधानमा व्यवस्था गरिएको छ । तर नेपालमा तेस्रो लिङ्गी तथा समलिङ्गीको सङ्ख्याभन्दा निकै कमले नागरिकता तथा लाइसेन्स प्राप्त गरेका छन् । अध्यक्ष गुरुङको अनुसार अहिले १७० जनाले मात्रै नेपाल सरकारबाट नागकिता तथा लाइसेन्स प्राप्त गरेका छन् । त्यो पनि निकै सङ्घर्ष गर्नु परेको पिङ्कीको भनाइ छ ।

१० हजार तेस्रो लिङ्गी तथा समलिङ्गी यौन व्यवसायमा 
नीलहीरा समाजको भनाइ अनुसार नेपालमा १० हजार तेस्रो लिङ्गी तथा समलिङ्गीहरू यौन व्यवसायमा लागेका छन् । तेस्रो लिङ्गी तथा समलिङ्गी यौन व्यवसायमा लाग्नु रहर कि बाध्ययता भनेर हामीले प्रश्न गर्दा अध्यक्ष पिङ्कीले रातोपाटी अनलाइनसँग भनिन्– १० हजारमा पनि ९९ प्रतिशत तेस्रो लिङ्गी तथा समलिङ्गी यौन व्यवसायमा लाग्नु बाध्ययता रहेको उनले बताइन् ।

तेस्रो लिङ्गी शिक्षा, स्वास्थ्य, रोजगार, धर्म, संस्कार र समाजदेखि नै हेपिनु पर्दा जिन्दगी जिउने कुनै पनि माध्ययम नपाएकै कारण तेस्रो लिङ्गी तथा समलिङ्गी यौन व्यवसायमा लाग्ने बाध्य भएको उनको तर्क छ ।
यता लामो समयदेखि तेस्रो लिङ्गी तथा समलिङ्गीको हकहितमा काम गर्दै आएकी भूमिका श्रेष्ठको भनाइ पनि यस्तै रहेको छ ।  यौन व्यवसायमा लाग्नेमध्ये धेरैको बाध्ययता नै रहेको बताइन् । तेस्रो लिङ्गी भएको कारण आफ्नो परिवारबाट पनि निकालिनु पर्दा जिन्दगी जिउने कुनै पनि विकल्प नहुँदा तेस्रो लिङ्गी, समलिङ्गीहरू यौन व्यवसायमा लाग्न बाध्य भएको बताइन् । तेस्रो लिङ्गी तथा समलिङ्गीको हकहितका लागि काम गर्दै आएको नीलहीरा समाजले सबैलाई जागिर दिन नसक्ने र अन्य क्षेत्रमा काम पाउनका लागि समस्या हुने हुँदा यौन व्यवसायमा लाग्नेमध्ये अधिकांशको बाध्ययता नै रहेको उनको ठम्याइ छ ।

त्यसमध्ये पनि कसैको पैसा कमाउने सजिलो माध्ययम, कसैको रहर र कसैको साथभाइको सङ्गतका कारण यौन व्यवसायमा लाग्ने गरेको उनले बताइन् ।    
यो सवालमा भूमिका आफ्नो कुरा थप्दै भन्छिन्– काठमाडौँको रत्नपार्क, ठमेलमा यौन व्यवसायमा लाग्ने महिला–पुरुष पनि हुन्छन् तर तेस्रो लिङ्गी, समलिङ्गीलाई सजिलै चिन्ने भएको हुँदा इङ्कित गर्नु स्वभाविक हो । तर तेस्रो लिङ्गी, समलिङ्गी सडकसम्म आउनुको कारणबारे कसैले पनि नबुझ्ने गरेको दुखेसो पोखिन् । डान्सबार, क्लबमा तेस्रो लिङ्गी,  समलिङ्गीलाई जान नदिने हुँदा बाध्य भएर सडकमा आउनुपरेको उनको भनाइ छ ।

 जन्मजात प्राककृतिक रूपमा शारीरिक बनावट भिन्न हुनु आफ्नो दोष नभए पनि समाजिक रूपमा तेस्रो लिङ्गी, समलिङ्गीहरूले निकै विभेद भोग्दै आइरहेका छन् । यो समस्या आफ्नो परिवारदेखि नै सुरु भएको हुँदा नेपालमा तेस्रो लिङ्गी, समलिङ्गीहरू खुलेर अघि बढ्न नसकेको समाजको भनाइ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप